बालापनको स्वाद मेट्न नपाउँदै खाडीमा होमिएकाहरू जवानी रित्तिँदासम्म पनि ऋणका खपिल्टाहरू पुर्न सकेका छैनन्। हामीले चाहेका मनले मागेका कैयौँ कुराहरूलाई तिलाञ्जली दिएर भरभराउँदो वैँशमा विदेश उडेकाहरू अझै किन फिर्न सकेका छैनन्?
सायद यस्तै-यस्तै कुराको कल्पनामा हराइरहेकी ऊ। वर्षौं पुरानो पिपलको रुखमुनि बसेर माथि-माथि आकाशमा चिहाउँदै गरेकी थिई। जूनतारालाई नै साथी, सहारा, सबथोक मानेर मनोभाव पोख्दै थिई।
घरीघरी मोबाइल तिर हेर्दै जोडीवाला गीत छान्दै ड्राफ्टमा राख्थी। फेरि छिनछिनमै पुकार्थी- हे जूनमामा, यो अँध्यारोमा मलाई प्रकाश छरेर उज्यालो दिने र शीतल छहारी दिने आजसम्म तिमी र यही चौतारीको पिपल मात्रै त भयौ!
लाग्यो मानौँ झट्ट हेर्दा र सुन्दा त सजिलै संज्ञा दिँदाहुन् कैयौँले, यो पागल। तर ऊ यथार्थताको जिन्दगीमा एक्लै जिउँदै गरेकी मासुम मानुवा थिई। १६ वर्षे प्रेमको चक्रव्यूहमा परेर दुई चिम्टी सिन्दुरको परिणामले जबरजस्त गृहणी कहलिएकी विचरी थिई। पहाडकै पखेरामा हुर्केकी एक स्वच्छन्द पवित्र चाँचरी थिई। जहाँबाट ऊ वनका मनमोहक छटामा रमेर कोसौकोससम्मका प्रकृतिका कलकल बखान गाउँथी।
कतैबाट कोही भुनभुन गरेको आवाज म नजिकिँदै गर्दा गुन्जियो। झसँग हुँदै यसो चिहाएर हेर्दा एउटी अपरिचित कोही देखेँ, जो पिपलको फेदमा आडेस लगाएर बसिरहेकी थिई। उसले थाहा नपाउने गरी पछाडिबाट विस्तारै हल्लाएँ। तर ऊ बेजोडले झसङ्ग भई।
'दिदी! तपाईं यसबेला यहाँ कहाँबाट कसरी?' ऊ आश्चर्य चकित हुँदै प्रश्न गरी। तर ऊ को हो मलाई पत्तो थिएन। त्यसैले मैले चिनजान गर्न थालेँ। उसले मृदु मुस्कान दिँदै भन्न थाली, 'म तपाईंको देवरानी। तपाईंको पुर्ख्यौली घर मास्तिर मेरो घर छ।'
उसको त्यो मुस्कानको संचार मेरा छातीभरि फिजिएको भान भयो। ऊसँग राम्रोसग नभिज्दा पनि इन्जेक्सन दिनुअघि पाखुरामा स्प्रिट दल्दा शीतल संचार भएजस्तै बोध भयो। त्यसपछि म ढुक्कले लामो श्वास फेरेँ। म गाउँ नजिकै पुगेको भान भयो। वर्षौं पहिले म त्यहाँ जाँदा पनि जहाँ मानिसको रुपमा भगवान बस्थे। परोपकार सहयोग त्यहाँको सभ्यता थियो। जहाँका मन खुला किताब थिए। वृद्धका अनुभव र तिनका उपदेश त्यहाँका महाज्ञान थिए। त्यसैले म त्यो स्वरगरुपी गाउँको नजिकिँदै गर्दा र उहीँसँगै जाने सहेली भेटाउँदा खुसी भएँ। तर त्यसभन्दा पहिले म उसका भावनाहरू केही बुझ्न खोजेँ। आखिर ऊ किन त्यसरी एक्लै बरबराइरहेकी?
