मानवबाहेक सृष्टिमा रहेका अन्य प्राणी जगतको पनि अस्तित्व छ है भनी स्वीकार्ने चेतनाले—यतिखेर म अत्यन्तै संवेदनशील मूडमा छु।
यही मूडमा भर्खरै ‘एउटै मात्र इभान’ पढेर सकेँ।
न्यूबेरी पदकले सम्मानित विश्व चर्चित क्याथ्रिन एप्पलगेटको ‘द वन एण्ड ओन्ली इभान’ले यतिखेर मलाई धेरै थोक सोच्न लगाएको छ।
मनमा थरीथरीका विचार आइरहेको छ। अचला पोख्रेलले यस कृतिलाई नेपालीकरण गरी हाम्रो वाङ्मयलाई समृद्ध पार्ने एउटा असल काम गर्नु भएको छ। अपरिमित स्वार्थमा लिप्त भई हामी एकदम शुष्क हुँदै गइरहेको बेला—हामीलाई उच्च संवेदनशील क्याथ्रिन जस्ता कवि कलाकारको खाँचो छ। जसले प्रकृतिको, सारा जीव जगतको सम्मान गर्न सकोस्, आफूबाहेक अन्यको अस्तित्व बोध गराउन सकोस्। मानवेतर जगतप्रति संवेदनशील हुन सिकाओस्।
अरूको अस्तित्व किञ्चित नस्वीकार्ने, अन्य अस्तित्वको पहिचानलाई सम्मान नगर्ने हामीलाई एउटा इन्जेक्सन चाहिएको छ। संवेदना जागृत गर्ने त्यो इन्जेक्सन छिट्टै आविष्कार होस्। यही प्रार्थना छ। उता विज्ञानले आपसमा बिरूवाहरू संवाद गर्छन्, कष्ट अनुभूति गर्छन् भन्ने सत्यता प्रमाणित गरिसकेको छ। त्यति मात्र होइन उनीहरूमा सहभाव तथा सहअस्तिवको चेतना छ भन्ने कुरा पनि विज्ञानले बताइसकेको छ।
जुन कुरा हाम्रो पूर्वीय दर्शनले उहिल्यै बताइसकेको थियो। त्यसैले त हाम्रा मनीषीहरू समभावले निर्देशित थिए। अनि त सहअस्तित्वको चेतले प्रकृति पुजक भए, प्रकृतिको आराधना गरे। तथापि हामीले बुझेनौं र उल्टो अपव्याख्या गर्न उद्यत भयौं। ढुङ्गामुढा, वायु बतास, रूख वृक्ष तथा सूर्यचन्द्र अनि पशुप्राणी समेत पूजा गर्ने परम्परालाई रूढ मानसिकता भनी आफ्नै परम्पराको विरोध गर्यौं। विद्रोहमा उत्रियौं। मङ्गल ग्रह तथा चन्द्र उपग्रहमा बस्ती बस्ने कुरा भइरहेको बखत—हामी चाहिँ अझ पनि देवता मानेर तिनको पूजा गर्ने? भनी आफैलाई धिक्कार्न लाग्यौं।
तर कुरा त्यसो होइन। हाम्रो महान् परम्परालाई हामीले कदापि बुझेनौं। हेर्नुस् त अहिले ग्लोबल वार्मिङले कस्तो प्रभाव गरिरहेको छ? पश्चिमाहरू बल्ल आज आएर प्रकृतिको अस्तित्वलाई बोध गर्दैछन्। प्रकृति बचाऊ अभियानमा लागेका छन्। तर हाम्रा ऋषि, महर्षिहरू प्रकृति विनाश हुनुअघि नै प्रकृतिप्रति सचेत थिए। उनीहरूलाई