मेरो आजभोलि दैनिकीमा केही परिवर्तन आएको छ। सधैँ चार पर्खालभित्र बित्ने मेरो दिनचर्या अचेल नौलो अनि आनन्ददायी पनि लागेको छ तर यो आनन्द मलाई बाध्यतामा मिलेको समयको उपहार हो।
मेरी सासूआमाको सधैँ चल्ने दिनचर्यामा पनि नयाँपन आएको छ। तर उहाँको पनि यो समयको बाध्यात्मक उपहार नै हो। सधैँ आफ्नो बलबुतामा आफ्नै उमेर समूहका साथीहरूसँग यही परिवेशमा रमाउने मेरी सासूआमालाई अहिले सहारा चाहिने भएको छ। मेरो सहारा पाइरहँदा उहाँका ती उमेर समूहका साथीहरूसँगको रमाइलो पल भने छोटो भएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिकाको- ३, इमाडोलमा रहेको बोझेपोखरीको राम्रो व्यवस्थापनले यहाँ सयौँ मानिसहरू खास गरी बिहान र बेलुकाको समयमा घुम्ने, रमाइलो गर्ने, डुङ्गा चढ्ने, भगवानको दर्शन गर्ने र यो भाग दौडको समयबाट आफ्ना लागि समय निकाल्ने अवसर प्राप्त भएको छ।
८० वर्षीय सासूआमाको सानो अप्रेसन गरेपछि यस सुन्दर ठाउँमा आफै हिँडेर जाने अवसर गुमाउनु भएको छ। जसमा उहाँलाई डोराएर बिहान र बेलुका मैले त्यहाँ पुर्याउने तथा केही बेर यहाँको वातावरणमा घुमाउने र घरमा लैजाने गर्दछु।
यस दौरानमा खास गरी धेरै बूढाबूढीले मलाई 'लौ नानी धन्यवाद छ है, आमालाई यसरी हात समातेर घुमाउनु भएको छ। सधैँ यस्तै माया गरिराख्नू' भनेर आशीर्वाद दिनुहुन्छ।
म मुसुक्क हाँस्छु, त्यसको केही जवाफ दिन सक्दिनँ। म अक्क न बक्क पर्छु। आखिर धन्यवाद पाउन मैले के नै गरेँ र उहाँहरूले मलाई यस्तो भनिरहनु हुन्छ भन्ने प्रश्नले मलाई सताई पनि रहन्छ। परिवारको एक सदस्य बिरामी परेर वा उसको वृद्धावस्थामा सामान्य रेखदेख गर्नु कसरी महान् काम हुन सक्ने रहेछ? यो त सामान्य मानवले गर्ने पारिवारिक व्यवहार मात्र होइन र?
त्यही आमाले जन्माएको सन्तानलाई जीवनभर साथ दिन भनेर एउटी नारीले आफ्नो जन्मघर छाडेर आएकी हुन्छे। आफ्नो श्रीमानको सम्पूर्ण जिम्मेवारी पूरा गर्ने कार्य एक श्रीमतीको हुन्छ। श्रीमानको सामान्य अवस्थामा गरेको स्याहार सुसारदेखि हरेक अवस्थामा श्रीमानलाई उसकी श्रीमतीले साथ दिइरहेकी हुन्छे जसलाई अहिलेको समाजले पनि सामान्य रूपमै लिएको हुन्छ। तर त्यही श्रीमानलाई जन्म दिने बाबुआमाको जिम्मेवारी बहन गर्दा कसरी नयाँ कार्य गरेको ठान्छ होला यो समाज? मेरो लागि यो खुल्दुलीको विषय बनेको थियो।
सदाझैँ हामी सासूबुहारी मन्दिरको एक छेउ बेन्चमा बसेका थियौँ। एकजना बुढी आमा हातमा लौरो टेक्दै हाम्रा नजिकै आउनु भयो। एकछिन सुस्केरा हालेर ती आमाले मेरी सासूआमालाई भन्नुभयो, 'हजुर छोरीसँग बस्नुहुन्छ?'
मेरी सासूआमाले उहाँलाई उत्तर दिनुको साटो केही अकमकिनु भयो। मैले भनेँ, 'होइन, म बुहारी हो।'
उहाँ एकछिन टोलाउनु भयो अनि भन्नु भयो, 'नानी, बुहारी भएर सासूसँग यसरी घुम्न आउने समय हुन्छ तिमीलाई?'
