अहिले उमेरले ७८ वर्षमा टेकेकी दियालुले आफुलाई निकै व्यस्त बनाएकी छन्। बिहान घरका कोही पनि नउठ्दै उनी उठेर एक गिलास मनतातो पानी पिउँछिन् अनि लाग्छिन् नजिकैको खुला पार्कमा।
त्यहाँ कोही हिँडिरहेका, कोही आँखा चिम्लेर आफूलाई एकछिन भए पनि चियाउने प्रयास गरिरहेका र कोही हातमा पूजाको थालीसहित मन्दिरमा दर्शन गरिरहेका हुन्छन्।
त्यही भिडमा छुट्टै एक कुनामा तीन चार जना आफ्ना उमेर समूह र कोही कम उमेरका सँगै आफ्नो शरीर सुहाउँदो योग गरिरहेकी हुन्छिन् दियालु। उनीहरूलाई योग सिकाउन नि:शुल्क खटिएका हुन्छन् एक पाका पुरूष।
उनलाई कति समय भयो भन्ने थाहा हुँदैन तर सधैं ८ देखि ८:३० को बीचमा उनी आफ्नो घरमा फर्कन्छिन्। एक कप बुहारीले पकाएको तातो चिया खान्छिन् अनि मनतातो पानीले नुहाएर लाग्छिन् नित्य पूजामा।
उनले पूजा सकेर हातको थाली लिँदै निस्कँदा उनका छोरा कहिले अफिसका लागि कपडा लगाउँदै हुन्छन् भने कहिले हिँड्नै लाग्दा भेटाउँछिन्। त्यो पूजाको टीका लगाएर प्रसाद दिँदाको उनको खुसी बयान गर्न सकिँदैन।
कहिलेकाहीँ पूजा गरिसक्दा छोरो अफिस हिँडिसकेमा उनलाई नरमाइलो लाग्छ। 'ए हिँडिसकेछ' भन्छिन् अनि अफिसबाट फर्केपछि प्रसाद दिन भने भुल्दिनन्।
बिहानको नित्य कर्मपछि खाना खाएपछि आराम गर्छिन्। खाजा खान्छिन् फेरि ४–५ बजेतिर लाग्छिन् त्यही पार्कतिर। पार्कबाट फर्कंदा ६, साढे ६ भएको हुन्छ साँझको खाना खान्छिन अनि एक दुई घण्टा आँखा चिम्लेर ध्यानमा बस्छिन्।
कतिपय बुढाबुढीहरूको यो उमेर अत्यन्त कष्टकर हुन्छ। समय कसरी बिताउने, कहाँ कोसँग गएर बस्ने, कसैले फोन गरे पनि हुन्थ्यो, घरमा कोही आए पनि हुन्थ्यो भन्ने तनावबीचमा दिन काटिरहेका हुन्छन्। अझ गाउँघरमा रमाएका बुढाबुढीलाई यो सहरको रमझमले मन लोभ्याउँदैन बरू अत्यास बनाएका थुप्रै उदाहरणहरू भेटिन्छन् तर उनलाई सहर गाउँ अथवा ठाउँ विशेषले कुनै प्रभाव पारेको देखिँदैन। मनभित्र आनन्द लिएर जहाँ गए पनि आनन्द अनि मनमा पीडा लियो भने जहाँ गए पनि तनाव भन्ने त्यसै होइन रहेछ, त्यसैले उमेर अनुसारका कर्ममा आफूलाई व्यस्त बनाउँदा ती समस्याहरूमा अल्झन नपर्ने रहेछ भन्ने एक उदाहरण हुन् दियालु।
बाहिर भएका छोरा, बुहारी, छोरी ज्वाइँलाई आमासँग कुरामात्र गर्न पनि निश्चित समय कुर्नुपर्छ। घरमा छोरो मसँग बोलेन, नातिनातिनाहरू झ्याम्मेनन्, बुहारीले यो गरिन, त्यो गरिन भन्ने फुर्सद उनलाई छैन। यति गुनासो नहुँदा बुढ्यौलीका धेरै समस्याहरू समाधान हुने रहेछन्। दियालुको विगत भने त्यति सजिलो थिएन। उनले जीवनमा अभाव र बज्रपातका पहाडहरू निलेर आफूलाई अहिलेको अवस्थामा पुर्याएकी हुन्।
९ वर्षको कलिलो उमेरमा उनका माइतीले पढेलेखेको केटो खोजेर विवाह गरिदिएका थिए तर उनी आफू भने निरक्षर थिइन्। रजस्वला भएपछि पनि केही वर्ष बच्चाबच्ची भएनन् भनेर उनका श्रीमानले उनलाई त्यतिखेरै छाड्न खोजेको थिए।
उनको भाग्य बलियो थियो केही समयपछि सबै परिवारले खोज्ने सन्तानको रूपमा छोरालाई जन्म दिएपछि उनको वैवाहिक जीवनमा आउन सक्ने पहिरो रोकियो। त्यसपछि लगातार अरू दुई छोरा, तीन छोरी र अन्तिममा एक छोरा गरी सात सन्तानकी आमा बन्ने अवसर पाइन् उनले।
