दाइ,
तपाईं सपना बोकेर जानु भएको थ्यो—
देशभन्दा टाढा, रगत साट्न
भन्नु हुन्थ्यो—
‘पसिना बेचेर परिवारको भविष्य किन्छु’
तर देशले तपाईंलाई सपनाको शव बनाइदियो
तपाईंले रगत बगाएर पालेको परिवार
अब तपाईंलाई अँजुलीभरि आँसु दिएर बिदा गरिरहेछ
घाममा जलेका ती हातहरू—चिसिएको बाकसभित्र
तपाईंले बटुलेका पसिना
अब थानभरि रित्तिएको आशा बनिसके
तपाईंले देखेका सम्भावनाहरू
आज तपाईंलाई हेर्दै रुँदै छन्।
तपाईं आउने बाकसमा थुनिएको थियो–
आशा, माया, संघर्ष र तपाईंको अस्तित्व
आमा अझै ढोकातिर हेर्छिन्
तपाईं हाँस्दै घर पस्ने आशामा।
तपाईं फर्किन त फर्किनु भयो
नबोल्ने, नहिँड्ने
एक मौन सन्देश बनेर—
देशको क्रूर यथार्थ बोकेर
देशको शासक भनौदाहरू
सपनाको व्यापार गर्छन्
रेमिट्यान्सको हिसाब लगाउँछन्
र सपना देख्नेहरू—
शवको बाकसमा देश फर्किन्छन्
मानौँ उनीहरूको भाउ कौडी बराबर छ
अलबिदा दाइ!