परदेशको जीवन विचित्रको हुन्छ। अर्लामको आवाजसँगै उठ। अनुहार पनि राम्रोसँग धुन नपाई हतार-हतार केही खाऊ र काममा जाऊ। थकाइ नमानी हप्ताभरि उहीँ कम्पनीको ड्रेस लगाएर रातदिन काममा जोतिनु पर्ने बाध्यता।
कोठामा साथीलाई डिस्टर्ब होला कि भनी अपनाउनु पर्ने अतिरिक्त सतर्कता। मेसिनजस्तो जिन्दगी। खालि काम, काम अनि काम। काम सकियो, सम्बन्ध सकियो। कसैलाई कसैको मतलब समेत हुँदैन।
केही दिनअघि एकजना दाइको बिदाइ कार्यक्रम भयो। दक्षिण कोरियाको झण्डै-झण्डै एकदशकको बसाइँलाई बिट मार्दै उहाँ घर फर्किँदै हुनुहुन्थ्यो। लामो समय बसेको ठाउँ, सँगै काम गरेका साथीहरूसँग छुटिँदा पक्कै पनि नरमाइलो त लाग्दो हो, तर घर फर्किन पाउँदाको खुसी उहाँको अनुहारमा प्रयाप्त देखिन्थ्यो।
मैले यसो उहाँलाई हेरेँ, झण्डै-झण्डै पाँच दशक देखेका ती आँखाहरू। तिलचामले केश। प्रौढ शरीर। कुनै दिन उहाँ पनि तन्नेरी हुनुहुन्थ्यो होला! आफ्नै आवश्यकता र रहरहरू थिए होलान्! आँखामा रंगीन सपनाहरू सजिएका थिए होलान्!
के उहाँले चाहेजस्तै जीवन बाँच्नु भयो होला त? के उहाँका सबै आवश्यकता, इच्छा, आकांक्षाहरू पूरा भएछन्?
अधिकांश नेपालीहरू निश्चित उमेर पार गरेपछि बिहेवारी गर्छन्। दुई-चार जना सन्तान उत्पादन गर्छन्। देशमा बेरोजगारी व्याप्त छ। कतै रोजगार पाइहाले पनि तलबले परिवार धान्न मुस्किल पर्छ। शासन प्रणालीहरू बदलिए पनि जनताको जीवनमा आर्थिक रुपान्तरण हुनसकेको छैन। श्रमकार्यमा भेदभाव छ। कामको सम्मान छैन, मूल्य छैन।
व्याप्त बेथिति र स-साना काम गर्न पनि ठूला नेताको सोर्स- फोर्स र चाकडी गर्नुपर्ने प्रवृत्तिदेखि आजित भएर युवाहरू जिन्दगीको खोजीमा विदेशतिर हानिन्छन्। विदेशमा अनेकौं हन्डर ठक्कर खान्छन्। कठोर काम गरेर कोही स-शरीर धन कमाएर फर्किन्छन्। कोही उतै हराउँछन् त कोही बन्द बाकसमा कहिल्यै नउठ्ने गरी फर्किन्छन्। यहीँ हो अधिकांश नेपालीहरूको नियति।
***
सानै छँदा एकदिन ठूलो आवाजमा आकाशमा उडिरहेको जिनिसलाई देखाउँदै मैले आमालाई सोधेको थिएँ- ‘आमा त्यो के हो?’
‘त्यो हवाईजहाज हो,’ आमाले मतिर हेर्दै भन्नुभएको थियो, ‘त्यसमा मान्छे चढ्छन्।’
आमाको जवाफ सुनेर म छक्क परेको थिएँ। त्यो हवाईजहाज नामक जिनिस कसरी उड्छ होला? त्यसमा कस्ता मान्छे चढ्छन् होला? फेरि त्यो जिनिस कहाँ जाने होला?
म निकै जिज्ञासु बनेको थिएँ। आमाले मेरो अनुहारको भाव बुझ्नु भएको थियो। आफ्नो दाहिने हत्केलाले मेरो निधार सुम्सुमाउँदै भन्नुभएको थियो- ‘चिन्ता नगर्। ठूलो भएसी मेरो छोरो पनि चढ्ला!’