मैले भनेँ, 'आमा आफैँ हिँड्न सक्नु हुन्न। त्यसैले समय मिलाएर आएको नि आमा।'
आमाले सोध्नु भयो, 'के भएको हो र तिम्रो सासूआमालाई?'
मैले आमाको केही समय अगाडि अप्रेसन भएको कुरा जानकारी गराएँ।
उहाँ पनि विगत केही समयदेखि बिरामी हुनुहुँदो रहेछ। महिलाहरूलाई धेरै समस्या पर्ने मध्ये एक हो पाठेघर सम्बन्धी समस्या। उहाँको पाठेघर तल झरेर हिँड्दा झर्ला झैँ हुँदो रहेछ। बसिरहँदा पनि सबै भाग बाहिर आएजस्तो हुँदो रहेछ। उहाँले सबै बताउनु भयो।
'काठमाडौँको ठाउँ प्रशस्तै अस्पतालहरू छन्, जाँच गर्न जानु भएन आमा?'
मेरो प्रश्नमा आमाले भन्नुभयो, 'मेरो छोरो ठुलो मान्छे हो नानी, ऊ जागिरे समय नै मिल्दैन भन्छ। कति पटक भनिसकेँ अहँ अस्पताल लगेको छैन।'
मैले भनेँ, 'अनि हजुरको बुहारी पनि जागिरे हो?'
'होइन नानी, यो घरको झमेलाले जागिर खान पाइनँ भनेर सधैँ आफ्नो श्रीमानसँग झर्किरहन्छे। जागिरे होइन बुहारी।'
आमाको त्यति कुरा सुनेपछि मैले सोधेँ, 'घरमा को-को हुनुहुन्छ त आमा?'
'दुई भाइ छोरा हुन्। म कान्छो छोरा-बुहारीसँग बसेकी छु। नातिनी १२ कक्षा पढ्दै छे, नाति ८ कक्षामा अनि छोरा-बुहारी र म छौँ। श्रीमानले उहिल्यै छाडेर जानुभयो। मलाई किन बाँच्नु पर्या हो, यही दुःख पाउन त होला नि।'
मैले सोधेँ, 'अनि जेठो छोरा नि आमा?'
'कान्छो छोराको भागमा म परेपछि उसले आजसम्म फर्केर हेरको छैन नानी।'
मैले मनमनै भनेँ, 'ए आमा पनि भाग लगाएछन् अनि अर्काको भागमा परेपछि जेठो छोरालाई हाई सन्चो भए होला नि।'
कस्तो विडम्बना! छोरा, बुहारी, नातिनातिनासँग काठमाडौँ जस्तो सुविधा सम्पन्न घरमा बसेर पनि उहाँ यो जीवनको उत्तरार्धमा बाँच्नु परेकोमा आफूलाई धिक्कार्दै हुनुहुन्छ। आफ्नो जीवनकालमा सन्तान, घर व्यवहार आदि इत्यादिको बोझमा समेत सायद उहाँलाई यो जीवन प्यारो थियो। तर अहिले केही समय आराम गरेर आनन्दले छोरा, बुहारी, नातिनातिनाको साथमा बिताउने समय पनि किन यति बोझिलो बन्यो होला भन्ने प्रश्नले मन चसक्क भयो।
'आमा, छोरालाई समय नभए बुहारी, नातिनी लिएर अस्पताल गएर जाँच गरे हुन्छ त। किन रोग पालेर बस्नु भएको?' मैले जिज्ञासा राखेँ।
'नानी, खै बुहारीलाई छोराले जा नभन्दासम्म नजाने होला। नातिनीको पनि त्यही त हो नि, उसलाई पनि जा भन्नु पर्ने होला। छोराले नै वास्ता नगरेपछि त्यो बुहारीले मेरो के वास्ता गर्नु! दुई छाक खान दिएका छन्, त्यही ठुलो भएको छ। त्यो पनि मेरो मनले खोजेको आहारा के हो भन्ने बुहारी छोरालाई कहिल्यै थाहा भएन। नानी मलाई पालेका छन्। त्यही ठुलो हो यो बुढेसकालमा।'
कस्तो अचम्म! जसले यो संसार नदेखाएको भए ऊ हुँदैन थियो, त्यसैले आमालाई पालेको छ त्यही ठुलो भयो रे! फेरि यी बूढाबूढीलाई के पाल्न सक्छौ र हामी अनि उनीहरूलाई पाल्ने भनेको के हो? एउटा कुकुरलाई दुई छाक खान दिए जस्तै पेट भरिदिएको नै पालेको भन्ने रहेछ अहिलेको हाम्रो समाजमा। नत्र यो उमेरमा उनीहरूलाई चाहिने भनेको दुई छाक खाना, नातिनातिनाको मिठो बोली, छोरा-बुहारीसँगको बेलाबेलाको आमाबाबुसँगको सामान्य गफगाफभन्दा अरू त चाहिँदैन। यति पनि दिन नसक्ने कस्ता सन्तान विडम्बना!
