समयले घामलाई चपाएर जून ओकल्यो, अर्थात् साँझ पर्यो। घामलाई बिदा गरेर, अबेर खेतबाट घर फर्कनु र बिहान सबेरै घामलाई स्वागत गर्न खेतमा पुग्नु, मेरो दैनिकी बनेको छ।
कहिले खेतको काम त कहिले बारीको, फुर्सद कुनै दिन छैन। यसरी एउटै बृत्तमा दिनचर्या घुमेको वर्षौं भयो। दैनिक जीविका चलाउन बाहेक खासै प्रगति गर्न सकिएन।
केही दिन यता मेरो आङमा घाम लागेको छैन। घाम नलाग्नुको पछाडि थुप्रै कारणहरू छन्। घरको आँगनमा आइपुगेर कुटो, कोदालो काँधबाट भुइँमा बिसाउन नभ्याउँदै, छोरीहरूले घर भित्रैबाट थाहा पाएर दगुर्दै बाहिर आँउछन् र घेरा हाल्छन्।
हातगोडा धोएर साँझ गाई-गोठको नियमित काम सकेर घरभित्र छिर्न नभ्याउँदै सुस्मिताले कर्कश स्वरमा बोलिन्- 'सधैं ढिला आउनुहुन्छ, कहिलेकाहीँ त चाँडै फर्कनु नि कामबाट।'
विवाहपूर्व प्रेममा छँदाको सुरुआती दिनहरूमा उनले बोलेका ती कर्णप्रिय लाग्ने बोलीहरू अचेल बिल्कुलै भिन्नता महसुस गरिरहेको छु। बोली तिनै हुन्, भाषामा केही परिपक्वता आए होलान् तर आधारभूत रुपमा केही फरक छैन। उतिबेला सल्लाह गरेर झगडा गरिन्थ्यो, अचेल सल्लाहमा पनि झगडा हुने गरेको छ।
अभाव र संकटको बेलामा परिवारको सदस्यबीच एकता भएन भने कठिन हुन्छ। मैले जीवनमा सिकेको एउटा महत्त्वपूर्ण कुरा यो पनि हो।
विसं २०७२ सालको भूकम्पले घर ढल्यो। संयोगले घर बाहेक अन्य क्षति भएन। नयाँ घर बनाइयो, घर बनेको केही समयमा विवाह पनि गरियो। सुस्मिताको आगमनसँगै घर उज्यालो भयो। बुवा-आमा मभन्दा धेरै खुसी हुनुभयो।
एकपछि अर्को सन्तान भए, पहिलो सन्तानको रुपमा छोरी जन्मिन्। दोस्रो सन्तान पनि छोरी नै जन्मियो। आफन्त, छर-छिमेकले छोराको निम्ति विभिन्न मठ-मन्दिरमा भाकल गर्नको निम्ति सुझाए।
सुस्मिताको तेस्रो सन्तानको चाहना थिएन। मैले निकै जोड गरेपछि तेस्रो सन्तान जन्माउन राजी भइन् तर एउटा सर्तमा। त्यो सर्त के थियो भने, पेटमा बच्चा बसेपछि जन्माउनु पर्ने। बीचमा भिडिओ एक्स-रे गरेर छोरी देखिए 'एबोर्सन' गर्न नपाइने।
मसँग उनको सर्त मान्नुको विकल्प थिएन।
तेस्रो सन्तानको रुपमा फेरि पनि छोरीको जन्म भयो। मलाई मेरो आफ्नै कारणले छोरी जन्मेको कुरा स्विकार्न निकै कठिन भयो। मभित्र रहेको पुरातनवादी सोचले स्विकार्न दिइरहेको थिएन। तर आधुनिक विश्वले प्रमाणित गरिसकेको सत्यलाई झुटो साबित गर्न मसँग कुनै तथ्यहरू थिएनन्।
मसँग बहानाको निम्ति कुनै एउटा मात्र विकल्प हुन्थ्यो भने सुस्मिताको अगाडि यो अधैर्य, आबेग र उत्तेजनालाई उनको विरुद्ध पोख्ने थिएँ र मनलाई हलुंगो बनाउने थिएँ।
सुस्मिता सुत्केरी भएको आज महिना दिन भयो। आमाले खाना खान बोलाउनु भयो। खाना खानको निम्ति सबैभन्दा माथि चुलामा बुवा बस्नुभएको छ। अँगेनाको छेउमा सुस्मिता, सुस्मिताको ठिक अघिल्तिर म छु। तेस्रो सन्तानको रुपमा पनि छोरी जन्माएको दिनदेखि सुस्मितासँग राम्रोसँग आँखा जुधाएको पनि थिइनँ।
धेरैपछि सुस्मिताको अनुहार राम्रोसँग नियालेर हेरें, हामीबीच उमेरमा धेरै भिन्नता नभएकोले उनको अनुहारमा मैले आफ्नो उमेर प्रस्ट देखें।
केही क्षण अघिसम्म रहेको सुस्मिताप्रतिको मेरो बैरभाव हटेर गयो। उनीप्रति सहानुभूति जाग्यो। मैले आफूले आफैलाई निकै लज्जित महसुस गरें। जसले म र मेरो परिवारको निम्ति आफूलाई जन्मदिने आमा-बुवा, दाइ, दिदीहरू, जन्मेको घर, हुर्केको समाज सम्पूर्ण कुराहरू छोडेर आएकी छिन्। उनीप्रति नै म यति निर्दयी कसरी हुनसक्छु!'
