नितेश श्रेष्ठ संयुक्त अरब इमिरेट्स (युएई) मा काम गर्थे। त्यहाँ हुँदादेखि नै उनलाई नेपाल फर्केर आफ्नै व्यवसाय गरूँ भन्ने सोच थियो। आइटी क्षेत्रमा काम गर्ने भएकाले उनी नेपालमा पनि त्यस्तै व्यवसाय सुरू गर्न चाहन्थे।
नेपालमा अनलाइन व्यापारको ठूलो सम्भाव्यता छ भन्ने उनलाई लाग्थ्यो। तर, कस्तो खालको व्यापार भनेर निधो गर्न सकेका थिएनन्।
आखिरमा उनलाई आइडिया आयो- खाद्यान्नको अनलाइन कारोबार।
काठमाडौं लगायत देशका प्रमुख सहरमा कामकाजी परिवारलाई पसल वा डिपार्टमेन्ट स्टोर चहारेर खाद्यान्न किन्न फुर्सद नहुने उनले देखेका थिए। किराना पसल गएर किन्दा गुणस्तर छुट्टयाउनदेखि भाउ मोलतोलसम्मको झन्झट थियो।
यही समस्या बुझेर उनले आफ्नो आइडिया युएईमै रहेका केही नेपाली साथीलाई सुनाए। सबैले राम्रो प्रतिक्रिया दिए। तर, भर्खरै बामे सर्दै गरेको अनलाइन कारोबारमा एकैचाेटि लगानी गर्ने आँट कसैले देखाएनन्।
'साथीहरूले योजना त राम्रो माने, तर लगानी गर्न हिच्किचाए,' उनले भने, 'मैले नै यसको फाइदा र बजार सम्भाव्यता देखाएर साथीहरूलाई मनाएँ।'
गत वर्ष दसैंमा तीन महिना छुट्टी लिएर नेपाल आउँदा उनले नयाँ व्यवसाय थालनीको सबै चाँजो मिलाए। कम्पनीको ढाँचा, काम गर्ने तौरतरिकादेखि वेबसाइटको तयारी पूरा गरे। त्यसपछि फेरि युएई फर्के र लामो समयदेखि काम गर्दै आएको जागिर छाडेर सधैंका लागि फर्के।
नेपाल आएर औपचारिक रूपले काम सुरू गर्न तयार भएपछि उनले आफ्ना साथीहरूलाई डाके। गत चैत पहिलो साताबाट उनीहरूको अनलाइन कारोबार सुरू भयो। अनलाइनबाट अर्डर लिएर घर-घरै खाद्यान्न डेलिभरी गर्ने त्यो वेबसाइट हो, रासन डटकम डट एनपी।
बुद्धनगर, युएनपार्कको ठ्याक्कै अगाडि उनीहरूको खाद्यान्न गोदाम छ। त्यहाँ दालचामल थोक दाममा किन्न पाइन्छ। सामान लिन आफैं जानु पर्दैन। अनलाइन अर्डर गर्यो भने चौबीस घन्टाभित्र घरमै डेलिभरी हुन्छ।
यो कम्पनीमा नितेशसहित अरुण श्रेष्ठ, दिनेश सिलवाल, निर्जल श्रेष्ठ र सुनिल प्रधान संलग्न छन्। दिनेश र निर्जलले लगानी मात्र गरेका हुन् भने समूह व्यवस्थापन, योजना र प्राविधिक जिम्मा नितेशलाई छ।
कम्पनीको हिसाब राख्ने र गोदाम व्यवस्थापनको काम सुनिलले गर्छन्। बिक्रेतासँग सामान किन्ने, बिक्री र डेलिभरीको जिम्मा अरूणले हेर्छन्।
यी पाँच जनामध्ये कोही पनि विदेशमा काम नपाएर वा दुःख पाएर फर्केका होइनन्। उनीहरू कोही अनलाइन बिजनेसमै थिए भने कोही स्टोरकिपर। स्वदेशमै केही गरौं भन्ने सोचले विदेशको राम्रो आम्दानी छाडेर आएका हुन्।
उनीहरूले आफ्नो योजनामुताबिक अनलाइन कारोबार त सुरू गरे, तर त्यही बेला समयले अर्कै रूप लियो।
काम सुरू गरेलगत्तै संसारभरि फैलिएको कोरोना महामारी प्रभावले नेपालमा पनि लकडाउन भयो। तत्काललाई कम्पनी बन्द गर्ने कि भनेर पनि उनीहरूले साेचेका थिए। तर, जुन लकडाउनले अरू धेरैको व्यवसाय धरापमा पार्यो, उनीहरूलाई त्यसैले बजारमा चिनिने मौका दियो।
'एक्कासि पसलहरू बन्द हुँदा मान्छेलाई खाद्यान्न किन्न समस्या पर्यो, उनीहरूले धमाधम हाम्रो अनलाइनमा अर्डर गर्न थाले,' किरानाका पाँच संस्थापकमध्ये नितेशले भने, 'हामीलाई लाग्यो, लकडाउनले मान्छेहरू अनलाइन सेवातिर आकर्षित छन्, यो चुप लागेर बस्ने होइन, दौडिने बेला हो।'
