कोरोना भाइरस संक्रमणको समयमा बजारमा मास्कको माग उच्च थियो।
सर्जिकल मास्कको विकल्पमा उद्यमीहरूले थुप्रै डिजाइनका मास्क निकाले। मास्कको माग घटेपछि धेरै उद्यमीहरू अर्को उत्पादनमा लागे।
यस्तैमध्ये एक हो 'सुइका ब्याग'।
नेवारी भाषामा 'सुइका चोनु' भनेको सिउने काम हो। ललितपुरकी अष्ट महर्जन र उनकी छोरी श्रीया सुइका चलाउँदै छन्।
सुइकाले मास्क र ब्याग (झोला) उत्पादन गर्छ।
'हामीले सुइका ब्रान्डमा एक वर्ष ढाका कपडाको मास्क बनाएर बेच्यौं,' श्रीयाले भनिन्, 'मास्कको माग घटेपछि त्यही ब्रान्डबाट ब्याग उत्पादन थालेका हौं।'
अहिले सुइकाले फ्यानी प्याक, ब्याक प्याक, समर ट्राभल, क्यानभास, ह्यान्ड ब्याग लगायत उत्पादन गरिरहेको छ।
सुइकाको पहिलो ब्याग 'फ्यानी प्याक' हो जो दुई वर्षअघि बजारमा आएको हो। यो ब्याग युवकका लागि लक्षित थियो। फ्यानी प्याकको बिक्रीले आमाछोरीले ब्यागको बजार राम्रो छ भन्ने थाहा पाए।
त्यसपछि श्रीयाले केही डिजाइन थपिन्।
हालै पाउच ब्याग (थैलो) ल्याएका छन्। यसलाई 'ट्राभल पाउच ब्याग' नाम दिएका छन्। पाउच ब्याग महिला र पुरूष दुबैले प्रयोग गर्न मिल्ने खालको छ। हेर्दा चिटिक्क देखिन्छ।
श्रीयाका अनुसार पाउच यात्राका क्रममा राखिने मेकअप सामग्री र त्यस्तै ससाना सामान राख्न उपयोगी छ। पैसा वा पर्स (वालेट) राख्न पनि मिल्छ।
'पाउच भर्खरै बजारमा ल्याएका हौं। यसमा धेरै खल्ती छन्। माग निकै राम्रो छ,' उनले भनिन्।
सुइका ब्यागको मूल्य पाँच सयदेखि तीन हजार पाँच सय रूपैयाँसम्म छ। राम्रो फिनिसिङ र उचित मूल्यका कारण सुइका धेरैको रोजाइमा परेको उनी बताउँछिन्।
ब्याग डिजाइनको जिम्मेवारी श्रीयाको हो भने सिलाइमा आमा अष्ट र तीन जना आफन्त छन्।
'हामीले ठूलो लगानीमा सुरू गरेका होइनौं। फुर्सदको समय सदुपयोग गरेर घरमै ब्याग बनाउन थालेका थियौं,' श्रीयाले भनिन्, 'बजार बढ्दै छ। हामी खुसी छौं। आमा झन् धेरै खुसी हुनुहुन्छ।'
अष्ट र श्रीयाले बजार अध्ययनबिनै ब्याग उत्पादन थालेका थिए। पहिलो उत्पादनले बजार पाएपछि चल्तीका ब्यागको डिजाइनमा केही फरक र नयाँपन दिँदै अघि बढेका हुन्।
बजारमा धेरै किसिमका ब्याग पाइए पनि सुइकाको प्रतिस्पर्धा चल्तीका ब्रान्डसँग नभएको श्रीया बताउँछिन्। आफ्नै ढंगले बजार प्रवर्द्धन भइरहेको उनले बताइन्।
पचास वर्षीया अष्टले किशोर उमेरदेखि नै सिलाइ मेसिन चलाएकी हुन्। उद्यमी बनेकी भने सुइकाबाटै हो।
उनीहरूको घरमा एउटा सिलाइ मेसिन थियो। अष्ट घरायसी प्रयोगका केही लुगा आफै सिलाउँथिन्। कहिलेकाहीँ केही नौला सामान पनि बनाउँथिन्।
'हाम्रो संस्कृतिमा लुगा उपहार दिने चलन छ। सिउने सीप भएकाले घरमा सधैं ढाकाको कपडा हुन्थ्यो,' श्रीयाले भनिन्, 'आमाले कोभिडको समयमा त्यसैबाट मास्क बनाउनुभएको थियो।'
श्रीयाले अफिस जाँदा आमाले बनाएको मास्क लगाइन्। उनका सहकर्मीले मन पराए। चिनजानका अरूले पनि सोधखोज गरे। उनले मास्कको बजार राम्रो हुने सम्भावना देखिन्। आमासँग सल्लाह गरिन्। मास्क तयार भएपछि अनलाइनमा बेच्न श्रेयाले सुइका ब्रान्ड नाममा फेसबुक र इन्स्टाग्राममा पेज बनाइन्।
उनीहरूले लगातार एक वर्ष मास्क बनाएर बेचे।
'मास्कको माग आउन छाडेपछि ब्रान्ड बन्द गर्नुपर्ने वा अर्को उत्पादन सुरू गर्नुपर्ने भयो,' श्रीयाले भनिन्, 'बन्द गर्नुको साटो आमाछोरीको व्यवसायका रूपमा चिनाउन ब्याग बनाउन थाल्यौं।'
उनीहरूले घरमै भएका सामानबाट मास्क बनाएका थिए। लगानी करिब शून्य नै भएको श्रीया बताउँछिन्। मास्कको व्यापारबाट भएको आम्दानीबाटै ब्याग उत्पादन थालेका हुन्।
श्रीयाले मास्क बेचिरहेको सामाजिक सञ्जालको पेजबाटै ब्यागको प्रचार गरिन्। अर्डर आउन थाल्यो। डेलिभरीका लागि व्यावसायिक कम्पनीसँग सहकार्य गरिन्।
पहिलो उत्पादन फ्यानी प्याकपछि सुइकाको टोट ब्याग बजारमा आयो। यसपछि आमाछोरीले थप डिजाइनका ब्याग बनाउन तीन वटा आधुनिक सिलाइ मेसिन किने। सिलाइको काममा तीन जना थपिए।
उनीहरू अर्डर अनुसार मात्र ब्याग बनाउँछन्।
'अर्डर अनुसार तयार गर्ने समय लिन्छौं र ठीक समयमा डेलिभरी दिन्छौं,' उनले भनिन्, 'प्रायः थोक व्यापारीको अर्डर आउँछ।'
सुइका ब्याग काठमाडौं उपत्यकासँगै पोखरा, विराटनगर, धरान लगायत सहरमा पुगेको छ। यसलाई ब्रान्डका रूपमा चिनाइरहेकी २७ वर्षीया श्रीया एमबिए पढिरहेकी छिन्। एक विदेशी कम्पनीमा पनि आबद्ध छिन्। कम्पनीको कामपछिको सबै समय सुइकालाई दिन्छिन्।
'आमाछोरीको यो उद्यम कोभिडको परिणाम हो,' उनी भन्छिन्, 'बिस्तारै बजार अध्ययन गरेर माग र चल्ती हेरेर डिजाइन गर्न थालेकी छु।'
(सुइका ब्यागको फेसबुकका लागि यहाँ र इन्स्टाग्रामका लागि यहाँ क्लिक गर्नुहोस्)
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई ([email protected]) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।