सत्तारूढ नेकपा (एमाले) विधान अधिवेशनको तयारीका लागि सचिवालय बैठक बोलाएको छ। एमाले सचिवालय बैठक बुधबार दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बोलाइएको हो।
बुधबार बस्ने बैठकमा विधान अधिवेशनबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार भोलि बस्ने बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक, सांगठनिक प्रस्ताव तयार पार्नेबारे छलफल हुनेछ।
‘भोलि बस्ने बैठकमा विधान संशोधन प्रस्ताव, राजनीति र सांगठनिक प्रस्ताव तयार पार्नेबारे छलफल हुनेछ। सचिवालय आफैले प्रस्ताव तयार र्पा पनि सक्नेछ, समिति बनाउन पनि सक्नेछ,’ उनले भने।
गत माघ ८ गते बसेको सचिवालय बैठकले दोस्रो विधान अधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज हलमा हुँदैछ। विधानतः विधान महाधिवेशन हुनु एक महिनाअगाडि नै विधान संशोधन प्रस्ताव सुझावका लागि तल्ला कमिटीमा पठाइसक्नुपर्नेछ।
चितवनमा भएको दसौं महाधिवेशनका प्रतिनिधि नै यो विधान महाधिवेशनका प्रतिनिधि हुनेछन्।
एमालेभित्र ७० वर्षे उमेरहद राख्ने कि फुकुवा गर्ने भन्ने बहस चलेको छ। त्यस्तै कार्यकारी कमिटीमा लगातार दुई वर्षभन्दा बढी बस्न नमिल्ने प्रावधान राख्नुपर्ने पनि आवाज उठिरहेको छ। एमालेको नवौं महाधिवेशनमा यी दुवै प्रावधान थियो।
तर पहिलो विधान महाअधिवेशनपछि ७० वर्षे उमेरहदमात्रै राखिएको थियो। कार्यकालको प्रावधान थिएन।
७० वर्षे उमेरहद पनि २०८० जेठमा एकीकृत समाजवादी छाडेर एमाले फर्किएका मुकुन्द न्यौपानेहरूलाई जिम्मेवारी दिनभन्दै स्थगित गरिएको थियो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवालीलगायत नेताहरूले उमेरहद राख्नुपर्ने बताउँदै आएका छन्।
उमेरहदकै कारण एमालेमा तत्कालीन नेता भरतमोहन अधिकारी, सिद्धिलाल सिंह लगायत नेता सक्रिय राजनीतिबाट बिदा भएका थिए।