सम्पादकीय नोटः केही वर्षयता हामीकहाँ सपना देख्ने र आफैं केही गर्न अघि सर्ने भर्भराउँदा युवाहरूको जमात बाक्लो हुँदैछ। सिर्जनात्मक नेपाली ब्रान्डहरू अंकुराउन थालेका छन्। 'नेपाली ब्रान्ड' स्तम्भ तिनै युवा र साकार हुँदै गरेको उनीहरूको सपनाको कथा हो। तपाईंहरूका पनि यस्तै कथा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं। ([email protected])
भुइँचालोपछि सिन्धुपाल्चोकका महिलाहरूका लागि 'टेकाः गो लोकल’ आम्दानीको श्रोत बनेको छ। ढल्न लागेका घरमा टेकोले सहारा दिएजस्तै 'टेका'ले त्यहाँका महिलालाई सहायता दिएको हो।
टेका अनलाइन व्यवसाय हो। यसमार्फत् मकैका खोस्टा र केराको फाइबरबाट बनेको चकटी, परालको गुन्द्री, कपडाको झोला, मास्क, लुगा, झुम्का, खेलौना, सजाउने लगायत सामग्री बिक्री हुन्छ। यी सामान सिन्धुपाल्चोकसँगै ललितपुर, चितवन, मकवानपुर र काठमाडौंका महिलाले बनाएका हुन्।
'भूकम्पपछि सिन्धुपाल्चोकको गाउँ र त्यहाँका महिलालाई नजिकैबाट चिन्ने मौका पाएँ,' टेकाका सञ्चालक शैलजा कसजूले भनिन्।
२०६८ सालमा शैलजाले केही साथीसँग मिलेर 'पावरफुल ह्यान्ड्स' नामक युवा समूह सञ्चालन गरेकी थिइन्। भूकम्पपछि यो समूहमार्फत उनीहरूले सिन्धुपाल्चोकमा राहत वितरण थाले। यो क्रममा शैलजा काठमाडौं-सिन्धुपाल्चोक आउजाउ गरिरहन्थिन्। एकदिन सिन्धुपाल्चोक सीमामा पर्ने वनदेउमा उनी चढेको गाडी चेकिङ हुन थाल्यो। सबैलाई सोधपुछ गरियो, विशेषगरी महिलाहरूसँग।
शैलजाले चेकिङ बुथकै एक व्यक्तिलाई सोधिन्, 'केको चेकिङ भइरहेको हो?'
जवाफमा उताबाट आयो, 'भूकम्पपछि सिन्धुपाल्चोकबाट बाहिरिने महिला संख्या बढेको छ। सम्भवत महिलाहरूको तस्करी भइरहेको छ। त्यसैले जिल्ला छाडेर बाहिरिने र भित्रिनेको चेकिङ कडाइ गरेका छौं।'
भुइँचालोको एक महिना नबित्दै झन्डै एक सय महिला जिल्ला बाहिरिएको तथ्यांकपछि कडाइ गरेको बुझियो।
'त्यो रात म राम्ररी सुत्नै सकिनँ। विभिन्न संस्था खटिरहे पनि जिल्ला बाहिरिनेको संख्या किन एकाएक बढ्यो भन्ने मनमा खट्किन थाल्यो,' उनले भनिन्, 'हामीले राहत वितरण गर्ने तरिका नै नमिलेको हो कि भन्ने पनि भयो।'
यो कारण बुझ्न उनी समूहमार्फत अध्ययनमा लागिन्। निष्कर्षमा आर्थिक अवस्था कमजोर भएपछि गाउँबाट बाहिरिन बाध्य हुनुपरेको बुझियो। गाउँमा यसै पनि महिला, बुढापाका र बालबालिकाको जनसंख्या धेरै थियो।
बल्ल शैलजालाई लाग्यो- खान र बस्नसँगै यहाँका जनतालाई दीर्घकालीन आर्थिक श्रोत आवश्यक छ। यो रोजगार दिएर सम्भव छ। त्यसपछि नै हो उनले गाउँका महिलाहरूसँग छलफल गरेर सिलाइ-बुनाइको तालिम दिन थालेकी।
सानैदेखि क्राफ्ट, पेन्टिङ र बुनाइमा विशेष रूचि राख्ने उनले आफूले जानेको सीप सिकाइन्। पहिलो चरणमा ५० हजार खर्चेर १२ जना महिलालाई तालिम दिएकी थिइन्। सुरूमा महिलाहरूले गुडिया बनाउन सिके। बिस्तारै वरपर पाइने अन्य कच्चा सामग्रीबाट चकटी, गुन्द्री जस्ता सामान बनाउन थाले।
