बसन्त ऋतुको अन्त्य अनि गृष्म ऋतुको सुरूआतसँगै गाउँका सबै विद्यालयमा नयाँ सत्रहरू सुरू हुने क्रममा थिए।
निजिी स्कुलका प्रिन्सिपलहरू गाउँ पसेर अभिभावकलाई सम्झाईबुझाई गर्दै आफ्नो बोर्डिङमा विद्यार्थी तान्ने प्रयास गर्दै थिए। उता सामुदायिक विद्यालयहरूमा भने विद्यार्थी भर्ना हुनु र नहुनुमा खासै फरक नपर्ने भएर होला सायद कसैलाई चासोको विषय पनि थिएन।
निजी बोर्डिङमा टनाटन विद्यार्थी भर्ना भैसक्दा पनि पुरानो इतिहास बोकेको गाउँको एक मात्र सामुदायिक विद्यालयको खस्कँदो गुणस्तरसँगै विद्यार्थीको भर्ना दरले पनि हरेक वर्ष ओरालो यात्रा तय गरेको थियो। यस्तै पारा रह्यो भने कुनै दिन विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै होला भन्न नसकिने आधारहरू थिएनन्। यसपालि पनि सोही क्रमले निरन्तरता पायो। न्यून भर्नादरका बाबजुद पनि पढाइ सुरू गर्नु सामुदायिक विद्यालयको बाध्यता नै थियो त्यसैले सत्र सुरू गरियो।
एकदिनको कुरा हो। बेलुकाको चार बज्न लागेको थियो तर पनि प्रचण्ड गर्मीको महसुस उत्तिकै भएको थियो, तातो हावासँगै लु चलेकै थियो। कक्षाकोठाका लगाइएका दश पन्ध्र वर्ष पुराना केही पंखाहरू घन्केका थिए। केही घुम्न नसकेर सो-सो-सू-सू मात्र गर्दै थिए, सायद मर्मतको अपेक्षा राखेका थिए क्यार ती विचाराहरूले पनि।
विद्यालय नजिकैको ठूलो चौरमा रहेको पोखरीमा गाईभैंसी अहाला खेल्दै गर्मी छल्ने उपाय गर्दै थिए। केही अभिभावकहरू पिपलको छहारीमुनि हुर्केको दुबोलाई बिस्तारा बनाई गफगाफमा व्यस्त थिए।
चार बजेसँगै धेरैजसो कक्षाका विद्यार्थीहरू कक्षा बाहिर निस्किसकेका थिए भने केही कक्षाकोठामा विद्यार्थीहरूले ब्याग मिलाउँदै पसिना पुछ्दै थिए। उता मनोज सरले घडी हेर्दै गणितको हिसाब बोर्डमा लेख्दै विद्यार्थीहरूलाई सम्झाउँदै-बुझाउँदै थिए।
कोही विद्यार्थी बुझेर टाउको हल्लाउँदै थिए, कोही अलि अलि बुझेर भने कोही बुझ्दै नबुझेर पनि। कोही यस्ता थिए जसलाई पढाइसँग कुनै सरोकार थिएन, उनीहरू पछाडि बसेर कागजको रकेट लन्च गर्दै थिए, बेन्चमा मायाको प्रतिक स्वरूप कोरेको पानको पातमा तीरको प्रहारले रगत बग्दै गरेको चित्रहरू बनाउँदै थिए, कोही बेन्चमै घुर्दै मनोज सरको आवाजलाई टक्कर दिँदै डिस्टर्ब गर्ने प्रयास गर्दै थिए।
छुट्टीको घण्टी टी-नी-नी-नी बज्यो विद्यार्थीहरू झोला बोकेर होहल्ला मच्चाउँदै लर्को लाग्दै ह-र-र-र स्कुलको गेटतर्फ लागे। नजिकैको स्वामीको बोटमा शितलता खोजेर बसेका एकहुल चराहरू विद्यार्थीको होहल्ला सँगै भुर्रर उडेर अलिक परको बरको रूखमा आफ्नो बासस्थान परिवर्तन गरे।
मनोज सरले ब्ल्याकबोर्डलाई सर्लक्क मेटेर सफा बनाए र कक्षा बाहिर निस्किए। चकडस्टर सम्बन्धित ठाउँमा राखे, शरीर टकटकाउँदै चकको धुलो झारे, कम्मरको बेल्टलाई हल्का खोल्दै कम्मरबाट बाहिर निस्केको कमिजको भागलाई पाइन्ट भित्र कोचे अनि बेल्टलाई टपक्क कसे।
