करिब आठ वर्षदेखि घरमा एउटा बिरालो बस्दै आएको छ। घरपालुवा जनावरहरूको विशेषता नै मान्छेसँग नजिक हुने रहेछ। मान्छे पनि उनीहरूसँग रमाउँदो रहेछ। त्यो सधैँ लुटुपुटु गर्छ र मेरा खुट्टामा दरालिन्छ।
घरका सदस्यहरूका काखमा पुस्तैनी लाग्ने जस्तो हक जमाउँछ। हामी बस्ने सोफामा ऊ निस्फिक्री भएर लमतन्न सुत्छ। नयाँ मान्छे आएमा म्याउँ मात्र गर्छ। चकमन्न भएर नयाँ परिस्थिति नियाल्छ। तर सहजै काखमा जाँदैन। म झट्ट हेर्दा उसको कुनै अर्थपूर्ण काम देख्दिनँ। तर पनि ऊ हाम्रो कमाइबाट घुर्क्याएरै बाँचेको छ।
गाउँघरमा बसेको भए उसले मुसा मारेर जीविकोपार्जन गर्ने अवसर पाउँथ्यो। घरबेटीका भान्सा नजिकै बसेर अलिकति जुठो भात खान पाउँथ्यो। यतिमा मात्र ऊ सन्तुष्ट नहुन सक्छ। त्यसैले बाघको जस्तै हाउभाउमा मुसामाथि जाइ लाग्ने थियो।
तर सहरमा? सहरमा त उसले वल्लो घरबाट पल्लो घरसम्म जान पनि अनुमति लिनुपर्छ। मुसा त उसले देख्न पाउने सम्भावना निकै कम छ। कहीँ पाइहाले पनि मुसासँगै दोस्ती गाँसेर बस्ने थियो कि के थाहा? त्यसैले अहिले चलानी भोजनको प्रबन्ध मिलेको छ उसको पनि। उसको दानापानीका लागि पनि उद्योग व्यवसाय नै चलेका छन्।
म सोच्छु, मान्छे वर्गको प्राणीबाट बिरालो वर्गको प्राणीले यसरी नै शक्ति हासिल गरिरहेछ। उसको आफ्नै मस्त दुनियाँ छ।
मैले उसलाई नियालेर हेरिरहेँ। उसको अनुहारमा चमक छ, निश्चलता छ र सौम्य भाव छ। जब म हातले उसको टाउकोमा सुमसुम्याउँछु, ऊ आँखा चिम्म गर्छ। मानौँ ऊ अहिले नै निदाइ दिन्छ।
आज पनि बिरालो लटपटिँदै मेरो नजिक आयो। मैले 'सुरी' भन्न नपाउँदै खुट्टामा दलिएर माया देखायो।
म प्रायः दिनभर काममा व्यस्त नै रहन्छु। बेलुकी घर पुग्न सधैँ हतार हुन्छ। यस्तै हतारोमा घर पुगेपछि कुनै दिन 'आज मैले यति काम गरेँ' भनेर घरमा सुनाउँदै हुन्छु।
'मेरा त हात पाउ गलिसके। मैले चलाउन चाहे जसरी यिनीहरू त चल्नै छाडे' भनेर उहाँ गुनासो गर्नु हुन्छ।
म सधैँ उहाँलाई सम्झाउने गर्छु, 'बुबा, यी सबै आआफ्ना समयका कुरा हुन्। कुनै दिन यहाँले काम गर्न जाँदा चोर औँलो समातेर हिँड्ने मै हुँ त। त्यति बेला काम गर्न बाधा पर्ने वा नपर्ने मलाई कुनै हेक्का नै हुन्न थियो। कैयौँ पटक मैले काममा बाधा पर्ने गरी सताएको थिएँ हुँला नि, हैन र?'
