यो दुनियाँमा आफ्नो छोराछोरीको कुभलो चिताउने बा-आमा हुन्छन् होला र? जहाँसम्म लाग्छ हुँदैनन् होला। सिवाय अपवाद, त्यो पनि स्वास्थ्य समस्याका कारण। हुन त सबै कुरा चाहे, जस्तो भने जस्तो हुँदो हो त यो जगतको स्वरूप नै अर्को हुन्थ्यो होला। त्यहीँ नभएर नै त होला जीवनलाई सम्झौता भन्ने गरेको।
मैले पनि अनेकन् बाधा-अड्चनको बाटो कुबाटो छल्दै सम्झौताको हरियो झन्डा बोकेर जिन्दगीलाई आधा बाटो तिर ल्याई पुर्याइसकेको छु। प्रतिकूल परिस्थिति, सोचेभन्दा बेग्लै परिवेशहरूसँग लड्दा-लड्दै समयको छिनाले छियाछिया पारेको जीवन आधाभन्दा बेसी पाकेको छ, थाकेको छ; हिँडेर होइन, आफ्नाहरूको अनुपम उपहारमयी सद्भावका कारणले।
एउटा विकट गाउँको निर्धन परिवारमा आधा शताब्दी अगाडि जन्मेको। बालक अवस्थामै बा’ले छोडेर जानुभयो। मभन्दा मुनि दुई भाइ थिए। कान्छो भाइ बा बित्दा एक वर्षको मात्रै थियो। म पुग नपुग सात वर्षको। बाको मृत्युपछि आमा एक्ली भइन्।
एकल आमाको छत्रछायामा हुर्कियो। स्कुल जान थालियो। माध्यमिक तहदेखि माथिको शिक्षा लिन सकिनँ। पढ्न नचाहेर होइन, पढ्न नपाएर। मेरो जिन्दगीको शैक्षिक गोरेटोमा तगारो लाग्यो। परिबन्धको अगाडि मेरो केही जोर चलेन। मैले हारेँ। प्रारब्धको आदेशलाई स्विकार्दै हत्या गरिदिएँ मनको रहरलाई, मनकै तरबारले मार हानेर मनमनै।
जेठो छोरा भएकोले घरायसी कामकाजमा सदा जेठो नै हुन्थ्यो। मेलापात, अर्मपर्म, वन पाखा, खेतखलियान, बारीको पाटाहरूमा जिन्दगीको अलिखित कथा र कविता कोर्दै। निखार्दै थियो जिन्दगी। ठिकै थियो। खुसीयाली थियो। सानोतिनो कुरामा पनि धेरै खुसी मिल्थ्यो। मज्जाले नचले पनि ठिकै चलेको थियो।
ठुलो भाइ पनि आमालाई सघाउने भइसकेको थियो। मैले गर्ने घरायसी काममा ठुलो भाइले हात हाल्न थालेपछि म घरबाट निस्केको थिएँ पहिलो पटक, केही काम गरेर पैसा कमाउन।
पैसाको जरुरी थियो। त्यहीँ पैसाको खोजीमा निस्किएँ घरदेखि सहरको यात्रामा। सहर पुगियो। टाढाको चिनजान नातेदारले एउटा फर्निचर उद्योगमा साधारण काम लगाइदिए। मासिक साढे सात सय हुन्थ्यो तलब। बस्नलाई त्यही उद्योगको एउटा कुनामा बनेको टहरा उपलब्ध गरेको थियो।
लगभग एक वर्ष जति काम गरियो। घर चलाउन निकै सहयोगी भूमिका खेलेको थियो त्यहाँको मेरो कमाइले। त्यसपछि धेरै ठाउँहरूमा अनेकौँ काम गरियो। होटेल, रेस्टुरेन्टदेखि पुरानो घर भत्काउने ज्यामी कामसम्म। कहिलेकाहीँ त सानोतिनो ट्रेकिङको काम पनि गरियो।
समय बगिरहेको थियो। समयको बहावसँगै म ठुलो भएँ। आमाले बुहारीको इच्छा गर्नु भयो। आमाको इच्छालाई स्विकारेँ। स्वीकार गर्नु बाध्य थिएँ म। आमाको इच्छाबमोजिम मेरो बिहे भयो।
बिहे भएको थुप्रै वर्षपछि छोरी जन्मिइन्। छोरी जन्मिएको केही वर्षपछि छोरा अर्थात् तिमी जन्मियौ। तिमीलाई नै भनेको हो, धन्यवाद छोरा!