'अनि छोराले के जागिर खानु हुन्छ आमा जसले गर्दा आमाको उपचार गर्ने पनि समय नमिल्ने?' मलाई त्यो छोराको जागिर कस्तो होला भन्ने कौतुहलता लागेर सोधेँ।
आमाले भन्नु भयो, 'अफिसमा जागिर होला नानी, मलाई त के थाहा के काम गर्छ? बिहान बेलुका झल्याक्क झुलुक्क देख्छु। छोरासँग कुराकानी गर्ने भनेको त उनीहरूको हातखुट्टा बलिया नहुँदासम्म त रहेछ नि। अब त उसको बोली कस्तो छ, त्यो सुन्न पनि पाइँदैन कति व्यस्त व्यस्त।'
आमाको कुराले मलाई अचम्म लाग्यो। सोचेँ, आखिर एउटी आमाको सन्चो बिसन्चो के छ भनेर सोध्न नभ्याउने र उनको सन्चो बिसन्चोमा साथ दिन नसक्ने गरी पनि जागिर खान्छन् मानिसहरू? कस्तो जागिर होला त्यो अनि त्यसबाट आउने पैसा झन् कस्तो होला?
त्यसको एक दिनपछि त्यही बोझेपोखरीमा अधबैँसे एउटै उमेर समूहका तीन जना महिलाहरू एउटा बेन्चमा बसेका थिए। हामी सासू बुहारी त्यसको छेवैको बेन्चमा बसेका थियौँ। ती महिलाहरूमा गफ चल्दै थिए। बेलाबेलामा उनीहरूको हाँसोको फोहरा फुट्थ्यो। फेरि गफमा भुल्थे। त्यही महिलाहरू मध्ये एक महिलाले भनिन्– 'मेरो सासू त कस्ती बाठी भएकी। बुहारी मलाई पनि तिमीसँगै एकछिन घुमाउन लैजाऊ न रे! कसले लिएर हिँडोस् त्यो घाँडो। सुन्या नसुन्याझैँ गरेर निस्किएँ।'
उनको कुरामा सबै एकपटक गलल्ल गरेर हाँसे।
अर्की महिलाले थपिन्, 'तँ पनि कस्ती के, उनीहरूलाई त्यसरी बोल्ने मौका नै दिनु हुँदैन। मैले त एउटा सानो कोठामा थन्काइदिएकी छु। खाना त्यही फालिदिन्छन् केटाकेटीले, आफूले अनुहार पनि हेर्नु पर्दैन, बोली पनि सुन्नु पर्दैन सन्चै। सकेसम्म कसैलाई भेट गर्न त्यहाँ जान नै दिँदिनँ। कोही उनकै आफन्तहरू त्यहाँ गइहाले भने यस्तो रिस उठ्छ कि फेरि त्यो पाहुना घरमा नआओस् भन्ने झैँ व्यवहार गरेर पठाइदिन्छु।'
हिजो ती बुढी आमाले आफ्नो व्यथा सुनाइरहँदा मलाई विश्वास गर्न गाह्रो भएको थियो कि यतिसम्म त के गर्लान् र आफ्नै सन्तानले! बूढाबूढीको चित्त बुझाउन गाह्रै पर्ने काम हो। आमालाई पनि केही चित्त नबुझेका कुराहरू होलान् तर औषधि उपचार जस्तो कुरामा लापरबाही अनि घरमा बोलचालको अवस्थासम्म नभएको विषयले विश्वास गर्ने कि नगर्ने भनेर दोधारमा थिएँ। तर आज ती महिलाको कुरा सुनेर ती आमालाई विश्वास नगर्नु आफ्नो भूल भएको महसुस गरेँ। मैले विश्वास गर्नु र नगर्नुले ती आमाको अवस्थालाई केही फरक पर्ने त थिएन तैपनि मलाई आत्म ग्लानि भएर आयो।