गोजीबाट रूमाल निकालेर निधारदेखि घाँटीसम्म खलखल बगेका पसिना सर्लक्क पुछे, उफ्फ यो गर्मी भन्दै सुइँय एक सुस्केरा हाल्दै गोजीमा केही चेक गरे जस्तो गरी चौरमा रहको साइकलको चाबी ट्याक्क पार्दै ताल्चा खोले।
दुई हातले बल लगाई साइकललाई भुइँतिर दबाएर टायरको हावा चेक गरे। हावा ठिकै रहेको अनुमान लगाए। साइकल डोर्याउँदै गेटसम्म पुग्दै गर्दा एउटा गाडीले आफ्नो तीव्र गतिलाई नियन्त्रण गर्दै गेट आगाडि टक्क रोकियो।
हेर्दै मूल्यवान जस्तो देखिने गाडीको रफ्तारले हुत्याएको हावाको एक झोका उनको शरीरमा पर्यो, पसिना पसिना भएको उनको शरीरले केही शितलता महसुस गर्यो।
हल्का खैरो रंगको कपाल, घाँटीमा कुकुरलाई बाध्ने साङ्लो जत्रो सिक्री, हातमा ठूलो ब्रासलेट र टपक्क शरीरमा फिट भएको, पाखुरा टिपिक्क कसिएको ब्रान्डेड टिसर्ट र एउटा कानमा मुन्द्रा लगाएको, चिल्ला गाला भएको, खाइलाग्दो व्यक्तिले गाडीको सिसालाई तल झार्दै कालो चस्मालाई टाउको तर्फ लग्दै एकैपटक तीन चार प्रश्न गर्यो, 'के छ यार मनोज? के छ खबर? कस्तो चल्दै छ हो जीवन? मलाई चिनिस?'।
प्रश्न गर्ने व्यक्तिलाई पहिचान गर्न मनोज सरलाई कुनै गाह्रो परेन। चिनजानकै व्यक्ति अर्थात् आफ्नो बाल्यकालको सहपाठी मित्र ध्रुव पो रहेछ।
'अरे ध्रुव तिमी? कहाँबाट सम्झना आयो यतिका वर्षपछि यो गाउँ अनि स्कुलको?', मनोज सरले सोधी हाले।
'कहाँ बिर्सन सक्नु र यार साथी तिमीहरूसँग रमाउँदै बिताएका ती पलहरू, यो आफू पढेको विद्यालय, ती गुरूहरू, त्यो स्कुले जीवन, तँ जस्ता परममित्र अनि यो सुन्दर गाउँलाई। तिनै यादले तानेर ल्यायो साथी मलाई', मनोज सरको कुरा भुइँमा झर्न नपाउँदै ध्रुवले आफ्नो कुरा राखी हाल्यो।
'सम्झना छ साथी त्यो अंग्रजी, विज्ञान र गणित विषयको क्लासहरूमा तैंले हामीलाई गालामा लगाएको चड्कन? अलिक सुस्त पिट्न साथी नत्र दुख्छ भन्दा तिमीहरूलाई सुस्त पिटेर मैले सरको पिटाइ खानु छैन भन्दै अझ बेस्सरी पिटेको क्षण? हामीले गृहकार्य नगरेको दिन कुखुरा बनाउँदै पछाडिबाट शिक्षकले लठ्ठीले हिर्काउँदा हामी रूँदै गर्दा त हाँसेर हाम्रो खिल्ली उडाएको। ती सब याद छ तँलाई? के याद गर्थिस् होला र है तैंले? पक्कै पनि बिर्सिस् होला है? तर यार साथी मैले आजसम्म पनि बिर्सेको छैन ती पलहरू, ताजै छन् मेरो मानसपटलमा। यो गाउँघरमा आउँदै गर्दा मलाई तिनै यादहरूले अझ बढी सताउँछ।', ध्रुवले पुराना कुरा कोट्याउँदै बीचबीचमा अलिक व्यङ्ग्यात्मक पारामा केही कुरा राखेर बिदा भयो।
ध्रुवसँगको भेटघाटमा भएका कुराकानीका प्रसङ्गलाई मनमा केलाउँदै मनोज सर घर पुगेर घरधन्दातिर लागे।
