दिउँसो चिया खाने बेलामा टुप्लुक्क आइपुगेकी आइलिनले भनिन्, 'तिमीले म्यासेज फर्काएनौ तर पनि आधा बाटोसम्म आएकै छु। घरसम्म जान्छु नभेटे फर्कन्छु भनेर आएँ।'
मैले उनलाई बस्न अनुरोध गर्दै भनेँ, 'सरी, घरधन्दाको व्यस्तताले फोन हेर्न भ्याएकै छैन।'
उनले हाँस्दै भनिन्, 'आजसम्म खबर नगरी गएकी छैन। खबर नगरी कसरी जाऊँ? भनेर नआएको भए भेट नहुने रहेछ।' कुरा गर्दागर्दै चिया पाक्यो।
चियाको चुस्की लिँदै हामीले कुराकानी अघि बढायौं।
मैले सोधेँ, 'आधा बाटो भनेपछि तिमी डाक्टर भेटेर आएकी?,' उनले भनिन्, 'हो नि!'
'के भने त डाक्टरले?'
उनले भनिन्,'डाक्टरले रोगको पहिचान भइसकेपछि अपरेसन गरेकै राम्रो। अहिलेको अपरेसनको मिति क्यान्सल गरेर अर्को मिति पर्खंदा समय लाग्छ। त्यो तिम्रो स्वास्थ्यको निम्ति घातक हुन्छ भने। मलाई डाक्टरको कुरो सही लाग्यो। मैले उनका कुरामा सहमति जनाएँ अनि तोकिएकै मितिमा अपरेसन गर्ने सल्लाह गरेँ। अब म पनि अपरेसनको निम्ति मानसिक रूपमा तयार भइसकेँ। सामान्य रूघाखोकी मात्र लाग्यो भने अपरेसनको मिति पर सर्छ। त्यसैले अपरेसन अघिका २२ दिन घरमै बस्ने निश्चय गरेकी छु। आजै आवश्यक सपिङ गरेर घर जान्छु। अब तिम्रो घर पनि अपरेसन गरेपछि मात्र आउँछु। यसबीचमा केही भएमा जानकारी गराउने नै छु।'
अपरेसन जस्तो जटिल विषयलाई सहज रूपमा वर्णन गरिरहेकी उनको सद्भावनाको कदर गर्दै मैले अपरेसन सफलताको निम्ति अग्रिम शुभकामना दिएँ। सदाझैं केहीबेर बसेर उनी फर्किइन्।
अस्पताल भर्ना भएसम्मको अपडेट आइलिन आफैले गराइन्। त्यसपछि अपरेसन गर्न कति समय लाग्यो? अपरेसन गरेको कति समयपछि होस आयो? उनको अवस्था कस्तो छ? भन्ने जिज्ञासाको अन्त उनका छोराले पठाएको म्यासेजले गर्यो। अपरेसन भएको तेस्रो दिनदेखि भने आइलिन आफैंले म्यासेज लेख्न थालिन्। म्यासेज आदान प्रदानका क्रममा उनले भेट्न आऊ भन्ने म्यासेज पठाइन्।
उनलाई भेट्न आतुर म छोरालाई स्कुल पुर्याएर त्यहीँबाट उनको घर गएँ।
उनले भनेको भन्दा पाँच मिनेट अगाडि नै पुगेकी भए पनि उनको घरको मूल ढोका खुल्लै थियो। भित्र पस्ने बित्तिकै लिभिङ रूमको सोफामा आराम गरिरहेकी आइलिनले मधुर मुस्कानले मेरो स्वागत गरिन्। मैले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फूलको गुच्छा उनको हातमा राखिदिएँ।
उनले त्यसलाई सहर्ष स्वीकार्दै भनिन्, 'सुन्दर फूलका निम्ति धन्यवाद। म पनि चाँडै यो फूल जस्तै फ्रेस हुनेछु।'
कुराकानीका क्रममा मैले उनको अवस्था अनि औषधिको डोजको बारेमा सोधेँ।
उनले भनिन्, 'अपरेसनपछि खासै समस्या नभए पनि अपरेसन गरेको तेस्रो दिनमा स्लाइनबाट औषधि चलाउन बन्द गरेर ट्याब्लेट खान दिएका थिए। त्यसले मलाई रियाक्सन गर्यो। त्यसको कारण मैले सम्झेभन्दा एकदिन बढी अस्पताल बस्नुपर्यो तथापि हप्ता दिनमा डिस्चार्ज भएकोमा खुसी छु। खाने औषधि खासै धेरै छैनन्। दुई वटा नियमित औषधि छन्। त्यसको साथमा दुख्न कम औषधि खाँदैछु। दुख्न कम गर्ने औषधिको डोज घटाउँदै जानु भनेका छन्। त्यसैले हिजो पाँच घण्टाको फरकमा खाएकी थिएँ। आजदेखि छ घण्टाको फरकमा खाने विचारमा छु। हेरौँ के हुन्छ।'
