दक्षिण कोरियामा फेरि एक नेपालीको औधोगिक दुर्घटनामा ज्यान गएको छ। कोरियाको ख्यंगिदो पुछन सुगुरीस्थित एक फर्निचर कम्पनीमा कार्यरत पर्वतका राजकुमार बिकको शुक्रबार दुर्घटनामा परि ज्यान गएको हो।
सँगै कम्पनीमा कार्यरत नेपाली साथीका अनुसार ३ वर्ष अघि कोरिया प्रवेश गरेका २८ वर्षिया बिकको काम गर्दा गर्दै दुर्घटनामा परेर मृत्यु भएको हो। उनको शवलाई प्रहरीले लगेको छ। कम्पनी मालिकलाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएको बताइएको छ।
घटनाबारे अनौपचारिक रुपमा जानकारी आएको भए पनि औपचारिक जानकारी आइनसकेको र घटनाबारे थप जानकारी लिने प्रयास भैरहेको सोलस्थित नेपाली दूतावासले जनाएको छ।
कोरियामा १ सातामै २ जना नेपालीले ज्यान गुमाएका छन्। केहि दिनअघि मात्र गोर्खाका सुनिल अधिकारीले झुण्डिएर आत्महत्या गरेका थिए। पछिल्लो समय कोरियामा दुर्घटनामा, आत्महत्या गर्ने तथा सुतेकै अवस्थामा मृत्यु हुने क्रम बढेको छ।