दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत अर्जुन जंगबहादुर सिंहले हरेक महिनाको पहिलो र अन्तिम आइतबार दूतावास खुला रहने बताएका छन्। आइतबार दक्षिण कोरियास्थित नेपाली सम्पर्क समितिले आयोजना गरेको नवनियुक्त राजदूतलाई स्वागत तथा पछिल्लो समयमा नेपाली संघ संस्थामा देखिएको अन्योलको विषयमा गरिएको एक अन्तरक्रिया कार्यक्रमा बोल्दै राजदूत सिंहले सो कुरा बताएका हुन्।
सार्वजनिक बिदाको दिन पनि दूतावासको काम लिन चाहनेले सोमबार देखि शुक्रबारसम्म दूतावासमा फोन गरेर जानकारी गराउनुपर्ने उनले भने।
उनले कोरियामा कामको ब्यस्तताको कारण श्रमिक दाजुभाई तथा दिदीबहिनीहरू दूताबासबाट हुने कतिपय कामको लागि अफ्ठ्यारोमा परेको बताउँदै अबदेखि महिनाको २ दिन सार्वजनिक बिदामा पनि ९ बजे देखि १२ बजेसम्म आफू स्वयम् दूतावासमा उपस्थित हुने बताए।
दूताबासबाट अत्यन्त नम्रताका साथ छिटो छरितो सेवाको लागि के कसरी हुन्छ आफू सधै त्यसको लागि अग्रसर हुने बताए।
उनले भने,‘म कोरियामा कार्यरत ४० हजार नेपालीको अभिभावकको रुपमा आएको छु। यहाँ नेपाली सम्पर्क समिति जस्ता ठूला संस्थाबाट लिएर जातीय क्षेत्रिय आदि समाजसेवी संस्थाहरु पनि छन्। मेरो लागि सम्पूर्ण संघ संस्था तथा श्रमिक वर्ग समान हुन्। मैले कसैलाई काखा पाखाको दृष्टिले नहेर्ने प्रतिबद्वता ब्यक्त गर्न चाहन्छु।’
हाल कोरियामा नव निर्वाचित राष्ट्रपति मुन जे इनको नेपाल प्रति असाध्यै निकट साइनो भएकोले आफूलाई यहाँ रहेर काम गर्न अलि सहज हुने र यस्तो अवसरलाई आफूले सक्दो सदुपयोग गर्ने बताए।
त्यस्तै कार्यक्रममा नेपाली दूतावासका द्वितिय सचिव उद्वब न्यौपानेले कोरिया सरकारले बिदेशीहरूले गर्ने हरेक क्रियाकलापलाई अत्यन्त नजिकबाट नियालिरहेको बताउँदै संघ संस्थाले कुनै पनि आर्थिक लाभको कार्यक्रम गर्नु पूर्व त्यहाँको स्थानीय प्रसासनमा अनिवार्य जानकारी गराई अनुमति लिनुपर्ने बताए।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष प्रेम शाहको अध्यक्षतामा राजधानी सोलस्थित नेपाल हाउसमा सम्पन्न उक्त स्वागत तथा अन्तरक्रिया कार्यक्रको सञ्चालन संस्थाका कार्यबाहक सचिव राजु तामाङले गरेका थिए।