ऊ आफ्ना भावनाहरू पस्किन थाली। म एकछिन आश्चर्य चकित भएँ। कोही-कोही मानिस कहिले नभेट्दा पनि खास लाग्ने, त्यही खास भित्रको पनि आफ्नो लाग्ने आभास दिलाई। दिदी मेरा मनका व्यथा र जिन्दगीका कथा सुन्न लाग्नुभयो भने त आज रात यतै बित्छ तर हामी कुरा गर्दै जाउँला भन्न थाली। उसले आफ्ना दैनिकी सुनाउन थाली। म पनि उसका कुराहरू गहिरिएर सुन्न थालेँ।
'मेरो १६ वर्षको उमेरमा प्रेम विवाह भयो। तर त्यो खुसीको उत्सव मनाउन नपाउँदै हामी बिछोडको वियोग मनाउन बाध्य भयौँ। विवाह गरेर घर भित्राएको ४ दिन पछाडि उहाँ विदेशतिर लाग्नु भयो। त्यो दिन आकाशमा चिसो सूर्यको प्रकाश मधुरो भएको थियो। त्यो क्षण साह्रै नमिठो खत जस्तै भएर अझै मनमा बसिरहेको छ। साहुको ऋण र परिवारको गाँस, बास, कपासको लागि त्यो प्रदेशको बाटो उहाँको लागि निल्नु न ओकल्नु थियो।
स्कुले दिनहरू, खेल्ने रमाउने दिनहरूलाई बीचमै ब्रेक लगाएर। बाबाको आफू सानो छँदै मृत्यु भएपछि परिवारको जिम्मेवारीको बोझिलो भारी उहाँको काँधमा परेपछि। बच्चै उमेरमा वयष्क बन्नुभयो। उहाँको जिन्दगीको भोगाइको कथा सुन्दा त लाग्छ त्यो कुनै एक दुखी संगीतकारको भायोलिनबाट निस्केको वियोगको धुन हो। त्यसैले आज पनि उहाँ उतै हुनुहुन्छ। म यता छु।'
मलाई लाग्यो कास एउटा बच्चा भैदिएको भए कम्तिमा उसको यो निराशासजनक एक्लो सोचाइले त मोड लिन्थ्यो। श्रीमानले छोडी गएका यादहरू त केही हदसम्म मिश्रण हुन्थे। मनको खहरे त केही घट्थ्यो। तर अहँ! उसको त्यो भएन।
उसका कुरा सुन्दै गर्दा कुनै कथा जस्तो लाग्यो तर उसले आफ्नो यथार्थ धूलित कहानी सुनाइरहेकी थिई। त्यसपछि म उसका कुराहरू बुझ्न झनै आँतुर भएँ। ऊ केही कुरा भन्न अलि अप्ठ्यारो मान्थी तर म हँसमुखको अभिनय गर्दै सहजताको वातावरण बनाउँदै गएँ। उसले सहज हुँदै भन्दै गई।
'गाउँको चलन दिदी हजुरलाई पनि थाहा नै छ। बिहानै कहिले ४ कहिले ५ बजे उठेर दैलोपोतो गरेर भकारो गोबर सोत्तर गरेर गाईलाई कुँडोपानी दिएर गाईको दूध लिएर बजार जान्छु। अहिले पनि घाँस काटेर आएकी, त्यसैले म यहाँ बसेकी। अनि घरी आकाशमा जूनतारा हेर्दाहेर्दै टोलाउँछु, घरी उनैलाई साथी मानेर बोलाउँछु। उहाँले छोडेर गएको आज दुई वर्ष भयो, यति समयसम्म कतिपटक गाह्रोसाह्रो पर्यो। त्यो समय सम्झनु बाहेक अरु केही हुँदो रहेनछ। यो दुई वर्षमा उहाँको यादमा मस्तिष्कको मनको भावनाको प्यार र भयंकर पीडाको कुनकुन बाटा गल्लीहरू पार गरे।'