किन बा’ले धन्यवाद छोरा भन्यो भनेर आश्चर्य नमान्नू। छोरा, तिमी जन्मेको साल मलाई जन्म दिने आमाको देहावसान भएको थियो। आमाको मृत्यु बियो गले वियोगान्त बनाएको मेरो जीवनमा तिम्रो आगमनले निकै राहत दिलाएको थियो। टुटेको मन भुलाउने बहाना पाएको थियो। तिमी जन्मेको वर्षको वरिपरि माओवादी जनयुद्धको पारा आकासिएको थियो। जसको कारणले मैले काम गर्दै गरेको निजी होटेलहरू प्रायः थला परेको थियो। ती थलाले लगभग म मात्रै होइन, लाखौँ युवा बेरोजगारको चरम मारमा परेका थिए।
बिस्तारै तिमी हुर्कँदै थियौ। तिमीहरूको हुर्काइसँगै बा हुनुको जिम्मेवारी बढ्दै थियो। तिमीलाई थाहा थिएन घरको अवस्था त्यो बेला जुन बेला तिमीहरूलाई छोडेर परदेश निस्केको थिएँ म। अहिले त थाहा भयो होला नि, हामी कुन हैसियतको मान्छे थियौँ भनेर?
थोरै बारी थियो। खेत थिएन। एक बाली हुने बारीको अन्नले खानासम्म पुग्दैन थियो। केही घरको आर्थिक अभाव र बाँकी देशमा भएको राजनीतिक उथलपुथल थियो परदेशिनुको कारण। म परदेश अर्थात् अरबको कुनै देशमा आउँदा तिमी मात्रै चार वर्षको थियौ। म २८ वर्षको। त्यो उमेरमा धेरै सपनाहरू बोकेर परदेशिएँ।
त्यो बेला तिमी सामुदायिक स्कुलमा जाने गर्थ्यौ दिदीसँगै। परदेशको पराई कामबाट पाएको पहिलो तलबबाटै तिमीहरू दुईमा शिक्षाको लागि जतिसक्दो अर्पण गर्न मन थियो। जस्तो सोचेको उस्तै गरी। मलाई लोभ थियो शिक्षाको। हुन सक्छ आफूले पढ्न नपाएर होला।
त्यहीँ भएर सामुदायिक स्कुलबाट निकालेर दिदीभाइलाई उतै घरदेखि पायक पर्ने निजी स्कुलमा भर्ना गरियो, राम्रो शिक्षा मिल्छ कि भन्ने आशाले। अनि म जसरी पढ्नबाट बन्ञ्चित नहोस् भन्ने हेतुले। तिमीहरूको निम्ति नै जीवनको उर्वर ऊर्जाशील समय बेचिरहेँ अरूको देशमा। रेमिट्यान्सको बदला रगत पसिना खर्चेर।
चोटहरूको करौँतीले जब पीडाको काठ चिर्दै जान्छ तब वास्तविक जीवनको बोध हुँदो रहेछ। बिस्तारै लाग्छ जुगले कोमल मुहारको खेतमा चाउरीले हलो जोतिरहे। त्यहीँ चाउरीको डोबमा आँसु र पसिना मिसिएर बगेको भल जिन्दगीको फेदीमा पुगिरहेको हुन्थ्यो।
छोरा सम्बोधन गरेर मैले भोगेको व्यथाको कथा लेख्दा तिमीलाई दुख्छ। रिसको पारा हाई भएर शिरको टुप्पोमा रहेको टुप्पीबाट धुवाँ निस्कन सक्नेछ।
थाहा छैन सही गरेँ कि गलत? तर मैले मनको अन्तरकुन्तरमा लुकेर बसेको कुरालाई अक्षरको रूप दिएर ओकल्ने दुस्साहस चाहिँ पक्कै गरेको हो। अक्षरको रूप दिएर ओकल्दै गर्दा मनभित्र बिझेको काँडाले निकास पाएर निस्केको जस्तै हुँदै छ। मेरो यो दुस्साहसले मलाई थाहा छ हाल तिमीलाई छुँदैन, कालान्तर अर्थात् केही वर्षपछि छुन सक्छ। सायद त्यति बेलासम्म म नहुन पनि सक्छु।