बुबाले मतिर पुलुक्क हेर्नुहुन्छ। आत्म स्वीकृति जनाएको उहाँको भाव म सहजै पहिचान गर्छु।
'यसरी हुर्काएको सन्तान हुँ म। मैले तपाईंको यो छत्र छहारी सधैँभरि यसरी नै पाइरहूँ। भगवान्सँग यही प्रार्थना गर्छु। उमेरसँगै हुने कमजोरीलाई अन्यथा सोचेर मन दुखाउन हुँदैन। हामी जति दिन बाँच्छौँ, खुसी भएर बाच्ने हो बुबा।'
मैले लगातार यसरी आफ्ना कुरा राख्ने गरेको थिएँ।
त्यसपछि 'हो नि बाबु' भन्ने आवाजसँगै देखिने उहाँको मन्द मुस्कान मिश्रित अनुहारको भाव म सजिलै पढ्न सक्ने भएको छु। यो क्रम चलेको पनि झन्डै दुई दशक हुन लागेको छ।
मैले थपेँ, 'जीवन जिउने जुन आदर्श र कला मसँग छ, त्यो सब तपाईंकै देन हो बुबा।'
यति भनी सक्दा नसक्दा नै म मेरो प्रतीक्षामा रहेका लालावाला सम्झिन्छु। उनीहरूको मप्रतिको अपेक्षा, भरोसा र मसँगै लहरिन सक्ने चञ्चलता सम्झन्छु। अनि मनमनै पुलकित हुन्छु।
यो सम्झनाले मलाई आफ्नै बाल्यकालसम्म पुराउँछ। बुबा आमाको काखमा बस्न हत्ते गर्नु परेको क्षण। दिनभर काममा घर बाहिर रहेका बुबा आमाको आगमनले ल्याउने खुसीको चमक। त्यो चमक कति प्रिय थियो त्यस बेला। उहाँहरू नै भरोसाको सागर।
'यो अग्लो रूखमाथि को चढ्न सक्छ?' भाइले कुनै दिन अप्ठ्यारो लाग्ने प्रश्न सोधेको थियो। मैले सहजै भनेको थिएँ, 'हाम्रो बुबाले।' त्यसपछिको आम स्वीकृतिले बुबाप्रतिको भरोसा अझ बढाउँथ्यो हामी बिचमा।
बिहानका लागि पकाएको खाना खाएर केही बाँकी रहन्थ्यो। त्यही बचेको केही खानेकुरा हाम्रा लागि खोपामा छोपेर राखिएको हुन्थ्यो। दिउँसोका लागि साँच्नु पर्ने गरी छुट्टाएर राखिदिएको खाजा हेर्दै कैयौँ पटक मैले मुख मिठ्याएको छु। अनि बुबा आमाले जिम्मा लगाउने बित्तिकै खाइसकेको छु।
त्यसपछि भने दिनभर थप खानेकुराको प्रतीक्षा गर्नु नपरे पनि त्यो समय निकै पट्यार लाग्दो हुन्थ्यो हामी सबैलाई। तर खाउँखाउँ लागिरहेको खानेकुरा अपराह्नसम्म जोगाउँदै पर्खिनु पनि त सजिलो विषय कहाँ हुने थियो र? प्रतीक्षा गर्नु पर्ने कष्टपूर्ण अवस्थाभन्दा सिनित्तै पारेर निखारी सेकपछिको सन्तुष्टिमा पनि एक किसिमको रमाइलो मानिन्थ्यो त्यो समयमा।
कुनै दिन पछि जोगाएर राखेको खानेकुरा खान तयार हुँदै गर्दा बटुका रित्तै भेटिन्थ्यो। हाम्रो व्यञ्जन वरपर छरछार पारेर ढाडे बिरालोले एक्लै रित्याइसकेको हुन्थ्यो। यस्तो अवस्थाले हाम्रो हंस नै मर्दथ्यो। त्यसपछि निराश हुँदै बारीमा फलेका काँचा अम्बा टिपेर दुःखले भोक मेटाएको सम्झना आयो।