खानाको प्रत्येक गाँसमा उनीसँग विगतमा गरिएका वाचाहरू चपाएर निलेको झैं महसुस भइरह्यो। विवाहपछि घुम्न जाने ठाउँहरू, जन्माउने पहिलो सन्तानको नाम, सहरमा तीन तले घर, निलो रंगको कार, जसमा चढेर महिनामा एकपटक पारिवारिक भ्रमण, विवाहदेखि मृत्युसम्म, राति अबेरसम्म अनिदो बसेर बुनेका जीवनका आगामि योजनाहरू। यो जन्मको मात्र नभई पछिल्लो जन्मसम्म नछुट्टिने वाचा, खाएका कसमहरू, कुराकानी गर्दागर्दै निदाएको ती रातहरू। आहा!
खाना खाइसकेर बुवाले टिभीमा समाचार लगाउनु भयो। तिनै पार्टीका कुरा, तिनै नेताका कुरा, बुवालाई अचेल समाचार मन पर्दैन। नेताका ती मिठा भाषण सुन्न सक्नुहुन्न, ऐंठन हुन्छ। एक केजी चिनी किन्न लाइन बसेको अस्तीभर्खर तिहारमा हो। पाँच केजी युरिया मलको लागि एकदिन माया मरेको अस्तीभर्खर जेठमा हो।
मैले देशमा भविष्य नदेखे झैं बुवाले यो मुलुकको भविष्य देख्नुभएको छैन। टिभी बन्द गरेर जेठी नातिनीलाई लिएर सुत्नको निम्ति भर्याङ उक्लँदै गर्दा भन्नुभयो- 'ढोका राम्रोसँग बन्द गरेर सुत्नू।'
आमाले कान्छी नातिनीलाई अँगेनामा तेल लगाएर सेकाउँदै हुनुहुन्छ। मझेरी नजिकै सिंगल बेडको खाटमा माइली छोरी र म सुतेका छौँ।
'छोरीको ज्वरो घट्यो कि, छाम्नुस् त!'
सुस्मिताको आवाजले म निन्द्राबाट बिउँझिएँ।
'नसुनेको कि सुनेर पनि नबोल्नु भएको?'
ज्वरो नभएको जवाफ फर्काएँ। सुस्मितालाई प्रश्न भुइँमा खस्न नभ्याउँदै त्यसको जवाफ फर्काउनु पर्छ।
कुराकानी हुन थालेको केही दिनमा नै उनले भनेकी थिइन्- 'मेरो टाउकोमा दुई वटा भूमरी छ। दुई वटा भूमरी हुने मान्छेको रिस कडा हुन्छ, विचार गर्नूस्।'
मैले मुसुक्क हाँसेर भनेको थिएँ, 'अलिअलि रिस, अलि थोरै घुर्की, अनि कहिलेकाहीँ धम्की भएन भने त जीवन खल्लो हुन्छ। यी मानवीय गुणहरू भएनन् भने त अमिलो, पिरो, तितो, टर्रो बिनाको अचार जस्तो हुन्छ।'
अचेल उनको रिसले सीमा नाघ्ने गरेको छ। मेरो सहनशीलता र धैर्यताको सीमा नाघेको दिन केही कुरा भन्न मन लाग्छ। मनमुटाव हुन्छ, उनको रिस जति कडा छ, मन उति नै कमलो छ। उनलाई स-साना कुराले चित्त दुख्छ, रुन थाल्छिन्।
पहिलो पटक भिडिओ कलमा बोलेको अस्ती जस्तो लाग्छ।
'हजुरको पनि मेरोजस्तै आँखाको नानीमा कोठी रहेछ। आँखाको नानीमा कोठी हुने मान्छे त धेरै रुन्छन्, हजुर कत्तिको रुनुहुन्छ?,' उनले सोधेकी थिई।
किन?