म गजक्क परेको थिएँ। आमाले मलाई आफ्नो छातीमा टपक्क टाँस्नु भएको थियो। वर्षौंपछि आज म त्यहीँ हवाईजहाज नामक जिनिसमा चढ्न गइरहेको थिएँ। तर विगतको त्यो उत्सुकता ममा थिएन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण उराठ एवं उराठलाग्दो थियो। उफ्! हामी कामदार निर्यात गर्ने देशका बासिन्दा! बाआमाको अनुहार मलिन थियो।
मलाई रातो खादा ओडाउँदै बाआमाले दसैंमा झैं फररर आशीर्वाद दिँदै भन्नुभयो,’ कसैको नजर नलागोस्! दैव सधैं दाहिना रहून्! चिताएका सबै कुरा पूरा होऊन्! सबैको भलो गर्नू बाबै।’
बोल्दाबोल्दै आमाका आँखा सररै रसाए।
‘आमा त रोको रोइ हुनुहुन्छ, अब नरुनुस् के,’ दिदीले मेरो शिर सुम्सुमाउँदै फेरि आमातिर हेर्दै भनिन्, ‘भाइ यति ठूलो भैसक्यो। आइहाल्छ नि एक/दुई वर्षपछि। म छँदै छु त हजुरहरूसँग।’
‘हुन्दे!’ आमाको रुन्चे स्वर सुनेँ, ‘तिमीहरू जतिसुकै ठूला भए पनि हाम्रा लागि त साना हौ। एकदमै साना। आँखाका नानी जस्ता।’
आमाले सारीको सप्कोले आँसु पुछ्नुभयो। बा शिरमा आयातीत ढाकाको टोपी मिलाउँदै हुनुहुन्थ्यो। दिदी भने अन्तिमपटक सेल्फीको तर्खरमा थिइन्। पालैपालो बाआमा र दिदीलाई ढोगेँ। आँखाभरि सप्तरङ्गी सपना र मनभरि विछोडको पीडा लिएर दक्षिण कोरियाका लागि प्रस्थान गेटतिर लम्किएँ।
इपिएसमार्फत दक्षिण कोरिया जाने युवायुवतीहरू कालो ज्याकेट र रातो क्याप टोपीमा सझिएर लामबद्ध थिए। उक्त दृश्यले तत्कालीन नेकपा माओवादीले प्रतिक्रियावादी राज्यव्यवस्थालाई ध्वंश गर्दै नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने मूल नाराका साथ सुरु गरेको सशस्त्र संघर्षमा होमिएका युवायुवतीको झल्को दिन्थ्यो।
फरक यत्ति थियो- तत्कालीन युवायुवतीसँग हातहतियार, बन्दुक, गोलीगठ्ठा थिए। अहिले यी युवायुवतीसँग भने हातमा हरियो पासपोर्ट थियो। करिब पाँच सय कामदार बोकेर हवाईजहाज उड्यो, अन्धकार आकाशमा। म उडेँ। पहिलोपटक गुँड छाडेर उडेको बचेरोझैं।
***
‘सधैं हाम्रै मात्र भर परेर कहाँ हुन्छ? हाम्रो उमेर पनि ढल्किँदै गो। हातगोडा बस्न थाले। तेरो पनि त उमेर भयो, अब त केही गर्नुपर्यो नि! सधैं बाआमाकै मुख ताकेर जिन्दगी चल्दैन बाबै,’ बाले पहिलोपटक साँच्चिकै पहिलोपटक मतिर हेर्दै भन्नुभएको थियो।
बाको स्वर सुनेर छक्क परेँ। मैले अनलाइनमा छापिएको एउटा परदेशीको लामो कथा पढ्दापढ्दै रोकिएँ।
त्यो पुस महिलाको पहिलो शनिबारको दिन थियो। सूर्य आकाशको पश्चिमपट्टि थियो। हामी स-परिवार घाम ताप्दै सुन्तला छोडाएर खाँदै थियौँ। उमेरले बाहिस नाघिसक्दा पनि म पूरापूर बाआमामा आश्रित थिएँ।
चाहिएको बेला बाआमालाई दंगाउँदै पैसा माग्थेँ। चढ्ने साधन छँदै थियो। बिहान कलेज जान्थेँ। दिनभरि फुर्सदिलो हुन्थेँ। जिन्दगी यस्तै त हो नि भन्ने लाग्थ्यो। निकै पुल्पुलिएर होला, म भविष्यप्रति खासै गम्भीर थिइनँ।
‘अब अलि गम्भीर बन्न सिक्। सधैं यसरी बरालिएर हुँदैन। हामी पनि डाँडामाथिका घाम भैसक्यौँ,’ आमाको श्वर तिखो सुनियो।
सुन्तला छोडाउनमै तल्लीन थिएँ म।
‘कम्मर कसेर पढ्। लोक सेवामा नाम निकालिस् भने बेसै होला! सरकारी जागिर भनेको सरकारी जागिर नै हो। भोलिका दिनमा राम्रो हुन्छ,’ बाले खोक्नुभयो।
मैले दिदीतिर आँखा घुमाएँ, उनी फेसबुकमा व्यस्त थिइन्।
जीवनमा सरकारी जागिर खाने मेरा बाआमाको ठूलो सपना थियो रे! विडम्बना, उहाँहरूको त्यो सपना पूरा भएनछ। आफ्नो अपूरो सपनालाई छोराले पूरा गरिदेओस् भन्ने चाहना राख्नुभएको रहेछ।
अभिभावकले सन्तानप्रति चाहना राख्नु स्वभाविक हो। तर उनीहरूले सन्तानको गुण र झुकाव कस्तो र कता छ भन्ने कुराको पनि ख्याल राख्नुपर्छ। सरकारी जागिरप्रति मेरो कहिल्यै झुकाव भएन। सायद ममा त्यस्तो गुण पनि नहोला!
