पाँच वर्षअघिसम्म काठमाडौंकी संगीता थापा बुटिक व्यवसाय चलाउँदै थिइन्। व्यवसाय राम्रो थियो, आठ जनाले रोजगारी पाएका थिए। उनी आफ्नो काममा रमाएकी थिइन्।
यस्तैमा कोरोना महामारी फैलियो। व्यापार-व्यवसाय ठप्प भयो।
संगीताले बुटिक बन्द गरिन्। त्यसको केही समयपछि उनी सुत्केरी भइन्। काखमा शिशु भएकै समय उनले नयाँ व्यवसायको अवधारणा बनाइन्।
'म सुत्केरी भएपछि उपहारमा बच्चाका लागि धेरै लुगा आए। आफूले पनि छोरीका लागि बजारबाट लुगा किनेँ,' उनले भनिन्, 'ती लुगाको गुणस्तर राम्रो थिएन। धुँदा रङ जाने, एक-दुई पटक लगाइदिएपछि उध्रिने र च्यातिने समस्या देखियो।'
उनी आफैले मलमलको भोटो र दौरासुरूवाल सिएर छोरीलाई लगाइदिइन्। त्यो लुगा छोरीका लागि सजिलो र न्यानो भयो। लुगा गुणस्तरीय हुन फेब्रिक (कपडा) पनि गुणस्तरीय हुनुपर्छ भन्ने उनलाई थाहा थियो।
कोभिडको लकडाउन खुकुलो हुने र फेरि कडा हुने क्रम चल्दै थियो। त्यही समय उनले शिशुका लागि गुणस्तरीय भोटो र दौरासुरूवालको सेट तयार गरेर बेच्ने योजना बनाइन्।
योजना पक्का भएपछि संगीताले २०७७ सालको जाडो याममा ५० हजार रूपैयाँको मलमल कपडा किनेर ल्याइन्। डिजाइन, कटिङ र सिलाइको अनुभव छँदै थियो। घरमै भोटो र दौरासुरूवालको ५० सेट तयार गरिन्। काममा श्रीमानको पनि सहयोग थियो।
बिक्रीका लागि 'आमा' ब्रान्डमा अनलाइन पेज बनाइन्। अनलाइनबाटै व्यापार सुरू भयो। घर र अस्पतालबाट अर्डर आयो। एक साता नहुँदै ५० सेट बिक्री भयो।
कोभिडले थलिएको बजारमा अनलाइनबाट अर्डर र डेलिभरी सुविधा दिए। डेलिभरीमा श्रीमान-श्रीमती आफै गए।
'के होला, कसो होला भन्ने सोच्दै तयार गरेको ५० सेट सात दिनमै सकियो। अर्डर बढ्न थाल्यो,' संगीताले भनिन्।
व्यापारबाट उत्साहित संगीता कम्पनी दर्ताका लागि गइन्। तर पहिले दर्ता भएकाले उनले 'आमा' नाम पाइनन्। 'आमाको नाना' दर्ता गराइन्।
उनी शिशुका लागि नरम, न्यानो र डिजाइनदार भोटो र दौरासुरूवाल सेट बनाउन थालिन्।
'आमाको नाना ब्रान्डिङका लागि ठूलो मेहनत गर्नुपरेन। टिकटक र इन्स्टाग्राममा हालेका भिडिओले नै ठूलो बजार बनाइदियो। आकर्षक डिजाइनमा गुणस्तरीय लुगा दिएपछि बजार बढ्यो। तीन जना कर्मचारी राखेर उत्पादन बढाएँ,' उनले भनिन्, 'जुन डिजाइन तयार भए पनि अनलाइनमा राख्नासाथ अर्डर आइहाल्थ्यो। स्टक बस्नै पाएन। उत्पादनमा भ्याइनभ्याइ भएपछि कारखाना खोल्नुपर्ने अवस्था आयो।'
उनले काठमाडौंको बसुन्धारामा कारखाना र शोरूम खोलेर उत्पादन बढाइन्। हाल १८ जना कर्मचारी काम गर्छन्।
लुगा बनाउन कटन, मलमल, मस्लिन, फ्लाटिन लगायत कपडा प्रयोग गर्छिन्। धेरैजसो भारतबाट आयात हुन्छ। ढाका भने पाल्पाबाट मगाउँछिन्।
हाल आमाको नानामा नवजात शिशुदेखि नौ वर्षसम्मका बालबालिकाको लुगा, आमाका लागि गाउन, खास्टो, पास्नी र अन्य उत्सवमा चाहिने लुगा पाइन्छ। सिरक, डस्ना, सिरानी र दोलाईं सेट पनि उपलब्ध छ। यीमध्ये सबभन्दा बढी बिक्री हुने बालबालिकाकै लुगा हो।
संगीताले छोटो समयमै आफ्नो ब्रान्डको विश्वास बढाएकी छन्। व्यापार पनि बढिरहेकाले उनी खुसी छन्।
'मेरो मेहनत र संघर्ष आफ्नो ठाउँमा छ। यो व्यवसायले मेरा लागि नसोचेको सफलता दिएको छ। धेरै खुसी छु,' ३७ वर्षीया संगीताले भनिन्।
