केही यात्रा योजना बुनेर सुरू हुन्छन्। कुनै यात्रा रहर वा लहडबाट थालिन्छ। अनलाइन अर्डर लिई ग्राहकको घरदैलोमै तीन वर्षदेखि किताब पुर्याउँदै आएको 'किताब यात्रा' पनि लहडबाट जन्मिएको भन्दा फरक पर्दैन।
यसका संस्थापक ऋषिराम अधिकारी भारतको दिल्लीमा चार्टर्ड एकाउन्टेन्सी (सिए) पढिरहेका थिए। अन्तिम वर्ष पुगिसकेको पढाइ चटक्कै छोडेर उनले धेरैलाई चकित पारे।
लालबन्दीमा जन्मेका ऋषिले आफ्नो ठाउँका मान्छेले किताब खोज्दाको दुःख देखेका थिए। साहित्य र इतिहासमा रूचि राख्ने उनी आफैं पनि किताब किन्न लालबन्दी नजिकका बजार धाउँथे।
किताब पढ्ने भोक र अभाव दुवै झेलेका उनी दिल्लीमा पढ्दै गर्दा पत्रिकामा नेपाली विद्यार्थी र भारतमा भएका नेपालीका दुःखबारे लेख्न थाले। साहित्यप्रतिको लगाव र पाँच वर्ष लामो पत्रकारिता अनुभवले उनलाई लागेछ, 'म किन दिल्ली आएँ? किन सिए पढिरहेको छु?'
दिल्ली सहरमा बसेर उनले अनलाइन व्यवसायको सम्भावना देख्ने, सुन्ने र बुझ्ने अवसर पाएका थिए। सिए पढाइ छाडेर अनलाइन व्यवसाय रोज्नुमा यिनै कुराले असर पारेको उनी बताउँछन्। यसका लागि उनले त्यहाँ सँगै बस्ने साथी सुदन, बादल र प्रवीणसँग सल्लाह पनि लिएका थिए।
'किताबको व्यापार गर्ने निर्णयमा पुगेपछि एक दिन शौचालय गएका बेला एकाएक नाम फुर्यो, किताब यात्रा,' उनी हाँस्दै सुनाउँछन्।
यो काम एक्लैभन्दा साथीहरूसँग मिलेर गर्दा सजिलो हुने सोचेर उनले दुई जना आफूजस्तै व्यवसायमा रूचि भएका साथी खोजे। ती थिए, ऋषिले दिल्लीमै भेटेका दाङका कृपेश किशोर घिमिरे र हेटौंडाका विकेश भट्टराई।
ऋषि दिल्लीबाट तीन वटा बोरामा किताब हालेर रक्सौल नाका हुँदै नेपाल भित्रिएका थिए।
'२७ हजार पाँच सय रुपैयाँका किताब बोकेर गरेको त्यो यात्रा नै किताब यात्राको आरम्भ थियो,' उनी भन्छन्।
उनले ती किताब किन्नुअघि किताबबारे चर्चा गर्ने समूह 'बुकाहोलिक्स'को फेसबुक पेजमा 'काठमाडौंमा नपाइने कुनै किताब चाहिएको छ भने भन्नुस् है' लेखेका थिए। त्यो पोस्टमा उनले सोचेभन्दा बढी प्रतिक्रिया पाए। किताब मगाउनेमा केही चर्चित लेखक समेत थिए। उनका अनुसार काठमाडौं आएको केही दिनमै उनले किताब बेचेर २७ हजार पाँच सयलाई पैंतालीस हजार बनाए।
त्यसपछि बल्ल किताब यात्रा औपचारिक दर्ता भएको हो।
'बजेट कम भएकाले अर्काको अफिसमा एउटा कोठा लिएर काम सुरू गरेका थियौं,' सहसंस्थापक कृपेश सम्झन्छन्।
अर्का सहसंस्थापक विकेश थप्छन्, 'टेबल-कुर्सीको साटो पाँच वटा कुसन किनेर टारियो। प्रिन्टरदेखि अरू आधारभूत कुरा पनि त्यही कार्यालयबाट सहयोग लिएर काम चलाएका थियौं।'
सुरूका दिनमा ऋषि, विकेश र कृपेश आफैं किताब बोकेर पाठकका घरसम्म दौडधूप गर्थे। त्यो दौडधूपले उनीहरूलाई बजारको पूर्व विश्लेषण र वास्तविक अवस्थाबीच धेरै 'ग्याप' हुने बुझायो।
ग्राहक पाए पनि उनीहरूले प्रकाशकहरूलाई बुझाउन महिनौं खर्चिए।
ऋषि भन्छन्, 'नयाँ भएकाले प्रकाशकबाट किताब पाउन गाह्रो परेको थियो। सुरूका तीन महिना हाम्रो कामले पाठक र प्रकाशक दुवैलाई सजिलो हुने बुझाउनमै बित्यो।'
