पूर्णिकाले ललितपुर सातदोबाटो चापागाउँस्थित आफ्नो घरको बालकाेनीमा बसेर कफीको पिउँदै पत्रिका पढिरहेकी थिइन्। पाना पल्टाउँदै जाँदा दोस्रो पेजमा बलात्कारको खबर छापिएको थियो। समाचारमा सत्तरी वर्षकी महिलालाई बाह्र वर्षको युवाले जबरजस्ती गरेको, तीन वर्षकी बच्चीलाई पैँतालीस वर्षको पुरुषले जबरजस्ती गरेको खबर थियो।
यो देखेर पूर्णिकाले पत्रिका नपढी थुपुक्क टेबलमा राखिन्। न तीन वर्षकी नानी सुरक्षित छिन्, न त सत्तरी वर्षकी हजुरआमा! उसको मनमा अनेकौँ प्रश्न खडा भए।
‘मेरी पैँतालीस/छयालीस वर्षकी आमालाई यहाँ कसको सहारामा छोडेर अमेरिका उड्ने? अहिले म चौबिस वर्षकी भएँ। म जन्मिँदा मेरी आमाको उमेर बाइस वर्ष थियो तर हामी हेर्दा दिदी-बहिनी जस्ता देखिन्छौँ। मेरो साथी (भावी पति) विमर्शले मेरी आमाको सुन्दरताको निकै तारिफ गर्छ। उसले मलाई जिस्काउँदै भन्छ- तिमी आफू सुन्दर छौ तर तिम्री आमा जत्तिको छैनौ। दश वर्ष पहिला मेरो बाबा एक्सिडेन्टमा परेर संसारबाट बिदा हुनु भयो। आमा बैङ्कमा जागिरे हुनुहुन्थ्यो, मैले सोचिरहन्छु आजसम्म आमाले यो सब कसरी समाल्नु भएको होला?’
उनी आमाका पीडाहरू सम्झेर रोइन्।
विमर्श आइटी इन्जिनियर, उसलाई अमेरिकाको एक ठुलो कम्पनीमा जागिरको राम्रो अफर आएकोले आफ्नो आमाबुवासँग तीन महिनापछि विवाहको मिति फिक्स गरेर अमेरिका जाने तयारी गर्छ। पूर्णिकाले विमर्शको अनुहारमा हेर्दै भन्छिन्- ‘विमर्श, म विवाहपछि मेरी आमालाई एक्लै छोडेर अमेरिका जान सक्दिनँ। तिम्रो पो बुवाआमा हुनुहुन्छ। यदि तिमी मेरो ठाउँमा हुन्थ्यौ भने के तिमी आफ्नो आमालाई एक्लै छोडेर जान सक्छौ?’ र
विमर्शले मधुरो स्वरमा जवाफ दिँदै भन्छ, ‘कुन चाहिँ आमाले आफू एक्लै हुन्छु भनेर आफ्नो बच्चाको उन्नतिको बाटो बन्द गर्छ र?’
पूर्णिकाले मलिन अनुहार बनाउँदै भन्छिन्, ‘तर मेरी आमालाई हेर न विमर्श, बल्ल छयालीस लाग्नु भएको छ, कसको सहारामा छोड्ने एक्लै? म तिमीलाई माया गर्छु तर तिमीले पनि मलाई छोड्न सक्दैनौ। अमेरिका गएपछि मलाई बारम्बार आमाको चिन्ताले नसताओस्।’
विमर्श फिस्स हाँस्दै भन्छ, ‘मसँग एउटा आइडिया छ।’
पूर्णिकाले चासोका साथ सोध्छिन्, ‘के आइडिया?’
विमर्शले पूर्णिकालाई सम्झाउँदै भन्छ, ‘हेर पूर्णिका, आमा यति सुन्दर र जवान हुनुहुन्छ, उहाँको दोस्रो विवाहको बारेमा किन नसोच्नु र?’
पूर्णिका बिना प्रतिवाद मौन रहिन्, विमर्श एकोहोरो आफ्ना कुरा राख्दै गयो।
‘सानु, एक पटक ठन्डा दिमागले सोच। तिमीलाई आमाको सुरक्षाको चिन्ता छ भने आमाको दोस्रो विवाहको बारेमा किन सोच्दैनौ? एक्लै बस्न आमालाई पनि मुस्किल हुन्छ। आमालाई एउटा साथीको जरुरत छ। पुरुष एक्लै भयो भने आफन्त, इष्टमित्रले विवाह गर्न सुझाव दिन्छन् तर महिलाले विवाह नै गर्न नहुने भन्ने कहाँ छ र? दश वर्ष पहिला तिम्रो बुवाको मृत्यु हुँदा तिमी सानी थियौ तर अहिले त तिमी ठुली भइसक्यौ, अब त तिमीले आमाका लागि केही गर्न सक्छौ नि?’
