जब उनको 'बर्थडे' र हाम्रो 'एनिभर्सरी' आउँछ। म त्यसै भावुक हुन्छु र 'नोस्टाल्जिक' हुन पुग्छु।
कुराको पोयो सिकरकटेरीबाटै खोल्नु पर्ने हुन्छ। अरू गाउँले दाजुहरूजस्तै म पनि एसएलसी पास भएपछि बासँग दुई हजारका थोत्रा नोटहरू लिएर सपनाको सहर काठमाडौँ हान्निएँ।
टोटलीको बन कटेपछि दहीच्युरे बाकोमा दश रुपैयाँको पेट अघाउने जस्तो दहीच्युरा पाइन्थ्यो। मंगलटारमा पुगेर पच्चिसको रुपैयाँ 'सादा' भात पाइन्थ्यो।
आजको जस्तो 'बोइलर' त्यति बेला छ्यापछ्याप्ती थिएनन्। त्यसो हुँदा 'भेज' खानाको विकल्प थिएन। त्यसो त धुलिखेल प्रवेश गरेपछि भने खानाको 'भेराइटिज'हरू भेटिन्थ्यो।
सुनकोसी गढतिरको खुर्कोट, खाल्टे, मुल्कोट, रातमाटा, नेपालथोक र मंगलटारसम्म बिपी हाइवे नपुग्दासम्म व्यवस्थित होटेलहरू थिएनन्। सबै छाप्राछाप्री थिए।
बाले दिनुभएको दुई हजारबाट रत्नपार्क आइपुग्दा एक सय असी रुपैयाँ मात्रै खर्च गरेको थिएँ। फुर्मास खर्च भन्नु बनेपामा आइपुग्दा मन थाम्न नसकेर तीन वटा जेरी खाएको थिएँ। पानीभित्र डुबाएर राखेका सेता र खैरा डल्लाहरू खान मन त थियो तर जेबको क्षमताले खान रोक्थ्यो। निकै पछि थाहा भयो ती रसगुल्लाका डल्लाहरू रहेछन्।
बाले दुई हजारका नोटहरू थमाउँदा भनेका थिए- केटा, पैसा फुर्मास नगरेस्।
एक वर्षसम्म म झोला बोकेर काठमाडौँमा गाउँका धेरै दाइहरूका डेरा चहारेँ। कसैले घुमाएर कोठामा बस्न पाइँदैन भने त कसैले हाकाहाकी भने।
एक वर्षपछि बाले गोरु बेचेर दिएका आठ हजार रुपैयाँले लोकन्थलीमा कोठो लिएँ। सिकरकटेरीमा अबबाट पैसा माग्न आउनु पर्दैन भनेर बाले भन्दा मन रोएको थियो। बाले सही भनेका थिए। सिकरकटेरीमा पैसा फल्ने रुखको बुटो थिएन।
नेपाली कागज कारखानामा मासिक अठार सय तनखा बुझ्ने गरी मैले मजबुरी सुरु गरेँ। लगत्तै आरआर क्याम्पसबाट मुख्य विषय अर्थशास्त्र र गणितमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेँ। गाउँको हाई स्कुलको सदाबहार 'फर्स्ट ब्वाइ' म प्रमाणपत्र तहमा गान्धी डिभिजनमा उत्रिएँ।
प्रमाणपत्र तहमै सँगै मर्ने र बाँच्ने कसम खाएकी रोल्पाकी 'क्रान्तिशिखा'लाई दोस्रो वर्षको अनिवार्य अंग्रेजी ब्याक लागेपछि परिवारले तुरुन्तै बिहे गरिदिए।
क्रान्तिशिखाले उसको श्रीमानको घरबाट मलाई पठाएकी भावुक पत्रमा भनेकी थिई- 'तिमी स्विकार्छौ भने म आउँछु,चन्द्रकुमार। मेरो पोइ लास्टै जडिया र अशिक्षित छ।'
मैले समर्थन सहितको पत्र लेखेर रजिस्टरी गरी पठाएँ। तर क्रान्तिशिखा आइन। क्रान्तिशिखाको कहानी सकियो। उसले र मैले 'हाम्रो सानो संसार'को परिकल्पना गरेका थियौँ जुन गर्ल्याम्मै ढल्यो। समयले नै क्रान्तिशिखालाई बिर्साइदियो।