त्यो बोध थियो प्रकृति नै जीवन हो। प्रकृतिबिना मानव अस्तित्व रहन सम्भव छैन, सृष्टि सम्भव छैन भन्ने अनन्त चेतनाले नै—हाम्रा अग्रजहरू प्रकृतिप्रेमी थिए। प्रकृतिको महिमा गान गरेका थिए। हो, त्यसैलाई हामीले अन्धपरम्परा भनी घृणा गर्यौं, निन्दा अपमान गर्यौं। आफू र प्रकृतिमा किञ्चित भेद नदेख्ने हाम्रा पुर्खा कति दूरागामी थिए। ब्रह्माण्डीय ऊर्जाको उपासना गर्ने उनीहरूको चेतना कति अग्रगामी रहेछ। मानव, मानवेतर तथा प्रकृतिबीच सहभाव राख्ने, सम्पूर्णलाई समदृष्टिकोणले हेर्ने कति उदार चेतका रहेछन्। उनीहरूको यो विराट चेतनालाई अहिले आएर पश्चिमाले थाहा पाउँदैछ। दुःखको कुरा हामी भने आफ्नै विराटतालाई कुल्चिँदैछौं। जति कुल्चिन सक्छौं त्यति नै उत्तरआधुनिक भइने प्रतिस्पर्धामा छौं। यस्तो दुःख अवस्थामा ‘ग्रेट माइन्ड्स अन् इन्डिया’ पुस्तकको नेपाली अनुवाद ‘पूर्वीय सभ्यता’ पुस्तक म पुनः अध्ययन गर्छु।
सलील ज्ञवालीद्वारा बीस वर्षको लामो खोज अनुसन्धानबाट तयार गरिएको उक्त पुस्तकको अनुवाद डा. गोविन्दराज भट्टराइले गर्नु भएको छ। त्यसमा महान् बेलायती दार्शनिक एवं गणितज्ञ अल्फ्रेड नर्थ ह्वाइटहेडले भनेका छन्, ‘आजको सबैभन्दा महान् ज्ञानले पनि प्राचीन भारत वर्षका ऋषिहरूको बुद्धिलाई जित्न सक्तैन अनि अहिलेको सर्वाधिक उन्नत अवस्थामा देखिएको विज्ञान पनि वेदान्तको थोरै नजिक मात्र पुगेको छ (पृ–७७)।’
अनुभव गर्दैछु पहिलेभन्दा म अचेल केही बदलिएको रहेछु। मेरो पाषाण, शुष्क हृदय केही मुलायम हुन लागेछ। प्रकृति, पशुपन्छी तथा कीटपतङ्का विषयमा मेरो रूचि बढ्न थालेको पाउँछु। तिनीहरूको आवाज सुन्ने, भाषा बुझ्ने मन हुन्छ। केहीबेर फ्रेस हुन मन लाग्दा मोबाइलमा चराचुरूङ्गी, जीवजन्तु उफ्रिएको, नाचेको हेरेर म उसै रमाउन थाल्छु। आकाशमा बादल उडेको, झरनामा पानीको फोहोरा उठेको, नदीनालाको वेगमा म केके थोक कल्पना गर्न थाल्छु। तब त अनौठा अनौठा विचार मनमा आउन थाल्छन्। प्रकृतिसँग यसरी निकट हुँदा लाग्छ म आफैलाई बुझ्ने चेष्टामा छु। आखिर म पनि त प्रकृतिकै सृष्टि हुँ नि। यस भावले मलाई कुनै प्राणीप्रति विभेद गर्न दिँदैन। ती सबैमा आफूलाई पाउँछु। तिनीहरूको कष्ट आफ्नै जस्तो लाग्छ। यतिसम्म कि कसैले रूख काटेको देख्दा त्यस रूखको चित्कार म सुन्दैछु जस्तो अनुभूत हुन्छ।