आमाको शरीर दिनभरि कामको चपेटाले गलाएको र थकाइले लखतरान भएको हुन्थ्यो। त्यस्तो अवस्थामा पनि साँझको खाना तयार पार्नै पर्ने बाध्यता थियो। यो दायित्वको भारी निकै चुनौतीपूर्ण थियो भन्ने लाग्छ अहिले मलाई। अझ त्यो समयमा भिजेका दाउरामा सल्किन कठिन भएको आगोलाई बाँसको ढुङ्ग्रीबाट लगातार 'फू फू' गर्नुपर्ने हुन्थ्यो।
हामीलाई पनि त्यसरी पकाएर पस्किने समयसम्म पर्खिने धैर्यता रहन्न थियो। एकातिर उहाँहरू घर आइपुग्नु भएकोमा मनमा आनन्द लागेको हुन्थ्यो। अर्कातिर दिनभर प्रतीक्षाको पृष्ठभूमिमा बसेर भोगेको भोक र प्यासले हामीलाई पनि थकाएको हुन्थ्यो। यसपछि हामीलाई निद्रादेवीको काख प्यारो लागिहाल्थ्यो। रातको करिब दश बजेतिर धेरै पटक मैले निदाएकै अवस्थामा खाना मुसेको छु।
खपाखप खाना खाने क्रममा आफ्नो नाक वा गालातिर हात पुर्याएको छु। यति मात्र होइन, खाना टिप्न हात अघि सार्दा भुइँमा पुर्याएपछि झस्किएको छु। त्यसपछि मात्र तन्द्राबाट होस ठेगानमा आएको सम्झना गर्छु। नजिकै भएको बिरालो भने एक गाँस भात पाउन पर्खिरहेको हुन्थ्यो।
भोलिपल्ट बिहान आमाले 'हिजो बेलुकी खाना कति खायौ भन त?' भनेर सोधनी गर्दा कुनै जवाफ दिनै सकिन्न थियो। खाएको हो कि होइन भन्ने दोधारमा परेका हामी सन्ततिको अनुहार सायद आमालाई प्रिय लाग्थ्यो। उहाँ दोहोराइ तेहर्याइ सोधी दिनु हुन्थ्यो। यसरी नै बाल्यकालमा बिताएका रमाइला क्षणहरू कोशे ढुङ्गा भएर रहेका छन्।
हजुरआमा उहिले नै बितिसक्नु भएको थियो। उहाँको अनुहार कस्तो थियो होला भन्ने तर्कनाले सताउँथ्यो कुनै बेला। निकै फरासिली र माया लाग्दी हुनुहुन्थ्यो रे। यस्तो चर्चा सुनेर उहाँको काखमा लुटुपुटु गर्न मन लाग्दथ्यो। म बुबालाई हेर्थेँ। उहाँ हजुरआमाको काखमा लुटपुटिँदै हुर्किनु भएको कल्पना गर्थेँ। यति बुढो शरीर हजुरआमाका काखमा कसरी अटाउनु भयो होला र? सम्भव नै थिएन भनेर चित्त बुझाउँथेँ।
दुई वर्ष पहिले हाम्रै गोठमा ब्याएको गाईको बाच्छो हलक्क बढेर माउ जत्रै भएको यी आँखाले देखेकै हो। त्यसो भए त्यो बेला बुबा पनि हजुरआमाका काखमा अटाउन सक्ने गरी सानै हुनुहुन्थ्यो होला नि त भन्ने लाग्थ्यो।
मलाई 'कलौरी गाई दश वर्षको भएपछि बुढो भयो अब धेरै दूध दिँदैन' भनेर बेच्न चाहेको पनि याद आउँछ।
भर्खर दुई वर्ष पुगेको कैले बहरलाई 'अब दाउनु पर्छ' भन्दै माझ घरे राई जिबालाई जिम्मा लगाएको सम्झना हुन्छ। अनि झुले गोरु दश वर्ष जोतेर बुढो भएको कुराले सोच्न बाध्य बनाउँछ। त्यति बेला म औँला भाँचेर आफ्नो उमेर भर्खर एघार वर्ष पुग्न लागेको गणना गर्दथेँ।