उसले भन्दै गर्दा लाग्यो उसको मनमा श्रीमानसँग बिताएका पलहरू किताबका पाना भएर फरर पल्टिरहेका छन् यतिबेला। उसका कुराले मेरा आँखा रसाए। मेरो पनि त कहानी उस्तै थियो। विवाह भएको ९ वर्षसम्म श्रीमान् प्रदेश र म घरदेश रहेको। मैले पनि भोगेको परिस्थिति फरक भएता पनि कहानी एउटै थियो।
उसको गला अवरुद्ध भयो। म मनभित्रै विचारहरूको मन्थन गर्न थालेँ। साँच्चिकै आज ऊ र मजस्तै कैयौँ नेपाली श्रीमती, आमा बाबा, छोराछोरी छन्। आफ्नो प्रिय परिवारको सदस्यलाई प्रदेश पठाएर विछोडको पीडामा पिल्सिरहेका। आज कैयौं छन्, कति धेरै चाडपर्व सँगै मनाउन नपाएका। बाबाआमालाई सहारा चाहिँदा खाडीमा मेहनत खन्याउन बाध्य भएका। त्यसैले त सुनिन्छ पर्देशिएका दर्दनाक पीडाहरू।
म फेरि कौतूहलता जगाउँदै उसको कुरालाई निरन्तरता दिन चाहेँ। तर रात निकै छिप्पिसकेको थियो। त्यसैले हामी केही निवासमा बस्ने निर्णय गर्यौँ। चौतारीबाट पर पुगेपछि एउटा गाईगोठ फेला पार्यौं। त्यो गोठ उसकै रहेछ। ऊ घाँसको भारी हतार-हतार बिसाउँदै केही घाँस निकालेर गाईभैँसीलाई दिई। त्यसपछि उसले आफ्नो घर जाने आग्रह गरी। तर मैले त्यही गोठमा बसौँ भने।
उसले फेरि सोधी, 'दिदी यस्तो राति-राति हामी अझै बुहारी मान्छे यस्तोबीच जंगलको गोठमा? कसैले देख्यो भने भोलिबाट गाउँमा झ्याली पिट्छन्। विदेश गएकाका बुढीहरू नै बिग्रँदै हिँडेका छन् भनेर हामीमाथि यही समाजले उज्यालो नहुँदै कचेरी बस्न बेर लगाउन्नन्। भो हिँड्नुस् दुःख सुखम घरमै गएर सुतौं।'
तर म उसको कुराले रत्तिभर विचलीत नभएर डेग चलिनँ। झन्-झन् बलेको आगोमा घिउ हाल्दा बढेको राको जस्तै भित्रैबाट आयो। मभित्रका स्त्री अस्त्रहरू आन्दोलनका लागि जागे। धिक्कार लाग्यो आजको शताब्दीको यस समाजलाई देख्दा पनि।
'के हामी बुहारीको मन हुँदैन र? के हाम्रो पनि आफ्नो निजी जीवन व्यतीत गर्ने अधिकार हुँदैन र? त्यसैले आफू खुसी हुन सिक, यो बाहिर दुनियाँको प्रवाह नै नगर।'
उसले लामो श्वास फेर्दै त्यही बस्ने विचार गरी। फेरि केही निन्याउरो स्वरमा सोधी, 'दिदी हामी कति सहनुपर्ने है, परिवार समाज के भन्ला भने सवालमै दुखी हुनुपर्ने। बुढा विदेशमा भएकै भरमा एक कसैले गल्ती गरेको आरोपमा हामी सबैले त्यो नमिठो आक्षेप खेप्नुपर्ने। बुढा विदेश गएका बुढी त बिग्रिएको हुन्छन् भन्ने र हामीलाई छुट्टै नराम्रो नजरले हेर्ने मान्छेहरू देख्दा त साँच्चिकै पीडाबोध हुन्छ। लाग्छ कहिले होला बुढाबुढी सँगै बस्ने?'
