बिहानै कान्छो छोराले भित्ताको क्यालेन्डर फर्काउँदै भन्छ, 'ओहो! मम्मी, आज विसं ३००१, श्रावण २० गते भनेको ई सं २०४४, अगस्ट ४ भइसक्यो। मेरो विदेश जाने टिकटको मिति अगष्ट २५, २०४४ मा हो। केही व्यवस्थापन भएको छैन।'
बिहान बिहानै छोराको क्यालेन्डरसँगको भुनभुनले मैले उसलाई सोधेँ, 'होइन के गर्न बाँकी छ र? टिकट आइसक्यो, सामान किनमेल होला अनि चाहिने धेरथोर पैसोको पनि जोरजाम भएकै छ। केही नपुग दुई/चार दिनमा तेरो दाजुले पठाइदेला भैगो त।'
यति मैले भनेपछि कान्छो छोरो झनै आत्तिएर भन्छ, 'त्यो त हो के, बाबा र हजुरलाई एक ठाउँमा लैजाउँला भनेको त्यो भ्याइएन भने त बरबादै हुन्छ।'
जेठो छोरो अमेरिकामा गएको तीन वर्ष बितेको थियो। अमेरिका गएपछिका दुई वर्षपश्चात् त्यहाँ एक्लोले कमाएर जीवन धान्न पनि धौ धौ पर्यो, बचाउने झन् के गरी भनेर गएको वर्ष बिहे गरी श्रीमान्-श्रीमती भएर गएको पनि एक वर्ष बितेको थियो।
हिजो राति अबेरसम्म दुई दाजुभाइ अनि बुहारी भिडियोमा बाबा-मामुको व्यवस्थापनका कुरामा तल्लीन देखिन्थे। पछि मलाई निद्रा लाग्यो म सुतिहालेँ। उनीहरूको रातभर के कुरा भयो, भाइ यहाँ आत्तिँदै थियो क्यालेन्डर हेरेर। यही महिनाको २५ तारिखमा उसको पनि अस्ट्रेलियाको यात्रा थियो।
मैले उसको चिडचिडाहट हटाउन उसलाई सान्त्वना दिँदै भनेँ, 'लौ अब नआत्तिए, तेरो बाबालाई भनेर आजै तैँले हामीलाई कहाँ लैजान खोजेको होस खाना खाएर जाउँला।'
यति भनेको उसको चिडचिडाहटले बिग्रिएको अनुहारमा खुसीका रेसाहरू तरङ्गित भएको सजिलै महसुस गरा।
ऊ मेरो कुरामा केही सशङ्कित हुँदै 'ठिकै छ हजुरले भन्नुभएको छ तर बाबाले मान्नुभएन भन्ने होइन नि फेरि' भन्दै कोठाबाट बाहिरियो। उसका बाबा बाथरुमबाट निस्केर कोठामा छिर्दा नछिर्दै मैले छोराको कुरा राखिदिएँ र भनेँ, 'आज त चाँडो खाना खाई त्योसँग जानु पर्छ। मैले हुन्छ भनिदिएकी छु नि। अरू काम भए मिलाउनु होला।'
हुन्छ हुँदैन केही जवाफ आएन। सायद यो मौन स्वीकृत थियो। म पनि भान्सामा छिरेर फटाफट खानाको तयारी गर्न थालेँ। तीन जनाको भान्सा न थियो, फटाफट तयार भइहाल्यो। कस्तो अचम्म, यही भान्सा थियो विगतमा दर्जन मानिसहरूका लागि दैनिक जस्तो खाना पाक्थ्यो तर आज तीन जना, अझ केही दिनमा दुई जना मात्र।
ट्याक्सीबाट करिब ५–७ किमीको यात्रा गरेपछि हामी तीनै जना ट्याक्सीबाट ओर्लियौँ। ट्याक्सीबाट ओर्लने बित्तिकै हाम्रा अगाडि चारैतिर ठुलो पर्खालले घेरिएको बिचमा एक सुन्दर गेट जसमा ठुला अक्षरले स्वागतम लेखिएको स्थान भेटियो।
छोराले आफ्नो अनुपस्थितिमा मामु-बाबालाई घुमाउन नपाउने हुँदा घुमाउन ल्याएको रहेछ भन्दै खुसी हुँदै त्यो गेटभित्र प्रवेश गर्या। हामी बूढाबूढी त्यो गेटबाट भित्र प्रवेश गरेको बिन्दुबाट नै त्यो भित्रको सुन्दर र विशाल क्षेत्रफललाई नियाल्दै थियौँ। उता छोरो भने अलि हतारमा थियो। सायद यो स्थानमा ऊ पहिले पनि आएको होला।
त्यो ठुलो क्षेत्रफलमा प्रवेश गरेदेखि नै केही क्षेत्रमा पानी पोखरी जसमा हाँसका बथान अनि माछाहरू खेलिरहेका थिए भने त्यहाँ सायद डुंगाको यात्राको पनि व्यवस्था गरिएको थियो तर अहिले डोरीले बाँधिएका अवस्थामा थिए। अरू क्षेत्रमा सुन्दर विशाल फूलबारीहरू सजिएका थिए र यो समयमा त्यहाँ दर्जनौँ मालीहरू फूलबारीको स्याहार सुसारमा खटिएका देखिन्थे।
