प्रमुख तीन दलबीच मंगलबार प्रधानमन्त्री चयन गर्ने सहमति भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको बैठकमा भोलि मंगलबार हुने प्रधानमन्त्री निर्वाचन प्रक्रिया नरोक्न प्रमुख प्रतिपक्ष एमाले सहमत भएको हो।
मंगलबार दुई वटा बैठक राख्ने र पहिलो बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने सहमति भएको छ। त्यसपछि दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुने सहमति भएको माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले सेतोपाटीलाई बताए।
‘पहिलो बैठकमा तीन दलका नेताले दोस्रो चरणको निर्वाचन, प्रदेशको निर्वाचन र संसदीय निर्वाचन समयमै गर्नका लागि संसदमार्फत जनतालाई आश्वस्थ पार्ने सहमति भएको छ’, उनले भने।
प्रमुख तीन दलको सहमतिसँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ।
प्रधानमन्त्रीका लागि देउवाको मात्रै उम्मेद्वारी परेको छ । प्रधानमन्त्री चयन प्रक्रियालाई नरोक्ने सहमति भएको तीनै दलका नेताहरुले बताएका छन्।
बैठकमा एमाले नेताहरूले समस्याको समाधानका लागि सबै मिलेर जानु पर्ने बताएको नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलले सेतोपाटीलाई बताए। ‘दलहरूबीच विश्वासको संकट छ। सबै मिलेर अगाडि जानुपर्छ भन्ने प्रस्ताव एमालेले गरेको छ,’ उनले भने,‘एमालेले स्वतन्त्र र निश्पक्ष निर्वाचनका लागि दलहरूले प्रतिवद्दता जनाउनुपर्ने प्रस्ताव राखेको छ। हामी त्यसका लागि सधै तयार छौ।’
दलहरुबीचको सहमति अनुसार मंगलबार संसद बैठक दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। त्यसपछि पुन बस्ने बैठकले प्रधानमन्त्री चयन गर्नेछ।
सत्ता पक्ष र प्रतिपक्षबीच समझदारीपछि प्रतिपक्ष एमाले संसद सुचारु गर्न तयार भएको हो। असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा गर्ने वातावरण बनाउने, प्रदेश र संघको निर्वाचनका लागि सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्ने, सबै तहका निर्वाचन निष्पक्ष गर्ने, विगतका कमजोरी सच्याएर अघि बढ्ने एवं निर्वाचन धाँधलीका विषयमा छानबिन गर्न हालै गठित संसदीय छानवीन समितिलाई सक्रिय बनाउने सहमति भएको एमाले बरिष्ठ नेता झलनाथ खनालल बताए।
एमालेले भरतपुर महानगरपालिकामा भएको मतदान विवाद समाधान गर्न माग गर्दै यस अघि संसद बैठक अवरुद्ध पार्दै आएको थियो । तर सत्ता पक्षले अब त्यस्तो हुन नदिने प्रतिवद्धता जनाएपछि एमाले संसद बैठक सुचारु गराउन सहमत भएको हो ।