‘म सरकारी जागिर खान्नँ,’ मैले ठाडै भनेँ।
‘अनि के अर्चस् त?,’ बाले सोध्नुभयो, सोझै।
‘बरु व्यापार गर्छु।’
मेरो स्वर सुनेर बाआमा निकै खिन्न देखिनुहुन्थ्यो।
व्यवस्थापन पढेकै लहडमा व्यापार गर्छु त भनेँ तर मसँग चाहिने व्यावहारिक ज्ञान थिएन। के गर्ने? कसरी गर्ने? भन्ने विषयमै मेरा दिनहरू बित्न थाले। केही महिनापछि जेनतेन एउटा पसल सुरु गरेँ बाआमाको सहयोगमा। तर समयको लेखान्त अर्कै रहेछ। पसल फस्टाउन सकेन।
फस्टाउन सकेन पनि के भन्नूँ! व्यापारमा प्रयाप्त लगानी चाहिने। आफूसँग लगानी भएन। विभिन्न बैंक र संघसंस्था धाइयो, तर उपलब्धि हात लागेन।
कलेजमा अकाउन्ट पढ्दा डेबिट र क्रेडिटको ब्यालेन्स सिट सहजै मिलाइन्थ्यो तर, व्यावहारिक जीवनको डेबिट र क्रेडिटको ब्यालेन्स-शिट मिलाउन त्यति सहज रहेनछ। म झोक्राउन थालेँ। स्नातक चौथौँ वर्षको परीक्षा पनि दिइनँ। म भत्किएँ।
नेपाली समाजमा मानिसको सफलताको मापन गर्ने कसी भनेकै पैसा रहेछ। आर्थिक सम्पन्नताले नै मानिसको सामाजिक प्रतिष्ठा निर्धारण गर्दोरहेछ। पैसा भन्ने चिज नभएपछि साहुहरू सिंह बन्दा रहेछन्। छिमेकी शत्रु बन्दा रहेछन्। आफन्त पराई बन्दा रहेछन्। आफू चाहिँ मजाकको पात्र बनिँदो रहेछ।
व्यापारमा ठक्कर खाएपछि अब मैले विदेश जाने सोच बनाएँ। हुन त मलाई पहिल्यै थाहा थियो- नेपाली समाजले देशमै केही गर्नेलाई भन्दा विदेश जानेलाई बढ्दा मान गर्छ भन्ने कुरा। तैपनि सकेसम्म आफ्नै देशमा केही गर्छु भन्ने चाहनाले विदेशिने इच्छा पहिले कहिल्यै पलाएको थिएन।
गाउँघरमा विदेश जाने फेसन नै चलेको थियो। अझ राम्रो कमाइ हुने ठाउँ भनेपछि त उल्कै हुन्थ्यो। दक्षिण कोरियामा राम्रो कमाइ हुन्छ रे भन्ने हल्ला थियो। मैले पनि हल्लाकै भरमा कोरिया जान कोरियन भाषा पढ्ने निधो गरेँ। बाआमा भने मेरो यस निर्णयप्रति पटक्कै खुसी हुनुहुन्थेन।
करिब तीन महिना कोरियन भाषा दत्तचित्त भएर पढेँ। यस्तो पढेँ कि, कोठाका समानदेखि जानेका शब्दसम्म मनमनै कोरियन भाषामै उल्था गर्न थालेँ। मानौँ यो नै मेरो सबथोक हो। इपिएसले लिएको भाषा परीक्षामा पास पनि भएँ। जीवनमा दिएका अन्य परीक्षाका रिजल्टभन्दा यो रिजल्टले बेग्लै खुसी दियो।
भाषा पास भएको करिब एक वर्षपछि मेरो श्रम सम्झौता आयो। खुसीले फुलेल भएँ। इपिएस सम्बन्धी सम्पूर्ण कागजी प्रक्रिया र भैसेपाटीको सात दिने अभिमुखीकरण तालिम पूरा गरी केही वर्षका लागि घर छोड्ने तयारी पूरा भयो।
***
करिब ६ घण्टाको हवाई यात्रापछि बिहानपख दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा मेरा तनमनका पखेटा निकै फुकेका थिए। कोरियाको विकास देखेर म चकित परेथेँ। लाग्थ्यो, यो देशमा काम नै काम छ! यो पैसै पैसाको सहर हो! यहाँ दुई हातले पैसा सोहोर्न सक्नुपर्छ!
