(यो लेख सेतोपाटीमा पहिलो पटक २०७६ माघ १९ गते प्रकाशित थियो।)
मीना गुरुङलाई 'पात खोज्दै हिँड्ने केटी' भन्दा फरक पर्दैन। विभिन्न ठाउँ घुम्दा होस् वा जंगल डुल्दा, उनका आँखा थरीथरी पातमै घुमिरहेका हुन्छन्। पात खोज्नै उनी यताउता चहारिरहेकी हुन्छिन्।
सामाखुसीस्थित 'बोरा स्टुडियो नेपाल' की सञ्चालक मीनाले पात खोज्न थालेको तीन वर्ष भयो। बटुलेका पात उमालेर तिनका 'प्याटर्न' लुगामा भर्नु उनको विशेषता हो। पातसँगै खुर्सानी, फूल लगायत पकाएर प्राकृतिक रङ निकाल्छिन् र लुगामा भर्छिन्।
२८ वर्षीया मीनालाई यो प्रक्रिया कामभन्दा बढी कला लाग्छ। उनले डिजाइन गरेका लुगा र 'प्यार्टन' हेर्दा चित्रकलाभन्दा कम लाग्दैनन्।
मीनाको सानैदेखिको रूचि चित्रकलाको प्रभाव लुगामा देखिन्छ। तनहुँ, आबुखैरेनीकी स्थानीय उनी गोरखा, सेन्टमेरिज स्कुलको होस्टल बसेर पढ्दा चित्रकलासँग नजिकिइन्।
चित्रकलामा रमाउने उनी एकपटक अर्को स्कुलमा भएको प्रतियोगितामा भाग लिन गएकी थिइन्। कमलको फूलमाथि पृथ्वी र बुद्ध आकृति बनाएको चित्र प्रथम भयो। टीका, मालामा सजिँदै पुरस्कार जितेर फर्कँदा उनी आफ्नो भविष्यप्रति दृढ भइन्– चित्रकला नै मेरो 'प्यासन' हो। यही नै भविष्य।
चित्रकलासँग नजिक्याउने स्कुल मीनालाई राम्रो लाग्दै थियो, द्वन्द्वकालमा माओवादीले बम पड्काइदिए। स्कुल फेर्नुपर्यो। कक्षा ८ देखि १० सम्म पोखराको सेन्टमेरिज पढ्दा चित्रकलासँग नजिकिने बाटो फेरि खुल्यो।
'स्कुलमा चित्रकलासँगै हामीले बागवानी, खाना पकाउने, कार्ड बनाउने, बुन्ने लगायत व्यवहारिक ज्ञान पाउँथ्यौं,' उनले सुनाइन्।
एसएलसीपछि काठमाडौंमा ए–लेभल सकेर चित्रकलामै भविष्य बनाउने उनको योजना थियो।
'चित्रकलाबाट कसरी पैसा कमाउने, भविष्य कसरी बनाउने?' बुबाले प्रश्न तेर्स्याएपछि उनलाई अलमल भयो।
त्यसपछि कलासँगै जोडिएको फेसन डिजाइनिङमा भविष्य खोज्न थालिन्। आइइसी कलेज भर्ना भएर डिजाइनिङ सिक्न थालेको ८ महिना मात्रै भएको थियो, आयरल्यान्डको ग्राफिट कलेजमा नाम निस्कियो।
सन् २०१२ मा आयरल्यान्ड गएकी मीनाले त्यहाँ पढाउने प्रक्रिया यहाँभन्दा धेरै फरक पाइन्। यहाँ धेरै सैद्धान्तिक पढाइ हुने, त्यहाँ व्यवहारिक।
'पढ्ने ठाउँ कक्षाजस्तो नभएर स्टुडियोजस्तो थियो। जुन विषय हो, पूरै दिन त्यसैमा घोत्लिनुपर्थ्यो। यहाँ भने एकैपटकमा थ्योरीदेखि प्राक्टिकलसम्म पढ्नुपर्ने,' उनले भनिन्।
पढाइसँगै तीन वर्ष आयरल्यान्ड रहँदा गुजाराका लागि मीनाले क्रिम, लोसन बेच्ने पसलमा काम गरिन्। पसलका सामान प्राकृतिक सामग्रीबाट बनेको देखेकी उनलाई प्रकृतिको महत्व झनै धेरै भयो।
तीन वर्ष पढेर फर्किएपछि मीनाले केही समय 'प्रिन्ट मेकिङ' सिकिन्। एक चित्रकला प्रदर्शनी घुम्दै गर्दा लिथोग्राफर कविराज लामाको कलाले उनलाई तान्यो र सम्पर्कमा आइन्। 'प्यार्टन र लाइन' बढी पाइने मीनाको काम लिथोग्राफीबाटै प्रभावित छ। भविष्यमा कविराजसँगै मिलेर आफ्ना डिजाइनमा काम गरी प्रदर्शनी गर्ने मन छ उनलाई।