यस्तोबेला सामाजिक सम्बन्ध, मिडिया र साहित्य क्षेत्रका लेखकले समेत किताब यात्रालाई माया दिए। खासगरी ऋषिको पत्रकारिता पृष्ठभूमि किताब यात्राको प्रचार-प्रसारमा सहयोगी बन्यो। स्रोतसाधन अभाव भए पनि सामाजिक सञ्जाल र वेबसाइटमार्फत किताब खोज्नेको कमी थिएन। यसले उनीहरूलाई हौसला दियो।
दुई-चार प्रकाशकबाट उधारोमा ल्याएर सुरू किताब यात्रामा हाल सत्तरीभन्दा बढी प्रकाशकका किताब पाइन्छन्। आज अनलाइन किताब किन्ने पाठकका लागि आफ्नो स्थापनाको तीन वर्षमा किताब यात्रा स्थापित नाम बनिसकेको छ। पाठक र प्रकाशकबीच सहजकर्ताका रूपमा यसले देशभित्र र बाहिर रहेका पुस्तकप्रेमीलाई समेत सेवा दिइरहेको छ।
पाठकका रूचि र मागअनुसार घरघरमा किताब पुर्याउने यसले आफ्नो वेबसाइट, फेसबुक, ट्विटर, इन्स्टाग्राम वा सोझै फोनमार्फत अर्डर लिन्छ।
ऋषि भन्छन्, 'वेबसाइटमै गएर अर्डर दिन कतिपय पाठक अभ्यस्त भइसकेका छैनन्। त्यसैले जुनसुकै माध्यमबाट अर्डर गर्न सकिने सुविधा छ।'
राजधानीभित्र सकेसम्म एकै दिन, सुगम सहरमा तीन दिन र बाहिरका ठाउँमा एक हप्ताभित्र पुस्तक पुर्याउने किताब यात्राको कार्यालय काठमाडौं, थापागाउँमा छ। हाल यसले 'लजिस्टिक' कम्पनीको सहयोगमा देशभरका पचासभन्दा बढी ठाउँका पाठकमाझ आफ्नो पहुँच बढाइसकेको छ।
'देशभित्र र बाहिरका हरेक ठाउँका पाठकसम्म पहुँच बनाउने प्रयासमा छौं,' ऋषि भन्छन्।
यतिमात्रै होइन, किताब भन्ने बित्तिकै पाठकको दिमागमा किताब यात्राको नाम आओस् भन्ने सपना रहेको ऋषि बताउँछन्, 'जहाँ-जहाँ नेपाली भाषी छन्, त्यहाँसम्म एउटा मात्रै अर्डर भए पनि पुर्याउने उद्देश्य छ।'
यो लक्ष्य भेट्न उनीहरूले मेहनत र लगानी बढाएका थिए। एउटा रफ्तारमा काम चलिरहेका बेला अचानक कोरोना महामारी सुरू भयो। उनीहरू थामिन बाध्य भए। दैनिकी खलबलियो, व्यापार ठप्पजस्तै भयो। लकडाउन अवधिमा पाठक बढे पनि सरकारले किताबलाई अत्यावश्यक सूचीमा राखेको थिएन। माग भएर पनि दुई महिनाभन्दा बढी समय किताब यात्राले पाठकको दैलोसम्म यात्रा गर्न सकेन।
कार्यालय खोल्न नसकेका बेला किताब यात्रा समूहले कला, साहित्य र समसामयिक विषयमा भर्चुअल बहस सञ्चालन गर्यो। यो समूहले गरेको आठ दिने भर्चुअल छलफललाई साहित्यिक महोत्सवकै नाम दिइएको थियो। सञ्चालकको दाबी अनुसार, भर्चुअल महोत्सवका भिडिओ आठ दिनमा एक लाखभन्दा बढीले हेरेका थिए।
अनलाइन व्यवसायसँगै किताब यात्राले साहित्यिक छलफललाई सुरूदेखि नै प्राथमिकता दिँदै आएको छ। गत वर्ष यसले किताब जात्राको नाममा राष्ट्रिय साहित्य महोत्सव गरेको थियो। किताब यात्रा फाउन्डेसनद्वारा सञ्चालित किताब जात्राले विभिन्न सहरमा यस्ता महोत्सव गर्ने लक्ष्य लिएको छ।
'किताब यात्राले व्यवसाय गर्छ भने किताब जात्राले पठन संस्कृति विकासका लागि काम गर्छ,' ऋषि जानकारी दिन्छन्। पठन संस्कृतिभित्र पाठक, प्रकाशक र बौद्धिक समाजलाई जोड्ने गतिविधि सञ्चालन गरिन्छ। यसमा पुस्तकालय निर्माणदेखि महोत्सवसम्म पर्छ।