दश, बाह्र वर्षमा नै गाई गोरु बुढो हुने कुराले मलाई पनि यसै गरी बुढो भइसकेको भावनाले सताउँछ। अझ उनीहरूको पन्ध्र वर्ष मात्र आयु हुने कुराले सताउँछ। त्यसपछि घरमा पालेका यी बस्तुभाउ खोजेर नि भेटिन्नन् है भन्दै म भित्रभित्रै अमिलो मन पार्थेँ।
झटपट बुबाको उमेर सम्झन्थेँ। आमाले अस्ति भर्खरै पल्ला घरे काकीसँग कुरा गर्दै हुनुहुन्थ्यो। उहाँ पैँतालिस वर्ष र हाम्रा बुबा पचास पुग्न लागेको भन्नु भएको थियो। त्यति बेला 'ए उहाँ त धेरै पाको मान्छे पो भइसक्नु भएछ त' भन्ने सोचेर एकतमासको शून्यता अनुभव गरेको थिएँ।
एक दिन हाम्रो विद्यालयमा पुतलीको जीवनचक्र पढाइ हुँदै थियो। विज्ञान पढाउने गुरुले भन्नु भयो, ' जातअनुसार वयस्क पुतली करिब एकदेखि चार हप्तासम्म बाँच्छ। वयस्क बन्नु पूर्व उसले अण्डा, लार्भा र प्युपा गरी तीन चरण पार गर्नु पर्दछ।'
गुरुले कक्षामा यसरी बताउँदै गर्दा मेरो मन भने बगैँचातिर दौडिन्थ्यो। मेरो मनको यात्रा त्यहाँका फूलको डाँठमा झुन्डिएका प्युपाको नजिक पुगिसकेको हुन्थ्यो। प्युपाहरू त पुतलीको पखेटा जस्तै देखिन्थे। लार्भा त देख्दै डर लाग्ने। वयस्क भइसकेका पुतलीहरू फुरफुर गर्दै उडेको कल्पना गरेर म आनन्द मान्न थालिसकेको हुन्थेँ।
गुरुले 'ए सन्देश, कहाँ हराएको?' भनेर कानको नजिक हात पुर्याउँदा मात्र झस्किन्थेँ। आकाशमा उडिरहेको पुतलीका पखेटा पनि म झसङ्ग भएसँगै बिलाउँथे। गुरुले यसरी नै कक्षामा पाठ सिकाइरहनु हुन्थ्यो।
'मान्छे जस्तै बोल्छ' भन्दै घरमा पालेको सुगा १२ वर्षसम्म बाँच्छ रे। पिँजडाको सुगा मात्र थोरै बाँच्ने होइन रहेछ। वनमा स्वतन्त्र उडी खाने सुगाको पनि समय उति नै हुन्छ रे। म गुरुका तर्कमा सहमत हुन्छु। तर पिँजडामा बसेको जीवन र रनबनमा उडिरहने जीवनका बिचको महत्त्व नि?
गुरुका कक्षाहरू निरन्तर चलिरहन्थे, हामी उत्साहपूर्वक सुनिरहन्थ्यौँ। कहिले भ्यागुताको ट्यार ट्यार, कहिले तोरीको जीवनचक्र। प्रकृतिसँग हारेको डाइनोसरको कथा। अजङको हात्ती पनि ६० देखि ७० वर्षसम्म बाँच्छ रे।
दियो बालेर साँझमा खाना पकाउँदा छिचिमिराहरू भुरूरू उडेर दुःख दिएको समय सम्झिन पुगेँ। खानासँगै हामीलाई पस्किएको तिहुनको कचौरामा उड्दै आएर देह त्याग गर्थे। भोलिपल्ट बिहान तिनै छिचिमिराहरू घरको सिकुवाभरि लडिरहेका हुन्थे। आँगनभरि कमिला ताँती लागेर आफ्नो भोजन बटुलिरहेका देखिन्थे।
मैले छिचिमिराको यो दृश्य देखेकै दिन गुरुलाई सोधेको थिएँ, ' यी छिचिमिरा चाहिँ कति बाँच्छन् गुरु?'