निकै बेरको मौनतापछि पूर्णिका भन्छिन्, ‘विमर्श, यस्ता कुरा नगर। म मान्दिनँ यस्ता कुरा।’
आफ्नो नयाँ सोच विचार गर्न विमर्शले पूर्णिकालाई एक्लै छोडेर तीन महिनाको लागि अमेरिका उड्यो।
पूर्णिकाले लामो सुस्केरा निकाल्दै भन्छिन्, ‘के विमर्शले भनेको कुरा सही हो त? यो सब सम्भव छ त? कहाँ खोजौँ आफ्नो लागि बाबा अनि आमाको लागि साथी?’
एकपछि अर्को गरी उसकाे मनलाई अनेकौँ प्रश्नले घेरिरहे।
पूर्णिकालाई निराश देखेर आमाले जिस्काउँदै भन्नुहुन्छ, ‘के भयो, विमर्शको याद आयो र?’
आमाको कुरा सकिन नपाउँदै पूर्णिकाले आमालाई दराजमा भएको चम्किले रङको आकाशे निलो सारी लगाउन अनुरोध गर्दै भन्छिन्, ‘यो सारी लगाउनु आमा, धेरै सुन्दर देखिनु हुन्छ।’
आमा सारी लगाउन तयार हुनुभयो। पूर्णिकाको नजर कालो, लामो, बाक्लो कपाल, गोरी, पातली, पुक्क गाला र सुकोमल शरीर भएकी आमातिर नै अड्किएको थियो। पूर्णिकाले आफूलाई काजल र टीका लगाइदिएको देखेर आमाले भन्छिन्, ‘यो के गर्न लागेकी तिमीले आजकल? किन?’
‘के तपाईंलाई आजकल सजिन मन लाग्दैन र? कति सुन्दर देखिनु भएको छ?’
आमाको मुहारमा हाँसो पटक्कै थिएन। आँखाभरि टिलपिल आँसु लिँदै भन्नुभयो, ‘कसका लागि सजिऊँ म? के गर्ने मलाई सुन्दर देखिएर?’
अमेरिकाबाट विमर्शको फोन आउँछ। उसले आमाको विवाहको बारेमा के बिचार गर्यौ भनेर सोध्छ। विवाहका लागि बरबधू खोज्ने साइटमा आमाको बायोडाटा राखिदिन सल्लाह दिन्छ। जो पहिला मन पर्छ, जो व्यक्तिले मन पराउँछ उसको छानबिन उ आफै गर्न, सबै कुराको जानकारी तिमी आफै लिन र आमालाई तयार गर्न भन्छ।
‘कसरी गर्ने सब तिमीले जानेकी छौ, कुरा सिम्पल छ,’ यति भन्दै विमर्शले फोन राख्छ।
पूर्णिकाले सोच्छिन्, विमर्शका लागि हरेक कुरा सरल छ। के यति सजिलो छ र आफ्नो लागि पिता अनि आमाका लागि पति खोज्न? म एक्लैले आमालाई कसरी मनाउने अनि सम्झाउने? आमालाई जानकारी नदिई आमाको बारेमा राम्रो बायोडाटा बनाएर राम्रो प्रोफाइलका साथ फोटो राखिदिएँ। साथमा मेरो मोबाइल नम्बर पनि।
सुरुमा आमाका लागि आएका प्रस्ताव राम्रो लागेन। तर केही दिनपछि मधुकर नाम गरेका ५० वर्ष, घर बालाजु, मल्टिनेशनल कम्पनीको मार्केटिङ हेड भन्ने व्यक्तिको प्रस्ताव आयो। फोटो हेर्दा अग्लो र हेन्डसम। एकाएक बाबाको याद आयो, आँसुले आँखा भरियो। थाहा छैन आमाले के सोच्नु हुन्छ? के जवाफ दिनु हुन्छ? मुटु कामिरहेको थियो, उत्तरको प्रतीक्षामा थिएँ।
एक दिन मेरो मोबाइलमा नयाँ नम्बरबाट फोन आयो।
‘हेलो! आई एम मधुकर पाठक स्पिकिङ, एम आई स्पिकिङ टु मनिषा जी?’
