प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी माघसम्म एमालेले सरकारको नेतृत्व गर्ने बताएका छन्।
दाङको तुलसीपुरमा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले ढोकाबाट नपसेर जस्केला र भेन्टिलेटरबाट सरकारमा नपस्ने बताए। उनले पुस माघसम्म हाइवेमार्फत् सरकारमा जाने दाबी गरे।
‘यसो अलिकति निहुरिएको भए मैले प्रधानमन्त्री छोड्नु पर्दैन थियो, तर मैले त्यो चाहिनँ’ ओलीले भने ‘विदेशीका अगाडि मैले टाउको निहुँराइन बरु मैले जनताको अगाडि टाउको निहुराएँ।’ टाउको निहुराएर घुँडा टेकेर एमाले सरकारमा नजाने तर पुस माघमा जनताको बलवाट सरकारमा जाने उनले बताए।
अध्यक्ष ओली अब कुनैपनि शक्तिले असार १४ को निर्वाचन सार्न नसक्ने बताए। दोस्रो चरणको निर्वाचन असार १४ मै हुने भएकोले त्यसको तयारीमा लाग्न आग्रह गरे।
उनले भने, ‘एमाले कमजोर भएको स्थानमा पहिलो चरणको निर्वाचन गराइए पनि ४५ प्रतिशत परिणाम एकलौटी जितेकोले दोस्रो चरणमा पनि एमाले पहिलो पार्टी बन्नेछ।’ तर त्यसको लागि स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन निष्पक्ष भएर खट्न प्रहरी प्रशासन र कर्मचारीलाई उनले आग्रह गरे।
‘ मत पत्र च्यातेको मैले देखिने भन्ने मतियार नबन्नुहोस, बुथ कब्जागर्दा मौन बस्ने प्रहरी नबन्नुहोस्,’ अध्यक्ष ओलीले भने ‘धाँदली गरेर हैन जनताको पवित्र मनले एमाले जित्न चाहान्छ।’
कार्यक्रमलाई एमाले उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी समिति सदस्यहरु प्रकाश ज्वाला र शंकर पोखरेल लगायतले सम्बोधन गरेका थिए।