महिला उद्यमीका कथा
ललितपुरको मानभवनमा छ 'द बी किपिङ सप'। बाहिर राखिएका मौरीका दुइटा घारले यो मह पाइने पसल भनेर प्रस्टै थाहा हुन्छ।
यहाँ तोरी, फापर, चिउरी, लिची, रूदिलो, मिश्रित (विभिन्न फूलको रस मिश्रित) मह पाइन्छ।
ललितपुरकै बासिन्दा महालक्ष्मी श्रेष्ठले २९ वर्ष अगाडि यो पसल खोलेकी हुन्।
पसलमा सिजनका बेला चाका मह पाइन्छ। त्यस्तै मौरीको मैनबाट बनाइएको साबुन, मैनबत्ती र लिपबाम पनि यहाँ उपलब्ध छ।
'मौरीले मौसम अनुसारका विभिन्न फूलको परागबाट मह बनाउँछ। वानस्पतिक स्रोत अनुसार महको स्वाद, बास्ना, रङ र औषधीय गुण फरक हुन्छ,' ३२ वर्षदेखि महमा काम गरिरहेकी महालक्ष्मीले भनिन्।
तोरी र चिउरीको मह फिक्का रङको हुन्छ। रूदिलो, लिच्ची र फापरको मह गाढा हुन्छ। सामान्यतया तोरीकै मह बढी उत्पादन हुन्छ।
द बी किपिङ सपको मह प्लास्टिक र सिसाको बट्टामा प्याकेजिङ हुन्छ। सामान्यतया २५० ग्राम, आधा किलो र एक किलो तौलमा उपलब्ध छ। ग्राहकले चाहेको तौलमा पनि किन्न पाउँछन्। प्रकार अनुसार मह किलोको नौ सयदेखि १२ सय रूपैयाँसम्म पर्छ।
महालक्ष्मीले हाल चितवन, दाङ, प्युठान, कैलाली, झापा जुम्ला लगायत जिल्लाबाट ल्याएको मह बेचिरहेकी छन्। नेपाली बजारसँगै 'कस्टी हनी' ब्रान्डमा जापान पनि पठाइरहेकी छन्।
'कम्पनीले वार्षिक ५० लाख रूपैयाँसम्मको मह बेच्छ,' उनले भनिन्।
महालक्ष्मी व्यावसायिक परिवारबाटै आएकी हुन्। उनका बुबाको टेक्सटायल उद्योग थियो।
उनी सानैदेखि पढाइमा तेज थिइन्। त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा स्नातकोत्तर गरिन्।
'मैले आर्थिक रूपमा आत्मनिर्भर र सक्रिय नभएसम्म बिहे नगर्ने अठोट गरेकी थिएँ,' उनले भनिन्।
एक दिन पत्रिकामा एउटा प्रोजेक्टमा 'बोटानिकल एनालिस्ट' पदमा कर्मचारी माग भएको विज्ञापन देखिन्। महालक्ष्मीले आवेदन दिइन्। अन्तर्वार्तापछि छनोट पनि भइन्।
'मेरो त खुसीको सीमा रहेन,' महालक्ष्मीले सुनाइन्, 'परिवारमा घरबाहिर काम गर्ने पहिलो महिला सदस्य मै थिएँ।'
उनले काम गर्ने प्रोजेक्ट नेदरल्यान्ड्स सरकारको सहयोगमा सञ्चालित 'बी किपिङ ट्रेनिङ एन्ड एक्स्टेन्सन सपोर्ट' थियो। प्रोजेक्टले आधुनिक मौरी पालनसम्बन्धी तालिम दिन्थ्यो।
बोटानिकल एनालिस्टका रूपमा महालक्ष्मीले कुनकुन बिरूवाको फूलबाट मौरीले मह संकलन गर्छ र कुन फूलको महमा कस्तो औषधीय गुण हुन्छ भन्ने अनुसन्धान गर्नुपर्थ्यो। कामकै सिलसिलामा उनले आधुनिक मौरीपालन तालिम लिइन्। तालिम प्रशिक्षक पनि भइन्।
तालिम दिन उनी हुम्ला, जुम्ला, रोल्पा, धादिङ, दोलखा, प्युठान लगायत जिल्ला पुगिन्। त्यो समय अधिकांशले खोपा र मुढामा मौरी पाल्थे। आधुनिक घार बनाएर पाल्ने चलन भर्खर सुरू हुँदै थियो।