हो छोरा, मेरो अनवरत मेहनतको बारीमा तिमीहरू खुसीको फूल बनेर फुल्दै थियो। मैले सक्ने गरेको थिएँ तिमीहरूको निम्ति। मैले जस्तै जिन्दगीको बाटोमा योग्यता बिना खानु परेको हन्डर र ठक्कर तिमीहरूको जिन्दगीमा नपरोस् भनेर प्रयास धेरै गरेको थिएँ।
तिमीहरूको सफल अनि सफा भविष्यको निम्ति मैले नबुझेको देशका मान्छेको नबुझ्ने गाली त कति खाएँ खाएँ। गाली मात्रै होइन, उनीहरूका मान्छेको छनोट भन्दाको बाहिर पर्ने गाह्रो-साह्रो काम गरिरहेँ। एक मुठ्ठी सास भएको मेसिन जस्तै बनेर। हो, मैले धेरै पीडा खेपेँ। पोलिथिनको झोलामा अरबको गर्मीले गुम्सेर बेस्वादिलो भएको खाना खाँदै गर्दा भोकको मतलब के हो भनेर बुझेँ। च्यारिटी स्टोरको सेकेन्ड ह्यान्ड कपडाहरूमा जिन्दगीको लाज भन्ने कुरा छोपेको दर्दनाक यथार्थको भुक्तभोगी हुँ। केवल तिमीहरूको लागि भनेर।
कहिलेकाहीँ पाउने छुट्टीमा दुखेको मन बोकेर सुसाउँदै गरेको अरब सागर किनारमा खिचेर फेसबुक वालमा हालेको फोटो हेरी मेरो वैदेशिक रोजगारको मूल्यांकन गर्थ्यौ। परदेशमा पैसा सजिलोसँग कमाइन्छ भनेर अनुमान गर्थ्यौ। यथार्थमा कति गाह्रो हुन्थ्यो, त्यो त भोग्नेलाई थाहा हुन्छ।
निर्जन मरुभूमि हुँदै बगेको तातो हावाले एक पटक होइन पटक पटक ढाल्थ्यो। ढाल्यो भनेर ढलिनँ। तिमीहरूको सुन्दर सुदूर भविष्य सम्झेर लागेको रोग निको नभए पनि निको भएको जस्तो बनेर कहिल्यै काममा गयल हुन जानिनँ।
विचित्रको छ दुनियाँ। यहाँ पसिना बगाउनेको होइन, पसिना नबगाउनेहरूको चकाचक छ जिन्दगी। मन मनै कल्पन्थ्यो। कास म पनि एयर कन्डिसन युक्त चिसो कोठामा बसेर कम्प्युटरको माउस चलाउँदै दिन कटाउन पाए! तर मेरो जिन्दगीमा त्यस्तो दिन कहिल्यै आउँदैनन्। आउने पनि थिएन। किनभने मैले पढे लेखेको थिइनँ। जुन प्रकारको कामको निम्ति।
त्यसैले छोरा, मैले तिमीहरू म जस्तो नहुन् भनेर जोतिइरहेँ खेतमा, अनवरत जोतिइरहेँ गोरुले जसरी। त्यो पनि अरूको देशमा। समय दिन महिना वर्ष बनेर जिन्दगीलाई झुक्काएर अघि बढ्दै थियो। त्यहीँ झुक्काइमा तिमी बिस्तारै तन्नेरी हुँदै थियौ अनि म बिस्तारै बुढा।
म बुढो हुँदै जानु भनेको तिमी तन्नेरी हुँदै जानु हो। त्यहीँ तन्नेरी उमेरसँगै तिमी गाउँ छेउको प्राइमरी स्कुलबाट गाउँदेखि अलि टाढा पर्ने माध्यमिक बोर्डिङ स्कुलमा सरेका थियौ। तिमीमा कोर्समा रहेको शिक्षाको अलावा अरू अरू प्रतिभा प्रशस्तै थियो। जस्तो चित्र बनाउनु, फुटबल खेल्नु अनि गाउनु।