बिचमा बिलकुलै सफा र सुन्दर एकातिर मानिसहरू हिँड्ने सङ्केत गरिएको चौडा गोरेटो बाटो थियो भने अर्कातिर सवारी साधनको प्रवेश सङ्केत गरिएको चौडा साना-ठुला सवारी साधनहरू गुड्न मिल्ने बाटो थियो।
मैले छोरालाई भनिहालेँ, 'अनि यहाँ गाडी पनि लिएर जान मिल्ने रहेछ त, हामीले ट्याक्सी त बाहिरै छाडिदियौँ।'
छोराले भन्यो, 'मिल्छ, गाडीको लागि पासको व्यवस्था गरिएको छ। त्यसैले त्यो झन्झटमा नलागेर हिँड्दै आएको।'
मैले मनमनै भनेँ, 'ठिकै छ, यो सुन्दर दृश्य हेर्दै हिँड्दा छुट्टै आनन्द।'
म मनमा कुरा खेलाउँदै गर्दा हिँडाइमा कमी आएछ क्यारे छोरो करायो, 'मामु, हेर्दै हिँड्ने हो के रोकिने होइन।'
यसो हेरेँ, उसका बाबु त केही पर पुगिसकेछन्। म पनि छोराको पाइला पछ्याउने प्रयास गर्दै गति केही बढाएँ तर त्यहाँको सुन्दरताबाट आँखा नहटाई।
त्यो विशाल क्षेत्रको केही यात्रा गरेपछि हामी त्यहाँ रहेको विशाल भवन अगाडि पुग्यौँ। त्यो भवनभित्र प्रवेश गर्ना साथ ठुलो अक्षरमा सोधपुछ लेखिएको थियो जहाँ ४–५ जना त्यहाँ आएका आगन्तुकका जिज्ञासा मेटाउनमै व्यस्त देखिन्थे। हाम्रो छोरो पनि त्यही पालो पर्खने लाइनमा अडियो र हामीलाई पनि आफूसँगै अडिन भन्यो।
मनमनै सोचेँ, घुम्ने स्थान त बाहिर थियो यहाँ भित्र भवनमा के रहेछ फेरि। सोधपुछमा केही सूचना लिनुपर्ने होला भन्ने पनि लाग्यो। एकैछिनमा पालो आयो। हामीलाई एक छेउमा राखेर छोरो त्यहाँ भएका व्यक्तिहरूसँग भलाकुसारी गर्न थाल्यो।
केही बेरको भलाकुसारीपछि ती व्यक्तिले छोराको हातमा सायद ८–१० पेजको मोटै देखिने फाराम थमाइदिए र त्यसपछि यहाँ यहाँ जानु भनेर इसारा गरिदिए। छोराले ती व्यक्तिले भने जस्तै हामीलाई पनि आफ्ना पछि पछि आउनलाई इसारा गर्यो। हामी त्यसै अनुरूप अगाडि बढ्यौँ।
मलाई त्यो भवनभित्र भन्दा पनि बाहिरको बाँकी दृश्य हेर्न आतुर थियो। सायद मेरो श्रीमानलाई पनि त्यही थियो तर भवन भित्रको सुन्दरता, सरसफाइ पनि हेर्न लायक नै थियो।
अलिक अगाडि अर्को डेस्क देखियो। त्यहाँ पनि त्यसरी नै आगन्तुकका सेवाका लागि केही व्यक्ति खटिएका थिए। त्यो डेस्कको भित्तामा ठुला अक्षरले तीर्थ तथा भ्रमण लेखिएको थियो। लाग्यो, यहाँबाट तीर्थ वा कहीँ भ्रमणको व्यवस्थापन गरिँदो रहेछ। त्यहाँ पनि केही बेरको भलाकुसारी गर्दै अर्का ठुलै फाराम हातमा लिँदै छोरो अगाडि बढ्यो। हामी पनि उसलाई पछ्याउँदै थियौँ।
अगाडि बढ्दै गयौँ। त्यस्ता सहायता कक्षहरू देखिँदै गए तर फरक-फरक विषयका। अर्का डेस्कमा छोरो पहिला जस्तै अडियो। त्यहाँ लेखिएको थियो, छोटो तथा लामो दूरीको आफन्त भेटघाट। त्यहाँबाट पनि त्यस्तै केही पेजको फाराम लिएर छोरो अगाडि बढ्यो।
सायद त्यो भवनको पहिलो तलामा सहजै देख्न सकिने गरी यस्ता सहायता कक्षहरू मात्र थिए। हामी अर्का डेस्कमा पुग्यौँ। त्यहाँ लेखिएको थियो, सानो तथा ठुलो उपचार परामर्श डेस्क। त्यहाँको पनि त्यही प्रक्रिया छोटो भलाकुसारी अनि एउटा फाराम।
एउटै प्रक्रियामा मानव जीवनमा चाहिने सबै विषयवस्तुहरू समेटिएका अन्य थुप्रै डेस्कहरूको व्यवस्थापन गरिएको थियो। हामी हेर्दै घुम्दै त्यो पहिलो तल्लाको सबै भाग सक्कायौँ।
भवनको अगाडिको भागबाट प्रवेश गरेका हामी अब पछाडिको भागबाट निस्कने तरखरमा थियौँ। त्यो भवनको सिँढीबाट यसो माथि हेरेको निकै माथिसम्म देखिन्थ्यो। सोचेँ, यो भवन कति तलाको होला?
