क्यापुचिनो र चुरोटको सर्कोसँगै म उसलाई पर्खिरहेको थिएँ। सायद कफी लाउन्जमा रहेको मेरो समानान्तर कुर्चीले पनि।
अस्ट्रेलिया बसाइ बिट मारेको करिब आधा दशकपछि ऊसँग भेट हुँदै थियो।
'म आइसकेँ। नजिकै छु। जस्ट फाइभ मिनेट्स,' मैले फोन गरेर हेलो भन्न नपाउँदै एकै सासमा फलाक्दै फोन राखी।
उसको पाँच मिनेट घडीले फन्को मारेको २० मिनेटपछि मात्र पूरा भयो।
त्यतिन्जेल प्रयोग हुँदासम्म भएर टेबलको एस्ट्रेमा लाचार भएर पल्टिरहेको चुरोटको ठुटो र बढिरहेको जाडोमा एकैछिन भए पनि न्यानो बनाउने प्रयासमा रित्तिएको कफीको कपलाई हेरेर समय बिताएँ।
'सौगात, आम्मामा! के सारो मोटाको!'
'सरी फर बिइङ लेट' बाट हाम्रो संवाद सुरू हुने अपेक्षा थियो। मलाई जे सुन्न मन लाग्दैन, उसले त्यसैबाट संवाद सुरू गरी।
मानिसको 'फिजिकल अपियरेन्स' बाटै संवाद सुरू गर्नुपर्छ र?
ओहो, कस्तो मोटोघाटो खाइलाग्दो! हैन के सारो ख्याउटे! मरञ्च्याँसे, खानै नपाएको जस्तो! — यस्ता संवादहरू मलाई बेतुकका र फजुल लाग्छन्।
मोटोघाटो सुख पाएको ज्यान र पातलो दु:ख पाएको ज्यान गरी दुई भागमा वर्गीकरण गर्नेको जमात पनि छ।
उनीहरूलाई कसले सम्झाइदियोस् — मोटो देखिने मानिसले क्विन्टल पीडाको भारी बोकेर हिँडेको अनि पातलो प्रफुल्ल सुखको खातमा रमाइरहेको!
तिनै फजुल मानिसहरू जस्तै उसले पनि फजुल वाक्य भेटी, वर्षौंपछिको भेटको संवादको सुरूआतमा पनि।
किन समयमै आइनौ भनेर प्रश्न गर्न अब उचित ठानिनँ। झनक्क उठेको रिस दबाउँदै फिस्स हाँसोको लेप लागाइदिएँ मुहारमा।
'हेल्लो भाइ,' हात हल्लाउँदै ठूलो स्वरमा बोलाई।
सेतो सर्ट, कालो पाइन्ट, कलिलो देखिने युवक हातमा कागजको पाना र पेन लिएर आयो। मेनु टेबलमा राख्दै सकेको मुस्कान छोड्यो।
'टु क्यापुचिनो, एन्ड वन क्लब स्यान्डविच प्लिज,' वेटरले त्यो अर्डर टिप्दासम्म पनि सुरूआतमा दिएको मुस्कानको गतिमा कमी हुन दिएको थिएन।
'भाइ, एउटा चुरोट पनि, लाइटमा।'
'हस् सर,' त्यो हँसिलो वेटर मेनु बोकेर गयो।
मलाई पनि क्यापुचिनो नै अर्डर गरी। के लिन्छौ भनेर सोध्न जरूरी पनि ठानिन।
हुन त हामी पहिलोपटक सँगै बसेर कफी पिउन लागेका थिएनौं। मेरो रोजाइ पनि प्रायः क्यापुचिनो नै हुन्छ। त्यो कुरामा ऊ पनि अन्जान थिइन। तैरिरहेको फिँज ओठमा टाँसिदा क्यापुचिनोको स्वाद झन् मीठो लाग्छ मलाई।
ढिलो आएर फजुल वाक्यबाट संवाद सुरू गरेदेखि नै रिस उठिरहेको मलाई, कफी अर्डरको कुरामा भने रिस उठेन।
'अनि सुनाऊ के छ नयाँ नौलो,' फेरि पनि संवाद उसैले सुरू गर्दै थिई।
'के हुनु, सबै ठीकै भनम्। अनि तिम्रो सुनाऊ के छ?'
