अघिल्लो वर्ष काठमाडौंकी अलिशा अधिकारीलाई इलाम जानुपरेको थियो। १२–१३ घन्टा लामो बस यात्रा सदुपयोग गर्दै उनले एउटा मफलर नै बुनेर भ्याइन्।
कलेज जानुपर्दा पनि उनको ब्यागमा कुरुस र धागो टुट्दैनन्। बाटोमा जामको दिक्दारी उनी आफ्नो सीपमा पोख्छिन्।
कोही यात्रुहरु ट्वाँ पर्दै उनले बुनेको हेर्छन्। कोही भने सोध्छन् पनि, 'व्यापार गर्नु हुन्छ हो?'
कलेजहरूमा मनोविज्ञान विषय पढाउने अलिशा पहिले त सोखका लागि बुन्थिन्। हालै भने सामाजिक सञ्जालमा 'मिहाग नेपाल' नामबाट व्यवसाय नै सुरू गरेकी छन्।
मिहागमार्फत् उनी हातैले बुनेका ऊनका मफलर, टोपी, विशेषगरी केटाकेटीका लागि स्विटर, पन्जा, मोजा लगायत बिक्री गरिरहेकी छन्।
'मिहाग' कोरियन शब्द हो जसको अर्थ 'सुन्दरता' रहेको अलिशा बताउँछिन्।
'पहिले कोरियन फिल्महरू धेरै हेर्थेँ। अझै पनि के–पपका गानाहरू सुन्छु। यो व्यवसायका लागि के नाम राख्ने भनेर मेरी दिदी र मैले हरेक भाषाका नाम हेर्यौं। अन्तिममा मिहाग नै मन परेकाले राख्यौं,' उनले भनिन्, 'फेरि विदेशीको पेज भनेर चिन्न गाह्रो होला भनेर मिहाग नेपाल राख्यौं।'
मिहाग नेपालमार्फत हातले बुनेका स्विटर, मफलर, मोजा लगायत सामान त भए नै, 'क्रस–स्टिच इम्ब्रोइडरी' मार्फत मान्छेका मुहार चित्रहरू पनि बन्छन्। तपाईंले आफ्नो दिमागमा सोच्नु भएका 'कस्टमाइज्ड' सामान पनि यहाँ पाइन्छ।
अलिशालाई लाग्छ– मान्छेले जे सोच्छ, त्यसलाई कलामा ढाल्न सकिन्छ। त्यसले ग्राहकलाई खुसी त बनाउँछ नै, आफ्नो सिर्जनशीलताको दायरा पनि फराक बनाउँछ।
सानैदेखि उनलाई विद्युतीय सामानहरू भत्काउने/बनाउनेदेखि बुनाइप्रति पनि लगाव थियो।
२६ वर्षीया अलिशा भन्छिन्, 'पाँच-छ वर्षकी हुँदा मैले गुडियाका लागि लुगा नै सिलाएकी थिएँ। पछि अन्तै व्यस्त भइयो। तर २०७२ को भूकम्पपछि मामाघरकी हजुरआमाले बुनेको देखेँ। सानो बेलाको रहर फेरि फर्कियो र त्यही साल मैले बुन्न सिकेँ।'
हजुरआमाले साधारण बुनाइ सिकाइदिएकी थिइन्। पछि युट्युबमा पनि हेर्दै सीपको दायरा बढाइन्। बुन्न सिकेकै दिन टोपी बनाएको बताउँदै भन्छिन्, 'एकदम सजिलो थियो, रमाइलो पनि। सिकेको कुरालाई आफ्नो डिजाइनमा ढालेर, फेसन डिजाइनरले जस्तै नाप लिएर लुगा बनाउँथे। एक-दुई हप्तामा त मैले राम्रै सामान बनाउन थालिसकेकी थिएँ।'
चार वर्षअघितिर त्यसरी बनाउँदा कति साथीहरूले उनलाई जिस्काउँथे पनि रे– कस्तो हजुरआमाले जस्तै काम गरेको!