उहाँले हाँस्दै भन्नु भयो, 'यिनीहरू सतहमा उड्न थालेको करी २४ घण्टासम्म बाँच्छन्।'
मैले तत्कालै प्रतिक्रिया दिएँ, 'ए, यति छोटो समयमा पनि छिचिमिराहरू रमाउँदै पखेटा चुँडिने गरी नाच्दा रहेछन् त।'
कक्षामा हाँसो छायो। गुरुले सम्झाउनु भयो, 'हो नानी बाबुहरू, समय लामो वा छोटो जे भए पनि रमाउन जान्नु पर्छ। छिचिमिराबाट हामीले सिक्ने एउटा पाठ यो पनि हो।'
कुनै दिन मैले अनलाइनमा पढेको थिएँ, 'महिलाको अधिकतम आयु करिब एक सय पन्ध्र वर्ष र पुरुषको अधिकतम आयु एक सय चौध वर्ष जति हुन्छ। नेदरल्याण्डका वैज्ञानिकहरूले मान्छेको अधिकतम आयु पत्ता लगाएका रहेछन्।'
मैले कक्षामा यो कुरा सुनाएँ। अनि 'छिचिमिराको आयु र मान्छेको आयुबिच तुलना गर्न मन लाग्यो' भनेँ।
गुरुले छिचिमिराको २४ घण्टे आयुलाई मान्छेको आयुसँग तुलना गर्न थाल्नु भयो।
हिसाब गरेर उहाँले भन्नु भयो,' छिचिमिराले एक मिनेट बाँचेको समय मान्छेको लागि बयालिस हजार मिनेट बराबर हुने रहेछ। उहाँले हामीलाई यो समय दिनमा परिणत गर्न कक्षा कार्य दिनु भयो। कक्षाका जान्ने सहपाठीले करिब तीस दिन हुने रहेछ भनेर सुनाए।
छिचिमिराको एक घण्टा भनेको मान्छेका लागि चार वर्ष दश महिना बराबर हुने हिसाब निस्कियो।
अब सबैले आ आफ्नो उमेरलाई छिचिमिराको समयसँग तुलना गर्न थाल्यौँ। यसो गर्दा गर्दै त्यस दिनको कक्षा समय सकियो। समयको महत्त्व बुझाउन यो छलफलले राम्रै काम गरेको थियो कक्षामा।
आज बिरालो लुटपुटिँदै आएपछि मलाई त्यो कक्षाको छलफल याद आयो। मलाई उसको उमेरसँग तुलना गरेर हेर्न मन लाग्यो। बिरालोको अधिकतम आयु करिब पन्ध्र वर्ष मानिँदो रहेछ। यसका आधारमा दाँजेर हेर्ने हो भने मान्छेको आयु झन्डै आठ गुणा बढी हुने रहेछ। अर्थात् आठ वर्षको यो बिरालो मान्छेको आयुका तुलनामा साठी वर्षभन्दा पाको भइसकेछ।
मेरी आमा अहिले पैसठ्ठी वर्षकी हुनु भयो रे।
मेरो काखमा लुटपुट गरिरहेको बिरालो हेर्दा सानो छ। यो भर्खरको नै लाग्छ। घरका बच्चाको निकै प्रिय पनि छ। तर यो त आफ्नो उमेरले मेरी सानिमा सरह पो भइसकेछ। उसको आयुमा समयले निकै छिटो गति लिने रहेछ भन्ने लाग्यो।
'अर्को वर्ष नै तँ उमेरले मेरी आमाको पनि दिदीसरह बन्नेछस्' भन्दै मैले उसलाई सुमसुम्याएँ।
आँखा चिम्म पारेर घुरघुर गर्दै उसले पनि ममताको तरक्की गरिरह्यो।