म टोलाएको देखेर छोराले सोध्यो, 'किन मामु यो भवनको माथि पनि हेर्ने हो र?'
मैले होइनको सङ्केतमा मुन्टो हल्लाएर भनेँ, 'कति तला रहेछ भनेर सोचेको।'
छोराले भित्तामा राखेको बोर्डतर्फ औँला देखाउँदै 'मामु यो क्षेत्रभित्र यस्ता ५ वटा भवन छन्, प्रत्येक भवन ७–७ तलाको। यसका प्रत्येक तलामा जान सक्नेलाई सिँढीको व्यवस्था छ भने नसक्नेलाई लिफ्टको।'
यत्रा ठुला-ठुला भवन एउटै क्षेत्रमा केका लागि होला लाग्यो। सायद यसमा त नेपालभरिका मानिसहरू अटाउँछन् होला।
यस्तै सोच्दै थिएँ छोराको आवाजले मेरो सोचाइलाई भङ्ग गरिदियो। ऊ भन्दै थियो, 'लौ अब हिँड्नु यता कृषिका लागि छुट्टाइएको धेरै जमिन छ जहाँ सबै किसिमको चाहिने अन्नको उब्जनी हुन्छ र सबै सिजनमा हरियाली पनि।'
हामीले त्यो भवनको पछाडि ढोकाबाट बाहिर निस्केर आँखाले भ्याएसम्म हेर्यौँ। लाग्थ्यो त्यो क्षेत्रफल सयौँ रोपनीमा फैलिएको थियो। छोराले भनेजस्तै एकै प्रकृतिका अन्य ठुला-ठुला ४ वटा भवनहरू पनि देखिए।
छोराले भन्यो, 'मामु-बाबा, यो पूरै घुमेर त भ्याइँदैन तर यहाँ वृद्धवृद्धाका लागि चाहिने सबै आवश्यकताहरूको व्यवस्थापन गरिएको छ। नेपालभरका जति पनि वृद्धवृद्धा छन् तिनका लागि पर्याप्त भवन र ठुलो क्षेत्रफल पनि।'
छोराले यति भनेपछि मेरो मनमा चिसो पस्यो र भनिहालेँ, 'छोरा, के यो वृद्धाश्रम हो?'