बेलुकाको खाना खाई सकेर छोराछोरी लालटिन बालेर चुपचाप आफ्नो गृहकार्य गर्दै थिए। उता श्रीमती भने अगेनामा रहेको दाउरालाई बाहिर तान्दै एक मुठी खरानी निकालिन्, खरानीलाई पानीमा मोलेर भाडामा मोसो लगाउँदै गनगन गर्न लागिन्, 'कहिले नसकिने भो यो घरधन्दा पनि, सधैं उस्तै चटारो, एक्लैले के के पो भ्याउनु हो मैले, मास्टरसापले कहिले सहयोग गर्ने होइन। भोलि खेतमा त्यत्ति ठूलो रोपाइँ छ एकदिन स्कुल बिदा हाल न बुढा भन्दा पनि मान्ने होइन, कसरी पो हो रोपाइँ सक्ने।कसैले नखाएको मास्टरी जागिर यिनै बुढाले खा का छन्, मास्टरी त सबैले गरेका छन् आफ्नो घरको काम सबै सकेर फुर्सदमा स्कुल जाँदा पनि त चलेकै छ त उनीहरूको त। यिनै होलान् कहीँ नभएका खुब नियम कानुन भन्दै हिँड्ने! कत्ति न आदर्शवादी बन्नु पर्ने हुन न खान सित। सँगै मास्टरी सुरू गरेका साथीहरू कहाँ पुगी सके। केन्द्रसम्म पहुँच राखेका छन्, धन कमाएका छन्, एक कल फोनको भरमा सबै काम हुन्छ उनीहरूको।'
उनको गनगन अझै रोकिएन, 'बडो आदर्शवादी बनेर आफू त दुःख पाएँ पाएँ यी बालबच्चा र मेरो जीवनलाई समेत सधैं दुःखमा राख्ने भए, सधैं अभावमा राख्ने भए। सँगै पढेका यिनकै साथीभाइहरू कहाँकहाँ पुगिसके, यही गाउँमै मास्टरी गर्ने टाठाबाठाहरू पनि राजनीति गरेर आफ्नो पहुँच माथि पुराइसके आफ्ना छोराछोरीको भविष्य बनाइसके यिनको पारा यस्तो छ। ऊ बेला पढे लेखेको छ, मास्टरी पेशा गर्छ, जीवन सजिलै काट्न सकिन्छ भन्दै फुरुङ्ग पारेर बिहे गर्दिए बाआमाले, अहिले यस्तो हालत छ।
सँगै पढेकी जानुकाले पढाई लेखाई केही नभएको, बिग्रेको काम नलाग्ने त्यो लफंगो ध्रुवेसँग भागेर सानो उमेरमै बिहे गरी जीवन बर्बाद बनाई भनेर कम्ता खिल्ली उडाइएन, गाउँभरि चर्चा नै चल्यो। अहिले त लाग्छ जानुकाले जे गरी ठिकै गरिछ। सहरमा बसेकी छ, सुख काटेकी छ, धन दौलत, घर, गाडीदेखि पहुँचसम्म सबथोकले भरिपूर्ण छे। के गर्नु आफ्नो त भाग्य फुटेको यस्तासँग पर्न लेखेको रहेछ। भाग्य आफ्नो आफ्नो, सहनै पर्यो।'
श्रीमतीको गनगन सुन्दै गर्दा मोबाइलमा प्रिन्सिपल सरको सन्देश आयो, 'भोलि बिहान स्कुलमा विशेष अतिथिहरूको आगमन हुने खबर छ। उहाँलाई सम्मान कार्यकम रहेको छ, समयमा अनिवार्य उपस्थित हुनुहोला'।
'हुन्छ सर' भन्दै सन्देश पठाए, बत्ती निभाएर बिस्तारामा उक्लिए।
भोलिपल्ट बिहान सबेरै उठे, घरको कामधन्दा सके अनि समयमै विद्यालय पुगे। प्रिन्सिपलको कोठामा पुगेर हाजिर लगाए। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र सहकर्मी सबै जना उपस्थित भैसकेका रहेछन्, सबैलाई नमस्कार टक्राउँदै सोधे को आउँदैछ र सर आज? तर तत्काल उत्तर पाएनन् उनले।
विद्यालयको सहयोगीहरूलाई फूलमाला गाँस्न भ्याइनभ्याई थियो। स्टेज तयार पार्ने र सजावट गर्नेलाई पनि उतिकै चटारो परेको थियो। निकै रौनक चढेको थियो विद्यालयमा आज।