आमाको नाना तुलनात्मक रूपमा किफायती रहेको उनको भनाइ छ। हाल एक सेट लुगाको ११ सयदेखि २७ सय रूपैयाँसम्म पर्छ। सिरक र डस्ना सेटको भने ६ हजार रूपैयाँ पर्छ। बालबालिकाका लागि चाहिने लुगा थोरै बढी मूल्य परे पनि गुणस्तरीय होओस् भन्ने आफ्नो ब्रान्डको उद्देश्य रहेको उनी बताउँछिन्।
आमाको नानाका सामान यसको पसलसँगै फेसबुक र इन्स्टाग्राम पेजमार्फत अर्डर गर्न सकिन्छ। काठमाडौं बाहिर पनि पसल खोल्ने उनको योजना छ।
संगीता वीरगन्जमा जन्मिएका हुन्। पढाइ भने काठमाडौंमै भयो। विद्यार्थी छँदा फेसन डिजाइनर बन्न चाहना थियो। बाह्र कक्षाको पढाइ पूरा गरेपछि तीन महिना सिलाइ तालिम लिइन् जसमा बच्चाका लागि भोटो र दौरा सिउन सिकिन्। त्यसपछि फेसन डिजाइन पढ्न कलेज भर्ना भइन्।
पढाइकै क्रममा गुल्मीका राजु क्षेत्रीसँग उनको प्रेमविवाह भयो। बिहेपछि परिस्थिति बदलियो। आर्थिक अवस्थाले साथ नदिएपछि बीचमै पढाइ छाड्नुपर्यो।
संगीताले त्यतिन्जेलको सीपकै भरमा एउटा सटरमा टेलरिङ व्यवसाय सुरू गरिन्।
'आमाले एउटा लुगा सिउने मेसिन किनिदिनुभयो। सानो सटर लिएर टेलरिङ सुरू गरेँ,' उनले भनिन्, 'डिजाइनर बन्ने सपना थियो, टेलरिङ मात्र चलाउने पो भएँ भन्ने लाग्यो। सुरूमा अलि गाह्रो भए पनि बिस्तारै बानी पर्दै गयो।'
व्यवसायमा अघि बढ्ने अठोट गरेर उनले सिलाइका लागि एकजना कालिगढ राखिन्। तिनै कालिगढबाट कटाइ र सिलाइको थप काम सिकिन्। केही महिनामा सबै काम सह्माल्न सक्ने भइन्। आम्दानी पनि बढ्दै गयो। घर खर्च चलाएर केही बचत गर्न सक्ने भइन्।
उनको कामले गति लिए पनि पढाइको धोको पूरा भएकै थिएन। फेरि फेसन डिजाइनिङ पढ्न कलेज गइन् र दुईवर्षे डिप्लोमा कोर्स पूरा गरिन्।
दुई वर्ष टेलरिङ व्यवसाय गरेपछि र फेसन डिजाइनिङमा डिप्लोमा पूरा भएपछि संगीताले बुटिक खोल्ने योजना बनाइन्। त्यसमा श्रीमान र परिवारजनले पनि साथ दिए।
उनले बसुन्धरामा अलि फराकिलो ठाउँमा कुर्तासुरूवाल, ब्लाउज-सारी र लेहंगा राखेर काम सुरू गरिन्।
'बुटिक चलाउँदा मेरो डिजाइन र फिनिसिङले धेरैको मन जित्यो। यो ठाउँमा संगीताको बुटिक भनेर चिनिने भयो,' उनले भनिन्, 'आम्दानी राम्रो थियो। रोजगारी पनि दिएकी थिएँ। त्यो सफलता मेरा लागि ठूलो थियो।'
तर कोरोनाले व्यवसायमा असर पर्यो। काम बन्द भयो। स्थिति सुधार भएपछि फेरि पनि बुटिक राम्ररी चल्छ भन्ने विश्वास उनलाई थियो। तर जब उनी आमा बनिन्, उनको मन बदलियो। उनले बुटिकको साटो नयाँ व्यवसाय रोजिन्, शिशु र बालबालिकाका लुगा बनाउने।
'कतिपयले त दौरासुरूवाल जहाँ पनि पाइन्छ, जोखिम नलेऊ भनेर सल्लाह पनि दिनुभएको थियो। तर मेरो अवधारणा फरक थियो। गुणस्तरीय लुगा किफायती मूल्यमा दिन चाहन्थेँ,' संगीताले भनिन्।
आखिर उनले शिशु र बालबालिकाका लागि राम्रो कपडाको गुणस्तरीय लुगा चाहिन्छ भन्ने कुरा बुझाउन सकिन्। यसै अनुसार ग्राहकको विश्वास बढ्यो।
यसरी बुटिकमार्फत चिनिएकी संगीता 'आमाको नाना' सुरू गरेपछि फड्को मारेर अघि बढेकी छन्।
'अब म आफ्नो मौलिक पहिरन लोप हुन नदिन निकट भविष्यमा महिलाहरूलाई दौरासुरूवाल सिउने तालिम दिने योजनामा छु। महिलाका लागि कटनको अफिसियल ड्रेस बनाउने पनि सोचेकी छु,' संगीताले भनिन्, 'उत्पादनमा विविधता बढाउँदै व्यवसाय विस्तार गर्ने योजना छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(आमाको नानाको इन्स्टाग्राम पेजमा जान यहाँ र फेसबुकमा जान यहाँ क्लिक गर्नुहोस्।)