धेरै भयो म रमाउन सकेको छैन। प्रातःकालीन भ्रमणमा सधैं दुःखी मन लिएर म घर फर्किन्छु। मिर्मिरे उज्यालो हुन लाग्दैछ। हो त्यति सखारै सबैभन्दा बढी कुखुरा ओसार्ने सवारी साधन गुडेका हुन्छन् सडकमा। ह्वास्स आउने, नमीठो गन्ध नाकमा आएर ठोकिन्छ। बधशाला पुग्न ती सवारीमा यसरी हुइँकिन्छन् कि! त्यतिखेर अनुभूत हुन्छ मलाई पनि बधशाला लगिँदैछ।
अझ अगाडि बधशालाको बाटो हुँदै म पर पुग्नु छ। गन्तव्यमा पुग्नुअघि नै विष्णुमतीको काँठमा—मासु सप्लाई गर्ने एउटा ठूलो बधशाला छ। तीव्र वेगमा छ्याक्, छ्याक् पारेको आवाज सुनेर प्रकृति रोइरहे जस्तो लाग्छ। वर्षायामको विष्णुमती त्यही पीडामा सुसाएको भान हुन्छ। कुकुराको चित्कारले मेरो मुटु खुम्चिन्छ। म आत्तिन्छु, कठिन अनुभूति हुन्छ। अनायास आँखा बन्द हुन्छन्। म त्यता फर्केर पनि हेर्दिनँ। सास रोकेर डेगिलो पदचापको गति अझ बढाउँछु। किन त्यसो गर्छु भने सास रोक्दा म कुनै अनुभूति गर्ने छैन अनि त मनमा कुनै विचार आउने छैन। तिनीहरूलाई मारिँदैछ भन्ने विचारबाट मुक्त हुन त्यसो गर्छु।
तिनीहरू कति मरिसकेका छन्, कतिलाई एकछिन पछि मारिँदैछन्। ल ... ठीक छ। तर त्यसरी मार्नुअघि गरिएको क्रूर व्यवहार मलाई निको लाग्दैन। लठ्ठीले घोचेर गाडीबाट तिनीहरूलाई बाहिर निकालिन्छ। त्यो पनि ठीकै छ। त्यसपछि भुइँमा यसरी फ्याँकिन्छ कि त्यो कुनै निर्जीव वस्तु होस्। मानिस कति निर्दयी छ। अलिकति पनि संवेदना नभएको लाग्छ। उसलाई पनि दुख्छ भन्ने अनुभूति हुँदो हो त्यस्तो क्रूर हुने थिएन। कम्तीमा मार्नुअघि उसलाई कष्ट नदिन सकिन्छ नि। तिनीहरूलाई मर्नु ठूलो कुरा छैन। किनकि म मर्दैछु भन्ने नै तिनीहरूलाई थाहा छैन।
‘मलाई मारिँदैछ’ भन्ने नै ज्ञान छैन। जीवनको कष्टदायी क्षण—जब मर्नुअघि नै तिनीहरूलाई यातनापूर्ण अनुभूति भोगाइन्छ। तब त म कामना गर्छु तिनीहरूलाई छिट्टै मारियोस्। हो तिनीहरूलाई मार्नुपर्छ। अनि मृत्यु जस्तो जीवनबाट मुक्त हुनेछन्। मृत्युले उनीहरूको उद्धार गर्नेछ। मृत्यु तिनीहरूका लागि हजारौं गुणा महान् हुनेछ।
हेर्नु त मानिस कति क्रूर छ। ऊ थोरै पनि महान् हुन सकेको छैन। तर मान्छे भएर जन्मिएपछि हुनुपर्ने त आखिर महान नै होइन र?