'औषधिको रियाक्सनका कारण दुःख भएछ अनि समग्रमा अस्पतालको बसाइ कस्तो रह्यो?' मैले सोधेँ।
उनले भनिन्, 'अस्पतालको बसाइ सहजै थियो। अस्पताल जानु अगाडि नै आफन्त, इष्टमित्रलाई अस्पतालका विषयमा अवगत गराएकै थिएँ। अस्पतालमा मेरो हेरचाहको निम्ति कोही चाहिँदैन। अस्पतालमा जे गर्नुपर्छ डाक्टर र नर्सले गरिहाल्छन्। सहयोगी नचाहिने भएपछि अस्पताल जस्तो संवेदनशील ठाउँमा बिना कामका मान्छेको भीडमात्र किन बढाउनु? त्यसैले अस्पतालमा रहुन्जेलमा म कसैलाई भेट्न चाहन्नँ। अस्पतालमा रहँदा अनावश्यक मान्छेसँग भेट्न नखोज्नुको मुख्य कारण अर्को पनि छ।
अपरेसनपछि कमजोर भएको मेरो शरीरमा भाइरसले सहजै आक्रमण गर्न सक्छ। बाहिरी वातावरणसँग घुलमिल भएका व्यक्तिसँग सम्पर्क गर्दा संक्रमणको सम्भावना अझ बढी हुन्छ। म त्यो जोखिम लिन चाहन्नँ। फेरि म भेट्न आउने मान्छेसँग कुरा गरेर बस्नुको साटो सुनसान अनि शान्त वातावरणमा आराम गर्न मन पराउँछु। जति आराम गर्छु त्यति चाँडै सन्च हुन्छु। त्यसैले अस्पतालमा रहँदासम्म कसैलाई भेट्दिनँ।
अस्पतालबाट घर आएपछि खबर गर्छु अनि भेटौंला भनेकी थिएँ। तर अन्तिममा आएर मैले आफ्नो भनाइ परिवर्तन गरेँ।'
अस्पतालमा भर्ना भएका बेला भेट्न आउँछु भन्ने शुभचिन्तकहरूलाई हाकाहाकी नआउनु भन्ने उनलाई आखिरमा के भएछ? मैले पनि उनलाई अस्पतालमा भेट्न आउँछु भनेर निकै कर गरेकी थिएँ। तर राजी गराउन सकिनँ। उनी जस्तो दृढ निश्चयी मान्छेको भनाइ के कारणले परिवर्तन भएछ? भन्ने कौतुहलता जाग्यो अनि सोधेँ- 'तिमी कसरी आफ्नो भनाइमा अडिग रहन सकेनौ? के भयो?'
उनले भनिन्, 'अपरेसनको अघिल्लो दिन जोसेफ (छोरा) मलाई भेट्न आएको थियो। उसलाई एन्जिला (छोरी) ले दाइ म टाढा छु। तँ आमा भएकै सहरमा छस्। जसरी हुन्छ आमालाई भेट्न अस्पताल जा भनेर जिद्दी गरेर लेखेको मेसेज देखायो। मेसेज हेरेपछि मैले उसको प्रस्तावलाई नकार्न सकिनँ अनि भेट्न आउने अनुमति दिएँ।
अपरेसनपछि होसमा आएको केहीबेरमा जोसेफ आएको थियो। एक घण्टा मसँग बिताएर ऊ फर्कियो। मलाई भेट्न काम छोडेर त्यहाँ आएको उसलाई देखेर म खुसी भएँ।'
उनले अस्पतालको बारेमा कुरा गरिरहँदा म सोच्न थालेँ।
हुन त उनी यस्तो देशकी नागरिक हुन् जहाँ अस्पतालमा रहेका बिरामीको हेरचाह गर्ने दायित्व सरकार स्वयमले लिएको छ। अस्पतालमा भर्ना भएका बिरामीको सरकारद्वारा निःशुल्क उपचार हुन्छ। उपचारमात्र होइन अस्पतालमा बिरामीका निम्ति चाहिने सम्पूर्ण औषधी निःशुल्क उपलब्ध हुन्छन्। अस्पतालमा भर्ना भएका बिरामीको रेखदेखको सम्पूर्ण जिम्मा अस्पतालले लिएका कारण अस्पतालमा भर्ना भएका केटाकेटी बाहेक (केटाकेटीको हकमा अभिभावक चाहिन्छ) भाषा जान्ने बिरामी अस्पतालमा सहयोगीबिना एक्लै बस्न सक्ने सहज वातावरण उपलब्ध छ। अस्पतालमा बिरामी भेट्न जान रोक छैन तर सामान्य अवस्थाको बिरामीलाई रूङ्गेर बस्न पाइँदैन।