करिब ८ महिना कविराजसँग काम गरेपछि उनले एउटा फेसन कम्पनीमा काम थालिन्। एक महिनामै चित्त नबुझेपछि आफ्नै स्टुडियो खोल्ने निधो गरिन्।
प्रकृति र कलासँग नजिक मीनाले आफ्नो स्टुडियोको नाम प्राकृतिक रूपमा उत्पादन हुने 'बोरा' राखेकी छन्। जुटको बोरा लामो समय टिक्ने, पुनः प्रयोग गर्न मिल्ने, फाल्दा कुहिने र वातावरणमा असर नपुग्ने हुन्छ।
'बोरा यस्तो नाम हो जुन एकदमै प्रयोगमा आएको तर हेला गरिएको वस्तु हो। यो नाम मलाई पहिलेदेखि नै मनपर्थ्यो। स्टुडियोको नाम यही राख्छु भन्ने सोचेकी थिएँ,' उनले भनिन्।
आयरल्यान्डमै 'बिजनेस' पढेका भेषराज धमलासँगै मिलेर मीनाले ५ लाख रूपैयाँ लगानीमा 'बोरा' सुरू गरिन्। लाजिम्पाटमा दुईतले घर लिएर स्टुडियो खोलेका थिए। काम गर्ने समूह पनि बनिसकेको थियो। तर तीन-चार महिना अन्तरालमै भेषराज पोखरामा होस्टल व्यवसाय गर्न थाले। सबै भार मीनाको काँधमा आउँदा थोरै आत्तिएकी थिइन्, तर डगमगाइनन्।
'त्यस्तै हो। सबै आफूले भनेजस्तो हुँदैन नि,' उनी आटिँली सुनिन्छिन्।
'बोरा' मा गाँजा (हेम्प), अल्लो, बाँस, कपास लगायत बिरूवाबाट लुगा बन्ने मीना बताउँछिन्। रङका लागि अम्बाको पात, खुर्सानी, फूलहरू प्रयोग हुन्छ।
पात खोज्न उनी नजिकैको रानीवन, हात्तिवन र टाढामा सौराहा र तनहुँका गाउँसम्म पुग्छिन्। गाउँ जाँदा त्यहाँका मान्छेलाई पनि लुगामा रङ भर्न सिकाएर रोजगारीको वातावरण सिर्जना गरिरहेको उनको भनाइ छ।
लुगा रंगाउँदा होस् वा पात टिप्दा, मीनाले राम्रा-नराम्रा अनुभव बटुलेकी छन्।
पात टिप्दा कतिपयले उनलाई अचम्म मान्दै हेर्छन्। कतिले टिपेर सहयोग गरिदिन्छन्। कतिले किन टिपेको भन्दै हप्काउँछन्, असहयोगी बन्छन्।
'म सधैं पात टिप्न सामाखुसी आर्मी क्याम्प जान्थेँ। त्यहाँका गार्डले पनि मलाई चिनिसकेका थिए। एकपटक नयाँ मान्छे रहेछन्, बाहिरी मान्छे छिर्न पाउँदैन भन्दै हप्काए। अबदेखि नआउनुस् भनेपछि चुप लागेर फर्किएँ,' उनले सुनाइन्।
मीनाका अनुसार प्राकृतिक रङ प्राकृतिक कपडामै गाढा बस्छ। कुनमा कस्तो बस्ने भन्ने कपडा हेरेर हुन्छ। जस्तो, सिल्कमा गाढा र सुतीमा फिक्का।
रङ निकाल्ने पात उनी पानीमा मात्रै उमाल्छिन्। गाउँ जाँदा भने रक्सी पारिरहेको भाँडाको बाफमा पकाउँछिन् रे।
'गाउँमा रमाइलो, आगो फालाफाल हुन्छ। रक्सीको भाँडामा पकाउँदा रङ झनै राम्रो र गाढा हुन्छ,' उनले भनिन्।
रङका लागि मीनाले धेरै प्रयोग गर्ने 'युक्लिप्टस' अर्थात् मसलाको रूख हो। त्यसबाट पहेँलो, सुन्तला र गाढा निलो रङ बन्छ। फलामको खियालाई पनि 'ट्रिटमेन्ट' गरेर निलो रङ निकाल्न सकिने उनी बताउँछिन्।
पात पकाएपछि कपडामा डिजाइनअनुसार राखेर त्यसलाई केही बेर बेर्नुपर्छ। त्यसपछि भेनेगर, फिटकिरी, बेकिङ सोडा लगायतले 'ट्रिटमेन्ट' गरेर घाममा सुकाएपछि रङ स्थायी हुन्छ।
मीनालाई पात टिप्नभन्दा बढी चुनौती त्यसबाट निस्कने रङ हुन्छ। नयाँ बिरूवाको पात छ भने त परीक्षणै भयो, कस्तो रङ आउँछ, थाहै हुँदैन।