बिहानको एघार बज्न लाग्दै गर्दा सन्देश आयो अतिथिको आगमन छिट्टै हुँदैछ। विद्यार्थीहरूसहित सबैजना हातमा फूलमाल लिएर स्वागतको लागि स्कुलको गेटतर्फ लागे।
केहीबेरमा धुलो उडाउँदै एउटा गाडी हुइँकिँदै आएर गेटमा रोकियो, गाडीको ढोका खुल्यो। सबैले उत्सुकताका साथ उतैतिर हेर्न थाले। टलक्क टल्केको खैरो रंगको लामा लामा चुच्चा भएको जुत्ता लगाको व्यक्तिले गाडीबाट भुइँमा टेक्नासाथ फूलमाला र खादा लगाएर उसको भब्य स्वागत गरियो।
मनोज सरले पनि अतिथिलाई पुष्पगुच्छा दिँदै स्वागत गरे अनि मनमनै सोच्न थाले 'ए यो ध्रुवे पो हो आजको विशेष पाहुना? यतिविधि तामझामका साथ स्वागत गर्नुपर्ने गरी यो ध्रुवेले कुन उल्लेख्य काम गरेको रहेछ यो स्कुलको लागि? उनले विगतदेखि वर्तमानसम्म विद्यालयमा भएका सम्पूर्ण गतिविधिहरूलाई एकपटक पुन:सम्झिने प्रयास गरे, तर सम्झिन लायक कुनै पनि विषय काम पाउन सकेनन उनले।
स्कुलको वर्तमान भौतिक अवस्था मानसपटललमा घुम्यो, वर्षासँगै पानी चुहिने स्कुलको छानो, वर्षौंसम्म मर्मत नपाएको पानी बिनाको शौचालय, भाँचिएका डेस्कबेन्च, पानी पर्दा हिँड्न नसकिने स्कुल प्रांगण, यो गर्मीमा खानेपानी समेत नपाएर तिर्खाले ब्याकुल बनेका विद्यार्थी, राजनीतिले गिजोलेको विद्यालय व्यवस्थापन र राजनीतिको आडमा महिनौंसम्म उपस्थित नभई महिनौंसम्मको हाजिर एक्कै पटक लगाउने सहकर्मीलाइ सम्झिए|
अमिलो मन बनाउँदै स्वागतमा सरिक भए, मन्चसम्म पुगेर एक छेउमा आफ्नो स्थान सुरक्षित गरे।
औपचारिक कार्यक्रम सुरू भयो तालीको वर्षासहित ध्रुवलाई प्रमुख अतिथिको मन्चमा बोलाइयो। भाषणको समय सुरू भयो, सबै जनाले ध्रुवको गुणगान नै गाए। पालो आयो अब स्कुल व्यवस्थापनका अध्यक्षको, उनले आफ्नो भाषण सुरू गरे, 'ध्रुव यही गाउँमा जन्म लिएर, यही गाउँमा हुर्की बढी यही स्कुलमा पढेको एक जेहेन्दार पूर्व विद्यार्थी, पढाइमा अब्बल, निकै संघर्षशील र एक प्रतिष्ठित उद्योगी, व्यापारी पनि। एक सफल राजनीतिज्ञ व्यक्तित्व जसले यस गाउँको मात्र होइन समग्र राष्ट्रको विकास निर्माणमा समेत निकै ठूलो योगदान पुर्याउनु भएको छ। उहाँका हरेक कामहरू अनुसरणयोग्य छन्, गर्व गर्न लायक छन्। यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई म के भन्न चाहन्छु भने यही स्कुलको एक नमूना उत्पादन, उहाँजस्तो समाजसेवी व्यक्तिलाई हामीले आज यस स्कुलको प्रांगणमा स्वागत तथा अभिनन्दन गर्दै प्रमुख अतिथिको रूपमा पाउनु हामी सबैको लागि गौरवको क्षण हो।