म यो विषयमा जानकार छु किनकि मेरो दोस्रो सन्तान यहीँ आएर जन्मिएको हो। नयाँ ठाउँ, नयाँ परिवेशसँग घुलमिल हुँदै गर्दा बिना सहयोगी अस्पताल बस्नुपरेको त्यो समय मेरो स्मृतिमा अझैसम्म ताजा छ। त्यो दिन बिहानै म श्रीमानका साथमा अस्पताल गएकी थिएँ। सबै चेकजाँच गरेपछि बेलुका ६ बजेसम्म पनि सुत्केरी व्यथा लागेन भने आउनू भनेर पठाए।
साँझसम्म पनि सुत्केरी व्यथा नलागेपछि हामी पुन: अस्पताल गयौं। बेलुकी ७ बजे म अस्पताल भर्ना भएँ। राति १ बजे नानी जन्मियो। नानी जन्मिएपछि नर्सले मलाई नुहाउन सहयोग गरिन्। त्यसपछि नानीसहित मलाई जनरल वार्डमा सारियो। जनरल वार्डमा सरेको केहीबेरमा नर्सले श्रीमानसँग भनिन्, 'अब तपाईं घर जानुहोस्।'
नर्सका कुरा सुनेर म छक्क परेँ। मैले श्रीमानलाई सोधेँ, 'तपाईंलाई घर जानुहोस् भन्छिन्, के त्यसको मतलब म यहाँ एक्लै बस्नु?' हाम्रो योजना विपरीत नर्सका कुरा सुनेर श्रीमान पनि अलमल्ल पर्नुभयो। हिजो हामीलाई अस्पताल ल्याएपछि आइलिनले एक रातको निम्ति हाम्रो जेठो छोरालाई उनको घर लगेकी थिइन्। त्यति मात्र नभएर उसलाई बिहान डे केयरसम्म पुर्याउने जिम्मा पनि लिएकी थिइन्। त्यसैले उहाँ दिनभर मसँग अस्पताल बस्ने अनि बेलुका डे केयर (बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म) बन्द हुनु अगाडिमात्र घर जाने हाम्रो योजना थियो।
हामीलाई अस्पतालमा पालो दिने मान्छे कोही नभएकाले मैले पनि रातमा चाहिँ एक्लै बस्छु भन्ने मानसिकता बनाएकी थिएँ। तर योजना विपरीत बिहानदेखि एक्लो बस्नुपर्ने कुराले म सुर्ताएँ। हाम्रो तनावग्रस्त अवस्था देखेर नर्सले फेरि भनिन्, 'तपाईंहरू नयाँ भएकाले अस्पतालको बारेमा थाहा नहुन सक्छ। अस्पतालको नियम अनुसार बिरामीको हेरचाह गर्ने काम हाम्रो हो। आमा अनि नानीको स्वास्थ्य सामान्य रहेको अवस्थामा उहाँले यहाँ बस्न मिल्दैन।'
बस्न मिल्दैन भनिसकेपछि नियम विपरीत जबरजस्ती बस्ने कुरा भएन। त्यसैले उहाँले, 'मसँग आफ्नो कार छैन केही समयपछि पब्लिक बस खुल्छ अनि जान्छु' भन्नुभयो।
बिहान ४ बजे पब्लिक बस खुलेपछि उहाँ जानुभयो। नानी नर्मल जन्मिएको भए पनि मैले भने ४८ घण्टा अस्पतालको निगरानीमा बस्नुपर्ने थियो। यसरी श्रीमान घर गएपछि म एक्लै भएकी थिएँ। एक्लै भए पनि मलाई केही समस्या थिएन। नर्सले केही समस्या भएमा बेडमा भएको बटम थिच्नु भनेकी थिइन्। आवश्यक पर्दा बटम थिचेँ। उनले आएर सहयोग गरिन्। जन्मिएको ८ घण्टापछि नानीलाई नुहाइदिइन्। नवजात शिशु बिनाहलचल चुपचाप सुतिरह्यो। एक्लै भएर मैले अरू समस्या बेहोर्नु परेन। अस्पतालमा रहुन्जेल खानेकुराको बाहेक मलाई अरू केही समस्या थिएन। अस्पतालमा बिहान, दिउँसो, बेलुकी तीन पटक खान दिएका थिए। खानामा विविधता पनि थियो। तर त्यहाँको खानेकुरामा म बानी नपरेकाले समस्या भयो। जे दिए त्यसमध्येको मन परेको खाऊँ भने एकदिनको निम्ति कति खानेकुरा चाहिन्छ? भनेर जोखेर दिएका थिए।
