दक्षिण कोरियामा बिभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या बढ्न थालेको छ। तीन दिनअघि मात्र आत्महत्या गरेका दोलखाका समुन्द्र केसीको शव नेपाल पुग्न नपाउँदै फेरि अर्का नेपालीको निधन भएको छ।
कोरियाको उल्सानस्थित डेउ कम्पनीका कार्यरत बुटवलका लालबहादुर थापाको बिहिबार बिहान निधन भएको छ। बुधबार दिउँसो कार्यस्थलमै करिब ६ मिटर उचाईबाट लडेर भूइमा झरी घाइते भएका थापाको अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
कोल्टो परेर झर्दा थापाको एक भाग पुरै क्षति पुगेको थियो। थापालाई तुरुन्तै अस्पताल पुर्याइएको भए पनि रातको साढे २ बजे चिकित्सकले उनलाई मृत घोषित गरेको डेउ नेपाली एकता समाजले जनाएको छ।
सिविटी परीक्षा दिएर पुनः कोरिया आएका २९ वर्षीय थापाको नेपालमा एक छोरा र पत्नी छन्। उनका दाई पनि कोरियाको गजेदोमै कार्यरत छन्।
कोरियामा १० दिनको अवधिमा चार नेपालीको मृत्यु भएको छ। तीन दिन अघि मात्र कोरियाको थेगुस्थित एक सिरक बनाउने कम्पनीमा कार्यरत दोलखाका २२ बर्षिय समुन्द्र केसीले आफ्नै कम्पनीको बाथरूममा झुन्डिएर आत्माहत्या गरेका थिए।
उनले डिप्रेशनमा परि औषधिसमेत सेवन गर्दै आइरहेको सँगै कार्यरत नेपाली साथीहरूले बताएका छन्।
त्यसैगरी गत साता जुन ९ तारिखमा ख्यांगीदोको पुछनस्थित एक फर्निचर कम्पनीमा कार्यरत पर्वतका राजकुमार विकको कार्यस्थलमै दुर्घटनामा परी निधन भएको थियो। त्यसको ठिक २ दिन पहिला मात्र गोरखाका २२ वर्षीय सुनिल अधिकारीले २ पेजको सुसाइडनोट लेखि आफ्नै कम्पनी आगाडिको भर्याङमा पासो लगाएर आत्महत्या गरेका थिए। उनले सुसाइड नोटमा आफू धेरै दिनदेखि डिप्रेसनमा परेको र आफ्नो समस्या कसैलाई भन्न नसकी आत्महत्याको बाटो रोजेको लेखेका थिए।
रोजगारीको शिलशिलामा ईपीएस मार्फत कोरिया आएका नेपालीको औधोगिक दुर्घटना, डिप्रेसनमा परेर, झुन्डिएर आत्महत्या र सुतेको अवस्थामा हृदयघात भएर मृत्यु हुने क्रम बढेपछि यहाँ कार्यरत नेपाली त्रसित बनेका छन्।
त्यस्तै दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत अर्जुन बहादुर सिंहले पछिल्लो समय कोरियामा घटेका मृत्युका शृंखलाले आफूलाई अत्यन्तै दुःखी बनाएको बताउँदै दूतावासले यस्ता घटनाको न्यूनीकरणको लागि छिटै तनाब ब्यावस्थापन तथा सचेतनामुलक कार्यक्रमको आयोजना गर्ने तयारीमा रहेको सेतोपाटीसँग बताए।
ठूलो सपना बोकेर इपिएस मार्फत कोरिया प्रवेश गर्ने नेपालीको संख्या अहिले झण्डै चौवालीस हजारको हाराहारी छ। वर्षेनी इपिएस कोटा मार्फत सात हजार भन्दा बढी नेपाली कोरिया आउने गरेका छन्। नेपाली बढेसँगै कार्यस्थल र सडक दुर्घटना, ह्दयघात भएर सुतेको अवस्थामा मृत्यु, विरामी भएर मृत्यु र डिप्रेसनमा परेर आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ।
यद्यपी सुतेको अवस्था र डिप्रेसन या विविध कारणले आत्महत्या गर्नेको संख्या अन्य भन्दा बढी नै छ। सन् २००८ यता १ सय १५ भन्दा बढीको मृत्यु भइसकेको छ।
आत्महत्या र सुतेको अवस्थामा हुने मृत्युको भयावह स्थितिलाई नियन्त्रण गर्न नेपाल सरकारले त्यति चासो दिन सकेको छैन्।
केहि महिनाअघि निवर्तमान स्वास्थ्य मन्त्री गगन थापाले विदेशमा हुने नेपालीको आकस्मिक निधनकोबारे सत्यतथ्य अध्ययन गर्न टोली गठन गर्ने तथा स्वास्थ्य सहचारी राखिने बताए पनि अहिलेसम्म नेपालीले अनाहकमै ज्यान गुमाएका कोरिया जस्ता मुलुकमा अध्ययन टोली पठाउने का भएको छैन्।
कोरियामा विकराल बन्दै गएको डिप्रेसनको कारण बढिरहेको आत्महत्या तथा कार्यस्थलमा दुर्घटनाका कारण अंगभंग तथा मृत्यु रोक्न सम्बन्धित सरोकारवाला निकाय गम्भीर हुन जरूरी छ।