सायद तिमीमा भएको गायन प्रतिभाको कदर तिमी आठ कक्षामा अध्ययन रहँदा बागमती अञ्चल व्यापी एउटा गायन रियालिटी सोमा फस्ट रनर अप भएको कुराले प्रमाणित गरेको थियो।
आमाको वात्सल्य र दिदीको प्रेममा हुर्कँदै थियो तिम्रो जिन्दगी। दिदी तिमीभन्दा दुई कक्षाले अघि थिइन्। सायद पितृसत्तात्मक सोचको धङधङीले होला, दिदीले एसइई पास भएपछि एक्लै काठमाडौँमा सिफ्ट नगरेर तिमीसँगै आउने हेतुले उतैको प्राइभेट कलेजमा प्लस टु गर्न लगाएको थिएँ।
जब तिमीले एसइई पास गर्यौ, त्यसपछि तिमीहरू दुवै जना सपनाहरूको सहर काठमाडौँ भित्रिएका थियौ। मैले मेरो गच्छेले भ्याएसम्मको काठमाडौँमा नाम चलेकै प्राइभेट कलेजमा भर्ना गरिदिएँ।
मेरो तर्फबाट केही थिएन रोकटोक। तिमीहरू आफैले चुनेको विषय लिएर अध्ययनलाई अगाडि बढाउँदैै थियौ। खुसी थिएँ म। फगत कोरा कल्पनामा तिमीहरूले हासिल गरेको प्रगतिमा चुर्लुम डुबेर। हौसिएर बुढो हुँदै गरेको शरीरलाई जोताइरहेको हुन्थेँ अनवरत अरूको देशमा।
छोरा, निकै उत्साहजनक थियो है ती दिनहरू जुन दिनहरूमा तिमी खुलेर बात मार्थ्यौ मसँग?
तिमीले प्लस टु सके लगत्तै सोही कलेजमा तिम्रै इच्छाअनुसार होटेल म्यानेजमेन्ट विषय लिएर आफ्नो अध्ययनलाई निरन्तरता दिँदै थियौ। निकै गहिरो गहकिलो कुरा गर्थ्यौ। खुसी लाग्दथ्यो, अब छोरा बुझ्ने भएछ भन्ठानेर।
तिम्रो आमाले कहिल्यै गुनासो गरिनन् तिम्रो बारेमा। जहिल्यै राम्रो छ, राम्रो गर्दै छ भनेर सुनाउने गर्थिन्। सुसमाचारहरूले म ढुक्क थिएँ। तिमीले पक्कै राम्रै गर्दै छौ।
बेस्सरी थाहा थियो मलाई पनि, परिवार सँगसँगै बसेर जीवन जिउने बारेमा। थाहा हुँदाहुँदै एक प्रकारको बाध्यताले नै भनौँ, त्यहीँ बाध्यताको फेरो समाएर निस्केको थिएँ दुई दशक अगाडि घरबाट परदेशको निम्ति। परदेशमा बगाएको रगत पसिनाले सिँचेर हुर्कँदै थियो तिमीसँगै तिम्रो शिक्षा-दीक्षा।
म ढुक्क थिएँ। तर कहिलेकाहीँ धेरै विश्वस्त भएर ढुक्क हुँदै गर्दा घातको प्रहारहरू नजानिँदो ढंगले सोझिन आउँदा रहेछन्। अनवरत कुदिरहेका सुधो जिन्दगी माथि।
हो छोरा, पहिला-पहिला धेरै ठिक भएर हिँड्ने तिमीमा बिस्तारै परिवर्तनको रंग देखिन थालेको कुरा कहिलेकाहीँ सुन्नमा आउँथ्यो। मैले त्यत्ति धेरै चासो दिइनँ। तिमी पढे लेखेका मान्छे हो। बुझ्ने बुझकी भएका छौ। जे गर्छौ राम्रै गर्छौ भन्ने ठानेर तिमीहरूप्रति नतमस्तक भएर बाँचिरहेँ। सके जत्तिको तिमीहरूको आधारभूत आवश्यकताहरूलाई पूरा गरेर।