मधुकरको आवाज सुनेर पूर्णिकाले हडबडाउँदै भन्छिन्, ‘नो आई एम हर डटर।’
‘के म मनिषाजी सँग कुरा गर्न सक्छु?’ उताबाट आवाज आउँछ।
‘नो, उहाँसँग त अहिले कुराकानी गर्न मिल्दैन, साइटमा विवरण मैले राखिदिएकी हुँ, सबै कुरा राम्रो लाग्यो भने आमासँग भेट गराइदिने छु।’
पूर्णिकाको साहसलाई तारिफ गर्दै उसले भन्छ, ‘ठिक छ, कहिले भेटाउँछौ तिम्रो आमासँग मलाई?’
पूर्णिकाले जवाफ दिँदै भन्छिन्, ‘पर्सि साँझको ६ बजे।’
मझौला कद, सेतो सर्ट पाइन्ट र कालो कोट अनि त्यसमाथि नेपाली ढाका टोपी, रसिलो र कसिलो छाला, चिल्लोसँग काटिएको दारी अनि चिटिक्क मिलेको जुँगा, सलक्क परेको जीउडाल, नम्र एवं मिठो एक शब्द बोलीले पहिलो भेटमा नै पूर्णिका प्रभावित भइन्।
‘दर्शन अंकल।’
मधुकरले पूर्णिकालाई नियाल्दै भन्छ, ‘भन, के जान्न चाह्यौ मेरो बारेमा तिमीले?’
पूर्णिकाले बताउँदै गइन्, ‘मेरो बुवाको मृत्यु १० वर्ष पहिले भएको थियो। तीन महिनापछि मेरो विवाह हुँदै छ। त्यसपछि म अमेरिका जान्छु, छिटो छिटो नेपाल आउन पाउँदिनँ, आमा पनि चाहेको समयमा मलाई भेट्न अमेरिका आउन सक्नु हुन्न। आमाको एक्लोपनको चिन्ताले मलाई धेरै सताउँछ। त्यसैले मैले मेरो आमाको लागि यो बाटो रोजेँ। थाह छैन आमाले विवाह गर्न मान्नु हुन्छ कि नाइँ।’
मधुकरले जवाफ दिँदै भन्छ, ‘बडो साहसी छोरी रहेछौ तिमी, कुनै पनि छोरीले आमाको लागि यति ठुलो कुरा सोच्नु सहज छैन। मलाई थाहा छैन तिम्रो आमा मान्नु हुन्छ कि नाइँ, यो त उहाँसँगको भेटपछि मात्र थाहा होला। मेरो पत्नी र म विवाह भएको केही समयपछि नै अलग अलग बस्यौँ, १५ वर्ष पहिले नै उनले मलाई छोडेर गइन्, जिल्ला अदालतमा सम्बन्ध विच्छेद मुद्दाको लामो कानुनी प्रक्रियापश्चात् हामी अलग अलग भयौँ। त्यसपछि मेरो मन यति टुट्यो कि दोस्रो विवाहका लागि सोच्न सकिनँ। तिमी जस्तो छोरीको आमा पक्कै पनि असल र इमानदार हुनुहुन्छ होला।’
लामो समयको कुरापछि मधुकरले पूर्णिकाको अनुहारमा हेर्दै सोध्छ, ‘के निर्णय लियौ तिमीले तिम्रो आमा र मेरो बारेमा?’
पूर्णिकाले मुस्कुराउँदै भन्छिन्, ‘अंकल, तपाईं र म फेरि अर्को पटक भेट्न सक्छौ?’
‘अवश्य पनि,’ मधुकरले आफ्नो भिजिटिङ कार्ड दिँदै अर्को पटक आइतबार डिनरका लागि उपस्थित हुने वाचा गर्दै बिदा हुन्छ।
आइतबारको दिन पूर्णिका भित्रभित्रै मिठो कल्पनामा हराउँदै आमालाई भन्छिन्, ‘आमा आजको लागि मिठो मिठो डिनर र साँझका लागि स्न्याक्स पनि तयार पार्नुस् है? तपाईंलाई भेट्न कोही आउँदै छ। मल्टिनेशनल कम्पनीको मार्केटिङ हेड मधुकर पाठक अंकल, अफिसको कामको सिलसिलामा एउटा इभेन्टको दौरानमा भेट भएको थियो, उहाँ साह्रै राम्रो र असल हुनुहुन्छ।’
मनिषाले अचम्म पर्दै सोधिन्, ‘पत्नीका साथ सँगै आउँछन् कि एक्लै?’
