हरेक वर्षको बर्खा याम जस्तै यो वर्ष पनि आकाश हुङ्कार गरेर गर्जेकै थियो, नदी उन्माद बनेर बगेकै थियो, काला बादलहरू जोड जोडले ठोक्किएर सारा धर्तीको बनोट बदल्न तल्लीन देखिन्थे।
तन्नेरी लगायत गाउँका बुढाहरू चुहिने छाप्रोभित्र पानीको निदानको कल्पना हरेक वर्ष जस्तै यस वर्ष पनि गर्दै छन्। उनीहरूलाई पालीसँगै जीवन पो उड्छ कि भन्ने, बालीसँगै खेतै बग्छ कि भन्ने डरले झस्काउने बेला आखिर यहीँ बर्खा याम त हो।
बास, खर र थोत्रा टिनहरूले घर बारेको गाउँ छ। यी गाउँलेको काँधमा चढेर बेस्सरी टाउको समाएको छ यहाँ गरिबीले। यहाँको जीवन कठिन छ, सङ्घर्षपूर्ण तर अपूर्ण छ। यस्तो लाग्छ नियति यिनीहरूलाई पुस्तौँदेखि यसरी नै निचोर्ने नियम बनाएर बसेको छ।
गन्जीसँगको अटुट सम्बन्ध, काँधमा मैलो गम्छा र कम्मरमुनि धोती पुरुषहरूको पर्याय भेसभुसा छ यहाँ। आजकल केटाहरूले धोतीलाई पाइन्टले विस्थापित गरेका भएता पनि गम्छा र गन्जीको अटुट मेलले निरन्तरता पाइरहेकै छ।
धन्न यहाँ यिनीहरूको मान्छेको पहिचान र व्यवहार छ। राजधानीमा आफूलाई मान्छे भन्नेहरूले त यी मान्छेहरूलाई मान्छेसम्मको नजरले पनि हेर्दैनन्।
यहाँ महिलाहरूको पनि एकदरे पहिरन छ। सारीको सप्कोले कपाल एकनास छोपिएको हुने जीवन सधैँ दुखै दुःखको मेलामा जोतिएकै हुने।
हरेक दिन बिहानको घामभन्दा पहिले यहाँ गरिबी झुल्किन्छ। घाम पो अस्ताएर जान्छ तर साथै रहन्छ यिनीहरूको भाग्य आधा रातसम्म। निद्रा केही घण्टाको आउँछ, सारा कुरा बिर्साउँछ। स्वाँ-स्वाँ सासमा शून्यता हुन्छ। यहीँ बेला हो यिनीहरूको सम्पूर्णता प्राप्त हुने बेला। कहिलेकाहीँ त सपनामा पनि लखेटिन्छन् यिनीहरू आफ्नै सहरका मान्छेसँग, भाग्छन् र फेरि बग्छन् आफ्नै किनारका नदीसँग। उफ्! दर्दनाक रातपछिको बिहानीको झुल्किने पीडा बरु कति सजिलो!
पुस्तौँदेखि यहीँ जमिनलाई पुजेर पनि यिनीहरूलाई पूरा पेट खान पुग्दैन, तर भाग्दैनन् यिनीहरू यो दुखी नियतिबाट, पुस्तौँदेखि जमिन यसरी पुजिएकै छ र यसरी नै निरन्तरता पाइरहेकै छ।
तर आजकल यहाँका बुढा र केटाहरूको सोचमा बेमेल हुन लागेको छ। कसैले बाँच्नु र जिउनु बिचको भिन्नताको अर्थ बुझाइदिएको छ। त्यसैले तन्नेरीहरू सुकिलो भविष्यको कल्पना गर्छन्। भूमिको संघर्ष मात्रै हैन अब त भुइँ नै छोड्छौँ भन्छन्। देश छोडे दशाले पनि छोड्छ भन्ने भावले यहाँका तन्नेरीहरूको मस्तिष्क भरिसकेको थियो।
‘बाबा म विदेश जान्छु, धने काकाले लैजान्छु भनेका छन्।’
वर्षौँदेखि टुलुटुलु आफ्नो परिवारलाई गरिबीमा नियालिरहेको तन्नेरी एक दिन मुख खोल्न बाध्य बन्छ।
आमा अगेनामा साडीको सप्कोले टाउको छोपेर ढुङ्ग्रोलाई फु-फु गर्नमै व्यस्त देखिन्थिन। धुवाँ पुत्ताएर तुवाँलो जसरी मडारिएको थियो। सेता खरानीका टुक्राले बादल बन्दा भान्सा घर राम्ररी नखुलेर निसास्सिएको आकाश जस्तो देखिन्थ्यो। तन्नेरीकी आमाको आँखा राता देखिन्थे; पिरो धुवाँले हो या अघि भर्खरको छोराको कुराले हो कुन्नि!