म निजी स्कुल र राति अबेरसम्म 'होम ट्युसन'मा व्यस्त भइरहेँ।
स्नातक तहको पहिलो वर्षमा मेजर 'इको' ग्रुपमा स्मृति भेटिई। स्मृतिको सुन्दरताको बखान कसरी गर्न सक्नु? एक वाक्यमा भन्नुपर्दा स्मृति 'स्वर्गकी परी' थिई।
स्मृतिलाई 'इको'को म्याथम्याटिक्स आउँदैनथ्यो। मलाई म्याथ फिस्स लाग्दैनथ्यो। प्रवीणता प्रमाणपत्र तहमै मैले 'बेसिक म्याथ'मा पढेका प्रब्लमहरू नै बिए प्रथम वर्षको 'इकोनोमिक्स'को 'म्याथ' खण्डमा पढ्नु पर्थ्यो। स्मृतिलाई मेरो नोट कापीले पुगेन। शनिवार मेरो कोठामै पढ्न आउन थाली। पढाइको बहानासँगै हामी दिन प्रतिदिन नजिकियौँ।
नौनी र आगो जस्तै फूल र भँवराजस्तै 'म र स्मृति' भयौँ। तन र मन साटिसकेका हामीले स्नातक तह सक्काएर बिहे गर्ने निर्णय लियौँ।
दसैँमा सिकरकटेरी पुग्दा बाले भन्ने गर्थे- 'अब बिहे गर्दा नि हुन्छ। सिङ पलाउने होइन। जुरो बढ्ने होइन।'
स्नातक तेस्रो वर्ष स्मृतिलाई ठुलो राणा घरानाका कुटुम्ब माग्न आए। बिहे गरेर तुरुन्तै अमेरिका लाने भएपछि स्मृतिले मलाई फोनमा भनी- 'फरगेट मी चन्द्रकुमार, यो जन्ममा होइन अर्को जन्ममा तिम्रै हुनेछु।'
रिसको पारोलाई आफैले नियन्त्रण गर्नुभन्दा अरू विकल्प थिएनन्। स्मृति सफेद झुट बोल्दै थिई 'अर्को जन्म' भनेर।
बरु भने भइहाल्थ्यो- 'मलाई सुखी सम्पन्न घरानाको मान्छे मन पऱ्यो, तँ सिकरकटेरीको घाँसलाई इगनोर गरेँ' भनेर।
बिहेपछि पनि स्मृतिलाई उसको बुढाले कारमा छोड्न आउँथ्यो। लोकाचारको लागि भएर मात्रै पनि म स्मृतिको बिहेमा पुगेथेँ। नत्र साथीभाइले मलाई प्रश्न सोधेर हैरान पारिहाल्थे। स्मृतिले साथी सर्कल सबैलाई भनेकी थिई चन्द्रकुमार मेरो बेस्ट फ्रेन्ड हो। सबैले पत्याइदिए। वास्तविकता कि म कि स्मृति जान्दथी।
स्मृतिलाई बिर्सन क्रान्तिशिखालाई बिर्सेको जस्तो सजिलो भएन। फेरि क्रान्तिशिखालाई सम्झिएँ। सहरका मान्छेहरूजस्तै साइबर क्याफेमा गएर म पनि फेसबुक चलाउँथेँ। मैले क्रान्तिशिखालाई खुब सर्च गरेँ। अरू धेरै क्रान्तिशिखाहरू भेटिए तर रोल्पाली क्रान्तीशिखा भेट्टाइनँ। बिचरीलाई फेसबुक खोल्ने फुर्सद या सर्वसुलभता थिएन पनि होला।
क्रान्तिशिखाले प्रवीणता प्रमाणपत्रको त्यो ब्याक पेपर दिनै पो छाडिसकेकी पनि हुन सक्थी। फेरि आफ्ना गन्थन मन्थन लेखेर करिब चार वर्षपछि पुनः चिठी रजिस्टरी गरेँ। अब त क्रान्तिशिखाका बच्चाबच्ची पनि भए होलान्। जडिया पोइले त्यो चिठी पायो र कसैलाई पढ्न अह्रायो भने? उसैले पनि त साँवा अक्षर फड्काल्न सक्थ्यो कि? आफैलाई ग्लानि भयो। यस पटक पनि प्रतिउत्तरमा कुनै चिठी आएन।