प्रत्येक पटकको खानेकुरामा सुगर, क्यालोरी, फाइबर, प्रोटिन, आइरन आदि के कति मात्रामा हुनुपर्छ भन्ने चार्ट समावेश गरेर खटाएर दिएका थिए। थोरै खानेकुरामा रोजेर खान नपाएर समस्या भयो। एकदिन हल्का तातो च्याउको सुप (१८० मिलिलिटर) दिए। मिठो मानेर खाएँ। तर त्यो दोहोरिएर आएन। छाकै पिछे दाल, भात, तरकारी खाएजस्तो एकै प्रकारको खाना दोहोर्याई तेर्याई खान नपाएर समस्या भयो। नेपाल छोडेको १० महिना भए पनि नेपाली खाना (दालभात तरकारी) मात्र खाने बानी भएकाले समस्या भयो।
नयाँ ठाउँमा आएर अस्पतालको विषयमा खोजबिन नगरेकाले अनि अस्पतालले उपलब्ध गराएको खानेकुरासँग परिचित नभएकाले समस्या भयो।
मेरो अनुमान विपरीत खानेकुरामा काँचो दूध (२५० मिलिटर), आइस्टी (२०० मिलिटर), दही (१०० ग्राम) सलादमा काँचो फुलकोपी, काँचो ब्रोकाउली, काँचो गाजर, काँचो च्याउ, स्याउ मिलाएर(९० ग्राम) उसिनेको आलु (९० ग्राम) आइसक्रिम आदि इत्यादि थिए। प्राय: सबै खानेकुरा काँचो, काँचो मात्र नभएर सबै खानेकुरा भर्खरै फ्रिजबाट निकालेका चिसा थिए। खाऊँ भने सुत्केरीले चिसो कसरी खाऊँ? नखाऊँ भने भोक लागेको थियो। सुत्केरीले तातो तातो मात्रै खानुपर्छ भन्ने जानेकी म अस्पतालको खाना देखेर अन्योलमा थिएँ।
सुत्केरीका निम्ति अस्पतालले उपलब्ध गराउने खाना देखेर छक्क परेकी म आठ आठ घण्टाको फरकमा ड्युटी फेरिँदा आएका नर्सले आमा भएकोमा बधाई छ भन्दै आइस हालेको पानीको गिलास दिँदा अक्कनवक्क भएकी थिएँ। त्यो बेला दुई वर्षअघि काठमाडौंको थापाथली प्रसूति गृहमा पहिलो सन्तान जन्मिँदा भेट्न आउनु भएका आफन्त इष्टमित्रलाई बारम्बार सम्झिरहेँ।
उहाँहरूले सुत्केरीका निम्ति भनेर गर्मीको याममा समेत थर्मसमा हालेर ल्याइदिनु भएको तातो तातो ज्वानाको झोल अनि घिउ हालेको नरम भातलाई सम्झिरहेँ। यहाँ पनि मेरा आफ्ना कोही भइदिएका भए घिउ भात मगाएर अघाउँजी खाने थिएँ भन्ने सम्झेर मेरा आँखा पटकपटक रसाएँ।
दुई दिन अस्पताल बसेँ तर भेट्न आउने कोही छैनन् भन्ने बेचैनीले व्याकुल भइरहेँ।
तर यसमा दोष मेरो थिएन। सधैंभरि आफन्त इष्टमित्रको आड भरोसामा रहेकी म सुत्केरी भएर अस्पतालमा एक्लै बसेकी थिएँ। त्यति मात्र नभएर आफूले भनेजस्तो जस्तो खान पाएकी थिइनँ। बिना सहयोगी अस्पताल बस्न सकिन्छ भन्ने थाहै नपाई त्यही परिवेशमा जीवनका ३२ वसन्त पार गरिसकेपछि बेहोर्नु परेको कुरालाई सहजै ग्रहण गर्न के सकिन्थ्यो? तर भिन्न परिवेशका कारण उत्पन्न भएको समस्या व्यहोर्नु बाहेक मसँग अरू विकल्प थिएन। त्यसैले अस्पतालको बसाइ मेरा निम्ति सहज थिएन तर आइलिन यही हुर्किएकी हुनाले उनले मैले जस्तो समस्या भोग्नु परेन। त्यसैले अस्पतालमा भेट्न आउँछु भन्दा बन्देज लगाइन्। आफ्नो भनाइमा दृढ उनले अस्पतालबाट फर्किएपछि मात्र भेट्ने अनुमति दिइन्।
आइलिनको खोकीले म झस्किएँ। उनका अस्पतालका कुरा सकिएकै थिएनन्। उनी भनिरहेकी थिइन्।
'अपरेसन गरेको राती झकाउन लागेका बेलामा मेरा आँखामा उज्यालो प्रकाश पर्यो। आँखा खोलेर हेरे प्रकाश झ्यालबाट आएको रहेछ। उठेर झ्यालको पर्दा लगाउन गए अनि थाहा पाए म बसेको बिल्डिङ भन्दा परको बिल्डिङको छतबाट प्रकाश आएको रहेछ। मध्यरातमा यति उज्यालो प्रकाश के होला? भन्ने लाग्यो तर भोलिपल्ट दिउँसो एयर एम्बुलेन्स सोही छतमा ल्यान्डिङ गरेको देखेपछि राति पनि पक्कै एयर एम्बुलेन्स आएको हुनुपर्छ भन्ने अड्कल लगाएँ। त्यहाँ बसुन्जेल पाँचपटक एयर एम्बुलेन्स आइजाइ गरेको देखेँ।'