‘हाम्रो त यहीँ जीवन बित्यो, तँ किन जान्छस् विदेश?’
बूढो आफ्नो छोरातर्फ हेर्छ, तन्नेरी मौन बस्छ।
‘इन्डिया जाएके भेले जाही दोसर ढौरी जाइके बात झिनकरही (इन्डिया जाने भए जा अरू देशमा जाने कुरा नगर्),’ आमा सारीको सप्कोले पिरो आँखा पुछ्दै भन्छिन्।
‘आबे इहवा रहिके हमार भाग्य नही बन्तै आमा, ध्यारे पैसा कमाएके लागि विदेश नै जाई पर्तै,’ तन्नेरी आमातर्फ हेरेर बोल्छ।
‘बरु इन्डिया नै जा न, हाम्रो लागि सबैभन्दा टाढाको विदेश भनेको त्यही त हो। कमसेकम नजिक त हुन्छस्,’ बूढो बाबु सम्झाउन खोज्छन्।
‘बाबु हो, विदेश भनेको विदेश नै हो। यो नेपालमा के छ? के पाउँछ यो जमिन खोस्रिएर हँ? तिम्रो हजुरबादेखि बासम्मको अवस्था यहीँ रह्यो। अब तिमीपछि पनि तिम्रो नातिसम्मको अवस्था यहीँ रहनेछ। राजधानी हामीलाई मान्छे गन्दैन, सरकार भोटरबाहेक केही देख्दैन। हामी रक्षक हौँ देश बचाउन तर उनीहरू नै भन्छन् हामी विदेशी हौँ। आजकल त्यो वि काटेर बोलाउन लागेको छ। हाम्रा पूर्वजदेखि आजसम्म हामीले दुस्मनका शिर, पाउ काटेर राजधानीलाई स्वतन्त्रता पस्किरह्यौँ। ऊ भने सधैँ हेलाको नजरले हेरिरह्यो। के बस्छौ हँ यो देशमा जहाँ तिम्रो नागरिकता तिमीलाई हेरेर शङ्का गर्छ?’ चोकमा तन्नेरीहरू जम्मा पारेर आज दिउँसो धने काकाले भनेका थिए।
आफैले भोगिआएको मनकै कुरा गरेकाले केटाहरूको रगत उम्लेको थियो, मस्तिष्क तातेको थियो र धने काकाले भनेबमोजिम गर्न आतुर देखिन्थे।
तन्नेरीका बाबा खाना खाँदै थिए, आमा अझै अगेनामै थिइन्। तन्नेरी उनीहरूका पैताला हेर्छ। उसलाई आमाका चाउरिएका अनुहारभन्दा पट्-पट् फुटेका कुर्कुच्चाले अझ बढी चसक्क पार्छ। आफ्नो अघोषित भविष्य उसकै आँखीझ्याल अगाडि प्रविष्ट भइदिन्छ र खङ्ग्रङ्ग तर्सिन्छ।
ऊ चुपचाप उठ्छ र सुत्ने कोठातर्फ प्रस्थान गर्छ।
निद्रा लाग्दैन उसलाई। फेरि गम्छ, उसका सपना फरासिला हुन चाहेका छन्। उसलाई उडान भर्नु छ नयाँ पथको जहाँ बाटाहरू फूल बिच्छाएर स्वागत गरून्। जहाँ काँडाका बिझाइ मखमलका कोमल स्पर्शमा परिणत बनून्। यी जीवनका छाना, यी टिनका छाना चुहिने आकाशसँगै नचुहियोस्, रसाउने आँखासँगै नरसाइयोस् बरु अझ रसिलो बनोस् मृगतृष्णा वास्तविकतामा परिणत भएर बरु सपना सपना नै रहोस् र कहिल्यै ब्युँझिनै नपरोस् यो कालो बिपनामा। फेला परोस् चोला फेरिने केही सूत्र जहाँ सुनियोस् न मृगले आफ्नो बास्ना आउने स्रोत पत्ता लगाएछ भनेर।
यस्तै सोच्दै तन्नेरी निदाउँछ।
छोराहरू बिदेसिने कुरा गाउँका अन्य तन्नेरीहरूले आफ्ना-आफ्ना घरमा राखिसकेपछि बुढाहरूको भेला भएको थियो। आफूले कहिल्यै नदेखेको, नजानेको ठाउँमा पठाउने कि नाइँ भन्ने विषयमा लामो छलफल भएपछि अन्ततः ‘जीवन नै उकास्न चाहन्छन् भने उडून् खुला आकाशमा र बोकेर लैजाउन् यो गरिबीलाई हावाको धनको तुफानभित्र जहाँबाट फर्किँदा सम्पन्नताको न्यानो राप ताप्न पाइयोस्’ भन्दै सहमतिका शिर हल्लिएका थिए।