'तिम्रो जस्तै सबै ठीकै भनूँ भने ठीक केही पनि छैन। बेठीक छ सबै भनूँ भने कथा लामो छ।'
'आज मेरो फुर्सद नै छ। सुनाउँछौ भने सुन्न इच्छुक पनि।'
ऊ केही समय टेबलतिर निहुरिँदै नङले टेबल कोर्तन थाली। मानौं त्यो टेबलमा उनका सबै पीडा टाँसिएर बसेका छन् र ऊ एक/एक पीडा कोट्याउँदै फाल्दैछे।
केही समय अगाडिसम्मको मेरो रिस, उसको मौनता र उसमा झल्किरहेको पीडाले मत्थर भइसकेको थियो।
पछिल्लो समय उसको वैवाहिक जीवन त्यति सुखी नभएको उसका अचेलका प्राय: फेसबुकका स्ट्याटसले प्रस्ट पार्थ्यो।
म करिब करिब ढुक्क थिएँ, उसको पीडाको पछाडि वैवाहिक सम्बन्धमा चलिरहेको उतारचढाव थियो।
उसको प्रेमीसँगै बिहे हुन लागेको खबर सुनाएकी थिई। त्यसपछि क्रमश: हाम्रो संवाद पातलिँदै गएको थियो। जे होस् एक मन मिल्ने साथी थिई। सायद अझै पनि हो।
'किन मौन रहेको! सुनाउन मन छैन भने कर चाहिँ गर्दिनँ है। तर, पीडा र रक्सी उस्तै हो, जति छोपेर राख्यो त्यति कडा, अनि खुला छाड्यो भने फिक्का।'
उ;ले मेरो आँखामा हेरी। मौनता भने कायम नै राखी। उसका आँखामा आँसु टिलपिल गरिरहेका थिए।
एक मनले त सोचेँ, मैले सायद गलत समयमा उसलाई भेटेँ।
आज मलाई ढुंगा जस्तै बन्न मन लागिरहेको थियो। तर उसका टिलपिल आँखाले फेरि मलाई कमजोर बनाउने प्रयत्न गरिरहेका थिए।
उसका बग्नै लागेका आँसुले गति लिए। अन्तत: पोखिन तँछाडमछाड गरिरहेका आँसु उसले थामेर राख्न सकिन।
टेबलमा रहेको न्याप्किन उठाएर सकेसम्म आँखाका गाजल नपुछिने गरी आँसु पुछी।
हँसिलो भाइ मुस्कानसँगै कफी र क्लब स्यान्डविच बोकेर हामीतिर आयो।
उसले भिजेका आँखा लुकाउन निहुरिएर बसी। उसको प्रयास सफल भयो या भएन, ठोकुवा गर्न नसके पनि कफी टेबलमा राख्दासम्म पक्कै पनि वेटर भाइले भने चाल पाएको हुनुपर्छ।
मलाई रोइरहेको मान्छेलाई फकाउन आउँदैन। अझ भनौं फकाउन मन पनि लाग्दैन। रून पाउनु मान्छेको त्यतिकै अधिकार हो जति हाँस्न पाउने छ। हाँसेर मानिस आफ्नो खुसी व्यक्त गर्छ र रोएर पीडा कम गर्ने कोशिस। हुन त यस कुरा जगजित सिंहको यो गजलले सही नठहर्याउन पनि सक्छ।
'तुम इतना जो मुस्कुरारही हो
क्या गम हे जिस्को भुलारही हो'
उसका आँखा ओभाउने कुनै लक्ष्ण देखिरहेको थिइनँ। उसलाई एकोहोरो हेरिरहन पनि उचित लागेन। चुरोट सल्काउँदै कफीको चुस्की लिन थालेँ।
