साथीहरू, मलाई थाहा छैन म किन लेख्दै छु। पीडा पोख्न हो कि, सहानुभूति खोज्न हो कि, खै किन हो किन। तर मलाई लेख्दा अलिकति भए पनि शान्ति महसुस हुन्छ।
हुन त मेरा मनका कुरा सुन्दा तपाईंलाई ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ जस्तै लाग्न सक्छ। तर पनि साथीहरू, म तपाईंहरूलाई सुनाउँदै छु मेरा मनका कुरा। मलाई विश्वास गर्नुहोस्, मेरो कहानी सुन्ने कोही नभएर तपाईंहरूलाई सुनाउँदै छु।
कोही एक जना पनि हुन्थ्यो भने... छोड्नुस्, सुरु गर्छु है।
मेरो उमेर ३५ पुग्न लाग्यो। मेरा बुबा ६५ लागे। आमाका गाला फुस्रै देखिन थाले। बहिनी २५ की भई। श्यामेले विवाह गर्यो। रमेशको घरको आँगन अहिले बढेको छ, कालो कार अट्ने भयो। रोहन अमेरिकामा विमान उडाउँछ रे।
साथीहरू, रोहन त मेरो सानो हुँदाको साथी हो।
म कहिलेकाहीँ सोच्छु— सडकमा कालो कार पहिला पनि गुड्थे, विवाह पहिला पनि हुन्थे, नयाँ घर पहिला पनि बन्थे, सुन्दर अनुहारमा चाउरीपन पहिला पनि आउँथ्यो। तर आजकाल एक्कासि मेरा आँखा किन यति तेजिला भए?
मसँग यसको जवाफ कता-कता छ जस्तो लाग्छ, तर छोड्नुस्, तपाईंलाई पनि थाहा होला। म भन्दिनँ।
साथीहरू, समय मेरो लागि पहिलेको जस्तो कोमल रहेन। मुस्कानले साथ छाड्यो, पीडाले अँगाल्दै छ। भएका साथीहरूले टाढा भए, आफन्तका आँखामा म बिझिन थाले।
आज म घना जंगलमा हराएको मान्छे जस्तै भएको छु, जसलाई निस्कने बाटो थाहा छैन। डर लाग्छ साथीहरू, कतै मेरो जीवन यही जंगलमै सकिने हो कि?
म काठमाडौँको कपन भन्ने ठाउँमा बस्छु। भुइँतलामा एउटा अँध्यारो सानो कोठा छ।
साथीहरू, म झुट बोल्दिनँ। भाडा कम छ, त्यसैले म त्यहीँ बस्छु। आँखा मिच्दै ५ बजे उठ्छु। अँध्यारो कोठाको सिलिङमा पहेँलो ट्युबलाइट छ, पिटिक्क पार्छु। मधुरो प्रकाशमा ग्यास बाल्छु, र बसाल्छु— एक गिलास जति पानी। अनि सुरु हुन्छ मेरो दिन।
साथीहरू, मेरा दिनहरू पनि मेरा कोठाका भित्ताझैँ छन् रङ उडेका, जसको आत्माले नयाँ रङ माग्दै छ। यी भित्ताहरू बोल्न सक्थे भने सायद सेतो रङ माग्थे होला।
बिहान पर्दा सर्र खोल्दा चम्किला पहेँला घामका किरणहरूको स्पर्श पाउन मन छ यिनलाई, सायद तर...
आजकल म कम बोल्छु। धाक लगाउन छोडेँ।
कता-कता मनमा डर लाग्छ— सायद म कमजोर छु। सायद धेरै नै कमजोर। त्यसैले होला, मलाई कसैलाई जिस्क्याउन मन लाग्दैन। मलाई आजकल अरूले ध्यान दिउन् भन्ने लाग्दैन। अँध्यारोमा हिँड्न मन पर्छ। कसैलाई देख्दा म छिटो हिँड्छु। उज्यालोमा निस्कनु परे झुकेर हिँड्छु।
डर लाग्छ साथीहरू, कतै मलाई चिन्नेले देख्छन् कि जस्तो।
आकाश कालो भएको आज १२ दिन जति भइसक्यो। बादलले आकाश छोडेको छैन। कहिलेकाहीँ घामले बादललाई सेतो बनाउन खोज्छ तर सायद घाम पनि कमजोर छ, त्यसैले त्यो बाक्लो बादल छेड्न सक्दैन।
म हेरिरहन्छु आँखा ठुला पारेर। मनमा चाहना हुन्छ घामले जितोस्। तर खै, सायद मलाई अब यो उराठलाग्दो आकाशको बानी परिसकेको छ।
मलाई घामको पनि त्यति प्रबल इच्छा छैन। ४ बजे तिर बाहिर निस्केर आकाश हेर्छु। कालो बादल हेर्दै गर्दा एक्कासि म कल्पनामा प्रवेश गर्छु। आँखा बादलमा हुन्छ तर मानसपटलमा तस्बिर अरू नै बन्छ।
साथीहरू, म बहिनीको बिहेमा नाच्दै गरेको कल्पनामा हुन्छु। मेरी आमा रातो सारीमा भित्र-बाहिर गरिरहेकी हुन्छिन्। बुबा दौरा सुरुवालमा चट्ट परेका हुन्छन्। आँखामा चमक हुन्छ। म बहिनीको हाँसोमा हराएको हुन्छु।
