रोजगारीको सिलसिलामा इपिएस मार्फत दक्षिण कोरिया पुगेका एक नेपाली युवकले एक पेज लामो सुसाइड नोट लेखेर आत्महत्या गरेका छन्।
दक्षिण कोरियाको थेगु सहर नजिकै रहेको ख्याङ्साङ् मेंङ्गजिन फोजांङ कम्पनीमा कार्यरत गोर्खाका सुनिल अधिकारी आफ्नै कम्पनी क्षेत्र भित्रै फलामको सिँढीमा डोरीको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनलाई झुन्डिएको अवस्थामा सोमबार बिहान ७ बजे तिर संगै कार्यरत नेपाली साथीहरुले फेला पारेका थिए।
मृतक अधिकारीको साथबाट १ पेज लामो सुसाइड नोट फेला परेको थेगु क्षेत्रमा भाषा अनुवादकको रुपमा काम गर्दै आइरहेका समाजसेवी चन्द्र लामा अनुरागले सेतोपाटीलाई बताए।
लामाका अनुसार मृतक अधिकारीले घर परिवारलाई सम्बोधन गर्दै आफू मानसिक तनावमा परि आत्महत्या गरेको लेखेका थिए। मृतक अधिकारिले आफू ग्यास्ट्रिक रोगबाट पीडित भएको बताउँदै आएका थिए।
२२ वर्षीय अधिकारी २ वर्ष पहिला कोरिया प्रवेश गरेका हुन्। उक्त कम्पनीमा १० जना नेपाली कामदार कार्यरत छन्।
सोलस्थित नेपाली दूतावासले घटनाको औपचारिक जानकारी आएको जनाएको छ। घटनाबारे नेपालमा रहेका घरपरिवारलाई जानकारी गराई सकेको बताउँदै उपनियोग प्रमुख किरण शाक्यले आफूहरू पनि छिट्टै घटनास्थल पुग्ने बताए।
पछिल्लो समय दक्षिण कोरियामा विभिन्न कारणले ज्यान गुमाउने नेपालीले बढ्दो छ। केही साता पहिला मात्र काम गर्ने क्रममा दुर्घटनामा परि २ जना नेपालीले ज्यान गुमाएका थिए। पछिल्लो घटनासँगै सन् २०१७ मा दक्षिण कोरियाको रोजगारीमा ज्यान गुमाउने नेपालीको संख्या ८ पुगेको छ।