सल्यानमा एक घरको दलिनले लागेर आमा छोराको मृत्यु भएको छ। छत्रेश्वरी गाउँपालिका वडा नं. २ मा घरको दलिन (मुख्य बलो) माथिबाट खसेर लाग्दा २४ वर्षीया सुशीला घर्ती र उनका १८ महिनाका छोरा टिकाराम घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।
राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुर दाङका प्रमुख एवं एसएसपी ज्ञान विक्रम शाहका अनुसार बिहीबार बिहान पौने ७ बजेतिर फुस्को छानो फालेर टिन (जस्ता) पाता लगाउने क्रममा माथिल्लो तल्लाको दलिन खसेर लाग्दा भान्सा कोठामा रहेकी आमा छोराको घटनास्थलमै मृत्यु भएको हो।
दोस्रो तल्लाको दलिन बीचको तल्लामा खसेको र त्यो भार थेग्न नसक्दा बीचको तल्ला पनि भत्किएर भूई तल्लामा खाना बनाइरहेका आमा छोराको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।