म भित्रभित्रै निकै पुलकित थिएँ। मैले गरेको मेहनतलाई खेर जान दिन्नौ भनेर। तर जिन्दगी सोचेको जस्तो नहुँदा रहेछ। मज्जाले थाहा हुँदै छ, थाहा मलाई तिमीले दिलाउँदै छौ। केही समय यता तिमी मनमौज साथ हिँड्दै गरेको कुराले अनि बाटोको ट्र्याक छोडेर अन्तै कतै हिँडेको गाइँगुइँ खबरले।
हो छोरा, हाल तिमीले गरेको हरेक निर्णय तिम्रो लागि जायज होला। तिम्रो लागि हो पनि। तर त्यहीँ कुराहरूलाई मसँग सेयर गरेको भए के बिग्रन्थ्यो? मैले तिमी भनेर आफू बिर्सेर गधाले जसरी दुःख गरिरहेँ। तर तिमीले बिस्तारै-बिस्तारै मलाई पराई जस्तै ठान्यौ।
दुखी छैन म। मैले भनेको थिएँ तिमीलाई धेरै पटक, म तिम्रो बा मात्रै होइन साथी हो। खुलेर बोल, कुरा नढाँट्नु भनेको थिएँ। तर तिमीले त्यस्तो कहिले गर्न चाहेनौ। जब तिमी ठुलो भयौ, आफैले आफैलाई के-के न हो भन्ठान्यौ। तिमी बिस्तारै घमन्डको भर्याङ चढेर अभिमानको भन्ज्याङमा पुगेर बिर्सन थाल्यौ बिस्तारै धेरै कुरालाई। जुन कुराहरू जिन्दगीलाई अति आवश्यक थियो।
निकै ठुलो निर्णय गर्दा ती निर्णयमा मलाई समावेश गर्न जरुरी ठानेनौ तिमीले। मेरो बाले मेरो विवाह हेर्न नपाएर बिते। तिमीले म जिउँदै हुँदाहुँदै त्यति ठुलो कार्यमा सल्लाह लिन जरुरी ठानेनौ। आफू खुसीले विवाह दर्ता गर्यौ। औपचारिकता निभाउन खबर पठाएका थियौ।
ती खबर ‘लगन पछिको पोते’ जस्तै भएको थियो मेरो निम्ति। त्यो कुरामा केही छैन गुनासो। तिमीले जे गर्यौ तिम्रो जिन्दगीको लागि गर्यौ। मेरो कुरा यत्ति मात्रै हो, सल्लाह गरेको भए तिमीलाई के आपत् आइपर्थ्यो?
तिमी धेरै राम्रो थियौ। तर अब जे-जे हुँदै छ, जे-जे गर्दै छौ तिमीलाई हालको लागि ठिक लागे पनि भोलिपर्सी पछुतो मान्ने छौ। यो मेरो अनुमान मात्रै हो। मैले अनुमान गरेको जस्तै हुन्छ भन्ने छैन। मेरो अनुमान फेल हुन पनि सक्छ।
तिमीसँग अतिरिक्त खुबी थियो। त्यहीँ खुबीलाई पुनः एक पटक आफ्नो जिन्दगीमा ढालेर देखायौ। हालसालै चर्चित एउटा गायन रियालिटी सोमा भाग लिन पुगेका रहेछौ। सुरुमा मलाई थाहा दिएन। पछि थाहा पाएँ।
एउटा बाले गर्नुपर्ने भौतिक सहयोग सिवाय आर्थिक, नैतिक, सामाजिक सहयोग खुलेर गरेँ। हजारौँबाट सयौँ हुँदै छैटौँ स्थानमा पुग्न सफल भएका थियौ।
म औधी खुसी थिए। म मात्रै होइन, तिमीलाई मन पर्ने धेरै विशेष गरी तिम्रो लागि घाम-पानी, भोक-तिर्खा नभनेर लागिपरेका गाउँघरको दाजुभाइहरू अनि सिंगो नगर, साथसाथै नगर प्रमुखको साथ र सद्भाव विशेष थियो। धेरैले सहयोग गरेका थिए तिमीलाई। धेरैको मन जितेका थियौ तिमीले।