उनलाई भने यो कुनै उमेर समूहले गर्ने काम लाग्दैन। बरू यो कला हो भन्ने भावना आउँथ्यो। त्यही भएर ती प्रतिक्रिया वास्ता नगरी आफ्नो कामलाई निरन्तरता दिइन्।
लकडाउन बेला त झन् सामाजिक सञ्जाल उनको सीप देखाउने थलो नै बनेको थियो। विभिन्न रचनात्मक व्यवसायका पेजहरू पनि बने। उनले 'क्राफ्ट अलिशा' भनेर 'हबी पेज' का रूपमा बनाएकी त थिइन्। त्यहीबाट मान्छेहरूले सामान माग गर्थे।
लकडाउनको फुर्सदले आफ्नो रूचिलाई नै व्यवसाय बनाउन सकिएला भनेर सोच्ने समय पनि पाइन्। अनि दिदीसँग सल्लाह गरेर 'मिहाग नेपाल' खोलिन्। यो व्यवसाय उनले आफ्नै घरबाट सञ्चालन गरिरहेकी छन्। आमाले बुन्न, बुवाले सामान मिलाउन र दिदीले मिहागका सामानहरू प्रचार गर्न उनलाई सहयोग गर्छन्।
यहाँ बन्ने सामानको मूल्य, त्यसको डिजाइन, नाप र कस्तो सामान भन्नेले निर्धारण गर्छ। कति सामान नपाएर बाहिरबाट मगाउनु पर्ने झन्झट त आफ्नै ठाउँमा छन्। कहिलेकाहीँ सानो गल्तीले पूरै सामान खोलेर बनाउनुपर्ने क्षण पनि उनले साँचेकी छन्।
नयाँ नयाँ डिजाइन बनाउनु अर्को चुनौती, 'इन्टरनेटमा प्याटर्नहरू खासै भेटिन्नन्। त्यहाँको जस्तै बनाउन खोज्यो भने कहिले धागोको साइज त कहिले के सामान मिल्दैन। छुट्टै हिसाब गर्नुपर्छ।'
एकजनाले 'ब्याट–म्यान' डिजाइनको मोजा बनाउन दिएको उदाहरण दिँदै भनिन्, 'त्यो डिजाइन कसरी बनाउने भनेर इन्टरनेटमा कतै भटिएन। आफ्नै बलबुताले डिजाइन हेरेर बनाएर दिँदा राम्रै बन्यो। अर्डर दिने पनि खुसी हुनुभयो।'
लकडाउनअघि उनलाई धेरै व्यवसायीहरूले सहकार्य गर्न प्रस्ताव राखेका रहेछन्। त्यो बेला उनले यसलाई गम्भीर भएर सोचिनन्। अहिले भने काम गर्दै जाँदा आत्मविश्वास बढेको र यही पेसामा भविष्य बनाउन सक्ने ठानिसकिन्। त्यही भएर अरूसँग सहकार्य गर्ने अवसर फेरि आए पछाडि नपर्ने उनी बताउँछिन्।
दिनभर मोबाइलमा झुण्डिएर समय खेर फाल्नुभन्दा अलिशालाई यस्ता सीपमूलक काममा लाग्नु अर्थपूर्ण लाग्छ। उनको अनुभवले भन्छ, 'बुन्नु भनेको ध्यान जस्तो हो। यसले तनाब कम गराउनु साथै मान्छेलाई धैर्य बनाउँछ।'
सीप जान्न सधैं अग्रसर अलिशा अहिले पोतेहरूबाट गहना बनाउने काम पनि सिकिरहेकी छन्। राम्रो बन्दै गएपछि त्यसलाई प्रचार गर्ने सोचमा छिन्।
फिल्म हेर्दै र किताबहरू पढ्दै, पडकास्ट सुन्दै पनि काम गर्न सक्ने अलिशालाई हरबखत यही काम गर्ने फुर्सद भने छैन। बरू फुर्सद निकालेर यो काम गर्छिन्। उनी ४ वटा कलेजमा मनोविज्ञान पढाउँछिन्। बोल्न मन पराउने उनलाई स्नातक सकिएपछि नै पढाउनका लागि एक साथीको प्रस्ताव आएको थियो। त्यहीँबाट आत्मविश्वास बटुल्दै उनले शिक्षकका रूपमा यात्रा सुरू गरेकी हुन्।
उनले विद्यार्थीहरूका लागि 'आर्ट थेरापी' कक्षाहरू चलाउँछिन्। विद्यार्थीहरूले पनि उनको कामलाई प्रोत्साहन गर्दै मिहागको पेज प्रचार गर्न सहयोग गर्छन्।
बिहानदेखि दिउँसो तीन बजेसम्ममा उनको कक्षा सकिसक्छन्। त्यसपछिको समय उनको आफ्नै। कहिले विभिन्न छुट्टीहरू उनलाई अन्य काम गर्ने समय बनेर आउँछ। त्यसैले अलिशालाई लाग्छ, 'पढाउन सजिलो र धेरै समय पाइने काम हो। अहिले झन् अनलाइन कक्षा भएकाले कलेजसम्म पुग्ने समय पनि बचेको छ।'
बेलाबखत उनी मानसिक रोगीलाई परामर्श दिने काम पनि गर्छिन्। पढाउनुअघि नै विभिन्न सामाजिक संस्थामा परामर्शदाताका रूपमा काम गरिसकेकाले उनलाई चिन्नेहरु खोजीखोजी आउँछन्।
भन्छिन्, 'कुन कुरालाई कति समय दिने भन्ने जानियो भने सबै कुरालाई सँगै अगाडि बढाउन सकिन्छ।'
मान्छेहरूले भने यी सबै दुःख अनि कला नबुझेर 'यस्तो सामानको पनि किन यति महँगो' भन्दा उनलाई नराम्रो लाग्छ।
'मान्छेले कलाको महत्व त्यति धेरै बुझ्दैनन्। त्यसमा त सामान मात्र नभई मान्छेको समय, मिहिनेत लागेको हुन्छ,' उनले भनिन्।
यस्ता सीपमूलक कामको सम्मान नभएरै धेरै मान्छे विदेश पलायन भएजस्तो उनलाई लाग्छ। झन् घरै बस्ने गृहिणीहरूले फुर्सदमा बनाएका सीप ओझेलमै रहन्छन्।
त्यस्ता मान्छेलाई सीपमूलक तालिम दिँदै भविष्यमा मिहागमा जोड्ने उनको योजना छ, 'आफूले मात्र सिकेर काम छैन। अरूलाई पनि तालिम र रोजगार दिन सके मात्र काम अर्थपूर्ण हुन्छ। कलालाई मानसिक स्वास्थ्यसँग जोडेर पनि काम गर्न मन छ।'
मिहाग नेपालसँग सम्पर्क गर्न यहाँ क्लिक गर्नुहोस्ः