लागिरहेको थियो, एकछिनमा उसले कथा सुनाउँछे। आँसु बगाएर सायद साहस सँगाल्दै छे। तर त्यसो भएन। ऊ त्यहाँबाट जुरूक्क उठेर हिँडी।
कता जान लागेकी, केही थाहा भएन। ऊ कफी लाउन्जको गेटबाट बाहिर निस्किँदासम्म मैले उसलाई हेरिरहेँ। रिस पनि उठ्यो। मैले नै उसलाई पीडा दिएको जसरी व्यवहार देखाई।
टेबलमा रहेको कफी र स्यान्डविचले मलाई जिस्काइरहेको जस्तो लाग्यो। हातमा सल्किरहेको चुरोट निभाएँ। सोझै काउन्टरमा गएर बिल तिरेर बाहिर निस्किएँ।
ऊसँग अब मलाई कुनै सम्पर्कमा बस्नु थिएन। उसको त्यो अनौठो व्यवहार मलाई पचाउन मुस्किल परिरहेको थियो।
सम्झिरहेको थिएँ — ऊ केही नबोली बाहिर निस्किरहँदा कफी लाउन्जका मान्छेहरू मलाई यसरी हेरिरहेका थिए, मानौं मैले ऊमाथि ठूलै अत्याचार गरिरहेको थिएँ।
'सौगात, प्लिज चेक योर मेल। सरी फर माई बिहेबियर अन लास्ट मिट,' करिब एक महिनापछि उसैको मेसेज आयो।
मलाई आश्चर्य लाग्यो। उसको त्यस्तो व्यवहार मलाई फिटिक्कै मनपरेको थिएन। लागोस् पनि कसरी, उसको सम्पूर्ण पीडाको कारण म नै हुँ जस्तो व्यवहार देखाएकी थिई।
कफी लाउन्जबाट फर्किएपछि उसलाई सम्पर्क गर्ने कुनै प्रयास पनि गरेको थिइनँ। तर पनि मनमा कौतुहलता जाग्यो, ल्यापटप खोलेर मेल हेरेँ।
'सबभन्दा पहिले त माफीबाटै कुरा सुरू गर्छु सौगात। तिमीसँग भेट्दा मलाई खोइ के भयो भयो, सम्हालिनै सकिनँ। डाँको छाडेर रून मन लाग्यो। त्यसैले घर आएर सावर खोलेर आधा घन्टा मन फुकाएर रोएँ।
त्यो बिरानो सहरमा पनि कहिलेकाहीँ पीडालाई त्यसैगरी सावरको पानीसँगै बगाउने प्रयास खुबै गर्थेँ, केही हदसम्म बगेको आभास पनि हुन्थ्यो।
मैले त्यो कफी लाउन्जमा गरेको व्यवहारलाई पुरानो साथी सम्झेर माफ गरिदेऊ है।
मेरो कथा त्यही दिन नै तिमीलाई सुनाउने प्रयास निकै गरेँ, सकिनँ। तर तिमीलाई मेरो कथा भनौं या व्यथा, नसुनाउँदासम्म मलाई पनि छट्पटी भइरह्यो। फेरि भेट्न बोलाऊँ, साहस जुटेन। फोन गरूँ, बोली फुटेन। मेरो छट्पटीको अवस्था मेटाउने विकल्पको रूपमा इमेल सम्झिएँ।
सौगात, तिमी नेपाल फर्किएको केही महिनामा मैले पनि करिब ६ वर्षको अस्ट्रेलिया बसाइ बिट मार्ने निधो गरेँ। त्यो विदेशी भूमिमा मेरो सुखदुःखको साथीको रूपमा तिमीलाई भेट्न पाएकोमा खुसी लागेको थियो।
फेडेरेसन स्क्वायरमा बसेर कफी पिएको खुब याद आउँछ। राभेन बर्ड देखेर खैरेको देशमा त काग पनि सेतै हुने है – भन्दै हाँसेको सम्झिँदा अहिले पनि मेरो मुहारमा मुस्कान छाउँछ। तिमीसँगै मेरो मन पनि नेपाल फर्किएको थियो। म तिमीलाई मनपराउन थालेकी थिएँ सायद।