रियालिटी सो सकियो। तिमी फाइनलसम्म नपुगे पनि फाइनलमा उपस्थिति जनाएर गीत गायौ। क्याम्पिङबाट फर्केका थियौ। फर्के लगत्तै तिमी आफू जन्मेको ठाउँमा जानु पर्ने थियो। कति राम्रो संयोग थियो। त्यहीँ बेला हाम्रो गाउँमाथि प्रसिद्ध भगवतीको मन्दिरमा मेला थियो। त्यहीँ मेलाको छेको पारेर तिमीलाई विशेष अतिथि बनाएर बोलाइएको थियो।
त्यहाँ तिमी जसरी पनि उपस्थिति भएर आफ्नो भाव राख्नु पर्ने थियो। सधन्यवाद दिनु थियो। तिमीलाई चाहनेहरूले तिम्रो नाम लेखेर ब्यानर फोटो टाँगेका थिए। तिमीलाई भनेर माला र खादा ठिक पारिएको थियो। त्यो बेला म त्यो ठाउँमा नभए पनि एक एक कुराको जानकार थियो मलाई। तर तिमीले त्यस्तो गरेनौ। चाहेर होस् या नचाहेर तिमी अन्तै गयौ। जहाँ जानु पर्ने कारण केही थिएन।
मुर्दा शान्ति बनेर लाज
निर्लज्ज उभिए सास निख्रेको सालिकसँगै
निश्चल विश्वासहरू घात बनेर जले
तिम्रो घमन्डको चितामा
तिम्रो आगमनको निम्ति टाँसिएको थियो तिम्रो तस्बिरहरू भित्ता-भित्तामा। तर तिमी गएनौ।
भिजे तिम्रा तस्बिरहरू तिमीलाई माया गर्नेहरूको आँसुले
तिम्रो उद्दण्डता ब्यहोराले
हाँस्दै छन् बैरी खित्का-खित्कामा
तिम्रो निम्ति खर्चेको
थुप्रै व्यक्तिको बोलीहरू
बिना कसुर
अपहेलित हुँदै झुटको घुम्टो ओढेर
हिँड्न विवश भए
आउँछु भनेर तिमी नआएको बाटो-दोबाटोमा
अनि थाहा छ?
तिमी माथि चढाएको
ताजा प्रेम र सद्भावका पात्ती
कठै! ओइलिएर हुन बाध्य भए लज्जावती झार जस्तै
अभिमानको मुस्लो बालेर, धपक्क बलेको नठान
जतिसुकै फुरफुर गरे पनि, बले पनि
खाने सफलता होइन भातै हो,
सुत्ने कल्पनाको महलमा होइन काठको खाटमै हो
अन्तमा जाने घाटै हो ।
छोरा! आधा शताब्दीको जिन्दगीको दर्मियानमा दुई पटक ठाउँ-ठाउँमा प्वाल पारिसकेको छ डाक्टरले मेरो शरीरमा। ती घाउहरू पुरिसकेको छ। दुख्दैन अचेल कहिले पनि। तर तिमीले अहिले आएर मेरो मनमा गज्जबको घाउ बनाएका छौ जुन सायद अब कहिल्यै ठिक नहोला जस्तो लाग्छ।
मैले तिमीलाई कहिल्यै केही भनिनँ। कहिल्यै यस्तो गर भनिनँ। उसो गर भनिनँ। सके जत्तिको गरेकै हो। तर तिमीले आफू उम्रेको परिवेश बिर्सेर खोइ के भनौँ? तिमी आलोकाँचा छैनौ। तिमीले बुझेका छौ। बुझेर पनि अबुझ बनेको तिमीलाई सम्झाउने शब्द भेटाउन सकिनँ।
