सन् २०१४ अप्रिल १८ को दिन।
सोलुखुम्बुका दावा टासी शेर्पा पर्यटकसँग सगरमाथा आरोहणमा गएका थिए। त्यही क्रममा सो दिन आधार शिविरबाट क्याम्प १ जाने बाटोमा सामान ओसार्दै थिए।
एकाएक ठूलो हिउँ पहिरो गयो। उनकै आँखाअगाडि १६ जना नेपालीको मृत्यु भयो।
उनी पनि पहिरोमा पुरिएका थिए तर तुरून्तै उद्धार हुन सक्यो र जोगिए। त्यो दुर्घटनाले उनलाई करिब तीन वर्ष 'बेड-रेस्ट' गर्न बाध्य बनायो।
'त्यो घटना सम्झिँदा अहिले पनि आङ सिरिंग हुन्छ,' दावाले भने।
ट्रेकिङ र हिमाल आरोहणमा सुरूमा भरिया र पछि गाइड काम गरिरहेका उनको कमाइबाटै परिवार चलेको थियो। दावा परिवारसहित काठमाडौंमा बस्थे। जब उनले आराम गरेर बस्नुपर्ने भयो, घरको खर्च धान्न कठिन भयो।
यही बेला उनकी श्रीमती फुर्वाले पसल खोल्ने विचार गरिन्। लगानी गर्ने पैसा भने थिएन। उनले निकटका केही साथीको सहयोगमा ठमेलमा कटन कपडाको ५० वटा टिसर्ट सिउन लगाइन्। त्यसमा २५ हजार रूपैयाँ लाग्यो।
टिसर्ट बोकेर फुर्वा काठमाडौंका सडक घुम्न थालिन्। केही आफन्त, साथी, चिनजानका व्यक्तिलाई सहयोग स्वरूप नै भए पनि किनिदिन आग्रह गरिन्। यसरी दिनमा तीन-चारवटा टिसर्ट बेच्न सकिन्।
'दावाको स्वास्थ्य निकै कमजोर थियो। ठीक हुन्छ कि हुँदैन, केही पत्तो थिएन। घरखर्च चलाउन केही न केही त गर्नै पर्थ्यो। काखमा बच्चा पनि थियो,' फुर्वाले भनिन्, 'पिठ्युँमा छोरो बोकेर टिसर्ट बेच्दै सडक, चोक र क्याफेमा पस्थेँ।'
उनलाई ५० वटा टिसर्ट बेच्न एक महिनाभन्दा बढी लाग्यो। तैपनि उनले हार मानिनन्। यसरी नै टिसर्ट व्यापार गरिरहिन् र केही खर्च जोहो गरिन्।
करिब दुई वर्ष आराम गरेपछि दावा काम गर्न सक्ने गरी तंग्रिए। उनले जानेको काम ट्रेकिङ नै थियो। सिजनमा कमाइ पनि राम्रै हुन्थ्यो। त्यसैले उनी पुरानै काममा फर्किए। फुर्वाले टिसर्ट बेच्न छाडिन्।
केही समयपछि उनीहरूको जीवन लयमा फर्कियो। उनीहरूले थोरै पैसा लगानीमा टिसर्ट व्यापार सुरू गर्ने सोचे।
तर यसपालि पहिलेजसरी होइन, आफ्नै ब्रान्ड नाम राखेर टिसर्ट बनाउने र बेच्ने।
'आफू ठूलो दुर्घटनाबाट बचेकाले आफ्नै नाममा ब्रान्ड बनाउने सोचेँ,' उनले भने, 'त्यसो हुँदा म ट्रेकिङ र पर्वतारोहणमा जाँदा पनि ब्रान्डको प्रचार हुन सक्थ्यो।'
यसरी सात वर्षअघि दावा र फुर्वाले 'दावा गियर' सुरू गरे। धेरै ठूलो लगानी नभएकाले पसल खोल्न पुग्ने पैसा थिएन। त्यसैले पहिलो खेपमा थोरै ज्याकेट र टिसर्ट बनाए। दुवैले सामाजिक सञ्जालमा फोटो राखेर सामानको प्रचार गरे।
चिनजानका व्यक्ति र आफन्त बाहेकले खासै रूचि देखाएनन्। व्यापार हुने संकेत देखा परेन। बरू दावाले ट्रेकिङ गएको मौकामा पर्यटकहरूलाई बेचे।
जसोतसो उनीहरूले कामलाई निरन्तरता दिइरहे। बिस्तारै अर्डर आउन थाल्यो। कोरोनाको समयमा अलि बढ्यो। अलिअलि गर्दै दावा गियरका सामानको बजारमा खोजी हुन थाल्यो। ग्राहकहरूले बजारमा खोजेको खबर पाएपछि शेर्पा दम्पतीले कपनस्थित आफ्नो डेरा नजिकै एउटा पसल खोले। पसल खोलेको खबर बजारमा पुर्याए।
सुरूमा उनीहरूलाई पसलका निम्ति कपन उपयुक्त ठाउँ होइन भन्ने लागेको थियो। आफ्नो सजिलोका लागि त्यहीँ रोजेका थिए। तर परिणाम फरक निस्कियो। कपनमै दावा गियरले गति लियो।
'पहिले गुजारा चलाउन मुस्किल भएर टिसर्ट बेच्न थालेकी थिएँ। अहिले आफ्नै ब्रान्ड भयो,' फुर्वाले भनिन्, 'दावालाई ट्रेकिङमै फुर्सद छैन। व्यवसाय मैले सह्मालेकी छु।'
कम्पनी व्यवस्थापन, कपडा छनोटदेखि डिजाइनसम्मको काम फुर्वा आफै हेर्छिन्।
दावा गियरमा अहिले टिसर्टबाहेक विभिन्न थरीका टोपी र ज्याकेट, ट्र्याकसुट लगायत अन्य लुगा पाइन्छ। सबै लुगा भक्तपुरको आफ्नै कारखानामा तयार हुन्छन्। फुर्वाका अनुसार दावा गियर एक करोड रूपैयाँभन्दा धेरैको कम्पनी बनिसकेको छ।
'हाम्रो सोच सबैले किन्न सक्ने मूल्यको उत्पादन बनाउनु हो। त्यसैले हाम्रा लुगा किफायती र टिकाउ छन्,' फुर्वाले भनिन्, 'धेरैले रूचाएका छन्। व्यवसाय राम्रो चलेको छ।'
दावा गियर ब्रान्डमा आठ सयदेखि आठ हजार रूपैयाँसम्मका लुगा पाइन्छन्। पसलमै गएर किन्न वा दावा गियरको फेसबुक वा इन्स्टाग्रामबाट अर्डर गर्न पनि सकिन्छ।
फुर्वाका अनुसार उनीहरू व्यापारबाट वर्षभरिमा भएको फाइदाको एक अंश अनाथ आश्रममा लुगा बाँड्न खर्च गर्छन्।
'हामी धेरै दुःखबाट गुज्रियौं। हामीले दुःख चिनेका छौं। त्यसैले पनि होला, व्यवसायमा भएको फाइदाबाट हरेक वर्ष सय जनाभन्दा बढीलाई लुगा दिने गरेका छौं,' फुर्वाले भनिन्, 'यस्तो सहयोगबाट हामीलाई ठूलो खुसी मिल्छ। व्यवसाय पनि बढेको छ।'