नेपाल फर्किएपछि सोझै तिमीलाई नै भेट्न आउने चाहना थियो। तिमीले फेसबुकमा अपलोड गरेको तिम्रो प्रेमिकाको फोटोले मेरो चाहना, चाहनामै सीमित राखेँ।
सायद त्यो दिन तिमीले पहिलोपटक तिम्रो प्रेमिका सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियौ। मलाई पीडा नभएको होइन। तर तिम्रो खुसीमा म पनि जानीनजानी खुसी भएँ।
नेपाल फर्किँदै गर्दाको फोटोमा तिम्रो कमेन्ट देखेपछि तिमीले पनि भेट्ने कोशिस अवश्य गर्छौ भन्नेमा ढुक्क थिएँ। झुटो परिकल्पनामै भए पनि म खुसी त थिएँ।
आफ्नै देशमा केही गर्ने संकल्प लिएर नेपाल फर्किएकी थिएँ। कुनै व्यवसाय सुरू गर्ने उद्देश्यले अनेक मानिसहरूसँग भेट गर्थेँ। त्यसै समयमा मेरो भेट विशालसँग भयो।
विशाल एक प्रतिष्ठित कम्पनीमा मार्केटिङ म्यानेजरको रूपमा कार्यरत छु भन्थ्यो। मैले गरिरहेको बिजनेस रिसर्चमा उसले खुबै सहयोग गर्यो। उसको व्यक्तित्वप्रति म सायद आकर्षित हुँदै गइरहेको थिएँ।
उसले मलाई आकर्षित गर्न कुनै कसर बाँकी राखेन। हामी बीच बिस्तारै प्रेमको मुना पलाउन थाल्यो।
भूकम्पले घर भत्किएपछि सिन्धुपाल्चोकबाट स–परिवार काठमाडौं आएर बसेका विशालको परिवार आर्थिक रूपमा केही कमजोर थियो। अस्ट्रेलिया गएर घरको कमजोर आर्थिक अवस्था केही हदसम्म उकास्ने सपनामा रहेछ।
मसँग डिपेन्डेन्टमा अस्ट्रेलिया जान चाहेको योजना उसले पनि सुनायो। मेरो भिसा सकिएको र आफू अब अस्ट्रेलिया जान नचाहेको कुरा उसलाई सुनाए।
यो कुराले उसको मन केही अमिलिएको महसुस गरेकी थिएँ। कौतुहलतासहित सोधिएको उसको प्रश्नप्रति मेरो जवाफ सुनेपछि उसको मुहार यसरी अँध्यारो भयो, मानौं अब ठूलै आँधी-बेहरी आउँदै छ।
ऊ केही बोलेन। उसको मुहारमा ठूलै बज्र बजारिए जस्तो पीडा प्रस्ट झल्किरहेको थियो।
म भने उसको त्यो अँध्यारिएको मुहारमा कसरी खुसी छर्ने, त्यही उपायको खोजीमा थिएँ। अनेकौं प्रयास गरेँ, ऊ जबरजस्ती मुस्कुराएको अभिनय गर्थ्यो।
उसको मायामा सायद म चुर्लुम्मै डुबेकी थिएँ। उसँग बिहे गर्ने सपनाहरू बुन्न थालेकी थिएँ। एकदिन ऊसँग बिहेको प्रस्ताव राखेँ।
परिवारसँग वाचा रहेछ उसको, काठमाडौंमा घर नबनाई बिहे नगर्ने। वाचा पूरा नहुँदासम्म बिहे नगर्ने अठोट पनि!
