म आफै बाँधिएको छु
आफ्नै जिम्मेवारीको जन्जिरले
नत्र म पनि उड्न चाहन्थेँ
खुला आकाशमा पन्छी बनी
बहन चाहन्थेँ हावा बनी
हिमाल, पहाड र तराईका फाँटहरूमा
चाहन्थेँ निरन्तर बगिरहन
सदाबहार नदीहरू बनी
घुम्न चाहन्थेँ, नियाल्न चाहन्थे दुनियाँ
आफ्नै आँखाले एक मुसाफिर बनी!
तर आज म आफै बाँधिएको छु
आफ्नै जिम्मेवारीले कैदी बनी
जस्तो कि, संसार चलाउन
घाम झुल्किनु पर्छ र डुब्नु पर्दछ
त्यस्तै हावा र पानीलाई पनि बिना झन्झट
निरन्तर बगिरहनु पर्छ चाहे
विशाल पहाडसँग ठोकी दिशा बद्लिनु परे पनि !
हुन त पर्खिँदैन चलिरहेको समय र
बगिरहेको पानीले
तर भनिन्छ एक दिन समय फर्किन्छ रे
एक चक्र बनी
रोकिन्छ रे बगिरहेको पानी पनि
जब आफ्नो अस्तित्व मेटी समुद्र बनेपछि
त्यस्तै,
म खुल्ने छु एक दिन
कालो बादलले ढाकेको
आकाश खुले जसरी
म फुल्ने छु एक दिन
बगैँचामा फूल फक्रिए जसरी
फुट्ने छ एक दिन मेरो धैर्यता र पर्खाइको बाँध
र टुट्ने छन् सारा बन्धनहरू
अनि स्वतन्त्र हुनेछु म
आजाद भएको पिँजडाको पन्छी जसरी!