आफूजस्तै अरूको अस्तित्वलाई स्वीकार्ने चेतना हुँदो हो, साँच्चै मान्छे यति कठोर हुने थिएन। उसले यो बुझ्न जरूरी छ कि—सृष्टिका कुनै कुरा पनि व्यर्थ छैनन्। भलै त्यसको अर्थ हामीलाई थाहा नभएको होस्। जेहोस् खुसी लाग्छ विज्ञान अहिले यही सूक्ष्मताको खोजीमा छ।
म बस्ने कोठा अगाडिको बरण्डामा सेता र फुस्रा रङ्गका दुई वटा कुकुर छन्। तिनीहरू भुकिरहन्छन्। कहिले त एक्लै हाँस्छु तिनीहरूको व्यवहार देखेर। म बस्ने एरियामा बाँदर पनि आइरहन्छन्। ट्वाइलेट जाँदा पनि झ्याल ढोका थुनेर निस्किनु पर्छ। हाम्रो कोठामा धेरै पटक बाँदर पसेर विनाश गरेको छ। पल्लो कोठामा एकचोटि भातको कुकर नै लग्यो भन्थे। बाँदर आएको बेला आडैमा रहेका ती कुकुरले कहिल्यै जनाऊ दिएका छैनन्। बरू मित्रतापूर्ण दृष्टिले हेरिरहन्छन्। अनि त म गाउँका कुकुरहरू सम्झिन्छु। तिनीहरू बाँदरलाई शत्रु जस्तै व्यवहार गर्छन्। शत्रुताको भावमा क्रुद्ध हुन्छन्। यता काठमाडौंमा भने बाँदर र कुकुरबीच मितेरी साइनो छ कि जस्तो लाग्यो।
त्यस दिन अमेरिकादेखि आउनु भएकी भारती (गौतम) दिदी र म निकै कहालिएका थियौँ। अतीतको त्रासले म पुनः भयभीत हुन्छु। मध्याह्नको समय हामी बाइसधारा गएका थियौं। गफ गर्दै हामी वनभोज खाने ठाउँतिर पुग्यौं। एउटा ओसिलो ढुङ्गा पुछेर त्यहीँ बस्यौं। प्याकेटको बदाम, चना यस्तै केके थोक गफको धूनमा खाइरहेका थियौं। त्यसै बेला अचानक थाहा पाउँछौं हामीलाई त बाँदरले घेरिसकेछन्। अनि त त्रासद मनले संयम गुमायो। हामी चिच्याउन थाल्यौं, जति धेरै हाम्रो त्रादसीपूर्ण स्वर टाढा टाढा पुग्थ्यो बाँदर त्यति नै धेरै आउन लागे। त्यसरी कराउँदा झन् सूचना गरे जस्तो भएछ। हामीभन्दा तल जोडी–जोडी बनेर बसेका केही मानिसहरू थिए। किन्तु हाम्रो विपद्मा उनीहरूले वास्ता गरेनन्। मानौं त्यहाँ केही घटना घटेको छैन जसरी कोही सेल्फी लिँदै थिए, कोही टिकटक बनाउँदै त कोही प्रेमिल आलिङ्गनमा रमाउँदै थिए।
एकमाथि अर्को गर्दै बाँदरहरू हाम्रो ढाडमा, काँधमा चढिसकेका छन्। पेटमा झुण्डिएका छन्। ब्यागको फित्तामा पिङ खेलेका छन्। घाँघाँघुघु गर्दै हामीलाई पुरिसकेका छन्। हात गोडा नै लुछेर फुकाल्ने हुन् कि जस्तो भयो। भारती दिदी बाँदर टकटक्याउन खोज्नु हुन्छ। तर कहाँ टक्टकिन्छन् र? झन् बढी बुइँ चढ्न लागे। निस्सासिँदै मैले टाउको उठाएँ। कसो कसो हातमा रहेको बदाम र चनाको पोको हुँत्याएर पर फाल्ने मेसो पाएँ।
हो अहिले म त्यही दिन सम्झिँदै थिएँ। अचानक बेस्सरी काग कराउँदा मेरो तन्द्रा टुट्छ। आज किन यसरी काग कराएका छन्? हुन त हिजो अस्ति पनि कराइरहन्थे। काग कराएपछि म निकै सचेत हुन्छु। बाँदर आउँदा पनि यी कागहरू कराउने गर्छन्। तर यति ठूलो सङ्ख्यामा काग कराएको मैले कहिल्यै सुनेको थिइनँ। कहाँदेखि जम्मा भए होलान् यति धेरै। एवोकाडोको रूख कालाम्य भएको छ। त्यो विपद्कालीन आवाजको प्रतिध्वनिले वातावरण रिनिन्न भएको छ।