उहाँले हाम्रो यस विद्यालयको विकासका लागि समय समयमामा कुनै न कुनै हैसियतमा सहयोग गर्दै आइरहनु भएको छ। उहाँले मात्र होइन उहाँको पिता अर्थात् मन्त्रीज्यूले समेत यस विद्यालयको लागि निरन्तर रूपमा भौतिक तथा आर्थिक सहयोग गरिरहनुभएको कुरा अवगत गराउन चाहन्छु। हरेक पटक जन्मस्थल फर्कंदा यो विद्यालय अनि गाउँको बारेमा के गर्न सकिन्छ भनेर हामीसम्म सल्लाह लिनेदिने गर्नु भएको कुरा हामी सबैलाई अवगत नै छ। यस पटकको जिल्ला भ्रमणको अवसर पारेर हाम्रा प्रमुख अतिथि ध्रुव सरले यस विद्यालयको विकासका लागि भनेर रु पाँच लाखको आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको छ। उहाँलाई दोसल्ला ओडाएर सम्मान गर्नुहुन यस विद्यालयका प्रधानाध्यापकज्यूलाई म अनुरोध गर्दछु, साथै माला लगाइदिनको लागि यस विद्यालयमा सबैभन्दा धेरै लामो समय कार्य गर्नु भएका शिक्षक मनोज सरलाई समेत अनुरोध गर्दछु।'
दोसल्ला र माला सँगै तालीको गडगडाहट भयो। फूलमाला अबिर बाजागाजा सहित ठूलै सम्मान प्रदान गरियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षले उसलाई निकै जेहेन्दार विद्यार्थी भनी भाषण गर्दैगर्दा मनोज सरले आफ्नो बाल्यकाल अनि स्कुले जीवनलाई पुन:एकपटक फर्केर सम्झिने प्रयास गरे। ती दिन सम्झिए जुन दिन विद्यार्थीले प्रहार गरेको बोतल अनन्त सरको टाउकोमा फुटेको थियो, दुई पक्षका विद्यार्थीको झगडा हुँदा अगाडि अगाडि आएर खुकुरी नचाउने साथीलाई सम्झिए, तपाईंको छोराले स्कुलमा खुकुरी नचायो भनेर अभिभावकलाई विद्यालयमा बोलाउँदा आफ्नो सुरक्षा गर्नुपर्यो नि ठिकै हो भन्दै उसकै बचाउ गरेको सम्झिए, परीक्षामा सार्न नदिएको निहुँमा घर फर्कने बेला बाटो छेकेर शिक्षकलाई धम्किदिने साथीलाई सम्झिए, दस कक्षामा पढ्दै गर्दा गाउँकै एक युवती भगाएर कलिलो उमेरमै बिहे गर्ने मित्रलाई सम्झिए।
भर्खरै जेहेन्दार अनि पढाइमा अब्बल पूर्व विद्यार्थीको संज्ञा पाउँदै सम्मानित भएको व्यक्तिको अनुहारतर्फ एकपटक पुन: हेरेँ। शरीरको तौल फेरिएको थियो तर सक्कल उही थियो र त्यो पात्र ध्रुव नै थियो।
उनले आफ्नो विगतदेखि वर्तमानसम्म सम्झने प्रयास गरे। उनको बीस वर्षे सेवाकालमा पहिलो पटक यो स्कुलमा ध्रुवलाई देखेका थिए। तर पनि आज विकासप्रेमी, गाउँलाई निकै माया गर्ने समाजसेवी भन्ने मान पाएको छ, सम्मान पाएको छ। उसले सम्मान पाएको छ किनकि उसले जसरी पनि धन कमाएको छ अनि उसको पिताको पहुँच केन्द्रस्तरसम्म राम्रै छ।
उसले सम्मान पाएको छ किनकि उसले आर्थिक सहयोग गरे जस्तो गरेको छ, उसका बा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समकालीन राजनीतिज्ञ हुन्, एउटै पार्टीका सहकर्मी र सदस्य छन्, उनकै जोडबलमा गाउँबाट चुनाव जितेर ध्रुवका बा मन्त्रीसम्म बनेकै छन्। अन्य हैसियत मिले नमिले पनि एउटा कुरा राम्रैसँग मिलेको छ उनीहरूको: त्यो हो पार्टीको चुनाव चिह्न।