स्नातक अन्तिम वर्षको परीक्षा दिएँ। पहिलो र दोस्रो वर्ष गान्धी डिभिजनमै पास गरेँ। स्मृतिको प्रेममा मज्जैले फसेको थिएँ। थर्ड इयरको जाँच दिँदासम्म पनि स्मृतिको 'ह्याङ ओभर' ले छाडिसकेको थिएन।
म प्रेममा पर्न पनि चाहन्न थिएँ। मैले स्वदेशमा असफल प्रेम भोगेको थिएँ।
भन्न त जापान उड्नु अगाडि बाले बिहे गर्न कर गरेका थिए। आमोईले पनि बुहारी भित्र्याउन पाए साथी हुन्थी भनेकी थिइन्।
म विद्यार्थी भिसामा जापानको टोकियो नजिकैको सहर 'साइतामा' पुगेँ। प्रेम नामको जिनिस पनि त्यस्तै रहेछ। जापनिज भाषा पढाउने मभन्दा दुई वर्ष जेठी 'मिस'ले मलाई मन पराइसकिछ। पाकेको मिठो आँप खान कसलाई पो मन नपर्ने हुन्थ्यो र? 'वातानाबे' मिसको मायामा म लट्ठ भएँ।
मेरो नेपाली पारा वातानाबे मिसलाई मन परेन।
हामी टोकियोमा सँगै बस्दाबाट नै समस्या सुरु भयो। मेरो मोजा गन्हाएको देखि समयमा भात नपकाएको निहुँमा वातानाबे मिसले मलाई 'तलाक' दिई।
जापनिज तरुनीहरू मोजा गन्हाएको निहुँमा पोइ छोड्छन् भन्थे। हो रहेछ। तर 'वातानाबे' मिससँग कफी खाएर सौहार्दपूर्ण तरिकाले छुट्टिएँ।
चित्त फाट्यो।
स्मृतिले फेसबुकमा 'मिस यु हब्बी' भन्दै आफ्नै श्रीमानको फोटो टँगाएकी थिई। बियर मज्जैले पिएँ। स्मृतिलाई मातेकै बेला 'हाई स्मृति' भनेर मेसेज पठाएँ। कुनै रिप्लाई आएन। क्रान्तीशिखाको अनुहार अब बिर्सिसकेको थिएँ।
थोरै बिदा लिएर सिकरकटेरी आएँ।
जापानमा भाडा माझे नि नेपालमा इज्जत ठुलै हुन्थ्यो।
कतै आफू रिजेक्ट भएँ। कतै कन्या आफैलाई मन परेन। मनभन्दा उनको अनुहार हेरेँ। मन त कसरी जाँच्नु? उनले आफ्नो 'ब्वाइ फ्रेन्ड' नभएको बताइन्।
मैले नि बितेको कुरा बताइनँ र भनेँ- मेरो पनि 'गर्ल फ्रेन्ड' छैनन्।
ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डलाई हाम्रो समाजले सम्भावित लोग्ने/स्वास्नी बनाइदिई हाल्छ। सुललितालाई घरमा भित्र्याएको दुई हप्तापछि म अनिच्छापूर्वक जापान फर्किएँ। बाध्यता जो फर्कनु नै थियो।
एयरपोर्टमा सुललितालाई अन्तिम पटक 'टाइट हग' नै ऊसँगको अन्तिम स्पर्श हुन पुग्यो।
सुललितले फोनमा दर्जनौँ पटक भनेकी थिई- 'चन्द्रकुमार म यो तिम्रो सिकरकटेरीमा बस्न सक्दिनँ।'
मलाई पनि त रहर थियो। टोकियोको जाडोमा आफ्नी अर्धाङ्गिनीसँग मायाका गफ जोत्दै 'स्टारबक्स'मा सँगै कफी पिउने अनि गर्मीमा समुद्रमा गएर 'मिनी माइक्रो' कट्टुमा बुढाबुढीको सेल्फी लिँदै फेसबुकमा गज्जबको 'क्याप्सन' राखेर सेयर गर्ने।
यस्तो भन्दा सुललिता लजाएकी थिई र भनेकी थिई- 'चन्द्रकुमार, विकिनी भनेको के हो?' मैले सुललितालाई विकिनी जापान आउने बित्तिकै किनिदिने बाचा गरेँ। तर सुललिता पोइल हिँडी।