करिब तीन दिनको तालिमपछि कम्पनी पुग्दा मलाई सेप्टेम्बरको चिसो हावाको झोक्काले स्वागत गर्यो। पहिलोपल्ट फलामका चाङ देख्दा मेरा आँखा जोडले तिरमिराएँ। म कल्पनाकाशको दक्षिण कोरियाबाट वास्तविक धरातलमा पुग्दा निकै रन्थनिएँ। काम गर्ने मेसिन देख्दा म पिँजडामा परेको पन्छीझैं छटपटाएँ।
फलामका चाङका बीचबाट इसाराका भरमा काम सुरु गरेँ। मलाई काम सिकाउने एकजना ६२ वर्षे कोरियन बुढा थिए। उनी निकै मेहनती थिए। खालि काम मात्रै गरिरहन्थे। उनको अनुहारको बान्की नै त्यस्तै हो या खै किन हो उनी निकै रिसाएझैँ देखिन्थे।
अपितु उनको बोली भने नम्र थियो। सुरुसुरुमा उनले मलाई उछिन्दै कोरियन अभिवादन गर्थे। म जिस्काएझैँ ठान्थेँ। पछि पो थाहा भयो, कोरियनले कामलाई पुज्दा रहेछन्। कोरियामा कामदारलाई सम्मान गर्ने संस्कार रहेछ। कोटीकोटी नमन छ उनीहरूको कामप्रतिको त्यो श्रद्धा र समर्पणको भावलाई।
एकदिन रेस्ट टाइममा मैले ती सहकर्मी बुढासँग परिवारबारे जिज्ञासा राख्दा उनले मोबाइलमा रहेको फोटो देखाउँदै कोरियनमा भनेका थिए, ‘उनी मेरी श्रीमती हुन्। उनी फूड कम्पनीमा काम गर्छिन्। हप्तामा हाम्रो एकपटक भेट हुन्छ। अनि यी दायाँबायाँ उभिएका चाहिँ छोरा हुन्। उनीहरू झण्डै-झण्डै तिम्रै उमेरका भए होलान्। उतै राजधानी सउलतिरै बस्छन्। उतै काम गर्छन्।’
बुढा रोकिए। उनले चुरोटको खिल्ली मतिर बढाए। मैले नकारात्मक टाउको हल्लाएँ। उनले चुरोट सल्काए। लामो सर्को ताने अनि बाहिर धूवाँको अमूर्त आकृति फ्याकेर बोले, ‘यहाँ कसैलाई कसैको मतलब हुँदैन। सन्तानले बाआमालाई हेर्दैनन्। उनीहरू उनीहरूकै लागि काम गर्छन्। हामी हाम्रै लागि हातखुट्टा चल्ने बेलासम्म काम गर्छौं। नत्र खान पाइँदैन नि।’
उनले मतिर पुलुक्क हेरे।
‘हाम्रातिर त गजब छ। एकजना सदस्यको भरमा पूरा परिवार बाँचेको हुन्छ। कामलाई भन्दा मानवीय संवेदनालाई बढी प्राथमिकता दिइन्छ। पचास नाघेपछि नेपालीहरू बुढो भइयो भन्न थाल्छन्। सरकार पनि ५८ मै अवकाश दिन्छ। बुढाबुढीले बोनसमा नातिनातिना पाउँछन्। नातिनातिना हुर्काउँदै दिन बिताउँछन्।’
मेरो कुरा सुनेर उनी छक्क परे।
वास्तवमा कोरियाका मेरा दिनहरू निकै कष्टपूर्ण रहे भन्दा हुन्छ। बिरानो मुलुक, भिन्न परिवेश, फरक रहनसहन र खानपिनमा एड्जस्ट हुन कठिन हुने नै भयो। त्यसमाथि दैनिक चौँध/पन्ध्र घण्टा निरन्तर काम गर्दा थाकेर लखतरान हुन्थेँ।
खाना खान गयो, टाढैबाट गन्हाउने। जेनतेन गाँस हाल्यो, निल्नै गाह्रो हुन्थ्यो। नेपालमा बाआमालाई यो भएन, त्यो भएन, यो खान्न, त्यो खान्छु भन्दै घुर्काउँदै, दंगाउँदै खान पाइन्थ्यो। दुई/चार घण्टा काम गर्यो भने थाकेको अभिनय गरिन्थ्यो।
