पोहोरको दसैँमा म केही दिनका लागि प्रदेश राजधानी धनगढीको होहल्ला र थकान छाडेर गाउँ गएको थिएँ। सहरका सडकहरू चिल्ला छन् तर मन सधैँ जसो उकाली ओरालीमै हुन्छ।
गाउँ भने अझै उस्तै थियो। अलिक ओइलिएको तर अझै पनि साँच्चिकै घर जस्तो। दसैँमा आँगनमा बाक्लो जमरा देख्दा, आमा टीकाको तयारी गर्दै गरेको सुगन्धले भिज्दा, बाल्यकाल एकाएक फिर्ता आउँछ। भर्खरको जस्तै लाग्ने तस्बिरहरू जसमा म पातलो शरीर, सानो झोला र किताबले भरिएको हत्केला लिएर हिँडिरहेको छु।
यही फन्कोमा म घरको भित्रपट्टि बसेको थिएँ छानोमुनि। आज एकाएक किन-किन आमाले भनिन्- ‘छानोको कुनामा तेरो स्कुलको झोला राखिएको छ। तान त अलिक।’
म मुस्कुराएँ, ‘ए त्यो पुरानो झोला?’
मनमा अनेक थरी यादहरू लिएर त्यो झोलातिर हात बढाएँ। प्लास्टिकको च्याप्पीहरू अलिक फुस्रा भइसकेका थिए, धुलो झार्दै झोला खोलेँ। झोलामा थियो धामी सरले कर लगाएर किनेको एभरेस्टको एटलस, केही रुचि चाउचाउका खोल, केही फुटेका कलमका ढक्कन, आधा सामान भएको ज्यामिति बक्स, नैतिक शिक्षाको आधा धमिरा लागेको किताब अनि त्यहाँ भेटियो एक जना पुरानो साथीकै अक्षरमा लेखिएको एउटा पत्र।
सायद कक्षा १० को अन्त्यतिरको समय हुनुपर्छ। जहाँ हामीले बिस्तारै अलि नजिक भएर कुरा गर्न थालिरहेका थियौँ। तर बोल्ने आँट, थाम्ने हिम्मत र बुझ्ने समझदारी अझै परै थियो होला। गाउँको स्कुल जहाँ एकअर्कासँग बोल्दा पनि अजीव तरिकाको व्यवहार र कुरा सहनु पर्थ्यो।
त्यो पत्र खोल्नासाथ पहिलो लाइनले मेरो मुटु अलिक दरिलोसँग ढकढकायो। जसमा निलो मसीको कलमले लेखिएको थियो-
‘म तिमीलाई केही भन्न चाहन्थेँ तर कहिल्यै भन्न सकिनँ। तिमीसँगै हुँदा धेरै कुरा भन्न मन लाग्थ्यो तर शब्दहरू गुम्थे। तर आज यो पत्र लेख्दै छु ताकि कुनै दिन हजुरलाई पढ्न मिलोस् र थाहा होस म म हजुरलाई कति माया गर्थेँ।
हजुरले सायद कहिल्यै महसुस गर्नुभएन तर हजुर मेरो लागि प्रत्येक दिनको सुरुवात हुनुहुन्थ्यो। हजुर कुन नोटमा अड्किनुभयो म त्यो बुझ्ने कोसिस गर्थे। तपाईँलाई स्कुलमा कहिले सरले गाली गर्दा म रातभर निद्रा नलागी छटपटी रहन्थेँ। मेरो डायरीका सबै पानामा पहिलो शब्द हजुरकै नामको पहिलो शब्दबाट हुन्थ्यो। तपाईँ नहुँदा पनि तपाईँको मिठो बोली र मुस्कान मेरो मुटु र आँखामा हुन्थ्यो।
म बिना कारण हाँस्थेँ, मेरो हाँसोमा सबैभन्दा बढी हाँस्ने पनि हजुर नै हुनुहुन्थ्यो। तर मेरो हाँसोमा हजुर हुनुहुन्थ्यो, हजुरको हाँसोमा म थिइनँ।
म सधैँ चाहन्थेँ, हजुरले पनि मलाई हेर्नु बुझ्नु। तर म डराउँथेँ, मेरो प्रेमले हाम्रो मित्रता बिथोलिदिने भनेर। त्यसैले मौन रहेँ। तर त्यो मौनताभित्र म हजुरलाई दिनदिनै मनमनै बोलाइरहेकी थिएँ।