उनका कुरामा सही थप्दै मैले भनेँ, 'एयर एम्बुलेन्सले धेरै बिरामीलाई पुनर्जीवन दिएको छ। गम्भीर अवस्थाका बिरामीलाई छिटो छरितो अस्पताल पुर्याउनका निम्ति रातो रङको एयर एम्बुलेन्स प्रयोग गरेको मैले न्युजमा देखेकी छु। हिजोको न्युजमा हाइवेमा दुर्घटनामा परेका बिरामीहरूलाई एयर एम्बुलेन्सद्वारा उद्धार गरिएको भन्दै थियो।'
'ए साँच्चि तिमी घर कसरी आयौ?,' मैले सोधेँ।
उनले भनिन्, 'जुन साथीले अस्पताल पुर्याएकी थिइन्। उनैले अस्पतालबाट घर ल्याइदिइन्। घर आउँदा बेलुका भइसकेको थियो यही सोफामा सुतेँ। हिजो दिनभर पनि यही आराम गरेर बसेँ। तर राति सुत्ने बेलामा ओछ्यानमा गएँ।'
अपरेसनपछि उनले प्राप्त गरेको स्वास्थ्य लाभ देखेर खुसी भएकी मैले उनका कुरालाई बीचमा काट्दै भनेँ, 'घर आएको दुई दिनमै १२ वटा सिँढी चढेर तलामाथि पुग्नु स्वास्थ्य सुधारको राम्रो लक्षण हो।'
उनले मेरो कुरामा सहमति जनाइन्।
केहीबेरको भलाकुसारेपछि उनले सोधिन्, 'के तिमी मसँग केहीबेर हिँड्न जान सक्छौ? तिमी जाने भए अहिले जान्छु नभए हिजोकै समयमा जान्छु।'
दिनभरको समय उनका निम्ति खर्च गर्न तयार मैले हुन्न भन्ने कुरै भएन। हामी हिँड्न निस्कियौँ। १० मिनेट हिँडेर फर्किएपछि उनले मलाई बिदा दिइन्। उनको घरको ढोका अगाडि उनलाई छोडेर म आफ्नो घरतर्फ लागेँ।
घर आइपुगेर पनि मैले उनलाई सम्झिरहेँ। उनको जीवन बाँच्ने तरिका हाम्रोभन्दा फरक छ। हाम्रो सामाजिक परिवेशमा हो भने उनी आफ्नै छोराछोरीले साथमा नराखेकी एक परित्याक्ता वृद्ध हुन्। यस्तो अशक्त अवस्थामा सहयोगी कोही नहुँदा अझ दयाकी पात्र हुन्। हाम्रो समाजमा यस्ता मान्छेलाई प्राय:जसोले भन्ने गर्छन्, 'यस्तो बिजोक कसैको नहोस्। बिचारा भर्खर अस्पतालबाट आएकी छिन्। तर पनि सबै काम आफै गर्नुपर्छ। सहयोग गर्ने श्रीमान बितिगए। सन्चो बिसन्चो ख्याल नगर्ने छोराछोरी हुनुभन्दा नभएको ठीक। नाम मात्रका छोराछोरीको के काम!' आदि इत्यादि।
तर पाश्चात्य समाजमा रहेकी उनमा हाम्रो पूर्वीय समाजको दृष्टिकोण लागू हुँदैन। हाम्रो समाजमा कठैबराको उपाधि पाएकी उनी एक्लै बस्नु अनि आफ्नो काम आफै गर्नुलाई स्वाभिमान ठान्छिन्। त्यसैले ६९ वर्षको उमेरमा आफ्नो सबै काम आफै गरेर एक्लै बसेकी छन्।
आफ्नै सन्तानसँग सहयोगको अपेक्षा नगरी एक्लै बस्ने बानी परेकी उनी अपरेसनपछि छोराले उपलब्ध गराएको एक घण्टाको समयलाई यथेष्ट मान्छिन् अनि त्यसैमा खुसी हुन्छिन्।
आफ्नो निम्ति अरूको समय खर्च गर्न नखोज्ने उनी शारीरिक कमजोरीका बाबजुद पनि आफ्नो दिनचर्यामा सक्रिय छन्। आफ्नो काम आफै गर्नुपर्छ भन्ने दृढ इच्छाशक्तिले उनलाई दरो बनाएको छ नत्र हो भने फोक्सोमा भएको ट्युमर निकाल्नका निमित्त उनको दाहिने कुमको पछाडिको भागमा अर्धचन्द्रकार पारेर १२ इन्च जति काटेको छ। ६ घण्टा लगाएर अपरेसन गरेको १० दिन मात्र हुँदैछ। घाउ राम्रोसँग ओबाएको छैन। यस्तो बेलामा उनको शरीर कमजोर नहुने भन्ने भन्ने सवाल हुँदैन। तर परनिर्भरतामा बाँच्न नचाहने उनी यस्तो अवस्थामा पनि सक्रिय छन्।