सहमति जुटेको भोलिपल्ट सबेरै तन्नेरी र अरू युवा काठमाडौँको लागि प्रवेश गर्न लाग्छन्।
‘साउदीको लागि डिमान्ड छ, काम यहाँभन्दा धेरै सजिलो छ। पासपोर्ट मलाई नै दिनु, मै लैजान्छु। तिमीहरू मैले अर्थाएका कुरा भन्नू, अन्तर्वार्ता पास भयौ भने एकै चोटि मेडिकल गरेर फर्किनुपर्छ,’ धने काकाले राम्ररी केटाहरूलाई अर्थाएर पासपोर्ट लगायत चाहिने अन्य सबै कागजात बोकेर आफू काठमाडौँ गइसकेका थिए।
तन्नेरी आफ्नी प्रेमिका बाटुलीलाई सम्झिन्छ। उसलाई थाहै नदिई अहिले काठमाडौँ जान लागेको थियो।
झिसमिसेको बिहान, पानी उसै गरी परिरहेकै छ। चट्याङ वेगले चड्किँदा धर्ती नै कम्पायन बनाएझैँ लाग्ने। यो विदेशको यात्रा थिएन, अहिले नै जहाज चढ्न चालिएको पाइला पनि थिएन तर एक दिन पुग्नुपर्ने गन्तव्यमा पुग्न चालिएको पहिलो पाइला थियो। दरिद्रता भत्काउने पहिलो कदम थियो, सबैलाई वर्गको रूपान्तरण देखाइदिने अठोटसहितको पहिलो आन्दोलन थियो।
बसमा बस्नै लाग्दा गाउँलेहरू अलि भावुक देखिन्थे। उनीहरू जान्दथे कि अब यिनीहरू हाम्रा लागि पाहुना मात्र हुनेछन्। घरका लागि घर छोडेर हिँडेकाहरू अब जीवनभर यात्रु बनेरै हिँडिरहनेछन्।
काठमाडौँ सहर मानिसका हरेक अवस्थाको, देशका व्यवस्थाको, वर्गका उच्चतम र न्यूनतम तहको ती तहभित्र बस्नेहरूका अधिकतम कल्पनाको साक्षी बनेको सहर हो। यसको प्राङ्गणमा खुट्टा राख्नेहरू मैमत्तदेखि आशक्त छन्। यो सहरलाई सबै थाहा छ कुन पाउ घोटिएर खिइएका छन् अनि कुन पाउ बडो आलिसानका साथ ढल्किएका छन्। यसले धोतीभित्र लुकेको व्यथा होस् या कसैका गोजीभित्र लुकेको लुट सबै देख्छ।
यसले उन्माद भएर भतभताइरहेको जजमान होस् या सडकको पेटीमा बसेर आफू यही देशको हुँ भनेर आफ्नो परिचय मागिरहेको आवाज, सबै सुन्छ। आजकल पाउहरू यहाँ अडिन हैन यसैलाई टेकेर यसैलाई फेरि साक्षी राखेर उडान भर्न आउँछन्।
बसबाट ओर्लिएपछि तन्नेरीहरू धने काकाले बताए बमोजिम स्थानमा पुग्छन्। केही बेरमा अन्तर्वार्ता सुरु हुन्छ। धने काकाले सिकाएअनुसार आफूलाई फोटोकपी मेसिन सरह प्रस्तुत गर्छन्। केही समयमा नतिजा आउँछ। उनीहरू पास हुन्छन् र मेडिकलको लागि पठाइन्छ। सो कार्य सकिएपछि आज साँझ नै घर फर्किने तयारी हुन्छ।
ओहो! अब त भिसाको प्रतीक्षा न हो। मनमा अनौठो सञ्चार पैदा हुन्छ।
साँझको बेला पानी उसै गरी परिरहेकै छ। अब रात्रि बसमा फर्किने सुरमा तन्नेरीहरू बसमा बस्छन्। गाडीको हर्नसँगै बस गुड्न सुरु हुन्छ। यता तन्नेरीहरूको मन सपनाको सहरतर्फ उड्न लाग्छ।