पूर्णिकाको जवाफ आउँछ, ‘नाइँ! उहाँको कोही छैनन्, श्रीमतीसँग अलग भइसक्नु भये।’
डोर बेल बजेको आवाज सुनिन्छ। मधुकर डिनरका लागि उपस्थित हुन्छन् र साँझको डिनरपछि घर फर्किन्छन्। विमर्श पनि यता आफ्नो विवाहको लागि एक महिनाको छुट्टीमा अमेरिकाबाट नेपाल फर्किन्छ।
मनिषा सोफामा बस्दै छोरीको विवाहको लागि खर्चको हिसाबकिताब गर्छिन्। पूर्णिकाले कफी हातमा लिँदै आमालाई ‘यति धेरै तामझाम गर्न जरुरत छ र?’ भन्छिन्।
‘विमर्शले दुवै परिवार मिलेर कोर्ट म्यारिज गर्ने अनि एक कम्बाइन रिसेप्सन दिने भनेका छ, काम पनि हुने, पैसा पनि कम खर्च हुने।’
मनिषाले छोरीको अनुहारमा हेर्दै भन्छिन्, ‘ तिमीले खर्चको लागि किन चिन्ता लिएको? तिम्रो लागि नगरे कसको लागि गर्ने?’
पूर्णिका केही बेर चुपचाप बसिन् र मलिन अनुहार बनाउँदै भनिन्, ‘आमा, तपाईंले मेरो लागि यति धेरै गर्नु भएको छ। म पनि तपाईंको लागि एउटा रिटर्न गिफ्ट दिन चाहन्छु। तर मेरो कुरालाई तपाईंले इन्कार गर्न पाउनु हुँदैन।’
मनिषालाई आफ्नो छोरीले के भूमिका बाँधिरहेकी छिन् थाहा छैन। पूर्णिकाको कुरा सकिन नपाउँदै मनिषाले भन्छिन्, ‘सारीले दराज भरिदिएकी छौ तिमीले? तैपनि मैले लगाई राखेकी छु, अझै कति दिन्छौ गिफ्ट?’
पूर्णिका एकछिन निःशब्द भइन्। उनले लामो सास फेर्छिन्। आमालाई नसोधी उहाँबारे यति ठुलो कदम उठाएकोमा उनलाई डर लागिरहेको छ। मुटुको धड्कन बढिरहेको छ। मनमनै ईश्वरसँग पुकार गरिरहेकी छिन्।
समयले साढे आठ बजाइसकेको छ। पूर्णिकाले सानो पातलो कपडाले आमाको आँखा बन्द गर्छिन् र भन्छिन्, ‘आमा, हात थाप्नुहोस् त।’
मनिषाले मुस्कुराउँदै भन्छिन्, ‘ठिक छ, यस्तो के गिफ्ट दिन लाग्यौ तिमीले मलाई?’
आमाको दुई हातमा फोटो थमाउँदै भन्छिन्, ‘मधुकर अंकल आमा!’
मनिषाले रिसाउँदै बडो झोकमा बोल्छिन्, ‘मधुकर अंकल’? तेरो दिमाग त ठिक छ? धेरे बढी हुन लागेकी छस् त? धेरै ठुला ठुला कुरा नगर्, बाठी नबन्। यतिका वर्ष त सानी हुँदा म एक्ली भइनँ, जब तेरो सामु मधुकर आयो, तेरो दिमागमा खिचडी पाक्न सुरु भयो हैन? विवाह गरेर म आफ्नो समाज र आफन्तको लागि मुख देखाउन सक्दिनँ। आजसम्म मलाई कहिल्यै कसैसँग प्रेम गरूँ जस्तो लागेन, यौवनको उन्मादले छोएन, विवाह गर्न शोक लागेन। अब मेरो विवाहको जरुरत किन छोरी?’
