काठमाडौँमा रहनु भएको दाजुले गाउँको आफ्नो अंशमा परेको जग्गा जमिनसहित बुवाको जिउनी समेत बेच्न बैना बट्टा गरेको समाचार मेरो कानमा परेको दिनदेखि नै मेरो मनमा चैन छैन।
मेरो नजरमा दाजुसँग के नै नपुग्दो थियो र! ऊ उच्च तहको सरकारी कर्मचारी। उसको काठमाडौँमा घर, सरकारी सुविधाको गाडी अनि छोरा मेडिकल डाक्टर हुँदै हाल अमेरिकामा नै कार्यरत रहेको छ र छोरी अस्ट्रेलियामा सेटल भइसकेकै थिइन्।
तर कतै केही समस्या पो आइलाग्यो कि भनेर दाजुलाई फोन गरेर सोध्दा उसको जवाफ मेरा लागि अनौठो र आश्चर्यजनक थियो।
'हेर् न भाइ, अब रिटार्यड हुने बेला पनि भयो। छोराछोरी पनि विदेशतिर छन्। अब यो बुढेसकालमा खेती गरेर पनि खान नसकिएला। बरु तँ पनि सबै जग्गा बेचिदे। कति दुःख मात्र गर्छस्।'
ऊ पो सरकारी जागिरे हो र अवकाशपछि पनि पेन्सन आउला र खाला तर म कृषकको लागि विकल्प नै नदिई उसले मलाई समेत त्यस प्रकारको सुझाव दिनु मेरो लागि आत्महत्या गर्न सुझाव दिनु सरह थियो।
विगत चालिस वर्षदेखि मेरो पसिना बगेको त्यस जमिन मेरो लागि केवल जमिन मात्र थिएन। मेरो हजुरबुवाले पहाडदेखि तराईमा आएर आबादी गरेको र मेरो बुवा आमाले समेत हात खुट्टा लागुन्जेल खनी खेत गरी हामी दुई भाइ छोरा र दुई बहिनी छोरीहरूलाई हुर्काइ, बढाइ, पढाइ, उपनयन र विवाह गर्न सक्षम बनाएको र धानेको त्यस ठाउँ र जमिनसँग मेरो भौतिक मात्र होइन भावनात्मक सम्बन्ध समेत जरा गाडेर बसेको थियो।
हुन त बुवा आमाले हामी सबै छोराछोरीहरूलाई पालन पोषण तथा अध्ययनमा कुनै विभेद गर्नु भएको थिएन। समान अवसर र समान व्यवहार गर्नु भएको हो। तर आ-आफ्नो कर्मको फल भनौँ वा भाग्य, मैले प्रवेशिका परीक्षा नै पास गर्न सकिनँ।
उमेरमा मभन्दा दुई वर्ष मात्र जेठा मेरो दाजु पढाइमा विलक्षण नै थिए। ऊ घरमा बुवा आमाको मात्र होइन, शिक्षक शिक्षिका र अन्य सहपाठीहरूको पनि प्रिय थियो।
दाजुले प्रवेशिका परीक्षा पास गर्दाको क्षण होस् वा उसलाई थप अध्ययनको लागि काठमाडौँ पठाउँदा, दाजुभन्दा बढी म आफै पास भए सरह र जाने जसरी नै खुसी र उत्साहित थिएँ। अझ उसले सरकारी अधिकृतको रूपमा लोक सेवा आयोग पास गर्दा बुवा-आमा र हाम्रो परिवारमा खुसीको कुनै सीमा नै थिएन।
बयल गाडामा चामल, दाल र वेडिङ बिस्तरासहित नाइट बसमा दाजुलाई चढाउँदा र रातो टीका र फूलमालासहित बिदाइ गर्दाको क्षण मेरो मनमस्तिष्कमा अझै ताजै छ।
दाजुलाई पढाइ अवधिभर मात्र होइन उसलाई आजसम्म पनि दाल/चामल काठमाडौँसम्म नाइट बसमार्फत र पछिल्लो समय त नियमित रूपमा करियरमार्फत पठाइदिनु मलाई मेरो कर्तव्यझैँ लाग्थ्यो।