जिन्दगी आज मात्रै होइन, धेरै हिजोहरू अनि अनिश्चित थुप्रै भोलीहरूको खात हो। ख्याल ठट्टा सम्झेको छौ। भोलिपर्सी सम्झेर याद गर्नेछौ अवश्य। तर धेरै कुराहरू टाढा पुगिसकेको हुनेछ। सम्झेर पछुताउनुको विकल्प अरू केही रहने छैन।
छोरा, म त जीवनको, परिवारको समीकरण सन्तुलन गर्ने मेसोमा लाग्दा लाग्दै यति धेरै टाढा पुगिसकेको रहेछु। तन्नेरीमा परदेश झरेको शरीर बिस्तारै बुढो हुँदै छ। आशा र भरोसा सम्झेको तिमीले खै के-के गर्दै छौ! तिम्रो चिच्याएर चिथोर्न अघि तम्सेको वर्तमानले म आफूलाई न फर्केर पहिलाको ठाउँमा पुर्याउन सक्छु। न तिमीलाई समझदारी बनाएर नैतिकता गोरेटोमा हिँडाउन सक्छु।
अब त सम्झेर आँखा भिजाउनु सिवाय अरू केही रहेन। बाँकी खाली जिन्दगीको खाली पठारहरूमा।
मैले तिमीलाई कहिले पनि परिबन्धको सीमारेखामा कैद गरिनँ। यसो गर, उसो गर भनिनँ। उन्मुक्त छोडिदिएँ तिमीलाई स्वतन्त्रताको आकाशमा उड्दै गरेको चंगालाई जसरी। तिमी चंगा बनेर उड्दै गयौ। जिन्दगीको आकाशमा मैले प्रेमिल लट्टाईमा बेरेर बसेको मायाको धागोलाई ममतापूर्वक छोडिरहेँ। धागो छोड्दा छोड्दै तिमी त त्यति टाढा पुगिसकेको रहेछौ जुन दूरीको कल्पनासम्म गरेको थिइनँ मैले।
अब मन अत्तालिएर मुटुलाई पीडा दिन्छ। सम्मानपूर्वक सम्झाउन अर्ति उपदेशमा खर्चेको वाक्यांशहरू अट्टहास हाँसोमा अचेल मलाई घोची-घोची जिस्काउँछ।
म त केवल मार्ग निर्देशन गर्ने तिमीभन्दा धेरै कम पढेको अनपढ बबुरो परदेशी बा न थिएँ। तिम्रो मभित्र, मस्तिष्क भित्र छिरेर तिम्रो चाहनाको एक्स-रे गर्न सम्भव थिएन।
ठिकै छ छोरा। एउटा बाबुले गर्नुपर्ने कुराहरू इमानदारिता साथ गरेकै थिएँ। तर तिमीलाई भएन या पुगेन। जे-जे गर्छौ इमानदार साथ सँगै गर। दुनियाँ तिमीले सोचेको भन्दा बिलकुल फरक छ। अनि एउटा कुरा कहिल्यै नबिर्स, बा र आमाको छोराछोरी जति पनि हुन सक्छ तर छोराछोरीको बा-आमा एकभन्दा बढी कदापि हुन सक्दैन।
जे-जे गर्यौँ त्यसको निम्ति साधुवाद। के-के गर्न मन छ, त्यो पनि गर्दै जाऊ। मैले तिमीले जति किताब त पढ्न सकिनँ। तर जिन्दगीको किताब तिमीले भन्दा धेरै पढिसकेको छु। त्यसैले त आज मेरो भोगाइहरू मन भित्रदेखि स्खलित हुँदै अक्षरको रूप दिलाएर फुंग उडेको कोरा पन्नाहरू रङाउन सक्ने भएको छु।
छन् अझै लेख्न मन लागेको धेरै कुराहरू, तिम्रो निम्ति कति के-के मात्रै होइन। तिम्रो लागि जीवन बाँझो राख्ने पनि छन्। भनेर-लेखेर कति दुःख दिऊँ अक्षरहरूलाई। छोरा, तिमीले गरेको उन्नति, प्रगति, दुर्गतिहरूलाई एकै ठाउँमा राखेर भन्दै छु; तिमीले ममाथि गरेको सद्भावलाई धेरै-धेरै धन्यवाद!