विश्व प्रसिद्द लन्डनको वेब्ली एरिना नेपाल बाट आएका चारवटा ब्याण्डका दुई दर्जन कलाकारको प्रस्तुतीले आगामी शनिवार जुन १७ तारिक नेपाली संगीतमय बन्ने भएको छ । ‘जुन फेस्टिभल’ नाम दिईएको उक्त प्रस्तुतीको लागी कुटुम्ब, एज, अल्बाट्रोस र बिपुल क्षेत्री एण्ड द ट्राभलिंग ब्यान्डका २५ जना कलाकारहरुको टोली यसै साता लन्डन आईपुगेको छ।
लन्डन आइपुगे लगत्तै कलाकारहरुले अल्डरसटमा जानकारीमुलक भेटघाट ‘मिट एण्ड ग्रिट’ गर्नुका साथै कार्यक्रम स्थलको भ्रमण समेत गरेका छन।
१२ हजार दर्शक क्षमताको वेम्ली एरिनामा १० हजार दर्शक उतार्ने तयारी रहेको आयोजकहरुले बताएका छन्। कार्यक्रम ईभेन्ट्स आयोजनामा परिचय बनाईसकेका पर्चा र बी फेस्टको आयोजनामा हुन लागेको हो। पर्चा समुहकै आयोजनामा नेपथ्यले सन् २०१३मा पहिलो नेपाली सांगीतिक प्रस्तुती दिएको थियो।
आयोजक समुहका समिर गुरुङका अनुसार कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था चुस्त पार्ने गरी सम्पूर्ण तयारी पुरा गरिएको छ।