तर मेरो नियति भनेको पढ्न नसक्नुमा रह्यो। पढाइमा असफल हुनुका कारण कृषि कर्म मेरो लागि निर्विकल्प पेसा बनेको थियो। बुवा आमा वृद्ध हुँदै जानु र गाउँघर तिर मजदुरको अभाव हुनुले मेरो काँधमा अझ जिम्मेवारी थपिएको थियो।
दाजु उता सहरतिर पढ्न र जागिर खान व्यस्त रहँदा गाउँमा म खेती किसानीमा बुबाको सारथि भएर सफलता चुमिरहेको थिएँ। लाग्दथ्यो दाजुले घरको बाहिरी मोर्चा र मैले भित्री मोर्चा गजबले सम्हालिरहेका छौँ।
सरकारको सहुलियतपूर्ण ऋण, अनुदान र प्राविधिक सहयोगको भरपुर उपयोग गर्दै गजबसँग तरकारी खेती, गाई पालन र माछा खेती सहित कृषि पेसामा नै आफ्नो तरक्की परख गरी सफल र नमुना कृषकको रूपमा आफ्नो उपस्थिति दर्ज गरिसकेको थिएँ। अर्थात् कृषि कर्म मेरो पेसा बनिसकेको थियो।
गाउँघरमा बाबुआमासँग आफ्नै पौरख र परिवारको साथ सहयोगमा रहन बस्न पाउनु मेरो अहोभाग्य हो भन्ने मलाई लाग्दथ्यो। पढ्न नसक्नु र जागिर खान नपाउनु मेरो लागि पश्चात्तापको विषय नै थिएन। म आफ्नो पेसा र कर्ममा सन्तुष्ट थिएँ। बुवा आमासहित हाम्रा नातागोता र समग्र गाउँ नै पनि मेरो प्रशंसामा कुनै कन्जुस्याइँ गर्दैन थियो।
त्यसैले त गाउँघरतिर मात्र होइन धेरै परसम्म पनि हाम्रो परिवार, दाजु र मेरो सफलताको खुलेरै कुरा हुने गरेको थियो। दाजु आफ्नो पेसामा सफल थियो, यता म कृषि पेसामा सफल थिएँ।
आज पर्यन्त खेती किसानी गरेर मेरो परिवार र बुबा आमासँग रहन बस्न र आश्रय दिइरहेको यही जमिन, मेरो मात्र होइन मेरो हजुरबाले र बुवाको समेत परिश्रम र पसिनाले सिञ्चित भएको यो भूमि, मेरो लागि जीवन पद्धति नै बनिसकेको थियो।
तर यी सब अब फिका साबित भइसकेका थिए। दाजु-भाउजूले आफ्ना छोराछोरी रोजगारी र पढाइको सिलसिलामा विदेश गएपछि बुवा आमालाई समेत काठमाडौँ जान धेरै ढिपी गर्न थालिसकेका थिए। उनीहरूको ढिपी वा आग्रह टार्न नसकेर बाबुआमाले पनि केही समयको लागि भए पनि काठमाडौँ जाने निधो गर्नु भएको थियो। मैले सोचेको थिएँ केही समयपछि बुबा आमा पशुपतिनाथ लगायतको तीर्थाटन सिद्धिएको एकाध महिनापछि फर्केर आउनु होला।
काठमाडौँको जस्तो आलिसान बङ्गला, गाडी र सुख सुविधा गाउँमा उपलब्ध हुने कुरै थिएन। त्यसैले त बुबा आमा पनि उतै रम्नु भयो वा बाध्यता आइलाग्यो, आफ्नो थातथलो फर्की आउने कुरा नै गर्न छाडिसक्नु भएको थियो।