'मैले सक्ने कुरा गाउँ गएरै सिकाएँ। पछि त्यही समूहबाट केहीलाई काठमाडौं ल्याएर प्रशिक्षकबाट तालिम दियौं। उनीहरूले काठमाडौंमा सिकेका कुरा गाउँमा गएर अरूलाई सिकाउन थाले,' सिकाइ चरणबारे शैलजाले भनिन्।
महिलाहरू विभिन्न सामान बनाउने काममा धमाधम लागे। संस्थागत रूपमा बजारमा जान नमिल्ने भएपछि शैलजाले नयाँ नामसँगै सामान बजार भित्र्याउने सोचिन्। यही बेला हो टेकाः गो लोकल खुलेको।
टेका भन्नाले सहायता। जुन काम सिन्धुपाल्चोकका महिलाले गर्दै थिए, त्यसले आर्थिक टेवा पुर्याउने भएकाले यो नाम रोजेको शैलजा बताउँछिन्। स्थानीयरूपमा उपलब्ध चिजबाट सामान बनाउने हुँदा नाममा 'गो लोकल' जोडियो।
३२ वर्षीया शैलजा सामfजिक काममा लागेको एक दशक बितिसक्यो। त्यसअघि उनलाई यसमा उत्ति चासो थिएन। सानैदेखि कलात्मक र रचनात्मक क्षेत्रमा रूचि भएकाले उनी इन्टेरियर डिजाइनिङमा स्नातक पढ्न भर्ना भएकी थिइन्। पढाइसँगै अल्फाबेटा कन्सल्टेन्सीमा आवद्ध थिइन्। त्यसबेला उनलाई एक जना सहकर्मीले 'भजाइनल मोनोलग’ कार्यक्रम समन्वय गर्न सुल्झाए।
'भजाइनल मोनोलग’ (योनीका कथाहरू) समन्वय क्रममा विभिन्न पृष्ठभूमिका महिलाहरूसँग उनको सम्पर्क भयो। उनले पहिलो पटक काठमाडौं बाहिरको समाज बुझिन्। पिछडिएका र दमनमा परेकाको कथा सुनिन्।
'बेचबिखनमा परेका महिलाको कथा सुनेँ। फर्केर आएकाले यहाँ भोग्ने दुःख पनि सुन्दै अत्यास लाग्दो,’ शैलजाले भनिन्।
यसपछि उनलाई समाज बुझ्ने हुटहुटी बढ्यो। पढाइलाई माध्यम बनाएर अघि बढ्ने सोचिन् र इन्टेरियर डिजाइनिङ छाडेर डेभलपमेन्ट स्टडिज पढ्न थालिन्। सामाजिक कार्यमा लागेपछि उनलाई यही क्षेत्रमा आनन्द लाग्न थाल्यो र यसैलाई निरन्तरता दिएकी हुन्।
टेकाका सामग्री स्थानीय बजारमै बिक्री हुन्थ्यो। लकडाउनयता भने अनलाइन व्यवसायमा ध्यान दिएका छन्, सामाजिक सञ्जालदेखि वेबसाइटसम्म। शैलजाका अनुसार यसलाई साना तथा मझौला उद्योगबाट बन्ने सामग्री बिक्री गर्ने प्लेटफर्मका रूपमा विस्तार गर्ने योजना छ।
सामग्री संख्याभन्दा गुणस्तरमा विश्वास राख्ने उनी यहाँ संलग्न महिलाबारे पनि यसै भन्छिन्। उनका अनुसार टेकासँग कति महिला जोडिएभन्दा पनि उनीहरूलाई यसले के-कस्तो सहायता पुर्याएको छ भन्नेले बढी मान्यता राख्छ। टेकामा महिलाहरूले सामग्री बनाएअनुसार आम्दानी गर्छन्।
बंगलादेशस्थित ब्राक विश्वविद्यालयबाट स्नातकोत्तर गरिरहेकी शैलजा टेका र पढाइ दुवै अगाडि बढाउँदै छिन्। आफूले सबैतिरबाट पाइरहेको सकारात्मक प्रतिक्रियाले प्रेरणा मिल्ने उनी बताउँछिन्।
'टेकालाई ब्रान्डका रूपमा विस्तार गर्न चाहन्छु,' उनी भन्छिन्, 'अन्तर्राष्ट्रिय बजारसम्म पुर्याएर हाम्रो मौलिक सीप र कला देखाउन चाहन्छु।'
(टेकाको सम्पर्कः ९८४३७४३००४)