यस वर्ष गत वर्षभन्दा जाडो बढेको हो कि हाम्रो उमेर बढेर चिसो लागेको खै? ऊबेला बिहान दुई/तीन बजे उठेर ढिकी-जाँतो, पँधेरीको पानी उठाउने यो शरीर बिहानको १० बजेसम्म पनि उठाउनु सकिनँ।
बुढा, हजुरलाई तातो पानी चाहिएको होला औसधि खान। हजुर त झनै अल्सर र दमको रोगी हुनुहुन्छ, यो चिसोमा सास फेर्न पनि कति गाह्रो भएको होला है बुढो?
बुढो, आज मलाई साह्रै नराम्रो लागेको छ। बल्ल आज जीवनसँग हार मानेकी छु। आजसम्म त जसोतसो एक गिलास तातो पानी र खाना हजुरलाई खुवाउन सकेकी छु, अब त दिनदिन म पनि बिस्तरामा थला पर्न लागें।
आज त मलाई मेरा छोराछोरी, बुहारी, नातिनातिनासँग पनि गुनासो गर्न मन लागेको छ। सायद कमजोरी बढेपछि मानिसले गुनासो गर्दो रहेछ। निःसन्तान भनौं भने हाम्रा पनि सन्तानले डाँडाकाँडा, सहर-बजार ढाकेकै छन्। सानो छँदा बडो दुःखले हुर्कायौं, पढायौं, लेखायौं, बिहेदान गरिदियौं। तर आज हामी नितान्त एक्लो भएका छौं।
यस अवस्थामा त घरमा बोलिदिने मान्छे भए पनि अलि सुखले सास फेर्ने थियौं होला है बुढा? म पनि बिस्तराबाट बोल्दै शरीरको दुखाइ बिर्संदै उठ्थें होला है? तर के गर्नु, तीन भाइ छोरा, तीन बहिनी छोरी, तीन बुहारी, १० जना नातिनातिना भएर पनि पनि एक्लो भयौं है हामी?
आज जेठो छोराको धेरै याद आयो। सोचें जेठो छोरो जिम्मेवार छ। हाम्रो समस्या यत्तिकै बुझिदिन्छ भन्दै फोन लगाएँ। फोन उठेपछि भन्यो- 'आमा, म अहिले व्यस्त छु, पछि फोन गर्छु।' यत्तिकैमा फोन काट्यो।
आमालाई समय दिन नसक्ने गरी के काम गर्छ होला है मेरो छोराले! मलाई त संसारमा आमा-बाउ ठूलो लाग्थ्यो भन्दै बिस्तरामा भक्कानो छोडेर रोएँ र भनें- कुनै काम होला, मलाई बिर्सेर त हैन होला?
मनमा पीडा परेपछि शरीर यत्तिकै तातो भएर आयो। झन् गाह्रो भयो, मन खल्बलियो। मनलाई दह्रो पारेर माइलो छोरालाई फोन गरें। ऊ त झन् समाजसेवाको काम गर्छ। सम्पूर्ण दीन-दुखीहरूलाई सहयोग गर्छ। हरेक दुःखमा परेका मानिसको घाउको मलम बनेको छ। उसको त झनै देश विदेशमा पनि चर्चा छ।
मन प्रफुल्ल बनाउँदै फोन गरें। बुहारीले फोन उठाइन्। मैले के छ खबर भनेर सोध्न नपाउँदै 'छोरो बाहिर जानु भएको छ, पछि फोन गर्नू' भनेर राखिदिइन्।
एक मन रिस उठ्यो। आफ्ना बाउआमाको वास्ता नहुने छोरा-बुहारी पनि केको समाजसेवी? सबैको घाउमा मलम लगाउने छोराले मेरो घाउको माम्री नकोट्टाए हुने नि। त्यही पनि छोराले फोन गर्ने आश मनमा रहिरह्यो। निरास मन लिएर फेरि कान्छो छोरालाई फोन गर्ने आँट आएन। ऊ त झन् यता दिन हुँदा उता रात पर्ने देशमा बस्छ, कसरी फोन गर्नु?
छोरीहरूलाई पनि मनमनै सम्झिएँ तर फोन गरिनँ। झण्डै दुई दर्जन नातिनातिना, छोरा, बुहारी, छोरी सबै विदेश अनि सहरतिर छन्। आफूले हुर्काएका छोराछोरीले त वास्ता गर्न छोडे भने आफूले नजम्माएका नातिनातिना, बुहारीको के आश राख्नु? तैपनि चाडपर्वमा भए नि आइदिए हुने, कहिलेकाहीँ फोन गरिदिए हुने यस्तै सोच्दै थिएँ।
जेठो छोराकी जेठी छोरीले पोखराबाट फोन गरी। हजुरआमा भनेर पनि सम्बोधन गरिन। सिधै भनी- 'लोक सेवाको फर्म भर्न लागेको, बुवाको नाम चहिने रहेछ।'
अनि मैले पनि फटाफट नाम भनिदिएँ। उसले फोन काटिहाली। मनमनै खुसी भएँ नातिनीको बोली सुन्न पाएर। अर्को मन दुखी भएँ, हजुरबा, हजुरआमा भनेर सम्बोधन नगर्ने, सन्चो बिसन्चो नसोध्ने नातिनातिनालाई लोक सेवाले हाम्रो नाम किन सोध्छ होला है?
यस्तै सोच्दै थिएँ बुढाबुढीको फेरि गनथन सुरु भयो।
बुढो, हामी दुईमा पहिला को मर्ला है? पहिला मर्नेले त पानी खान पाउला, पछि मर्नेले त के हो के हो?
अनि हामी दुवैले जवानीमा नगरेको वाचा बुढेसकालमा गर्यौं, सँगै बाँच्यौं, अब सँगै मर्न पाउँ।