यता गाउँघर तिर आफन्त र नातागोताहरू सबैले नै छोरा हुनु त फलानो जस्तो पो हुनु त भन्ने भाष्य निर्माण गरिसकेका थिए। हेर त बुढा भएका बुबा आमालाई सहरमा लगेर सुख सयलका साथ राखेको छ। मानौँ यहाँ गाउँमा बुबा आमालाई धेरै नै दुःख थियो जस्तो। त्यसै त बाबुआमाले खेती किसानी गर्न छाडेको र सबै मलाई जिम्मा लगाएको लगभग तीन दशक भइसकेको थियो। फेरि नब्बे वर्षको उमेरको आसपास लागिसक्नु भएका बाबुआमाले के नै गर्न सक्नुहुन्थ्यो र! यो तीन दशकसम्म बुबा आमाको लागि चाडबाडमा मात्र घर आउने र अन्य बेला हालखबरसम्म नसोध्नेहरू आज सबैको प्रिय बनिसकेका थिए।
आखिर नेपालका सबै उच्च पदस्थ राजनीतिकर्मी/कर्मचारी, व्यवसायी र व्यापारीका छोराछोरी विदेशतिर नै सेटल भइसकेका छन् वा हुने चाहना राख्छन्। मातृभूमि त केवल उनीहरूका बुढाबुढी भएका बा/आमा अनि विदेश जान असमर्थहरूको लागि हो। छोराछोरी विदेशतिर सेटल भएकाहरू पनि एक दिन अवश्य मातृभूमि छोडेर उतैतिर जाने निश्चित छ। त्यसैले त यो देश बनाउने जिम्मेवारी भएका, लिनुपर्ने दायित्व भएकाहरूलाई देशप्रतिको माया पटक्कै नभएको होला। नत्र त यती राम्रो हिमाल, पहाड र तराईको अनुपम संगमस्थल मेरो देश प्राकृतिक रूपमा स्वर्गको टुक्रा जस्तो भइकन पनि भौतिक विकासको दृष्टिकोणले शताब्दी औँ पछाडि परेको छ।
तर दाजुको कुदृष्टि भनौँ वा असल नियत, उनीहरू आफ्नो जमिन मात्र होइन बुबाको जिउनी समेत बेच्न/मास्न मन्जुर गराई बैना बट्टा गरेको खबरले मेरो मन छियाछिया बनेको छ। मेरो कर्म स्थल अब मेरा लागि नरहने पक्का जस्तै छ। जागिर खानेहरूलाई त पेन्सनबाट पनि जीवन निर्वाह गर्न समस्या नपर्ला तर मेरो सब थोक नै अब गुम्ने वाला छ।
गुमाउँदाको पीडाले मेरो मन जति छियाछिया परेको छ त्योभन्दा बढी कहिल्यै नपुरिने गरी मेरो मनमा घाउ बनेको छ। छोरा हुनु त फलानो जस्तो पो हुनु त भन्ने शब्द मेरो मनमा शब्द वाण रूपमा बिझेको छ। सुपुत्र बन्न नसकेको भन्ने आभासले मेरो चेतनालाई नराम्ररी घोचेको छ।
छोराछोरीले हामी छौँ नि बुबा किन यति सारो खिन्न र विचलित हुनुभएको भनी ढाडस त दिएका छन्। तर हात खुट्टा लागुन्जेल छोराछोरीका लागि बोझ नबन्ने र कर्ममै रमाउने मेरो मनसुबा अनि हजुरबाजेले आबादी गरी हालसम्म बुबा आमा र मेरो पसिनाले सिञ्चित यो भूमि पराई हुने पीडाले मेरो मन रोएको छ।
त्यसैले आफ्नो अंशमा परेको जमिन अब पुर्खाको चिनोको रूपमा मेरा लागि मात्र नभएर मेरो सन्ततिका लागि जोगाएर राख्ने कसम खाएको छु। र, बस! म यति भगवान्सँग प्रार्थना गर्दछु कि पढाइमा कमजोर हुनु वा पढ्न नसक्नु मेरो लागि अभिशाप बनेको यो क्षण अरू कसैले पनि भोग्नु नपरोस्।