उनको समाजमा संयुक्त परिवारको चलन छैन। एकल परिवार पद्धतिमा चलेको उनको सामाजिक परिपाटी यस्तो छ जसमा छोराछोरी १८ वर्षका भएपछि स्वावलम्बी हुनै पर्छ। यही परिवेशमा हुर्किएकी उनी छोराछोरीको विषयमा कुरा गर्दा भन्छिन्- १८ वर्षका भएर आफै कमाउन थालेका छोराछोरी आफ्नो काममा व्यस्त छन्। बाँचेको समय उनीहरूका पनि छोराछोरी छन्। परिवार छ। त्यसमा खर्च गर्नुपर्छ। उनीहरूको ऊर्जाशील समय मेरा निम्ति खर्च गर्नुपर्छ भन्ने छैन। उनीहरूले कमाउने रमाउने समय म वृद्धको हेरविचारमा किन खर्च गर्नुपर्यो? म गर्न सक्ने छँदै छु।
उनलाई यही सोचाइले छोराछोरीको सहयोगको आश नगरी एक्लै बस्ने बनाएको छ।
उनीसँगको मेरो मित्रताले दशक नाघिसकेको छ। यस अवधिमा मैले उनको जीवन भोगाइलाई नजिकबाट नियालेकी छु। हाम्रो समाजमा उनले जस्तो छोराछोरीको भर नपरी जीवन निर्वाह गर्ने वृद्ध आमा भेट्न मुस्किल छ। त्यसैले सिङ्गो घरमा एक्लै बसेर उनले बिताइरहेको दिनचर्या मेरो निम्ति अनौठो छ। तर उनका निम्ति यो सामान्य हो किनकि उनी छोराछोरी नभएर एक्लै बसेकी होइनन्। दुई छोराछोरी, चार नातिनातिनाकी धनी उनी सामाजिक परम्परालाई पछ्याउँदै एक्लै बसेकी हुन्। सामाजिक चलन अनुरूप आफ्ना बुवाआमाले जे गरे उनी त्यसै गरिरहेकी छन्।
म उनका बुवाआमाका बारेमा पनि जानकार छु। उनीसँग मेरो परिचय भएको समयमा उनका बुवाआमा जीवितै थिए। बुवाआमाका बारेमा उनी भन्थिन्, 'वृद्ध भए पनि बुवाको स्वास्थ्य अवस्था ठीकै छ। तर आमा बिर्सिने रोगले ग्रस्त हुनुहुन्छ। आजभोलि उहाँले मलाई समेत चिन्नुहुन्न।'
अर्को सिटीमा बस्ने बुवाआमालाई भेट्न गइरहने उनले एकदिन भनिन्,'बुवा बिरामी भनेर भेट्न गएकी थिएँ। घरभित्र लडेर बुवाको खुट्टा भाँचिएछ। अहिले बुवा अस्पतालमा भर्ना हुनुहुन्छ। बुवा घरमा नभएपछि आमा एक्लै अपार्टमेन्टमा बस्ने कुरा भएन। त्यसैले आमालाई वृद्धाश्रममा राखेर बुवालाई अस्पतालबाट डिस्चार्ज भएपछि सिधै त्यहीँ जाने व्यवस्था मिलाएर आएँ।'
वृद्धाश्रम गएको तीन वर्षपछि ९३ वर्षको उमेरमा उनका बुवा बिते भने कोभिडको महामारीको समयमा आमाको पनि मृत्यु भयो।
घरमा बसेर आफ्नो हेरचाह गर्न नसक्ने अवस्थाका बुवाआमालाई वृद्धाश्रममा भर्ना गरिदिएर सन्तानले गर्नुपर्ने कर्तव्य पूरा गरेकी उनी आफ्नो वृद्ध अवस्थाको विषयमा भन्छिन्, 'म मेरो बुवा जस्तो ९० वर्षको उमेरसम्म घरमा बस्न चाहन्नँ। आफ्नो काम आफै गर्न सक्ने हुँदा नै घर बेच्छु अनि त्यो पैसा लिएर वृद्धाश्रम जान्छु। बाँकी जीवन त्यही खुसी साथ बिताउँछु। अहिले ठ्याक्कै भन्न नसके पनि गाडी कुदाउन आँट नआउने बित्तिकै वा उमेरले ८० वर्ष काट्ने बित्तिकै वृद्धाश्रम जाने मानसिकता बनाएकी छु।' उनको भनाइबाट प्रष्ट हुन्छ कि उनलाई बुढेसकालको चिन्ता छैन।