एक दिनको कक्षा प्रस्तुतिमा हजुरले भन्नुभएको थियो- जीवनमा सबै कुरा समयमै गर्नु पर्छ। तर मैले त्यो समय चुकाएँ र आज यो चिठि लेख्दै छु जुन सायद हजुरले पढेपछि कुनै दिन मलाई बोलाउनु हुनेछ सानी भनेर।
मलाई थाहा छ, तपाईँ आफ्नो झोला र किताबमा ध्यान दिनुहुन्न। यो पत्र समयमा नपढेपछि तपाईँ सायद कतै अर्को सहरमा गइहाल्नु हुन्छ होला। सायद तपाईँलाई कसैले माया गरिरहेको हुने छ।
तर यदि एक पटक सम्झिनु पर्यो भने बिना शब्द माया गर्ने त्यो साथीसँग पनि कहिल्यै नजर नझुकाएको स्मरण गर्नुहोला। म त्यस दिनको सम्झनामा सधैँ बाँच्नेछु जब हजुरले मेरो टिफिनको बट्टा फर्काउनु हुन्थ्यो र मुस्कुराउनु हुन्थ्यो। त्यही मुस्कान मेरो संसार थियो।’
म झस्किएँ। सधैँ मेरो अगाडि बसेर टिफिन साट्ने, क्लास नोट साझा गर्ने, ट्युसन जान हिँड्दा सँगै चुपचाप हिँड्ने उनी जसलाई मैले केवल ‘साथी’ ठानेको थिएँ उनी त मप्रति प्रेम गर्थिन। तर मलाई त यो कुरा अहिलेसम्म थाहा थिएन। म त उनीप्रति कहिलेकाहीँ आकर्षण महसुस गर्थेँ होला तर त्यो गहिरो नबुझेको रहेछु।
मेरो बानी त्यस्तै थियो कि हतपत कसैसँग नबोल्ने। बोले पनि कामको लागि मात्रै नभए बरु हाँसो मजाकमै दिन बिताइदिने। तर उनी चाहिँ मेरो मनको गहिराइसम्म मलाई साथ दिइरहेकी रहिछन्। पत्र सकियो तर मेरो भित्र केही थामिएन।
तपाईँलाई थाहा छ? कहिलेकाहीँ सबैभन्दा गहिरो प्रेम त्यो हो जुन भनिएन र आज सबैभन्दा गहिरो पीडा त्यो हो जुन माया कसैले गरेको रहेछ भन्ने कुरा धेरै ढिलो थाहा पाउनु।
अब उनी कहाँ होलिन्? सायद कसैकी श्रीमती, सायद विदेश, सायद फोन नम्बर परिवर्तन भइसकेको होला। तर म चाहिँ त्यही झोलासँग, त्यो चिठीसँग बसेको छु। म त्यही दिन फेरि बाँचिरहेको छु, जब मलाई तिमी भन्न खोजिए पनि भनिएको थिएन। सायद त्यो दिनमा अहिले बाच्न पाए म तिमीसँगै हुन्थेँ होला तर...
हामी सोच्छौँ, प्रेम भनेको साथमा हिँड्नु, हात समाउनु वा प्रेम प्रस्ताव गर्नु हो। तर अहिले बुझ्दै छु, कहिलेकाहीँ प्रेम भनेको समयमै नबुझिएको त्यो मौनता पनि रहेछ। त्यो किताब साट्दा हेरिएको नजर, त्यो ‘ठिकै छ नि’ भन्ने हल्का बोली र त्यो कसैलाई थमाइदिएको चिठी जुन उसले भेट्दैन सायद कहिल्यै।
तर मैले चाहिँ भेटेँ आज। दसैँको त्यो साँझ, घर फर्किएर, पुरानो ब्यागबाट त्यो चिठी भेटियो। बल्ल थाहा पाएँ, उनी मप्रति प्रेम गर्थिन्। सम्बन्धहरू बाँधिन्छन्, केही बाँधिएर बाँच्दछन्। केही बाँधिन नपाई सम्झनामा मात्र बाँच्छन्। उनी पनि सम्झनामा बाँचेकी रहिछन्। तर प्रेम चाहिँ, त्यो त म अहिले मात्र बुझ्दै छु। अहिले भन्न मन छ ‘सानी’।