जीवनको लिला उनको तेस्रो सन्तानको रूपमा जन्मेको छोराको खोलामा डुबेर मृत्यु भएपछि उनलाई ठूलो चोट पर्यो। उनलाई थाहा थिएन चोट कम गर्ने चुरोट हो कि होइन तर उनले त्यही समयदेखि चुरोटको लत बसालिन्।
उनका श्रीमान त्यो समयका पढेलेखेका भएकाले सरकारी जागिरे थिए। हरेक चेलीका माइतीले सोच्छन् पढेलेखेको हुँदाबित्तिकै आफ्नी चेलीले सुख पाउँछे तर दियालुको जीवनमा त्यस्तो भएन। पढेलेखेको श्रीमान र उनी निरक्षर अनि सोझी पनि भएका कारण नै श्रीमानले आँखा अगाडि नै सौता लिएर आउँदा उनलाई खाना पकाएर खुवाउने र उनको स्याहारसुसारमा लाग्ने गरिन्।
उनलाई लागेको थियो नहुनु भैसक्यो, घरमा ५ जना ससाना बच्चाबच्ची छन् अनि आफु गर्भवती रहेको अवस्था। यस्तो समयमा श्रीमानसँग झगडा गरेर यी सबैको स्याहारसुसार कसले गर्ने? उनका माइती कानुन सम्बन्धी बुझ्ने नभएका होइनन् तर दियालुको त्यस अवस्थामा दुई सौता सौता मिलेर बस्दा दियालुलाई सहज हुने देखेर माइतीहरू पनि मौन बसे।
बिडम्वना उनका श्रीमानले कान्छी श्रीमती लिएर पनि कानुनको नजरबाट बचेपछि दियालुले सोचेजस्तो भएन। यता गाईगोठमा दियालुले कान्छो छोरालाई जन्म दिँदै थिइन् भने उता कान्छी श्रीमती च्यापेर उनका श्रीमान आफ्नो छुट्टै व्यवस्थासहित हिँड्दै थिए। त्यस अवस्थामा सन्तान जन्माउनमै जोडबल गरेकी दियालुले कहाँ जान लागेको र किन जान लागेको? भनेर प्रश्न गर्ने समेत अवसर पाइनन्।
थाहा छैन उनलाई त्यस समयमा सन्तान जन्माउँदाको प्रसव पीडा बढी थियो कि श्रीमानले कान्छी श्रीमती च्यापेर हिँडेको पीडा। जब सन्तानको रूपमा छोरा जन्मियो उनलाई त्यसबेला पनि थाहा भएन छोरो पाएकोमा हर्ष मनाउने कि श्रीमानले यो अवस्थामा छाडेर हिँडेकोमा रूने कराउने। उनमा डाँको छाडेर रूने साहस थिएन, चिच्याउने बल सकिसकेको थियो प्रसव पीडामै, थिए केवल आँखाभरी आँसु तर ती छोरो जन्मेकोमा हर्षका आँसु थिए वा पीडाका भन्ने छुट्टिएनन्।
दुई भाइ छोरा केही हुर्किए पनि जिम्मेवारी लिन सक्ने भएका थिएनन् भने अरू त भुराभुरी स-साना थिए भने कोही भर्खर यो संसारमा आँखा खोल्दै थिए। धन्न आमा थिइन् त्यो पीडामा पनि सन्तानलाई आफ्नो ममता दिन भुलिनन् र त्यो सिसुलाई स्तनपान गराइन्। कतिले भन्न छाडेनन् कस्तो अलच्छिना सन्तान रहेछ भुइँमा झर्दाझर्दै आमा बावुलाई छुट्याइदियो तर आमाको ममताले लच्छिन र अलच्छिन पनि छुट्याउन चाहेन।
पैत्तृक सम्पत्तिबाट उनका श्रीमानले बेच्दै खाँदै गरिरहेका थिए। जबसम्म उनका श्रीमान घर छाडेर हिँडेका थिएनन्, उनलाई त्यो कुराको सुइँको सम्म पनि भएन। घर छाडेर हिँडेपछि मात्र थाहा पाइन् धेरै सम्पत्ति कान्छी श्रीमती ल्याउने ध्याउन्नमा सकिइसकेको रहेछ। अब भएको टुक्राटाक्री जमिन पनि बेचियो भने ती बचेराहरूको आहार कसरी गराउने भनेर उनले माइतीलाई गुहारिन्।