उनले म एक्लै छु। काम गर्न नसकेका दिन मेरो हालत के होला? भनेर चिन्ता लिनु पर्दैन। उनको समाजमा वृद्धवृद्धाले बेहोर्ने यो समस्याको सहज निधान छ।
सरकारले समेत कम आय भएका जेष्ठ नागरिकको बसोबासका निम्ति सुविधा सम्पन्न वृद्धाश्रमको व्यवस्था गरेको छ। परिणामस्वरूप जीवनमा आइपर्ने कठिनाइहरूलाई सहजै स्वीकार्दै जीवनको उत्तरार्धमा (६९ वर्षमा) उनी बिना शिकायत, बिना गुनासो सन्तोषका साथ जीवन बिताइरहेकी छन्।
सन् २०१६ मा हृदयघातका कारण क्षणभरमा उनको श्रीमानको मृत्यु भएपछि एक्लै भएकी उनी त्यो बेला निकै सुर्ताइन्। अप्रत्यासित रूपमा आफ्नो मान्छे गुमाउनुको पीडा त उसैलाई थाहा हुन्छ जसले गुमाउँछ। श्रीमानसँगको बिछोडको पीडा उनको अनुहारमा स्पष्ट देखिन्थ्यो। त्यो बेला उनी उदास अनि निराश थिइन्। अग्ली, गोरो वर्णकी ब्वाइज कट कपाल काटेर सधैं चिटिक्क पर्ने उनले श्रीमानको मृत्युपछि कपाल काटिनन्।
उनको लामो कपाल देखेर मैले सोधेँ, 'अब कपाल पाल्ने विचार गर्यौ?'
उत्तरमा उनले भनिन्, 'कपाल पालेर तिमीलाई राम्रो देखिएन भन्ने बब (श्रीमान) नभएर होला सायद काट्न मन छैन।'
उनको हालत देखेर अनि उनका कुरा सुनेर मलाई नरमाइलो लाग्यो।
वास्तवमा श्रीमानको मृत्युले एक नारीलाई कति धेरै पीडा दिन्छ। श्रीमानको मृत्युपछि हृदय खोलेर प्रशंसा गरिदिने आफ्नो मान्छे हुँदैन। आफ्नो मान्छेको अभावमा राम्री हुनुको मतलब हुँदैन। कसका निम्ति राम्री हुनु भन्ने सोचाइले श्रृंगारिन मन लाग्दैन।
तर मरेर जानेको सम्झना साँचेर समयसँगै अघि बढ्नु बाँच्नेहरूको नियति हो।
श्रीमानको मृत्युपछि उनले भनिन्, 'हुन त हामीले धेरै वर्ष यही घरमा बिताउने संकल्प गरेका थियौं। तर अब म एक्लै भएँ। यो घरमा बबको यादले धेरै सतायो। घरमा भएका प्रत्येक सामानले बबको झझल्को गराउँछन्। यहीँ बसिरहे भने मानसिक रोगी हुन्छु जस्तो भो फेरि एक्लो मान्छेका लागि यो घर ठूलो पनि छ। त्यसैले यो घर बेचेर अर्को सानो घर किन्ने विचार गर्दैछु।'
समयले दिएको पीडा भुल्न समय नै पर्खिनुपर्छ। जीवनको यो वास्तविकता उनमा पनि लागू भयो। योजनाअनुरूप केही समयपछि उनी अर्को घर किनेर सरिन्। त्यसको केही समयपछि उनले कपाल काटिन्। कपाल काटेको देखेर खुसी हुँदै मैले भनेँ, कपाल काटेर पहिला जस्तै भएछौ? राम्रो सुहाएको छ। उनले हाँस्दै भनिन्, 'राम्रो भनेकोमा धन्यवाद तर मैले कपाल काटेकोमा तिमी यो नसम्झ कि म डेटिङको निम्ति तयार भएँ। लामो कपाल स्याहार्न जाँगर नभएर मात्र काटेकी हुँ।'
उमेरले तिनकोरी पुग्न लागेकी उनको डेटिङको कुरा सुनेर म छक्क परेँ। उनको डेटिङको विषयलाई विस्तृत बुझ्न खोजेँ।
उनले मेरो जिज्ञासा मेटाउँदै भनिन्, 'एकल महिलालाई डेटिङका प्रस्ताव आउनु सामान्य कुरा हो। बबको निधनपछि एक्लै भएकी मलाई परिवारभित्रका अनि चिने जानेका एकल पुरूष साथीहरूबाट डेटिङका प्रस्तावहरू आइरहेका छन्। तर म ती प्रस्तावहरूलाई अस्वीकार गरिरहेकी छु किनकि मरेर गए पनि म बबलाई भुल्न सक्दिनँ। बबलाई भुल्न नसकेपछि डेटिङ जानुको अर्थ देखिनँ। बबलाई भुलेर रमाउन सक्दिनँ भन्ने थाहा हुँदाहुँदै किन सम्बन्ध बनाउनु? पुरानो सम्बन्धलाई भुल्न नसक्ने मान्छेले नयाँ सम्बन्ध बनाउनु हुँदैन भन्ने मेरो धारणा हो।