झ्यालबाट टाउको निकालेर हेर्छु। कुन संकटले भयभीत भएका होलान्? बाँदरलाई देख्दा यसरी कागहरू कहिल्यै आत्तिँदैनथे। त्यसो त अहिले बाँदर आएका पनि छैनन्। तर केही कारण त अवश्य छ। अकारण यस किसिमको रोदन गरेका होइनन्। विलाप यसै गरेका होइनन्। उद्धारको अपेक्षा राखेर ती बेला बेला घरतिर फर्किएर कराएका छन्। मानिसको आश्रय खोजेका छन्।
यतिखेर मलाई सानु छँदा त्यस्तै चार पाँच क्लासमा पढ्दाको—एउटा स्मृतिले गिज्याएको लाग्यो। सामाजिक शिक्षा पढाउने गुरुले भन्नुभएको थियो, ‘मानिस एउटा सामाजिक प्राणी हो।’
मानवेतर प्राणी सामाजिक हुन सक्दैनन् भन्ने शिक्षा सिकेर हुर्किएको म यतिखेर आफैप्रति सर्माउँछु। कसले भन्न सक्छ अन्य प्राणी सामाजिक हुँदैनन् भनेर? अहिले सम्झिँदा कस्तो मिथ्या पढाइ गरेर हुर्किएछु लागेको छ। कति अवैज्ञानिक धारणाले, कति स्वार्थी विचारले मेरो मस्तिष्क भरिएको रहेछ। गुरूले दिएको गृहकार्य सम्झिएर अहिले मेरो मन दुखेको छ। कमिलाको लर्कोलाई ताँती, बादरको समूहलाई हुल, मृगको पङ्क्तिलाई बथान, धमिराको जमातलाई गोलो भनिन्छ—यसरी पाठ्यक्रम घोक्न चाहिँ लगाउने फेरि तिनीहरू असामाजिक हुन किन भनियो? यदि तिनीहरू असामाजिक हुन भने ताँली, हूल, बथानमा जस्ता शब्द किन निर्माण गरियो। ताँती शब्दले कमिलाको समाज भन्ने अर्थ दिन्छ, हुलले, बथानले त्यही अर्थ दिन्छ भन्ने के हाम्रा गुरूहरूलाई थाहा भएन?
यदि मानवेतर प्राणीको समाज हुँदैनथ्यो भने किन एकजुट भएका छन् यी कौवाहरू? किन यिनीहरू एक्ला एक्लै छैनन्? संकटमा किन यसरी ऐक्यबद्ध छन्? वर्तमान समय आकलन गर्दा बरू मान्छे यस किसिमको सामाजिक हुन सकेको छैन। असामाजिक हुँदैछ। तर यी पशुपन्छीहरू आज पनि उतिकै सामाजिक छन्, एकताबद्ध छन्।
पहाडी गाउँमा हुर्किएकी हुँदा—वन जङ्गलसँग म एकदम निकट छु। रूख बिरूवामा पनि म त्यही सामाजिकता देख्छु। सालघारीमा तपाईं जानुस् त्यहाँ साल इतरका रूख प्रायः भेटिने छैनन्। चिलाउने घारीमा चिलाउनेकै बाहुल्य पाउनु हुनेछ। वनमासा भएको ठाउँमा सप्पै त्यही मात्र हुनेछ। एउटै गुण र स्वभाव भएको चरित्रले आफ्नो स्वरूप किन यसरी विस्तारित गर्छ? त्यही विस्तारित गर्ने प्रवृत्ति नै प्रकारान्तरमा समाज होइन र? एकता होइन र? प्रकृतिका हरेक कुरालाई हेक्का राख्नू त त्यहाँ तपाईंले समाज भेट्नु हुनेछ। समाजविहीन केही थोक फेला पार्नु हुने छैन। यो त प्रकृतिकै स्वभाव हो। हिउँ भएको ठाउँमा हिउँ मात्रै देख्नु हुनेछ, जगंल भएको ठाउँमा जङ्गल मात्रै, मरुभूमि भएको ठाउँमा मरुभूमि मात्रै। सिमसार भएको ठाउँ सिमसार मात्रै। समुद्र भएको ठाउँमा समुद्र मात्रै। उसो भए मानिस मात्रै सामाजिक प्राणी हो कसरी हामी भन्न सक्छौं?
