नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले यसपालि नियुक्ति क्रममा उत्पन्न विवाद नदोहोरियोस् भनेर ‘ऐन–नियममा समयसापेक्ष परिमार्जन गरी प्रहरी संगठनलाई इमानदार र पारदर्शी ढंगले अघि बढाउन प्रयास गर्ने’ बताएका छन्। प्रहरी संगठनको व्यावसायिक इमानदारी र आर्थिक अनुशासन कायम गर्नमा कुनै किसिमको सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्ने अर्यालले ३५ किलो सुनकाण्डमा मुछिनु आफ्नो करिअरकै ‘पीडादायक क्षण’ भएको बताए। प्रहरी संगठनभित्र कडा स्वभावका अधिकृत भनी चिनिएका अर्यालसँग सेतोपाटीका प्रकाश ढुंगानाले गरेको कुराकानीः
यसपटक आइजिपी नियुक्ति लज्जास्पद भयो है!
निश्चय पनि यो सबैलाई बोध भएको कुरा हो। सरकारलाई पनि महशुस भएको छ। आगामी दिनमा यस्तो किसिमको अवस्था नआओस् भन्नाको लागि ऐन–नियममा समयसापेक्ष परिमार्जन गरेर प्रहरी संगठनलाई इमानदार र पारदर्शी ढंगले अघि बढाउनमा मेरो प्रयास रहनेछ।
यस्तो विवादपछि आइजिपी चुनिँदा कस्तो अनुभव भइरहेको छ?
यसले मलाई ठूलो जिम्मेवारीबोध गराएको छ। यो सानो संगठन होइन, सानो काम पनि होइन। देशमा शान्ति सुरक्षा, अमन चयन राख्ने, अपराध अनुसन्धान गर्ने, अपराध न्यूनीकरण गर्ने काम ठूलो जिम्मेवारी हो। यति ठूलो जिम्मेवारीले मलाई धेरै संवेदनशील बनाएको छ। मबाट धेरै अपेक्षा गरिएको छ भन्ने मैले महशुस गरेको छु।
प्रहरी संगठन व्यावसायिक हुनुपर्छ भन्ने तपाईंकै नेतृत्वमा अब जनताले के अपेक्षा राख्ने?
म यत्ति भन्छु, प्रहरी संगठन शुद्ध रूपले सेवाप्रति समर्पित हुनुपर्छ। यसमा म कुनै किसिमको सम्झौता गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ। यो नै मेरो पहिलो र मुख्य प्राथमिकता हो।
यसअघिका आइजिपीले सरुवा–बढुवामा आफ्नालाई काखी च्याप्ने चलन थियो भन्ने सुनिन्छ, तपाईंको कार्यकालमा यो ब्रेक होला?
म कुनै पनि किसिमको आग्रह–पूर्वाग्रह अन्त्य गर्दै प्रणाली व्यवस्थापनमा जोड दिनेछु। आफ्नो वा अरू कसैको मान्छेभन्दा उपयुक्त ठाउँमा उपयुक्त मान्छे पठाइनेछ। व्यावसायिकताको सुनिश्चितामा सम्झौता हुने छैन। सँगसँगै, आपसी भाइचारामा जोड दिएर संगठनलाई अघि लिएर जानेछु। राम्रो मान्छेलाई राम्रो काम गर्न, जिम्मेवारी वहन गर्न र अगाडि बढ्न मौका दिने पद्धतिको विकास गर्ने मेरो लक्ष्य छ।
तपाईंलाई त प्रहरी संगठनभित्रै कडा स्वभावको भन्छन् नि!
यो मैलेभन्दा अरूले तय गर्ने कुरा हो। मेरो स्वभाव यस्तो छ भनेर म कसरी भनुँ। मलाई लाग्छ, म आफैंले भनेँ भने सही रूपमा भन्न सक्दिनँ होला। त्यो कसैले पनि सक्दैन। मलाई मेरो स्वभाव सामान्य नै लाग्छ।
२९ वर्षे जागिर अवधिमा सम्झनलायक काम के के गर्नुभयो?
धेरै छन्। समग्रमा सबै कुरा समेटेर भन्नुपर्दा, आफूले जिम्मेवारी पाएका घटनामा सफल अनुसन्धान गरेर अपराध निरुत्साहित गरेँजस्तो लाग्छ। आफू खटिएको वा आफूले पाएको जिल्लामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानका साथै प्रहरीले दिने सेवा एकदमै निस्वार्थ भावले दिएँ जस्तो लाग्छ।
हेर्नुहोस्:
लो–प्रोफाइलमा बसेर काम गर्न रुचाउनुहुन्छ भनिन्छ, किन होला?