छोराले भन्यो, 'होइन मामु। वृद्धाश्रममा यत्रा सुविधाहरू हुन्छन् र? सधैँभरि एकै ठाउँमा दिन कटाउनु पर्छ। वृद्धाश्रम त बाध्यतामा छोराबुहारी नभएका वा उनले स्याहार नगरेका व्यक्तिहरू जाने ठाउँ हो तर यहाँ त एउटा पारिवारिक व्यक्तिका लागि चाहिने सबै आवश्यकताहरू पूरा गरिदिने व्यवस्थित स्थान छ। यो पैसा तिरेर आवश्यकता पूरा गर्ने वृद्धवृद्धा संरक्षण समाज नेपाल हो।'
मनभरि धेरै प्रश्नहरू उब्जिए तर त्यहाँ छोरालाई सोध्नलाई कुनै प्रश्न आएन। त्यो भवनको पछाडिको क्षेत्रफल पूरै घुम्ने मन थियो तर अब रहेन। छोराले पहिला हामी भवन प्रवेश गरेकै बाटो फर्कने इसारा गर्यो। हामी बुढाबुढी छोराको पछि-पछि लाग्यौँ।
अघि देखेका सहायता कक्षहरू पुनः नियालेँ। त्यहाँ बसेका व्यक्तिहरूलाई अघिभन्दा पनि नियालेँ। उनीहरूको बोलीलाई पनि सुन्ने प्रयास गरेँ। केही हिन्दी मिसिएको आवाजमा उनीहरू कुरा गरिरहेका थिए। सायद यो विशाल क्षेत्रको सञ्चालन गर्ने जनशक्ति पनि नेपालमा नभएकोले बाहिरबाट ल्याएको होला।
आखिर हाम्रा दुई सन्तान तीमध्ये एउटा पहिल्यै विदेशमा छ, अर्का विदेश जाने तरखरमा छ। यस्तै प्रत्येक परिवारका सदस्यहरू विदेशको तरखरमा रहँदा नेपालमा सामान्य काम गर्ने जनशक्ति पनि बाहिरबाट ल्याउनु पर्ने बाध्यता।
त्यही भवनको एक कुनामा आरामदायी बस्ने स्थान रहेछ। छोराले हामी दुवैलाई त्यही बस्न इसारा गर्यो र आफू बस्यो। बूढाबूढी पनि थाकिसकेका थियौँ, त्यही बस्यौँ। अब छोराले सङ्कलन गरेका सबै फारामहरू निकालेर हामीलाई एक-एक बुझाउन थाल्यो।
तीर्थ र भ्रमण गर्न मन लागे पाइने, आफन्त भेटघाट गर्न मन लागे भेटघाट गर्न पाइने, सामान्यदेखि ठुला-ठुला बिमारीका लागि यहीका कर्मचारी एवं सेवकहरूको उपस्थितिमा उपचारको व्यवस्थापन गरिने, अनि यो विशाल क्षेत्रको आनन्द त छँदै थियो सबै विस्तार लगायो।
अरू धेरै कुराहरू थिए छोरासँग गर्ने तर अवस्था र बाध्यतामा सन्तानलाई विदेश पठाउन तम्सेका हामी लाचार बाबुआमाले केही भन्न सकेनौँ। मनमा लाग्यो, सबै सुविधाहरू त छन् यस विशाल क्षेत्रमा; तीर्थ भ्रमण, औषधि उपचार, आफन्त भेटघाट तर आफ्ना सन्तान र परिवार बिनाका ती सुविधाहरूको अर्थ रहला या नरहला।
ग्रामीण भेगमा वृद्धवृद्धा मात्रै हुँदा यी सबैबाट वञ्चित छन्। अवस्था बेहाल छ। त्यसको तुलनामा यो त एकदमै राम्रो व्यवस्थापन थियो। त्यसैले मैले एक पटक छोरालाई एउटा कुरा राखेँ, 'बाबु, हामी हाम्रै जन्मथलो दाङमा गएर बस्छौँ, किन यहाँ बस्ने? यो सबै निःशुल्क त होइन बाबु।'
मेरो कुरामा छोराले जवाफ दियो, 'मामु, हजुरका दुई वटै छोरा विदेशमा डलरको खेती गर्दै छन्। पैसाको चिन्ता छैन। तर हामीले हाम्रो उपस्थितिमा तपाईंहरूको सेवा गर्न सक्दैनौँ र कहिलेकाहीँ नेपाल आउँदा पनि राजधानीभन्दा अन्यत्र हजुरहरूलाई भेट्ने समय हुँदैन। त्यसैले अहिलेको उत्तम विकल्प यही हो।'
'हामी वृद्धाश्रममै बस्छौँ, पैसा पनि नलाग्ने, तिमीहरूलाई पनि सजिलो।'
मेरो जिज्ञासामा छोराले भन्यो, 'भएका सन्तान विकसित देशमा, हेर त मामुबाबालाई वृद्धाश्रममा राखेका भन्ने अपजस हामीलाई आउँदैन! के भन्नु भएको?'
त्यसपछि म मौन भएँ। मेरा र श्रीमानका आँखा रसाए। मैले मन थाम्न सकिनँ, हुक्क-हुक्क गर्न थालेँ। यसै बेला कसैले घचघच्यायो, 'किन रोएकी, उठ् उठ्।'
आँखा खोलेँ। साँच्चिकै आँखामा आँसु थियो। यताउति हेरेँ। भित्तामा क्यालेन्डर देखियो; विसं २०८१, श्रावण २०। हत्तेरी! मैले नेपालमा २० वर्ष पछाडि वृद्धवृद्धाको अवस्था र विकल्प सपनामा देखेछु। के यो सत्य होला? मनमा कुरा खेलाउँदै मर्निङ वाकमा निस्किएँ।