दियालुका माइतीका दाजुभाइले डराइ, धम्काइ, फकाइ फुल्याइ गरी बल्लतल्ल बचेको सम्पत्ति दियालुको नाममा गरिदिन सफल भए। यति भएपछि त्यसैलाई खनीखोस्री गरी नबालकहरूको स्याहार गर्न सकिने आँट उनमा आयो।
आहाराको जुगाड गरे पनि उनीमाथि सिंगो पहाडसरी समस्याहरूका चाङ्ग थिए। तीनको पढाइ लेखाइ, औषधि उपचार, नाना कपडा एकातिरका समस्या थिए भने एउटी निरिह महिला जसलाई श्रीमानले अपहेलना गरेको थियो जसका कारण समाजबाट पनि त्यत्तिकै तिरस्कृत हुनु पर्ला भन्ने अर्को त्रास थियो।
एउटी अवला नारीको जिम्मेवारीमा ६ जना सन्तान जसलाई कसरी ओत दिन सक्ली भनेर उनको क्षमतामा शंका गर्नेहरू पनि उत्तिकै थिए। जीवन धेरै छ ती हुर्कंदै गरेका भर्खरका सन्तानको लागि जीवन खेर नफाल भनेर सल्लाह दिनेहरू पनि धेरै थिए तर उनले ती सबै कुराहरूलाई त्यही चुरोटको धुवामा उडाइदिइन्। चुरोटको धुवाले उडाउन नसकेको दुःख उनले निभेको चुरोटको ठुटाको खरानीलाई निलेर भए पनि उडाउने प्रयास गरिरहिन्।
जीवन कर्म हो, कर्म गर्ने क्रममा आएका अनेकन समस्याहरू सँगसँगै त्यसको समाधान पनि आएको हुन्छ भन्छन्। सायद दियालुको कर्मको त्यो भूमरीमा समाधान पनि आएको थियो। श्रीमानले छाडे पनि श्रीमानका भाइ लगायतका परिवारले उनको परिवारलाई आर्थिक, सामाजिक तथा आत्मिक रूपमा छहारी दिए। पुरूष बिनाको त्यो परिवारको कोही पनि छैन भनेर सामाजिक तिरस्कार गर्ने जमातका लागि त्यो परिवार दियालुको सन्तानको सुरक्षा, पढाइलेखाइ आदिमा खुला हृदयले सहयोग गरेर एक जिम्मेवार पारिवारिक सदस्यको भूमिका निर्वाह गरे।
चाडवाड आवास वा अन्य कुनै रमाइलो पल त्यो परिवारले आफ्ना बावु नभएको कहिल्यै महसुस गर्न पाएनन्। दियालुको परिवारलाई उनका देवरले आफ्नो परिवार सरह उनीहरूलाई सहयोग सल्लाह, साथ दिइरहे। त्यसैको परिणाम स्वरूप दियालुका सबै सन्तानहरूको पढाइ निरन्तर चलिरह्यो। दियालुका माइतीले पनि सक्दो सहयोग गरे तर माइतीको सहयोग भन्दा घरको सहयोगले सामाजिक आत्मसम्मानमा निकै फरक पार्दा रहेछ।
त्यही सामाजिक आत्मसम्मानको नतिजा थियो कि दियालुले तीन बहिनी छोरीहरूको पढाइ र विवाहलाई लिएर चिन्ता गर्नु परेन। पढाइ पूरा गरी सम्मानित तरिकाले विवाह गरिदिइन्। छोराहरूले आफ्नो पढाइलाई सहज रूपमा पूरा गरे र आ-आफ्ना पेसामा लागे। श्रीमानको अपहेलनापछि आफन्तहरूले गर्ने अपमान बीचमा आत्मसम्मान पनि रहेन भने मानिसले आत्मविश्वास गुमाउँछ र समस्यालाई सजिलै पार गर्न सक्दैन। त्यही आत्मसम्मान र आत्मविश्वासका कारण एक अवला नारीले अन्य सहज परिवार सहर आफ्ना अति कठिन जिम्मेवारी पूरा गर्न सकिन।
समय बित्दै जाँदा त्यही गोठमा जन्मेको छोरोले एसएलसी दिएको वर्ष (१६ वर्षपछि) दियालुका श्रीमानसँग देवरकै घरमा दसैंमा भेट भयो। दियालुको परिवार दसैंको टीका थाप्न दियालुकी सासूआमा भएकाले देवरको घरमा जम्मा हुन्थे।
१६ वर्षपछि बावुलाई देख्दा कान्छो छोराले बावु चिनेन। दियालुले श्रीमान चिनिन तर अब चिन्नु र नचिन्नुको कुनै अर्थ रहेन। त्यस समयदेखि फेरि दियालुका श्रीमानले त्यता आवतजावत बढाउन थाले। बुझियो कान्छी श्रीमतीसँग झगडा परेपछि बास खोज्न यता आउँदा रहेछन्। फेरि कान्छी श्रीमतीसँग कुरा मिल्छ अनि हिँड्दा रहेछन्।