विद्यार्थी र अभिभावकका निकै प्यारा तर सहकर्मी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूबाट खासै चित्त नबुझाइएका खरो र हठी स्वभावका मनोज सरको पवित्र मन्दिर भनेकै उनको विद्यालय थियो। विद्यालयबाहेक आफ्नो घरको निजी काम कहिले पनि प्राथमिकतामा परेन त्यसैले होला सायद श्रीमती र छोराछोरीको नजरमा पनि खासै राम्रो बन्न सकेनन् उनी।
कुनै स्वार्थी समूहको पिछलग्गु भएनन्, कुनै पार्टीको झोला बोकेर हिँडेनन्, कसैको चाकडी गर्न ढोका कुरेर बसेनन्, व्यक्तिगत स्वार्थमा आफ्नो स्वाभिमान बेचेनन्, लगातार आफ्नो कर्म गरिरहे। त्यसैले त आज बीस वर्षको पेशागत जीवनमा केन्द्रदेखि स्थानीयस्तर सम्म बाँडिने कुनै पनि सम्मान पाएनन्, सम्मानको आश पनि गरेनन्, सम्मान प्राप्त गर्ने बाटो पनि समात्ने जाँगर देखाएनन्, आवश्यकता पनि ठानेनन क्यार सायद।
कुनै अवार्ड पाएनन् किनकि उनी कुनै राजनीतिक पार्टीको सदस्य भएनन्, केवल एक आदर्शवादी शिक्षक बनिरहे। आफ्नो दायित्व पूरा गरिरहे, उनी सदैव आफ्नो कर्म र पेशामा तल्लीन रहे। सम्मान प्राप्त गर्ने कलाका बारेमा सिक्ने समय नै पाएनन, सोको बारेमा सिक्नु आवश्यक नै ठानेनन् किनकि उनी पेशागत धर्मलाई नै मूलमन्त्र मानिरहे। विद्यार्थी र अभिभावकको माया ममतालाई नै सबभन्दा ठूलो सम्मान ठानिरहे।
उनले पढाएका कैयौं विद्यार्थी अब्बल साबित भई देश विदेशमा नाम कहलाए, कति डाक्टर बने, कति इन्जिनियर त कति पाइलट र केही राजनीतिज्ञ पनि। कोही सांसद बने त कोही मन्त्रीसम्म तर उनी सदैव उस्तै बनिरहे अर्थात् एक असल र अब्बल शिक्षक, त्यो बाहेक उनी केहि बनेनन्, केवल मनोज सर बने।
उनकै शिक्षाका भरमा धेरैका हैसियत सुध्रिए तर उनको हैसियत सदैव तटस्थ रहिरह्यो। तर पनि उनले कुनै पश्चाताप लिएनन्, एक असल शिक्षक अर्थात् मनोज सर हुनुमै आत्मसम्मान ठानिरहे।
कार्यक्रम सकिएपश्चात ध्रुव र मनोजले पुन: आफ्नो बाल्यकाल सम्झिए, केही गफिए पनि। गफकै क्रममा ध्रुवले धन र राजनीतिक पावरको घमण्ड देखाउँदै भन्यो, 'हेर साथी जीवनमा पढाइ मात्र ठूलो कुरा रहेनछ, समय अनुसार चल्नु पर्ने रहेछ, धेरै आदर्शवादी बन्नु पनि राम्रो हुँदैन रहेछ किनकि विगत देखि हालसम्म सम्झी त तैंले। तँ किताबी किरो बनिस्, पढन्ते बनिस्, गुरूहरूको प्यारो बनिस्, राम्रो पढिस्, हरेक वर्ष प्रथम पनि भइस् तर जीवनमा धेरै आदर्शवादी बनिस् त्यसैले त होला है साथी तँ आज पनि गाउँकै स्कुलमा पढाएरै आफ्नो जीवन बल्लतल्ल काटेको छस् जस्तो लाग्छ, वर्षौंको संघर्षपश्चात् पनि अझै उही पुरानै साइकलमै हिँड्ने रहेछस्।