झ्यालतर्फ सिटमा बसेको तन्नेरी बिस्तारै आफ्नो शिरले सिटलाई दबाउँछ र बाटुलीलाई सम्झन्छ। अस्ति भर्खर धान रोप्दा बाटुलीलाई बेस्सरी हिलोमा गाडेको सम्झेर मनमनै मुस्कुराउँछ। बाटुलीले नखरा देखाउँदै त्यो दिनभर नबोलेको पनि सम्झिन्छ। उसले गीत गाएर फकाएको पनि सम्झिन्छ।
आँखा खोल्छ, यता उता नियाल्छ। फेरि ऊ आफ्ना दुःखलाई सम्झिन्छ। खुट्टातर्फ हेर्छ, केही ठाउँबाट सोल निस्कन लागेको जस्तो मैलो, थोत्रो जुत्ता लगाएको छ। दिनभरको काम र दौडधुपले अनि पानीको भिजाइले कपडाबाट अर्कै गन्ध आइरहेको थियो।
सोही बसमा कोही स्वघोषित धनी लाग्नेहरू पनि छन्। जसको लवाइ खुवाइ लोभलाग्दो देखिन्थ्यो। उसलाई काठमाडौँका हरेक बाटोमा कारभित्र कुदिरहेका हुन् या सुकिलो भएर हिँडिरहेकाहरूलाई देख्दा आफैलाई हीनताबोध लागेको थियो।
अहिले बसमा त्यस्तै लाग्दै थियो। यिनीहरू आफ्नै समाजमा रहँदा कहीँ कतै दाँजिनु पर्थेन, भिन्नता नै देखिन्थेन। आज उसले संगालेका राम्राभन्दा राम्रा कपडा लगाएर आउँदा पनि ऊ यहाँका मान्छे अगाडि दाँजिन पुगेको छ। उसले आफैले आफैलाई डुबाउँदै पाताल पुर्याएको छ।
उसो त दाँजिनु उसकै अर्धचेतन मनका कार्य हुन् तर पनि उसलाई धेरै तिरका कुराले एकै पटक अँठ्याए जस्तो लाग्छ, सबैभन्दा बढी त आफ्नै आर्थिक अवस्थाले पिरोल्छ।
झ्याप्प उसका स्वप्नका दर्पण अगाडि बा प्रकट हुन्छन्। निधारको धेरै माथिसम्म कपाल खुइलिइसकेको, दारी फुस्रा र सेता, आँखा काला अनि गढेका, छातीको रौँ पनि सेतो भइसकेको, गाला धस्सिएको। जीवनप्रतिको आशामा चलिरहेको सास, तर निराशामा वर्षौँ पहिलेबाट हाँस्न बन्द गरिसकेको ओठ झुलुक्क आँखा अगाडि झुल्किन्छ। तन्नेरीलाई एक्कासि मुटु निचरिए जस्तो लाग्छ। निचोरिएको मन तप्प उसको आँखाबाट बगिहाल्छ, उसले हत्त न पत्त पुछिहाल्छ।
मन उम्लिएपछि पोखिन्छ, पोखिएपछि हल्का बन्छ। ऊ सम्हालियो। आफ्ना वरपर आफैसँग आएका अन्यलाई नियाल्यो, उनीहरूको पनि अनुहार निन्याउरो नै थियो।
तन्नेरी पुनः आँखा चिम्लन्छ।
‘बाबा हामी अन्तर्वार्ता पास भयौँ र मेडिकल पनि सक्यौँ। अब महिनाभित्रै भिसा आउँछ रे, हामी आज साँझ नै फर्कन्छौँ, भोलि बिहानसम्म गाउँ आइपुगिन्छ,’ अघि बस चढ्नुअघि तन्नेरीले घरमा फोन गरेर जानकारी गराएको थियो।
‘भगवान्को लाख लाख धन्यवाद,’ उताबाट तन्नेरीका बाले भनेका थिए।
आँखा चिम्लेको चिम्ल्यो गरेर पुनः ऊ बाटुलीलाई सम्झिन्छ।
बाटुली खासमा धने काकाको गाउँकी हो। पछि बसाइँ गरेर यो गाउँ आएकी। काली काली हिस्सी परेकी, मझ्यौला कदकी निकै सुन्दर देखिन्थी। गाउँमा सबैभन्दा धेरै पढेकी पनि। उसमा रूप र सुझबुझ दुवै थियो। हरेक दिन चोकको बाटो हिँड्दा तन्नेरीले देख्थ्यो। मनमनै मन पराउन लागेको थियो। बोल्ने हिम्मत जुटेकै थिएन। उसले भने तन्नेरीलाई देखेपछि लजाएर हो या डराएर नजर फेरेर हिँड्थी।
एक दिन तन्नेरीले सोध्यो, ‘तोर नाउँ कथिह खै?’