दियालुलाई कतिले भन्थे- त्यस्तो अवस्थामा छाडेको श्रीमानलाई किन बास दिएकी? भनेर तर दियालुले त्यसको जबाफ केही दिन्नथिन उनको जबाफ घाँटीमा झुण्ड्याएको तिलहरी र एकधर्का सिन्दुर काफी थियो। जसलाई अन्य नारीसरह दियालुले पनि सजाएकै थिइन्। उनले आफ्ना श्रीमानलाई बास नदिँदैमा हिजो उनले बिताएका उनका कष्टप्रद दिनहरूको भर्पाइ पनि त हुँदैन थियो भन्ने लाग्थ्यो सायद।
मानिसहरू भन्छन्- अहिले नराम्रो गरे अर्का जुनीमा दुःख पाउला, नर्कमा जाउँला तर कलीमा त्यस्तो नहुँदो रहेछ। दियालुका श्रीमानको यही जिवनमा नै यस्तो अवस्था आयो कान्छी श्रीमती, तिनको छोरो र छोरी सबै मिलेर घरबाट निकालिदिए। भेटे बच्दैनस् भनेर धम्कीसमेत आउन थालेपछि एक डेढ वर्ष उनी जेठी श्रीमतीकै छोरीकोमा सम्पर्कविहीन भएर लुकेर बसे।
दियालुले जब उनका श्रीमान लुकेर छोरीकोमा बसेको थाहा पाइन् आफू बसेकै छोरा बुहारीसँग सल्लाह गरी बावुलाई त्यही बोलाउन लगाइन्। बैगुनीलाई गुनले मार्नुपर्छ भन्ने उखान ओठओठमा बोकेर बदला लिने अहिलेको जमानामा त्यसको सहृदय पालना गर्ने दियालुको कुनै विद्यालयमा पढेको सर्टिफिकेट छैन केबल उनले प्रौढ शिक्षा लिएर निरक्षरबाट आफूलाई साक्षर मात्र बनाएकी छन्।
कहिले यता, कहिले उता, गर्दागर्दै भागदौडमा नै यो जीवन दियालुका श्रीमानले जीर्ण बनाए। मन परेकी कान्छी श्रीमती अनि औधी माया लाग्ने कान्छीबाटको छोरोको अपहेलनामा बाँच्न कति गाह्रो भयो होला भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो।
एक्लै घरबाहिर समेत आवतजावत गर्न नसक्ने अवस्थाका दियालुका श्रीमानलाई दियालुले डोर्याएर पनि घुमाइन्। मिठो मसिनो खुवाएर बलियो बनाइन्।
केही समयको त्यहाँको बसाइँपछि आफ्नो विवाहमा समेत नबोलाएको कान्छी पट्टिको छोराको बुद्धि पलायो वा त्यहाँ आएकी बुहारीको, उनलाई छोराले बोलायो। वास्तवमा बाध्यतामा बसे पनि दियालुका श्रीमानको इच्छा त्यही थियो। उनी आफ्नो इच्छा भएको छोराको घरमा गए।
तर समय बलवान छ। रमाइला दिनहरू बिताइरहन पाएको छ, आफ्नो इच्छामा बाँच्न पाएको छ भनेर मृत्युले छोड्दो रहेनछ। जीवनभर छलछाम, भागदौड गर्दागर्दै जब सन्तोषको जीवन पाए त्यसको केही समयमै दियालुका श्रीमानको मृत्यु भयो।
त्यो अभाव र बज्रपातबाट गुज्रेर आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गरेकी दियालुले अब विगत कस्तो थियो सम्झन चाहन्निन्। न हिजोको जीवनसँग कुनै गुनासो गर्न समय खर्चन चाहन्छिन् केवल उनले हिजो पनि कर्म गर्दै जीवन बिताइन् आज पनि कर्म गर्दै जीवन बिताउँदै छिन्। केवल उनको कर्मको प्रकृति फरक छ।
मानिसको जीवनमा अभाव हुन्छ, नसोचेको बज्रपात पर्दछ तर त्यसैबीचबाट जीवनलाई हिँडाउनु पर्ने रहेछ। दियालु न त हिजोको दु:खमा आत्तिइन् र जिम्मेवारीबाट भागिन् न आजको केही सहज जीवनबाट मात्तिएकी छन्। केवल उनी दु:ख र सुखको संगम यही जीवनबाट खुसी खोजेर एक उदाहरणीय अटल महिला बन्न सफल भएकी छन्।