बेलायतको राजधानी लन्डनमा फेरि अर्को कहालीलाग्दो आतंकवादी आक्रमण भएको छ। शनिबार राति लन्डन ब्रिज आसपास क्षेत्रमा भएको उक्त घटनामा परी हालसम्म ६ जनाको मृत्यु भएको छ भने ४८ जना घाईते भएका छन्।
प्रत्यक्ष्यदर्शीका अनुसार शनिबार राति दश बजे तिब्र गतिमा दौडाईएको एउटा सेतो भ्यान लन्डन ब्रिजमा हिँडीरहेका पैदल यात्रुहरु माथी अन्दाधुन्ध कुल्चिदै मान्छेहरू माथी जोतिएको थियो। त्यसपछि उक्त गाडीबाट ओर्लिएका तीन जना आतंकवादीहरूले ब्रिज नजिकैको बरो मार्केटका पब रेस्टुरेन्टहरु समेतमा पसेर अन्दाधुन्ध मान्छेहरु माथि छुरा प्रहार गर्दै हिँडेका थिए।
तीनैजना आतंककारीलाई प्रहरीले गोली हानेर मारिदिएको छ। आक्रमणकारीहरु मुस्लिम अतिवादी संगठन आईएस आवद्द हुनसक्ने प्रहरीले आँकलन गरेको छ।
म्यानचेस्टरमा २२ जनाको ज्यान जाने गरी भएको हमलाको २ साता पनि नबित्दै भएको यो लन्डन घटनाले बेलायतमा सुरक्षा सरोकारलाई उच्च तुल्याईदिएको छ भने सुरक्षा व्यवस्थालाई निकै कडा पारिएको छ। गत २२ मार्चमा पनि लन्डन संसद भवन नजिकै यस्तै प्रकृतिको आक्रमणमा ६ जनाको मृत्यु भएको थियो।
प्रधानमन्त्री टेरेसा मेले लन्डन घटना भयानक भएको बताउँदै अर्को हप्ता हुने चुनावी अभियानलाई स्थगित गर्दै मन्त्रिपरिषदको आकस्मिक कोब्रा मिटिंङ बोलाएकी छन् भने अन्य पार्टीहरुले पनि चुनावी अभियान स्थगित गरेका छन्।
घटनामा कुनै नेपाली परेका छैनन्
घटनामा कुनै पनि नेपालीहरु नपरेको लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरद राज आरणले सेतोपाटीलाई बताए। घटनामा मृतक तथा घाइतेहरुमा कुनै नेपाली नपरेका उनले बतथाए। ‘प्रभावित हुनेहरुको तथ्यांक अनुरुप नेपालीहरु परेको जानकारी छैन तर यात्रा क्रममा सुरक्षा सम्बेदनशिलतालाई मध्यनजर गर्नु सान्दर्भिक रहन्छ’, दूतावासका प्रवक्ता आरणले सेतोपाटीसँग भने।