पूर्णिकाले आमातिर हेर्दै भनिन्, ‘ठिकै छ आमा, म सबै कुरा बताउने छु। जब मेरो अमेरिका जाने कुरा चल्यो, त्यही दिनदेखि तपाईंको एक्लोपनले मलाई चिन्ता बढ्न थाल्यो। आमा, तपाईं एक्लै कसरी बस्न सक्नु हुन्छ? यो खिचडी अचानक पाकेको होइन आमा, मधुकर अंकल अचानक मसँग भेट हुनु भएकै होइन। म र विमर्श दुवै जना तपाईंको दोस्रो पटक विवाह चाहन्छौँ। कुन आफ्नो समाज र कुन आफ्नो आफन्त आमा? हामी त हौँ नि तपाईंको आफन्त अनि समाज, बिस्तारै सबै ठिक हुँदै जान्छ सोच्नुहोस्। आज रातभर सोच्नुहोस्, तुलना गरेर हेर्नुहोस्। एक बिलकुल एक्लै अर्को अंकलको साथ। के ठिक लाग्छ तपाईंलाई? बाँकी तपाईंको हातमा। अरूको बारेमा नसोच्नुहोस्। अंकल पनि तपाईंसँग विवाह गर्न चाहनु हुन्छ।’
आमासँगको कुरापछि पूर्णिका आफ्नो कोठामा जान्छिन्। फुरुङ्ग भएको पूर्णिकाको मन एकाएक हराउँछ। उनी बिस्तरामा पल्टिन्छन्। भोलिपल्ट उनले आफ्नी आमालाई शान्त अवस्थामा देख्छिन्। पूर्णिकाले आमालाई पानीको गिलास टक्राउँदै उहाँको लागि सहज वातावरण तयार गर्ने कोसिस गर्छिन्।
उनले आमातर्फ हेर्दै भन्छिन्, ‘आमा, आज अफिस छुट्टी लिनुहोस्। दुवै तर्फको धेरै काम छ।’
यतिकैमा घरको डोर बेल बज्छ। ‘मधुकर अंकल आउनु भए जस्तो छ आमा, तपाईं फ्रेस हुनुहोस्,’ पूर्णिकाले दराजबाट सारी निकालेर आमाको हातमा राख्दै भन्छिन्, ‘प्लिज आमा, यो सारी चेन्ज गर्नुहोस्।’
मनिषाले सारी चेन्ज गरिन्। आमाको अनुहार रातो भएको थियो, शरीरमा पसिना चुहिरहेको थियो। आमाको शरीरमा आएको पसिना पुछ्दै पूर्णिकाले भन्छिन्, ‘चिन्ता नलिनुहोस् आमा, तपाईंले केही पनि गलत गर्नुभएको छैन। अंकल असल व्यक्ति हुनुहुन्छ, मेरो विश्वास गर्नुहोस्।’
कफीको ट्रे आमाको हातमा राखेर पूर्णिकाले आमालाई मधुकर सामुन्ने लगेर छाडिन्। बिस्तारै दुवै जनाको कुराकानी भयो।
मनिषाले मनमनै सोचिन्, मान्छे दुई पटक विवाह गर्न बाध्य हुँदो रहेछ। मेरो लागि जे राम्रो हुन्छ त्यही गरिदेऊ भगवान्। पर्सिपल्ट पूर्णिकाको हुनेवाला घर परिवार र विमर्शको उपस्थितिमा जिल्ला अदालतमा मनिषा र मधुकरको कोर्ट म्यारिज भयो। आमाको विवाह लगत्तै पूर्णिकाको पनि विवाह भयो जहाँ कन्यादानमा आमाको साथै पिता पनि उपस्थित भए।
विवाहपछि पूर्णिका विमर्शको साथमा अमेरिका जाँदै थिइन्। उनले एयरपोर्टमा मधुकरलाई अँगालो मार्दै भनिन्, ‘बाबा, आमाको ख्याल राख्नु है।’
मधुकरले पूर्णिकालाई सुमसुम्याउँदै भने, ‘तिमीले मलाई बाबाको सिंहासनमा राखिदिएकी छौ, यो मेरो जिम्मेवारी हो छोरी। चिन्ता नगर।’
पूर्णिका आमालाई अँगाल्न पुग्छिन्। मनिषा भक्कानिँदै रुन्छिन्। गलाबाट छुट्दै आमाको आँसु पुछ्दै पूर्णिकाले भन्छिन्, ’मेरो रिटर्न गिफ्ट कस्तो लाग्यो आमा?’
मनिषाले हाँस्दै मायाले छोरीलाई एक थप्पड लगाउँछिन् र उनीहरू एयरपोर्टबाट बिदा हुन्छन्।