एक्कासि चिसो हावा आउँछ, म झसङ्ग हुन्छु। साथीहरू, मलाई रुन मन लाग्छ। आँखा भरिन्छ तर कसैलाई न भन्नु है— ‘म रुन्छु’ भनेर। मलाई कमजोर देखिन मन छैन।
साथीहरू, म डराएको छु।
थाहा छ— मेरी आमाले मलाई धेरै माया गर्छिन्।
बुबा बोल्दैनन् मसँग एक वर्षदेखि, झगडा गरेर आएको थिएँ। तर साथीहरू, बुबाको अनुहार सम्झन्छु कि रुन मन लाग्छ।
मेरा कलिला हात समाउँदै बुबाले मलाई चरिकोट सहर घुमाउन लग्थे। मेरी बहिनीले मेरा सबै लुगा धोइदिन्थी। बहिनीसँग न बोलेको पनि महिनौँ भयो। मलाई धेरै माया लाग्छ मेरी बहिनीको।
हिजो राति सपना देखेँ, सपनाभित्र पनि म गरिब थिएँ। बिहान त्यो सपना सम्झेर हाँसे।
सपना यस्तो थियो—
म अनाथ थिएँ, होटेलमा भाँडा माझ्थेँ। साहुले ५० रुपैयाँ दिन्छु भनेर काम लगाउँथ्यो, सकिएपछि जम्मा २० दिन्थ्यो। कोही थिएन मेरो, त्यसैले लाज लाग्दैन थ्यो। मलाई कसैले देख्छ कि भन्ने डर लाग्दैन थ्यो।
म खुसी थिएँ। पेट भोको भए पनि दुःख लाग्दैन थ्यो। बेलुका ४ बजेतिर डेक्ची माझ्दै गर्दा मेरो हातबाट चिप्लियो। डङ्ग्रङ्ग आवाज आयो। साहु रिसाएर करायो।
म सपनाबाट ब्युँझिए।
साथीहरू, कहिलेकाहीँ सोच्छु— मलाई अरू मानिसबाट किन डर लाग्छ?
रमेशले विवाह गर्यो, यसले मलाई किन पोल्छ?
कहिलेकाहीँ लाग्छ, केही समयपछि ती ‘सफल’ भनिनेहरू पनि त मर्ने नै हुन्।
अर्को ४० वर्षपछि न म रहन्छु, न रोहन।
गन्तव्य त एउटै हो— माटो।
रोहनको सालिक बनाउलान्, मलाई ‘गरिब नै मरेछ’ भन्लान्। ज्यादै भयो भने ६० वर्षसम्म त मलाई नामले सम्झने होलान्। त्यसपछि मेरो नाम पनि हराउँछ।
फेरि मरेपछि कसले के सोच्छ, त्यसले मलाई के फरक पर्छ र?
मनलाई सम्झाउने बाटो त हो त्यो, साथीहरू। तर सायद मलाई अरूको डर हैन, मलाई आफ्नै कमजोरीको डर हो।
थाहा छ, म बाहिर एउटा देखिन्छु, भित्र दुइटा छु।
एउटा रूप भन्छ—’धनी हुनुपर्छ।’
अर्को भन्छ— ‘केही हुनुपर्दैन, यत्तिकै ठिक छस्।’
त्यसबाट निस्किन खोजेँ भने म कमजोर देखिनु पर्ने छ। सायद कमजोर देखिन मन छैन मलाई।
‘हेर, तँलाई तिनीहरूले के सोच्लान्?’ यसो भनेर म आफूभित्रै दोहोरो भएर यता-उता नाचिरहेछु, साथीहरू।
साथीहरू, संसारमा सबैभन्दा ठुलो कुरा डर रहेछ। एउटा डरले अर्को जन्माउँछ, अर्कोले अर्को। यसरी मलाई डरले चारैतिरबाट घेरेको छ। न मर्न दिएको छ, न बाँच्न।
हुन त मलाई थाहा छ साथीहरू— संसारमा चोखो, पवित्र कोही छैन। कोही बाँच्न आएका छैनन्, यहाँ सबै देखाउन आएका छन्। दिनभरिको हाँसो राति रिसमा बदलिन्छ। नाङ्गोपनलाई कोटले छेकिन्छ।
जो जति सुन लगाउँछ, वास्तवमा त्यति नै गरिब हुन्छ। जो ओरालो लाग्छ, उसलाई सबैले लखेट्छ। तपाईंलाई कसैले ‘जी हजुरी’ गर्दै छ भने, त्यो तपाईंलाई होइन, तपाईंको समयलाई गर्दै छ। जुन दिन तपाईं ओरालो लाग्नुहुन्छ, उसले तपाईंलाई अझ तल धकेल्छ।
सबै भ्रष्ट छन् यहाँ। विश्वास लागेन भने सोध्नुस् आफैलाई— तपाईं कति इमानदार हुनुहुन्छ?
तपाईं पनि त गरिबलाई हेप्न खोज्नुहुन्छ। कोही बलियो देख्नुभयो भने डर लाग्छ। धनी देख्नुभयो भने चाप्लुसी गर्नुहुन्छ— हैन र?
छोड्नुस् साथीहरू, मेरो पीडा पोख्दा के-के भने के-के। तपाईंहरू जस्तो हुनुहुन्छ, त्यस्तै हुनुहोस्। मेरो यतिको लामो गुनासो सुन्नुभयो, धन्यवाद।