नयाँ सम्बन्ध गाँसेर पनि बबलाई सम्झिरहँदा अर्को व्यक्तिलाई पनि उचित हुँदैन। सम्बन्ध गाँसेपछि सम्बन्धको मर्यादा राख्न सक्नुपर्छ। त्यसैले ती प्रस्तावलाई स्वीकारेकी छैन र स्वीकार्दिनँ पनि। फेरि बिना डेटिङ म स्वतन्त्र छु। नयाँ सम्बन्धमा बाँधिएर बबलाई बिर्सनको साटो एक्लै स्वतन्त्र भएर जतिबेला पनि बबको यादमा रमाउन चाहन्छु।
उनका कुराले स्पष्ट हुन्छ उनको सामाजिक बनोट हाम्रोभन्दा फरक छ। महिला पुरूषलाई समान स्तरमा राखेर हेरिने उनको समाजमा एकल महिला र एकल पुरूषबीच समझदारी भयो भने डेटिङ जानु, दोस्रो विवाह गर्नु, साधारण कुरा हो। दुई जनाको कुरा मिल्यो भने उमेरको मतलब हुँदैन। कानुनसम्मत छ भने जुन उमेरमा जति पटक विवाह गरे पनि हुन्छ।
उनको जस्तो जीवनशैलीको हाम्रो सामाजिक परिवेशमा परिकल्पना गर्न सकिन्न किनकि उनको सामाजिक परिवेशमा जीवन कसरी व्यतित गर्ने भन्ने विषय व्यक्ति स्वयंले निर्धारण गर्छ।
छोराछोरी, आफन्त, इष्टमित्रको दबाबमा बाँच्ने अनि उनीहरूले केही भन्छन् कि भन्ने संकोच उनले मान्नु पर्दैन। उनको व्यक्तिगत निर्णयमा कसैले हस्तक्षेप गर्दैन।
बालकैदेखि आत्मनिर्भर हुन र अरूको भर नपर्ने शिक्षा दिइने उनको सामाजिक पद्धतिले उनलाई एक्लै बाँच्न र रमाउन सिकाएको छ। बालिग हुने बित्तिकै अभिभावकको भर नपरी आत्मनिर्भर भएकी उनले हालसम्म अरूको आश्रयमा बाँच्नुपरेको छैन। यो उमेरमा पनि उनी आफ्नै कमाइ खान्छिन्। श्रीमानको मृत्युपछि पनि उनको आर्थिक अवस्था सुदृढ छ। काम गरेबापत राज्यले दिने पेन्सन अनि वृद्धभत्ताले उनको दैनिक खर्च राम्ररी धानेको छ। यी सुविधाले उनलाई आनन्दका साथ जीवन बिताउन सहयोग गरेको छ।
अर्को महत्वपूर्ण पक्ष राज्यले नागरिकलाई सुरक्षाको प्रत्याभूति गराएको छ। श्रीमानको मृत्युपछि सिंगो घरमा एक्लै बसे पनि उनी सुरक्षित छन्। उनी शिक्षित छन्। देशविदेशमा के हुँदैछ? भनेर चासो राख्ने उनी इन्टरनेट क्राइमको बारेमा जानकार छन्। समयसापेक्ष चलेकी उनलाई कसैले झुक्याउला भन्ने डर छैन। राज्यले पुलिस, एम्बुलेन्स, दमकल फोन गरेको ५ देखि ७ मिनेट भित्रमा आइपुग्ने व्यवस्था गरेको छ। त्यसैले उनी निस्फिक्री बस्न सकेकी छन्। परनिर्भरतामा बाँच्ने वा आत्मनिर्भर भएर बाँच्ने भन्ने कुरा व्यक्तिगत सोचाइमा नभएर देश अनि सामाजिक परिवेशले निर्धारण गर्छ भन्ने कुरा उनको जीवनलाई नियाल्दा स्पष्ट हुन्छ।
उनको जीवनशैली उनको सामाजिक परिपाटी अनि राज्य व्यवस्थाको उपज भए पनि समग्रमा भन्नुपर्दा जीवनमा आइपर्ने कठिनाइलाई सहजै स्वीकार्ने उनको व्यक्तित्व तारिफयोग्य छ। मुस्किल समयलाई सामान्य रूपमा ग्रहण गर्न सक्ने उनको स्वभाव अनुकरणीय छ। ढोकाको घन्टीको आवाजले म झस्किएँ। आइलिनको जीवनका बारेमा सोच्दा सोच्दै समय बितेको पत्तै भएनछ। ढोका खोलेर हेरेँ। स्कुलबाट छोरो घर फर्किएर घन्टी बजाएको रहेछ।