मध्य सहरमा घटेको एउटा दृश्य।
त्यसलाई हेर्ने हर व्यक्तिका आआफ्नै दृष्टि छन्, दृष्टिकोण छन्। कसैले त्यहाँ काग कराएको मात्रै देखे, कसैले कागको करूणालाई देखे, कसैले कागको एकतालाई देखे, कसैले त्यहाँ केही पनि देखेनन्। अनि कसैले देखे काग धपाउने उपायहरू। तब त बरण्डाबाट पानी छ्यापिरहेका छन्।
अहिले म सोचिरहेछु। त्यस दृश्यले मलाई एउटा जटिल प्रश्न दिएर गएको छ। ती कौवाको मर्म बोध गर्न तथा भाषा बुझ्न मेरो मनले अनुरोध गरेको छ। साँच्चै तिनीहरूले के भनिरहेका होलान्? व्यर्थमा उसै ती कराइरहेका होइनन्। मलाई लाग्थ्यो मान्छेको जस्तै अन्य जीव–जीवात्माको भाषा हुन सक्छ र? के तिनीहरू भाषा प्रयोग गर्न जान्दछन्? अहिले थाहा पाउँछु मेरो बुझाइ कति विवेकहीन रहेछ।
मैले उनीहरूको भाषा बुझिनँ भन्दैमा उनीहरूको भाषा नै छैन भन्न कहाँ पाउँछु? उनीहरूले भाषाको प्रयोग नगरेका भए—यी कौवाहरू एकै ठाउँमा यसरी भेला हुन के सम्भव थियो? सन्देश सम्प्रेषण नभइकन के यिनीहरू एकजुट हुन सक्थे ? टाढा टाढादेखि आउन सक्थे?
हाम्रो शिक्षा पद्धतिले हामीलाई कसरी विवेकहीन बनाउँदै लगेको रहेछ यस बखत म अनुभूत गर्दैछु। आफूलाई मात्र प्राथमिकतामा राख्ने हामी—जगतप्रति कति बेखबर रहेछौं। प्रकृति भनौं या सृष्टिप्रति कति निश्चेष्ट रहेछौं। विपद्मा परेका ती कौवाले मलाई यस्तो कुरा बोध गराएर गए।
अलापविलाप गरेका तिनीहरू यसो भन्दै थिए, आभास हुन्छ ‘हामी व्यर्थ कराइरहेका छैनौं।’ कुरा ठीकै हो। म चाइनिज भाषा बुझ्दिनँ। बस् एउटा निरर्थक आवाज मात्रै सुन्छु। तर आफूले बुझिनँ भनेर के म चाइनिजहरूको भाषालाई ‘भाषा’ होइन भनूँ? के अब म आफूलाई थाहा नभएको जति सप्पै भाषालाई त्यो ‘भाषा’ होइन भन्ने त?
यस घरी म लज्जित छु आफ्नै धारणाप्रति। त्यसलाई सच्याएर भन्छु मैले केही नबुझे पनि तिनीहरूको रोदनमा निश्चय केही अर्थ छ। भन हे कौवाहरू हो! मेरो अज्ञानतालाई तिमीहरूले कसरी बुझिरहेका छौ?