'कहिलेकाहीँ कति घन्टा लगाएर पकायो, प्रिन्ट हेरौं भन्यो, रङ नै दिँदैन, रिस उठ्छ नि,' उनी दिक्दारी सुनाउँछिन्, 'प्रत्येक नयाँ बिरूवाको पात पकाउँदा खुल्दुली हुन्छ।'
कुन पातबाट कस्तो रङ आउँछ भन्ने जानकारी अनलाइनमा कमै पाइने र किताब पनि नपाइने मीनाको गुनासो छ। सुरूसुरूमा निकै गाह्रो भएपछि उनले विदेशबाट 'बोटानिकल प्रिन्टिङ', 'भेजिटेबल डाइङ' लगायत किताब मगाइन्। किताब ल्याए पनि त्यसमा उल्लिखित बिरूवा नेपालीमा कुन हो भन्ने बुझ्नै मुश्किल। त्यसमाथि किताबमा लेखिएअनुसार आउने रङ पनि फरक।
'ठाउँको तापक्रम, मौसम, वातावरण हेरेर पातबाट आउने रङ फरक हुन्छ,' त्यसैले आफूले काम गर्दा रङबारे अभिलेख राख्नुपर्छ भन्ने उनलाई लागेको छ।
उनको 'बोरा' मा सल, स्कार्फ, ज्याकेट, सर्ट, टोट ब्याग लगायत दैनिक प्रयोगमा आउने लुगा करिब १५ सयदेखि २५ हजार रूपैयाँसम्ममा पाइन्छन्। प्राकृतिक सामग्रीले तयार भएका लुगा महँगा लाग्छन्। त्यसैले ग्राहक नेपालीभन्दा बढी डेनमार्क, अस्ट्रेलिया, स्विट्जरल्याण्ड लगायत देशका छन्।
'केमिकल र पोलिमरले स्वास्थ्यलाई हानी गर्छ। मलाई मेरो व्यवसाय जिम्मेवार हुनुपर्छ भन्ने लाग्छ,' लगाइसकेका लुगा पुनः रंगाएर, प्रिन्ट गर्ने दीर्घकालीन सोच पनि बनाएकी छन् उनले।
'बोरा' का हरेक उत्पादनमा फरक प्रिन्ट छ। मीना आफैंलाई कस्तो बन्छ भन्ने कौतुहल सधैं हुन्छ रे। रङमा धेरै खेल्न नपाइने हुँदा ग्राहकले पनि उनको काम विश्वास गरेर जस्तो बन्छ, त्यसैमा चित्त बुझाउनुपर्छ।
'प्रत्यके लुगा प्रिन्ट गरेर हेर्नु आफैंलाई सरप्राइज हो। त्यसैले ग्राहकले पनि मैले जस्तो बनाउँछु, त्यस्तै स्विकार्नुहुन्छ। कहिलेकाहीँ एकदमै राम्रो प्रिन्ट हुन्छ, बेच्नै मननलाग्ने,' उनी हाँस्दै भन्छिन्।
कपडा रंगाउँदा मुख्य समस्या रङ नियन्त्रणको हो। बनाउन खोजेजस्तो बनिदिँदैन। रङ गाढा वा फिक्का पार्न भने 'ट्रिटमेन्ट' गर्न सकिने उनी बताउँछिन्।
लुगा डिजाइन र प्रिन्ट रूचिमा चित्रकलाको सोख त छँदैछ, यो गुण हजुरआमाबाट पनि आएको उनलाई लाग्छ। परिवारमा अरूले यस्तो काम नगरे पनि हजुरआमाले पहिले गुरुङ समुदायमा प्रयोग हुने कालो लुंगी, खास्टोमा बुट्टा भर्ने, तानमा लुगा बुन्ने, रंगाउने लगायत काम गर्थिन् रे।
सानैदेखि होस्टल बसेकी मीनालाई परिवारसँग बस्दाको खास अनुभव छैन। सामाखुसीस्थित बोरा स्टुडियोमा उनी एक्लै काम गर्छिन्। यो घर भने निर्माण व्यवसाय गर्ने उनकै बुबाको हो।
२८ वर्षीया मीनालाई घरपरिवारबाट बिहेको दबाब पनि आइरहन्छ।
उनको सोच अलग छ। भन्छिन्, 'व्यवसाय राम्रो बनाएर मात्रै बिहे। आफ्नो जीवनबारे निर्णय गर्न पहिले आफू बलियो हुनुपर्छ।'
उनको कामबाट प्रभावित धेरैले सिक्ने जिज्ञासा देखाइरहेकाले उनी स्टुडियोमा सिकाउनेबारे पनि सोचिरहेकी छन्। त्योबाहेक आफ्नो काम घरबाहिर ल्याउने सोचमा छिन्।
'घरमै स्टुडियो चलाउँदा धेरैलाई 'बोरा'बारे थाहा छैन। चाँडै आउटलेट खोल्ने योजना छ,' मीनाले भनिन्।
(मीना गुरुङको सम्पर्क नम्बरः ९८०१३४००७६)