उसले यति भनिरहँदा म पनि उसैलाई प्रतिप्रश्न गरौं कि झैँ लाग्यो। है तिम्रो जस्तै हाम्रो दिन सँगै सधैँ बस्ने दिन कहिले आउला? हाम्रो देशकै ठूलो बिडम्बना नै यही छ। दिनानुदिन हजारौँ युवा विदेशिँदा पर्नु पीर परिवारले खेप्नुपरेको छ। ऊजस्तै खाडी मुलुक गएका श्रीमानलाई सम्झेर सँगै बस्ने दिनको सपना नै नदेखेका र युरोप अमेरिका अष्ट्रेलिया जस्ता सँगै लैजान मिल्ने देशमा पनि जान नपाएर दशकौँ दिन सँगै हुने कल्पनामा सिरानी भिजाएकाहरू छन्।
घरदेशी र परदेशीको भेट कहिले होला भन्ने चक्करमै जवानी रित्तिएका थुप्रै परिवर छन्। आखिर यो जस्तो पीडाको कुरा के होला? त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। यति भन्दै गर्दा मेरा आँखा ऊ नजिक रहेको मजेत्रोमा तेर्सिए।
'त्यो डल्लो पारेको के हो?' मैले देख्नसाथ सोधिहालेँ।
'दिदी, हजुरका देवर पर्सी आउँदै हुनुहुन्छ। दुई वर्षमा हामी भेट हुँदैछौँ,' उसले केही लजाएको स्वरमा भन्दै गई, 'उहाँलाई कोइरालाको अचार साह्रै मन पर्छ रे। त्यसैले अघि घाँस काट्न जाँदा खरबारीमा टिपेर लिएकी। हामी त यहाँ खाइराखेको हुन्छ, उहाँले त त्यो विदेशमा बरफको खानाको मात्र स्वाद न बेस्वादको आधा पेट खाएर हिँडेको सुन्दा धेरै दुःख लाग्छ। त्यसैले उहाँ आउने भनेर लोकल कुखुराको भाले, घिउ जम्मा गरेकी छु। ठूलो पाटाको केराको घरी पनि पकाउन राखेकी छु। खलाना मुनिको तरुल पनि उहाँ आएर खन्ने भनेर राखेकी छु। के गर्ने दिदी मिठो मसिनो सँगै बसेर खान भाग्यमा लेखेको रहेनछ। त्यसैले केही दिन नेपाल बस्दा थोरै भए नि बुढाले खानुहोला भनेर यसरी जम्मा गरेर राखेछु।'
म उसका कुरा सुनेर भित्रभित्रै गद्गद् भएँ। आहा! केही पल भए नि ऊ आफ्नो प्यारो मान्छेसँग बस्ने भई। अनी फेरि मनमनै दुखी भएँ। ऊजस्तै कति परिवार होलान्, छोरा आउला, बुढा आउला र खाउँला भन्दै कुरेका। वल्लो घर पल्लो, वारि गाउँ, पारि गाउँमा कत्तिका बाबाआमा कुर्दाकुर्दै डाँडामाथिका जून भएका होलान्। कति धेरै परिवारमा होलान उसले जस्तै राखेका कोइराला र काप्रका सुकुटीका साग! कति परिवारमा परदेशीको नाममा पालेका होलान घोर्ले खसि र लोकल भालेहरू? कति परिवारमा होलान् छोरो आएर खाला भन्दै सम्झी राखेका डल्लुभरि घिउका लस्करहरू?
तर विडम्बनाको कुरा, कति परदेशीलाई खान जुरेको होला? ती नेपाल आमाको काखमा फलेका, प्यारी श्रीमतीका सुकोमल हातहरूले सुमसुमाउँदै सुकुटी सेकेका। जुन कुरा सम्झँदा यो मथिंगल नमज्जाले रन्थनिन्छ।
यति सोच्दासोच्दै म भित्रभित्रै कता हराएछु। उसले फेरि बोलाइ, म झसंग भएँ।
'ए साँच्ची भन न, बाबु दुई वर्षमा आउँदै हुनुहुन्छ?'