उसैले रगतको डल्ला जमाएर जन्म दिएको सन्तान प्यारो लाग्ने तर त्यही सन्तानलाई जन्म दिने आमालाई पशुको व्यवहार गरेकोमा गर्व गरेर हिँड्ने कस्तो मानवताको विकास भएछ? अचम्म लागेर आयो। कतिले घरमा जे जस्तो भए पनि त्यसलाई लुकाउने प्रयास गर्छन् तर यहाँ त त्यही आफूले एउटा मानवप्रति गरेको अमानवीय व्यवहार गर्वको विषय बनेको देख्दा अहिलेको सहरिया जीवन, हाम्रो सम्पन्नताप्रति नै घृणा जागेर आयो।
वृद्ध बाबुआमालाई त्यस्तो अमानवीय व्यवहार गरेको टुलुटुलु हेर्ने त्यो सन्तानको बाध्यता के होला? आज वृद्ध र अशक्त अवस्थामा भएका मानवलाई त्यस्तो अमानवीय व्यवहार गर्नेले भोलि त्यही श्रीमानको अवस्था नाजुक हुँदा वा अशक्त हुँदा ती श्रीमतीले कस्तो व्यवहार गर्लिन्? आफ्ना बाबु आमालाई राम्रो व्यवहार नगर्ने श्रीमानले भोलि श्रीमतीको अवस्था नाजुक र अशक्त हुँदा कस्तो व्यवहार गर्ला? यी अनुत्तरित प्रश्नले मलाई सताइरहने छन्।
सायद अहिले उमेर, पद र सम्पन्नताको उन्मादमा रहेका यिनीहरूले यी विषयमा सोच्न भ्याउँदैनन् तर यिनको भविष्य आज आफ्ना सन्तानका अगाडि ती बूढाबूढीप्रति गरेको व्यवहार यिनीहरूलाई पनि त फर्केला। आखिर जीवनमा जे रोप्यो फल्ने त्यही नै होला।
यी घटना परिघटनाले हाम्रो अहिलेको सामाजिक यथार्थलाई उजागर गरेका छन्। सम्बन्धहरू स्वार्थमा जोडिएका छन्। सबै ठिकठाक हुँदा सम्बन्ध राख्ने र अप्ठ्यारो पर्दा सम्बन्धलाई किनारा लगाउने परिस्थितिको निर्माण भएको छ। पारिवरमा बिना स्वार्थ प्रेम भएन भने हाम्रो यो जीवन व्यर्थ जान्छ। एक आपसमा प्रेम, जिम्मेवारी, नैतिकता, जबाफदेहिता भएमा मात्र हामीले अति व्यस्त रहेर आर्जन गरेको सम्पन्नताले जीवनको सम्पूर्ण उमेर समूहमा खुसी ल्याउँछ।
त्यसको लागि पारिवारिक संस्कारलाई जीवित राख्नु पर्दछ नत्र हामीले आफ्नो जीवन कालखण्डमा अत्यन्त दौडधुपका साथमा आर्जन गरेको सम्पत्तिले आफ्नो जीवनको कुनै पनि समयमा पोल्यो भने सबै व्यर्थ जान्छ। मानिसको स्वभाव नै हो दुःखमा वा श्रोत र साधनको अभावमा उसले मानवीयता गुमाउँदैन तर श्रोत र साधनको उपलब्धतामा आफ्नो मानवता जोगाउनु, संस्कार र संस्कृतिको जगेर्ना गर्न सक्नु आजको मानिसको लागि चुनौती बनेको छ।
यही समयमा मन्दिर परिसरमा एउटा अर्का सुन्दर दृश्य देखियो। दुई जना वृद्ध-वृद्धा, वृद्ध बुवाको हात समाएकी नातिनी अनि वृद्ध आमाको हात समाएको नाति र साथमा ती वृद्ध बाबुआमाका छोरा बुहारी। आखिर बुढेसकालमा देश, समाज र परिवारका गहना ती वृद्धवृद्धाले खोजेको यत्ति न थियो। त्यसैले यी परिवारका गहनालाई सबैले सम्मान गरौँ, जीवनको यो उत्तरार्धमा आत्मसम्मानसहित बाँच्ने पारिवारिक वातावरणको निर्माण गरौँ। मेरा सन्तानप्रति मेरो कामना छ– 'मेरो सन्तान ठुलो र सम्पन्न मान्छे होइन, ज्ञानी मान्छे बनून्।'