मैले ६ वर्ष दुःख गरेर सामाखुसीमा पाँच आना जग्गा आफैं जोडेकी थिएँ। आमाको नाममा थियो। उसलाई यो कुरा सुनाएँ। साथै बैंकमा केही रकम भएको जानकारी दिएँ।
उसको मुहारमा मडारिएको कालो बादल हराएर खुसीको बादलले यसरी भरियो, मानौं ग्राफिक्स डिजाइनरले एक क्लिकमा कालो रङलाई सेतोमा बदल्छ।
प्रफुल्ल मुहारसहित ऊ बोल्न थाल्यो, 'त्यो जग्गा बेचेर, केही ऋण लिएर पेप्सीकोलामा सजिलै घर किन्न सकिन्छ।'
म त प्रेममा एकोहोरो भइसकेकी थिएँ। उसले जसो भन्यो, त्यसै गर्थेँ। उसकै खुसी सर्वोपरी ठान्थेँ।
विशालको इच्छाअनुसार नै हामीले दुवै जनाको संयुक्त नाममा घर किन्यौं। हाम्रो बिहे धुमधामसँग भयो। प्रायः केटीको रहर हुन्छ, आफ्नो श्रीमानले ल्याएको गहना र वस्त्रमा सजिएर उसको घर भित्रिने। मैले भने बिहेमा बेहुलाले ल्याउनुपर्ने गहना र सरसामान पनि सबै आफैं किनेँ।
हुन त अब के विशालको, के मेरो, सबै हाम्रो भएको थियो। तिलहरी र मंगलसुत्र भने विशालले मलाई किन्न दिएन। आफैं किन्यो। म बुहारी बनेर आफैंले जोडेको हाम्रो संयुक्त घरमा भित्रिएँ।
बिहेको पहिलो रात, आफूले माया गरेको मान्छेसँग बिताउन पाएकी थिएँ। मन रोमाञ्चित थियो। ऊ आयो र केही नबोली ओछ्यानमा पल्टियो।
मैले उसलाई च्याप्प अँगालोमा कसेँ र उसको ओठमा चुमेँ। ऊ टसमस भएन। वर्षौंदेखि सँगालेर राखेको मेरो 'कौमारित्व' मेटाउन चाहिरहेकी थिएँ। उसले मेरो चाहनाको कुनै वास्तै गरेन। म पनि ओछ्यानको अर्को छेउ फर्किएँ।
पछाडिबाट मेरो कम्मरमा एक्कासि हातले कस्यो। मेरो शरीरभरि उसको हातहरू चलमलाउन थाले। अंगअंगमा आगोको रापले पोलेजस्तो आभास हुँदै थियो। म उसलाई ढाड फर्काएर धेरै बेर रहन सकिनँ।
अन्ततः मेरो चाहना उसले पूरा गर्यो। मैले त्यसदिन धेरै नौला कुराहरूको अनुभव गरेँ – सिन्दुर, नयाँ परिवार, श्रीमान अनि यौन।
भोलिपल्ट दुल्हन फर्काउन गइयो।
विशाल पनि मख्ख थियो, ज्वाइँ साहेबको मेजमानी पाएर। ऐना हेर्थेँ, आफूले आफैंलाई पहिलोचोटि सुन्दरीको उपमा दिएँ। रातो सिन्दुर, रातो पोते, रातो चुरा, रातो सारी। साँच्चै म सुन्दरी नै देखिएको थिएँ। त्यस रात हामी त्यहीँ नै बस्यौं, मेरो माइती अनि विशालको ससुराली।
अर्को दिन बिहान खाना खाएर घर फर्कियौं। विवाह दर्ता गर्नु थियो। दर्ता गर्न जाऔं भनेँ। विशालले खासै वास्तै गरेन।
बिहेको पहिलो सातादेखि नै दुःखका दिन सुरू भयो। सबैले निकै फरक व्यवहार गर्थे। मैले कल्पना गरेभन्दा निकै फरक अनुभव गरेँ मेरो वैवाहिक जीवन। साथीसंगीले सुनाएका अनुभवभन्दा निकै अलग भए मेरा अनुभवहरू।
बिनाखबर रातमा बाहिरै बास बस्न थाल्यो विशाल।
सबै एक्कासि पराइ बन्दै थिए मसँग। मैले बुझ्नै सकिनँ। मैले गल्ती के गरेँ? मैले जानेको सबै गरेकी थिएँ। सक्नेभन्दा धेरै दिने कोशिस गरेकै थिएँ। त्यही पनि खोइ के पुगेन पुगेन!
एक महिनापछिको कुरा हो, मामाको छोराको बिहे थियो।
सिन्दुर, पोते र गहनामा सिँगारिएर बिहेमा जान मन थियो। साँच्चै भन्नु पर्दा बेहुली जस्तै देखिन अझै मलाई रहर पुगेकै थिएन। सिँगार सकेर दराजमा गहना खोज्न गएँ।
मंगलसुत्र र तिलहरी बाहेक कुनै गहना थिएन। दुल्हन फर्काएर आएपछि दराजमा राखेको गहना मैले छोएकै थिइनँ। अत्तालिँदै सासू आमालाई सोधेँ।
व्यवहार मिलाउन विशालले गहना बेचेको जवाफ पाएँ। म त छाँगाबाट खसेजस्तै भएँ।
तिलहरी र मंगलसुत्रसँगै रहेको विशालको नागरिकतामा आँखा पर्यो। जन्म मिति देखेर म झन् अवाक भएँ। मेरो उमेरभन्दा सात वर्ष कान्छो देखेँ।
मसँग त मेरै उमेर बराबरको भनेको थियो। विश्वास नलागेर सासू आमालाई घुमाएर सोधेँ। नागरिकताको उमेर नै सही रहेछ। मलाई आश्चर्य लाग्यो, विशालले मसँग किन झूट बोल्यो?