लामो मेसेजको अन्त्यमा सुललिताले भनेकी थिई- 'फरगेट मि, चन्द्रकुमार।'
सिकरकटेरीमा हारेको सिपाहीझैँ फर्किएँ।
सुललिताले छोडेपछि गाउँलेहरू खुसुखुसु मलाई गिज्याउँथे त कोही जापानमै गोरो छाला भएकीसँग चन्द्रे सल्किएको हुनाले सुललिता हिँडेकी भनेर स्व घोषणा गर्थे।
हेर चन्द्रमा जस्ती स्वास्नी चन्द्रेले गुमायो।
हामी घरका तीन सदस्यहरू अगेनाका तीन मुखजस्ता भयौँ।
आमोई र बाले पोइल हिँडेकी सुललिताको प्रशंसा गर्थे। बुहारी गौ प्राणी थिई भन्नु हुन्थ्यो। आमोई त सुललितालाई सम्झँदै भन्थिन्- 'जोसँग गए पनि त्यो मान्छेलाई दुःख नपरोस्।'
सिकरकटेरीले वर्षा झेल्यो। वसन्त खप्यो। शिशिरमा रमायो। शरदमा पुलकित भयो। गृष्ममा शान्त बस्यो। हेमन्तमा विवाह पञ्चमी मनायो। तर चन्द्रकुमारले पिरै पिरमा ती छ ऋतुहरू झेल्यो।
गँगटे खोलाले अविरल पानी सुनकोसीलाई सापटी दिइरह्यो। चैत/वैशाखमा गँगटे खोलो चिपिक्कै खुम्चियो। हुन त 'क्लाइमेट चेन्ज'मा कलम चलाउनेहरूले 'मिसिसिपी' नदी पनि खुम्चिएको व्याख्यात्मक टिप्पणी दिएका थिए। तर नौबिसे, तारुके र टारीका मोहीहरूले पानी पर्ने र गँगटे खोलोमा पुनः पानीसहितको जवानी फर्काउने भन्दै भ्यागुताको बिहे गरिदिए।
सिकरकटेरीले खडेरी पनि खेप्यो तर चन्द्रकुमारको जिन्दगीमा कुनै रङहरू फेरिएनन्।
कुकुरको पनि त दिन आउँछ भनेझैँ चन्द्रकुमारले पनि पुनः बिहे गरेको साक्षी सिकरकटेरीको पिपल बोट भयो। गंगटेखोलो पनि सुसायो। सुनकोसीले बाल मतलब गरेन।
ढुंगानडाँडो, देउराली र सिम्पानीदेखीका आमोईहरू नयाँ दुलही हेर्न आए। सानी बेहुली लजाइन्। लजाइरहिन्।
सिकरकटेरीमा चन्द्रकुमार र बिभुषिता खुब रमाउँदै गए। थाक्से भिरमा सँगै बाख्रा चराए। नौबिसेको खेतमा सँगै आलु लगाए।
चन्द्रकुमारभन्दा एक दशक कान्छी बिभुषिताले चन्द्रकुमारलाई दोस्रो एनिभर्सरी सक्काएर सुत्ने बेला भनिन् 'तपाईंलाई सुललिताले किन छाडिन्?'
मेरो मगजमा भने क्रान्तिशिखा, स्मृति र वातानावेहरू घुम्न थाले।
अँगालोमा आफ्नै बिभुषिता थिइन् तर मनमा माया क्रान्तिशिखाको पनि जमठ भएर बसेको रहेछ।
बिभुषिताले प्रसङ्ग फेर्दै भनिन्- 'भोलि बाख्रा कैदले लैजाम् है, गँगटे खोलामा धित मरुन्जेल डुबुल्की मार्नु छ, हजुरले ढाड माडिदिनुपर्छ।'
आमोईले भुइँ तल्लाबाटै कौलासिन्- 'खोलामा ढाड माड् कि सुनकोसीमा पुगेर नुहाओ तिमेरूलाई सबै छुट तर बिहे भएको के जाति 'यानिभर्सरी' मनाइसक्दा पनि खोइ त नाति नातिनी? सुन् है बिभुषिते, तेरो पोइ एक बिसे तेह्र नाघ्यो।'
विभुषिता खुब लजाई।