'त्यहाँका किसान धेरै सिपालु थिए। उनीहरूलाई मह व्यवस्थापनको धेरै जानकारी थियो तर आधुनिक शैलीको ज्ञान थिएन,' उनले भनिन्, 'तालिम दिन जाँदा आफूले नै धेरै सिकिँदो रहेछ।'
किसानहरू आफूले दैनिक प्रयोग गर्ने मह तताएर राख्थे। औषधिका लागि भने नतताई माटाको भाँडोमा राखेर माथिबाट माटोले लिपेर छोप्थे।
उनका अनुसार अधिकांश नेपाली किसान रैथाने जातका मौरीको मह उत्पादन गर्थे। प्रोजेक्टले नयाँ जातका मौरीपालन सुरू गरायो। मह उत्पादनको व्यावसायिक पकेट क्षेत्र बनायो। तालिम दिएपछि मौरी पाल्ने कृषकको संख्या बढ्यो। सरकारले पनि मौरीपालन प्रवर्द्धनको कार्यक्रम ल्यायो। यसले मह उत्पादन बढायो।
किसानहरू मह बिक्रीमा सहयोग गरिदिन महालक्ष्मीसँग आग्रह गर्थे। उनी किसानलाई प्रोजेक्टमार्फत चिनजान भएका व्यवसायीसँग सम्पर्क गराइदिन्थिन्।
महालक्ष्मीले उक्त प्रोजेक्टमा करिब तीन वर्ष काम गरिन्। केही पैसा पनि जम्मा भएको थियो। त्यही पैसाबाट उनी आफैले मह व्यवसाय गर्ने सोचिन्।
'व्यवसायको धेरै आइडिया नभए पनि पैसा भएकाले आँट आएको थियो,' उनले भनिन्।
तीन दशकअघि, उनले एक लाख रूपैयाँ लगानी गरेर ललितपुरको कुमारीपाटीमा द बी किपिङ सप खोलिन्। पसलमै दुइटा घार र प्रोजेक्टमा काम गर्दा चिनजान भएका कृषकको मह बेच्न राखिन्। व्यापार राम्रै चल्यो।
त्यही बीचमा उनको बिहे भयो।
'मागी बिहे भएको हो। मेरो व्यवसाय नछाड्ने सर्त राखेकी थिएँ। त्यसैअनुसार परिवारको सहयोग पाएँ,' उनले भनिन्।
उनलाई केही किसानले आधुनिक मौरीपालनका लागि लगानी जुटाइदिन आग्रह गरे। त्यसपछि उनी आफै तीन जना किसानसँग साझेदारीमा मह उत्पादनमा लागिन्। दुई वर्षपछि उनले बी किपिङ एन्ड रिसर्च सेन्टर नामको कम्पनी दर्ता गरिन्।
द बी किपिङ सपका पहिलो अक्षर टिपेर 'टिबिएस' नाममा आफ्नो उत्पादन ब्रान्डिङ गरेर बेच्न थालिन्।
यसरी महालक्ष्मीले मह बेच्न थालेको ३० वर्ष हुनै लागिसक्यो। हाल उनी मौरीपालन गर्दिनन्, ३० जना किसानसँग सहकार्य गरेकी छन्। तिनकै उत्पादन प्रशोधन गरेर बेच्छिन्। उनलाई काममा पाँच जनाले सघाउँछन्।
महालक्ष्मीका अनुसार मह उत्पादनका लागि नेपालको प्राकृतिक वातावरण उपयुक्त छ।
मह उत्पादन निकै बढेको छ तर त्यसअनुसार व्यापारिक लाभ हुन सकेको छैन।
'अहिले मह उत्पादन धेरै छ। किसान आफैले उत्पादन, लेबलिङ, प्याकेजिङ गरेर बजारीकरण गर्न सक्दैनन्। ठूला कम्पनी आउनुपर्छ,' महालक्ष्मी भन्छिन्, 'ठूला कम्पनी आएर बजार प्रवर्द्धन गर्ने हो भने नेपालमा महबाट धेरै नै फाइदा लिन सकिन्छ।'