उनीहरूले त्यसै गरे- लकडाउन छ भनेर चुप लागेर बसेनन्, बरू यसलाई कारोबार विस्तार गर्ने उपयुक्त समय ठाने।
लकडाउनमा काम गर्न उनीहरूलाई डेलिभरीभन्दा बिक्रेता खोज्न समस्या परेको थियो। उनीहरूले विभिन्न कम्पनीसँग सम्पर्क गरेर डिलर पत्ता लगाए। ती डिलरलाई 'हामी तपाईंका सामान अनलाइनबाट बेच्छौं' भनेर सम्झाए। केहीसँग सम्झौता भयो।
'डिलरले सामान त दिने भयो, तर कामदार पाइएन। सामान लिन आफैं जानुपर्यो। हामीले तीनवटा सेकेन्ड-ह्यान्ड गाडी किन्यौं। बिक्रेताकहाँ सामान लिन जानेदेखि गोदाममा मिलाएर राख्ने, अर्डर लिने र डेलिभरी गर्नेसम्मका सबै काम आफैं गर्यौं,' उनले भने।
अहिले काठमाडौं, भक्तपुर र ललितपुरका स–साना किराना पसल उनीहरूका मुख्य ग्राहक बनेका छन्। घरायसी अर्डर आउने क्रम पनि बढेको छ। सुरूमा घरायसी ग्राहकलाई विश्वासमा लिन गाह्रो भए पनि अहिले अर्डर गर्नेमध्ये अधिकांश गृहिणी नै भएको नितेश बताउँछन्।
लकडाउन बेला पहिलो महिनामै ६५ लाख रूपैयाँको कारोबार गरेको उनको दाबी छ। त्यति बेला विभिन्न ठाउँबाट ठूल्ठूलो परिमाणका सामान अर्डर आएको उनी सम्झन्छन्।
'एउटैको अर्डरले गाडी भरिन्थ्यो, धेरै डेलिभरी गर्नै भ्याउँदैन थियौं,' उनले भने, 'सुरूको महिनादेखि जेठ अन्तिमसम्म लगभग साढे दुई करोडको कारोबार भयो।'
लकडाउन खुल्दै गएपछि भने व्यापार घट्दै गएको छ। पछिल्लो समय दैनिक २ देखि ४ लाखसम्मको कारोबार हुने गरेको उनी बताउँछन्।
'अहिलेकै दरमा पनि हामी सन्तुष्ट छौं। अहिलेसम्म धेरैलाई हाम्रो कम्पनीबारे जानकारी छैन। काम सुरू गर्नासाथ लकडाउन भएकाले खासै प्रचारप्रसार गर्न भ्याएका छैनौं। आगामी दिनमा विस्तार गर्दै जानुपर्नेछ। यसको ठूलो बजार छ भन्ने हामीलाई लाग्छ,' उनले भने।
रासन डटकममा तीन सयथरीका नेपाली र भारतीय दुवै ब्रान्डका सामान पाइन्छन्। बिस्कुट, चक्लेट, चिया, कफी, मसला लगायतमा नेपाली ब्रान्ड लोकप्रिय छन्। यहाँ स्टोरहरूमाभन्दा सस्तोमा खाद्यान्न पाइने कम्पनीको दाबी छ। ग्राहकलाई सहज होस् भनेर वेबसाइटमै मूल्य पनि दिइएको छ।
'हामी कानुनी प्रक्रिया पूरा गरेका कम्पनीसँग मात्र सामान लिन्छौं। बाहिर गैरकानुनी रूपमा आएका सामान सस्तोमा पाइँदा हामीलाई अप्ठ्यारो परेको छ,' उनले भने।
यो वेबसाइटमा आफूलाई जति सामान चाहिन्छ, त्यति मात्र पनि अर्डर गर्न सकिन्छ। सुरूमा न्यूनतम ५ हजार रूपैयाँ बराबरको अर्डर गर्नुपर्छ भनिएको थियो। अहिले थोरै सामानको पनि अर्डर लिइन्छ। कम्पनीले बिहान ८ देखि बेलुकी ७ बजेसम्म सेवा दिइरहेको छ।
नितेशका अनुसार सामान अर्डर गर्न 'रासन डटकम डट एनपी' वा रासन अनलाइन भनेर गुगलमा खोजे सजिलै भेटिन्छ। फेसबुक, एप वा कम्पनीको वेबसाइटमार्फत् किराना व्यवसायी वा घरायसी प्रयोजनका लागि खाद्य सामग्री अर्डर गर्न सकिन्छ।
लकडाउनले डिजिटल कारोबारप्रति चासो र चेतना बढ्दै गए पनि यसबारे अझै बृहत चेतनामूलक कार्यक्रम खाँचो रहेको नितेशको भनाइ छ।
'इ-कमर्समा लगानी बढेको छ, यसलाई स्थिर राखिराख्न पनि यसबारे बुझाउनुपर्छ,' उनले भने।