लकडाउन खुकुलो भएपछि किताब यात्राका तीन युवा पुनः आफ्नो दैनिकीमा फर्कने प्रयासमा छन्। तर मान्छे होस् वा व्यापार, छिट्टै पुरानै अवस्थामा फर्किन सजिलो छैन।
विकेश भन्छन्, 'कामको रिदम बिग्रेको छ। आर्थिक चुनौती थपिएका छन्।'
सुरूआती दिनमा किताब यात्राका सञ्चालकहरू आफ्नो खाजा घरबाटै बनाएर लान्थे। खाजा खर्च बचाउँदा एउटा भए पनि किताब थप्न सकिन्छ भन्ने सोच थियो। साढे २७ हजार रूपैयाँबाट सुरू किताब यात्राको हाल नियमित मासिक खर्च दुई-तीन लाख पुगिसकेको ऋषि बताउँछन्। यसमा घरभाडा, दस कर्मचारीको तलब, डेलिभरी, लजिस्टिक खर्च आदि पर्छ। यसबाहेक सहकारीबाट लिइएको ऋण पनि छँदैछ।
यो संकटमा किताब यात्रा समूहले आफ्ना कर्मचारी कटौती नगरे पनि पूरा तलब दिन सकेको छैन। हाल जसलाई खाँचो पर्छ उनीहरूलाई केही नगद दिएर काम चलाइरहेको सञ्चालकहरू बताउँछन्।
विकेशका अनुसार अढाइ वर्षअघि उनीहरूले 'इमर्जेन्सी फन्ड' भनेर केही रकम जम्मा गर्ने अभ्यास गरेका थिए, 'यो संकटमा त्यही फन्ड काम लागिरहेको छ।'
लकडाउनका कारण भारतबाट ल्याइने किताब नाकामै अड्किएको छ। ऋणको चिन्ता खप्टिएको छ। काठमाडौंका ग्राहकको अर्डरअनुसार किताब पुर्याउन सुरू गरे पनि बाहिरका पाठकसम्म पुग्न सकिएको छैन।
हाल किताब यात्राले भोगिरहेको समस्याको सूचीमा यस्ता धेरै कुरा छन्। तर यो यात्रामा उनीहरू थाकेका छैनन्।
ऋषि भन्छन्, 'लकडाउन खुकुलो भएपछि जे-जति सकिन्छ काम सुरू गरेका छौं।' यसमा वार्षिक प्रतिवेदन तयार पार्ने, हिसाब-किताब मिलाउने, नयाँ वेबसाइट डिजाइन गर्नेलगायत काम छन्।
लकडाउनअघि दस कर्मचारीको काम अहिले ऋषि, विकेश, कृपेश र एक जना डेलिभरी गर्ने कर्मचारीले गरिरहेका छन्। ऋषिका अनुसार सरकारले किताबलाई अत्यावश्यक सूचीमा राखेको भए लकडाउन उनीहरूका लागि सबभन्दा धेरै कारोबार गर्ने अवसर बन्न सक्थ्यो।
'किताबमा कर लगाउने सरकार किताबका बारेमा उदार र स्पष्ट भएन,' ऋषि भन्छन्, 'लकडाउन फुर्सदमा केटाकेटीदेखि पाका उमेरसम्मकाले किताब पढ्ने भएकाले माग अझै घटिसकेको छैन। पहिला सयदेखि दुई सयभित्रको पार्सल डेलिभरी गर्थ्यौं। अहिले डेढ गुणा बढी अर्डर आइरहेको छ।'
यस्तै अवस्था लामो समय नरहन सक्छ।
'गाँस, बासपछि मात्रै कला, साहित्य आउँछ। महामारीको दीर्घकालीन नकारात्मक असर सोझै किताब व्यवसायमा पनि पर्छ,' उनी भन्छन्।
किताब व्यवसायमा संकट देखिए पनि लकडाउनमा अनलाइन सेवा र व्यवसायको सम्भावना आगामी दिनमा झनै बढ्ने देखिन्छ। किताब यात्रा सञ्चालक यसलाई सकारात्मक मान्छन्। ऋषि र उनका साथीहरू अनलाइन व्यवसायको भविष्यप्रति आशावादी भएरै यो काम सुरू गरेका थिए। महामारी संकटबीच उनीहरूले आशा गुमाएका छैनन्।
लहडमै जन्मेको भए पनि किताब यात्रा योजना बुन्दै यहाँसम्म आइपुगेको हो। लकडाउनले उनीहरूले हिँडिसकेको यात्रा र भावी यात्राबारे सोच्ने र योजना बनाउने फुर्सद दियो।
ऋषि भन्छन्, 'सुरूदेखि बुनेका योजना थाँती छन्। मनमा नयाँ योजना खेलाउन पाइएको छ।'