त्यस्तो होइन, तर यो–यो काम गरेँ भनेर सञ्चारमाध्यममा प्रचार गर्दै हिँड्ने चाहिँ होइन। कसैले पनि कस्तो काम गर्यो, कसरी गर्यो भनेर सोधिखोजी गर्यो भने म उपस्थित हुने मान्छे हो। कसैले आफैं चासो राखेर सोध्न आयो भने म खुला किताबजस्तै हुन्छु।
उपत्यका ट्राफिक महाशाखा प्रमुख हुँदा ट्याक्सी र लेन अनुशासनबारे कारबाही थाल्नुभयो। अहिले फेरि समस्या जस्ताको तस्तै छ। त्यसमा दीर्घकालीन सुधारको अपेक्षा सकिन्छ?
निश्चय पनि पहिला आफैंले थालनी गरेको कामलाई प्राथमिकतासाथ अघि बढाउँछु नै। जनताको सुविधाका लागि के गर्न सकिन्छ, त्यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिन्छु। निरीक्षण गर्छु। तैपनि समस्या सुल्झिएन भने आवश्यक कदम पनि चाल्छु।
प्रहरी अधिकृतहरू आर्थिक लेनदेनमा मुछिएका घटना धेरै आउँछन्। संगठनको आर्थिक अनुशासन कसरी कायम राख्ने होला?
सबैभन्दा पहिला त प्रहरीलाई यस्ता क्रियाकलापबाट मुक्त गर्न नैतिकता जगाउनु जरुरी छ। यो पहिलो आवश्यकता हो। दोस्रो, प्रहरी संगठनभित्रका गतिविधिमा पनि अनुगमन र निरीक्षण हुनुपर्छ। आन्तरिक अनुगमनबिना आर्थिक अनुशासन कायम राख्न सम्भव छैन। अनुगमनमा भेटिएका कमी–कमजोरी सच्चाउन कहिले कारबाही गर्नुपर्छ, कहिले सम्झाउनुपर्छ। राम्रो अनुगमन र त्यसपछि प्रभावकारी कारबाही प्रक्रियामा गए मात्रै आर्थिक लेनदेन न्यूनीकरण हुन सक्छ, नत्र सक्दैन।
सिआइबीमा रहँदा तपाईं पनि सुन काण्डमा मुछिनुभयो नि?
सबभन्दा पहिला त्यो घटना के हो भन्ने बुझ्नुपर्छ। हामीले ३५ केजी सुन समात्यौं। सुन मात्र समातेको होइन, भरिया मात्र समातेको होइन, हामीले त्यसै दिन तीन जना लगानीकर्तालाई पनि समातेका थियौं। यत्ति ‘क्लिन केस’ मा पनि मलाई विवादमा मुछ्ने प्रयोजनमा केही मानिस लागे। हामीले पक्राउ गरेकै दिन सम्बन्धित व्यक्ति र सुन राजस्व अनुसन्धान विभागलाई बुझायौं। हामीले गरेका अनुसन्धान विवरण पनि राजस्व अनुसन्धानमा बुझायौं।
यत्ति क्लिन केसमा पनि सुराकीको कमिसन लिन खोज्यो भनेर विवाद गर्न खोजियो। केही थप मानिस आएर हामी पो असली सुराकी हौं भनेर देखा परे। त्यही अवस्थामा मलाई विवादमा पार्ने प्रयास गरिएको हो। त्यतिबेला संगठित अपराध ऐन आइसकेको थिएन। सुराकी ‘ह्यान्डल’ गर्ने मानिसले जे जस्तो प्रतिवेदन दिए, त्यही प्रतिवेदन मैले राजस्वमा पठाएँ। डिआइजीले सुराकी आफैं ह्यान्डल गर्दै हिँड्ने होइन।
यो मेरो २९ वर्षेको जागिरे अवधिमा अनावश्यक रूपमा उठाइएको र मलाई सबैभन्दा बढी मानसिक तनाव दिएको मुद्दा हो। मलाई आइजिपी दौडबाट आउट गर्न र म आइजिपी भएको देख्न नचाहनेहरूले विवादमा मुछ्न गरेको प्रयास हो। क्लिन भएर काम गर्दा पनि विवादमा मुछिनुपर्दो रहेछ। यो केसले बडो पीडादायी अनुभव भयो।
तस्बिरहरु: नारायण महर्जन/सेतोपाटी