'हो दिदी, त्यसैले खुसी छु।'
बिहान हामी उसको घरतर्फ लाग्यौँ। उसले घर चिटिक्क पारेर राखेकी रहेछ। रातोमाटोले पोतेको पिढीँ कुनै आरसिटी घरभन्दा कम थिएन। म हिजोदेखिनै उपासना जस्तै बसेकी थिएँ। त्यसैले म तलतिर झरेँ। श्रीमान् जन्मेको गाउँ, पूर्खाले बनाएको घरलाई मन्दिर जस्तै मानेर पूज्न, दर्शन गर्न त्यहाँ पुगेकी थिएँ। एकछिन घर सफा गरेर पृतृहरूलाई स्मरण गर्दै धुपबत्ती गरेँ। त्यसपछि फेरि सम्झिएँ उसले दिएको निम्तो। 'दिदी, खाना खान यतै आउनू है' भन्दै बिनम्रतापूर्वक आग्रह गरेकी थिई। अनि म फेरि उसकै घर फिरेँ।
भोलिपल्ट श्रीमान् आउने उसलाई चटारो थियो। म उसको क्रियाकलाप निहालिरहेकी थिएँ। टाउकोभरि मेहेन्दी, आँगनभरि सिरक डसना सुकाएकी। घर लिपपोत, सरसफाई गर्न उसलाई भ्याइनभ्याइ थियो। सुकिला लुगा लगाएर मुहारभरि शृंगारका सामानहरू पोतेर बेहुली जस्तै चम्किरहेकी थिई। घरी ऐनामा गएर हेर्छे घरी मोबाइलमा सेल्फी खिच्छे। त्यो देख्दा लाग्थ्यो, आज उसको मन सलबल दिमाग चलबल गरेको छ। आज उसका अंगअंगहरू फरफराइरहेका छन्। आज ऊ पुतली बनेकी छेऽ उसका पखेटाहरू रङ्गlबिरङ्गी छन्। आजको दिन र रात पनि उसको लागि लामो भएको छ। सायद आज ऊ निद्रादेवीसँग पनि नजिक पर्दिन होला। आज ऊ कल्पनादेवीसँगै मस्त व्यस्त छे। ऊ आएपछि यस्तो हुन्छ होला, म यस्तो गर्नेछु, उस्तो गर्नेछु। सायद आजको रात उसको कार्ययोजनामै बित्नेछ।
मलाई पनि बिछट्टै खुसी लागेको छ ऊ खुसी भएको देख्दा। म उसलाई एक्लै रमाउन दिने निधो गरी खाइवरी फर्कने विचार गरेँ। अन्ततः बाटो लागेँ।
बाटोभरि मनसँगै विद्रोह, आन्दोलन गर्न थालेँ। ए सरकार, आखिर हाम्रो नेपालमा ढुकुर जोडीहरू जस्तै सँगै बस्ने श्रीमान्-श्रीमतीलाई अधिकार छैन? यदि छ भने खै तिम्रो अधिकार? त्यो कागजको खोस्टोमा लेखेको संविधानमा मात्र मानव अधिकारका गाथा लेखेर हुन्छ? खै कार्यान्वयन? किन आज हजारौँ युवाहरू दिनरात विदेशिएका छन्? विदेशीएपश्चात उनीहरूको परिवारमा के बितेको छ? कहिल्यै बुझ्ने चेष्टा गर्यौ?
यही देशमा सातौ पुस्तालाई पुग्ने अकुत सम्पत्ति कमाएका पनि छन्, यही देशमा यही एक पुस्ताको रित्तो पेट भर्न पनि धौधौ परेर विदेशिन बाध्य पनि छन्। आखिर किन? खै समानता र समताका कुरा? आज मैले भेटेकी देवरानी जस्ता कत्ति चेलीहरू होलान्, बाबाआमाले पाले पुण्य मारे पाप भनेर कन्यादान दिँदै सुम्पेका चेलीहरू। जो एक्लै पालिन बाध्य छन्। बिरामी हुँदा एक्लै छन्। नसक्दा एक्लै छन्। बेसहारा जस्तै छन्। श्रीमानको आशै आशमा आफ्नो साहस, शक्ति खिइयाउँदै छन्।
आज ऊजस्ता थुप्रै चेलीहरू नेपालका विभिन्न कुना काप्चामा श्रीमानको यादमा तड्पिएका छन्। कोही घरदेश, कोही परदेश। अब सँगै बस्ने वातावरण बनाइदेऊ।