म, अर्थात् तेरो नजरमा त्यो क्लासको सबैभन्दा बदमास, नपढ्ने र काम नलाग्ने साथी। त्यसैले होला है साथी? आज हेर त तेरो र मेरो आर्थिक, सामाजिक स्तरमा कति फरक छ। तँ कहाँ छस् र म कहाँ छु। तैंले जुन स्कुलमा पढाउँछस् यस्ता त मेरा आफ्नै लगानीका दस स्कुल छन्, त्यो पनि मुख्य मुख्य सहरमा। तैंले जति तलब खान्छस् त्यो त मैले महिनाभरि रेस्टुरेन्ट टिप्स दिन नि पुग्दैन होला। तैंले जुन साइकल चढेको छस त्यो त मेरो घरमा कामदारले पनि चढ्दैन, तेरो छोराले जुन स्तरको पढाइ पढ्छ त्यो स्तरको स्कुलमा त मेरो घरको कामदारको बच्चाले पनि पढ्दैन।'
'कुनै बेला केही सारोगारो पर्यो, सरूवा बढुवा मिलाउनु पर्ने भयो, कतै केही भनसुन गर्नु पर्ने भयो भने र मुख्य कुरा तैंले आवश्यक ठानिस् भने मलाई सम्झनु म कुरा राखिदेऊँला मन्त्री वा आवश्यक परे प्रधानमन्त्रीसम्मै, सबैसँग राम्रै उठवश छ मेरो, सहज पहुँच छ, हामीले जे भन्यो त्यही हुन्छ अहिले। मलाई आफ्नै ठाने हुन्छ। परेको बेला सदैव तयार छु साथी तेरो लागि।',यस्तै कुरा राख्दै ध्रुव बिदा भयो।
मनोज सरले मनमनै सोचे ध्रुवमा ठूलै उन्मात चढेछ, मत्ता हाती जस्तो भएछ क्यार तर यो घमण्ड कति दिन टिक्ने हो कुन्नि! कुन दिन भीरबाटोमा ब्रेकफेल भएको गाडी जसरी पल्टिन्छ त्यसको जीवनको यात्रा अनि बल्ल चेत खुल्छ तर त्यतिन्जेलसम्म चिटिक्क सिँगारिएको खरको झुपडीमा आगो सल्किए जस्तै नहोस्, एकैछिनमा केवल खरानी मात्र बाँकी, न त्यो बेचेर पैसा आउने न पकाएर खान मिल्ने।
दिनहरू बित्दै गए, मनोज सर आफ्नै काम व्यस्त भैरहे। एकदिनको कुरा हो सुत्ने तर्खरमा विस्तारामा पल्टेर रेडियोमा समाचार सुन्दै थिए। समाचारको विषय र उक्त समाचारमा उच्चारण भएको एक नामले उनको ध्यान केन्द्रित गर्यो।
समाचारको विषय थियो 'चर्चित नक्कली नोट काण्डका मुख्य नाइके पक्राउ', अनि नाइकेको नाम थियो 'ध्रुव'।
झट्ट आफ्नो साथीलाई सम्झिए, एकछिन त उनलाई त्यो समाचार पत्याउनै गाह्रो पर्यो। ध्रुव भन्ने कोही अर्को व्यक्ति होला जस्तो पनि लाग्यो तर नाम-थर मात्र होइन उसको ठेगाना समेत मिलेपश्चात पत्याउनुको कुनै विकल्प नै थिएन उनीसँग।
मन अमिलो गर्दै उनले ध्रुवको हैसियत एकाएक कसरी त्यो उचाइमा पुगेको रहेछ भनेर सहजै अनुमान लगाए। उसले भनेको त्यो वाक्य, 'सबैसँग राम्रै उठवश छ, सहज पहुँच छ, हामीले जे भन्यो त्यही हुन्छ अहिले देशमा', लाई पुन: स्मरण गरे।
देशको वर्तमान परिस्थितिलाई सम्झिए, दिनहुँजसो घट्ने घटना क्रमलाई सम्झिए, आफ्ना सन्ततिको भविष्य कस्तो होला भनी अनुमान लगाए, दिक्क लागेर रेडियो बन्द गरे अनि बत्ती निभाए र भन्न थाले 'खुब रमाइलो भएको थियो साथी तिमीसँगको गफगाफ तर रात धेरै ढल्की सक्यो अब सुत्नुपर्छ होला, भोलि बिहान सबेरै उठ्नु छ।
तिमीलाई सुनाउनु पर्ने कहानी त धेरै नै बाँकी छन्, ती सबै अर्को भेटमा सुनाउला है, डाटा प्याक पनि सकिएछ, फेरि कुनैदिन डाटा प्याक तानेर कुरा गरौंला ल अहिलेलाई शुभरात्री भन्दै' भिडिओ कल अन्त्य गरे मनोज सरले।