'उसै सोधेको नि!'
म रुन्चेजस्तो लाग्छ तिमीलाई?
मुसुक्क हाँसेर 'हो' भन्ने जवाफ फर्काएकी थिई।
हाँस्दै गर्दा उनका ती मोटा गाला राता भएका थिए।
आमाले नातिनीलाई तेल लगाइसकेर सुस्मितालाई जिम्मा लगाउनु भयो र सुत्न भर्याङ उक्लनुभयो। केही बेरपछि बुवा बोलेको घुमिल आवाज मेरो कानमा गुन्जियो। प्रष्ट नसुने पनि आवाज बुझिने थियो।
'छोराको तीन जना छोरी भए, बिहेदान गर्न मुस्किल पर्छ।'
'आजभन्दा भोलि महंगी बढ्दै जान्छ, कसरी गर्जो टार्छ खै?'
'बरु विदेश गए दुई/चार पैसा कमिन्थ्यो होला।'
'उसले के सोचेको छ कुन्नी?'
आमा बोलेको सुनिन्न। आमा नबोल्नु भनेको धेरै कुरा बोल्नु हो। आमाको मौनताले बुवाको कुरालाई सदर गरेको बुझें। राति अबेरसम्म मनमा कुरा खेलिरहे।
एक्कासी सुस्मिताको चिसो हात निदारमा आइपुग्यो र बिउँझिएँ।
'उठ्नु पर्दैन? कति सुत्न सकेको होला। बिहान चाँडै उठाउनु भन्नुभएको होइन र?'
बाहिर घाम आइसक्यो!
मनमनै सोचें। होइन, यी महिलाहरूलाई भविष्यको चिन्ता हुन्न होला कि! के होला? बेलुका चाँडै सुतेर बिहान चाँडै उठ्छन्। म पनि अर्को जन्ममा महिला हुन पाउ भन्दै जुरुक्क उठें।
बिहानको खाना समेत नखाई सुस्मितालाई अरु नै कामको बहाना बनाएर पासपोर्ट बनाउन सदरमुकाम हिँडें। पासपोर्टको निम्ति 'फारम' भर्दै गर्दा सुस्मिता, तीन छोरीहरू र बुवा-आमा आँखामा झलझल्ती आइरहे।
'प्रिय सुस्मिता,
घर बनाउने सपना बोकेर घर छोड्ने निर्णय गर्दैछु। जिम्मेवारीको पहाडले भौतिक रुपमा अलग गराए पनि यो कठिन समय छिट्टै बितेर जानेछ।
आमा-बुवाको ख्याल राख्नू। छोरीहरू हुर्काउने जिम्मा तिम्रो काँधमा आएको छ। सर्वश्व तिमीलाई सुम्पेर जाने निर्णय लिएको छु।
आशा छ, मैले घर छोडेसँगै हाम्रो अभावहरूमा कमी आउने छन्। खुसीलाई साथ दिन सुखहरू क्रमशः आउनेछन्। छोरीहरूलाई प्राइभेट स्कुल पढाउने हाम्रो चाहना पूरा हुनेछ।
बुवालाई स्मार्ट फोन, आमालाई ठूलो तिलहरी र झुम्का। तिम्रो रानीहारको इच्छा पूरा हुनेछ। केही पैसाको जोहो गर्न सकियो भने बजारमा घर किनौँला।
बाध्यता र परिस्थितिले केही वर्ष भौतिक रुपमा छुट्टिने निर्णय लिए पनि असहज परिस्थितिमा र जीवनका अन्तिम क्षणहरूमा शान्तिको सास तिमीसँगै फेर्ने वाचा गर्दछु।
मलाई माफ गर सुस्मिता!'
पासपोर्टको निम्ति फारम भरिसक्दा मनमनै एउटा चिठी लेखिसकेछु।