‘कत्के चाहे दोसर जनक नाम?’ उसले सन्किँदै भनेकी थिई।
‘बाटुली हो क्या?’ तन्नेरीले आफै नाम जुराइदिएको थियो।
‘आम्मै, कसरी बाटुली भन्न सकेको होला?’
‘कपाल बाटेको देखेर नि,’ तन्नेरीले मस्किँदै बोल्यो।
बाटुली लजाई।
यस्तो लाग्थ्यो बाटुली नाममा उसको सहमति छ। उसको सोधाइमा पनि सहमति छ। उसको हरेक दिनको हेराइमा पनि सहमति छ। ऊसँगै जीवन काट्नमा पनि सहमति छ।
बाटुली तन्नेरीसँग समाहित भइसकेकी थिई। यो गरिब गाउँको सबैभन्दा अमूल्य कुरा सायद यी दुईको प्रेम नै थियो होला।
बाटुली पनि चाहन्न यहाँ फरियाले शिर छोपेर बसिरहन। उसलाई पनि मन छ तन्नेरीसँगै निस्फिक्री हुन।
‘हामी ऊ त्यो चरा जस्तै उडेर जाम् न बादलपारि,’ तन्नेरीको काँधमा शिर राखेकी बाटुलीले भन्छे।
‘त्यसको पो पखेटा छ र उड्छ। हामी कसरी जाने?’
‘मान्छेले आफ्नो पखेटा आफै हाल्न सक्नुपर्छ। उड्न चाहनेलाई पखेटाले रोक्छ र?’ बाटुलीले भन्छे।
‘कसरी हाल्ने पखेटा?’ तन्नेरी निर्दोष जवाफ फर्काउँथ्यो।
‘एउटा समय आउँछ जहाँ तपाईंलाई उडाउन पखेटा बोकेर कोही आउनेछ। त्यो मौका गुम्न नदिनुहोस् न,’ बाटुली मुस्कुराउँछे।
सायद त्यो पखेटा बोकेर धने काका आएका थिए र उसले उड्ने सपना देखेको थियो।
तन्नेरीले उसैलाई नसोधी उसको मनको कुरा सुने जसरी अब बिदेसिने योजना बनाएको थियो। बाह्य संसारमा बाटुलीलाई अझै थाहा छैन तन्नेरी विदेश जाने तयारी गरिरहेको तर मन-मनका विचार जरुर एक अर्कामा अंकमाल गरिसकेका छन्। केही पलको भेट र औपचारिक जानकारीको मात्र त खाँचो छ यहाँ। त्यो पनि भोलि बिहान घर पुग्नासाथ तन्नेरीले बाटुलीलाई सुनाइसक्नेछ र हेर्नेछ उसको अनुहारको मुस्कान मन भरुन्जेल र कोर्नेछन् दुई जनाले बाँकी खुसीका भविष्य जहाँ फर्किनेछ वर्षौँ पहिले हराएका उसका बाबा आमाका ओठका हाँसो पनि।
तन्नेरी जीवनका दुःख अब सकिए भन्ने भावले आँखा चिम्लिँदै गर्दा पनि मुसुक्क मुस्कुराउँछ।
सुनसान अन्धकार रात, एकोहोरो बसको इन्जिन र आकाशबाट झरिरहेको झरीको आवाज। सपनाभित्र सपना देखेर निदाइरहेका तन्नेरीहरू। सबै मस्त देखिन्छन्।
तन्नेरी सपनामा गहिरिँदै जान्छ। बाटुली सोही खेतमा देखा पर्छे जहाँ अस्ति उसले हिलोमा गाडेको थियो, आज बदला लिन्छु भन्दै तन्नेरीलाई गाड्न लाग्छे। तन्नेरी निसास्सिन्छ, आत्तिन्छ, जोड जोडले कराउँछ- बाटुली! बाटुली!
झ्याप्प उसका आँखा खुल्छन्। झड्याम्म बस कतै ठोकिए जस्तो लाग्छ। ऊ अत्तालिन्छ, निसासिन्छ। छटपटिँदै नदीको पिँधमा पुग्छ। एकै पटक उसका नजरभरि बा, आमा र बाटुली घुम्छन्। एकछिनमा ऊ अब कहिल्यै नफर्किने गरी तैरिँदै बग्न लाग्छ।
बिहानै रेडियो बज्छ- ‘काठमाडौँबाट फर्कँदै गरेको बसलाई लेदो सहितको पहिरोले त्रिशूली नदीमा बगायो। बस सवार यात्रुहरूको खोजी कार्य जारी।’