त्यस दिन साँझ विशाल रक्सीले मातेर घर आयो। गहनाको कुरा र उसको उमेरको कुराले छाती पोलिरहेको थियो। म धेरैबेर यस विषयमा बेखबर रहेर बसिरहन सकिनँ।
मैले उसलाई सोधेँ, उमेर झुट बोल्नुको कारण। उसले फर्काएको जवाफले ममाथि बज्रपात पर्यो। कोही मानिस यो हदसम्म कसरी निर्दयी र स्वार्थी हुन सक्छ, मैले कल्पनासम्म गरेकी थिइनँ।
उसले त सुरूमा मसँग डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जान प्रेमको नाटक गरेको रहेछ। पछि घर र सम्पत्तिको लोभले बिहे गरेको रहेछ। मास्टर्स सके भनेको मान्छेले एसएलसी मात्र पास गरेको रहेछ।
ऊ अरू कोहीसँग प्रेममा रहेछ। उसले रक्सीको नसामा सबै कुरा ओकल्यो। उसले प्रहार त शब्दको मात्र गरेको थियो, म भने गोली लगेर छट्पटाइरहेको सिपाही जस्तै भएकी थिएँ।
म कसरी निदाउन सक्थेँ। रातभर रूँदै ओछ्यानमा पल्टिएँ। मलाई ज्युँदो लाशसरी बनाएर पनि मेरो शरीर भोग गर्न भने पछि परेन ऊ।
रूँदै माइत गएर सबै व्यथा पोखौं जस्तो लाग्थ्यो। तर आफैंले रोजेको श्रीमानले गरेको कर्तुत सुनाएर आमाबुवालाई पीडा दिन पनि मन लागेन।
यसैगरी मैले नै जोडेको घरभित्र उसका परिवारले अनेक मानसिक र शारीरिक यातना दिँदै मलाई डिप्रेसनको सिकार बनायो। सहनशीलताको बाँध भत्कियो। रूँदै बुवालाई सबै कुरा सुनाएँ।
मेरो डिभोर्स भयो।
मैले आफ्नै सम्पत्ति पनि आधा मात्र पाएँ। म हुनुसम्म कसैको स्वार्थको निम्ति प्रयोग भएँ। घाउ निको बनाउने प्रयास गर्दै थिएँ, केही हदसम्म सफल हुँदै गइरहेकी थिएँ।
विशालले किनिदिएको तिलहरी र मंगलसुत्र झोलामा भेटेँ। साइनो त केही बाँकी रहेन, यो झिनो सम्झना के राखूँ जस्तो लाग्यो।
एक मनले त झ्यालबाट बाहिर हुर्याइदिऊँ जस्तो लाग्यो। फेरि सोचेँ, मेरो लागि उसले गरेको खर्च यति त हो, यही नै भए पनि भोग गरेर मन बुझाउँछु। सुन पसलमा लगेर बेच्ने निधो गरेँ।
घर नजिकैको सुन पसलमा पुगेँ। मलाई पसले दाइले अनौठो पारामा हेर्दै भने – सुन त नक्कली हो।
माया त नक्कली गर्नेले सुन नक्कली दिनु के नौलो भयो र! तर मन फेरि बिझायो, त्यही परिवारको सम्झनाले, त्यही सिन्दुरको सम्झनाले, त्यही झेली श्रीमानको सम्झनाले।
त्यो त्यही दिन थियो सौगात, जुन दिन म कफी नखाइ रूँदै फर्किएर तिम्रो मन दुखाएकी थिएँ।'
(यो कथा सेतोपाटीमा पहिलो पटक २०७६ पुसमा प्रकाशित थियो।)