जीवनमा कहिल्यै कल्पनासमेत नगरेको दुःख पाउँदा म झोक्राउन थालेँ। सबै मानिसहरू पराई लाग्थे। घर-परिवार र साथीभाइ त हुँदै भए, गाउँघरको ढुङ्गा, मुढाको समेत याद आउँथ्यो। चारैतिर अन्धकार लाग्थ्यो। जीवनदेखि नै विरक्त लाग्न थालेको थियो।
समाचार हेर्यो, हप्तैपिच्छे मानिस मरेको खबर। कोही आत्महत्या त कोही औधोगिक दुर्घटनामा। विरक्तीपनले छोपेको बेला यस्ता समाचार पढ्दा मन अझ खुम्चिने रहेछ। नेपालमा हुँदा यसो सोच्थेँ- परदेशमा गएर किन मर्छन् होला? परदेश कहाँ स्वदेश जस्तो हुन्छ र! मन त बुझाउनै पर्छ नि भन्ने लाग्थ्यो।
कोरिया आएको एक/दुई हप्तामै किन नेपाली श्रमिकको मृत्य हुने रहेछ भन्ने गतिलो अनुभव भयो। मानिस निराशाको चरम बिन्दुमा पुगेपछि आफूलाई व्यर्थ ठानेर बेहोसीमै ज्यान फालिदिने रहेछ। दक्षिण कोरियामा कामको चाप, होम सिकनेस र घरपरिवारले दिने तनाव नै मुख्य कारण रहेछ।
जतिसुकै तनाव हुँदा पनि मैले कहिल्यै हार खाइनँ। बरु धेरै पीडा भएको दिन कहिले मन हलुङ्गो पार्न कोठाको कुनामा मुख छोपेर रोएँ। कहिले मध्यरातमा एक्लै सडकका बत्तीसँग रमाएँ त कहिले मोबाइलमा बज्ने गीतहरूमा हराएँ। सम्झेँ, गाउँमा निकै सम्मान पाएका ती कोरियाबाट फर्किएकाहरूलाई। फेरि सम्झेँ, परदेशमै पसिना र रगत बगाएका ती लाखैं लाख युवायुवतीलाई अनि चित्त बुझाएँ। आखिर बुझाउनुपर्ने चित्त नै रहेछ।
जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा परिस्थितिको विश्लेषण गरी आफूलाई त्यसअनुरुप ढाल्न सक्नु पो रहेछ। मैले आफूलाई समायोजित गर्न थालेँ। महिना बितेपछि प्राप्त गरेको तलबले पनि केही उर्जा दियो होला!
अघि सय मिटर टाढैबाट गन्हाउने खाना दिनदिनै खाँदा मिठो पो लाग्न थाल्यो। चौंध/पन्ध्र घण्टा काम गरेर लखतरान हुने शरीर अब केही अभ्यस्त भयो। साँच्चै मानव शरीर त गजबको हुने रहेछ। मेसिन बरु खिया लागेर भाँचिएला। धेरै चलाए तातिएर पड्किएला। तर यो शरीर जस्तो गरायो त्यस्तै हुने।
***
‘कता हरायौ दृश्य भाइ?,’ दाइले कोट्याएपछि म झस्किएँ। दाइको अनुहारमा हेर्दाहेर्दै म त आफ्नो विगतमा पो फर्किएछु।
मोबाइलमा कसैकी पत्नी भइसकेकी मेरी भूतपूर्व प्रेमिकाको तस्बिर हेरेँ, नचाहँदा नचाहँदै।
‘डन्ट फर्गेट मि है,’ उसले अन्तिम भेटमा भनेकी थिई।
हे दैव!
‘म छिट्टै फर्किन्छु,’ मैले आश्वस्त पार्न खोजेको थिएँ।
विज्ञानले जतिसुकै नवीन आविष्कार गरे पनि उसको याद मेटाउन सक्ने कुनै ओखती बनाउन सकेको छैन। पानी कहिले दर्किएला खै?
चियर्स.चियर्स..चियर्स...
झम्म नसामाथि नसा लाग्यो।
खै कहाँ छन् अरु सोजुका बोटल? के मैले त्यति धेरै पिउन हुन्थ्यो?
साथीहरू राजनीतिक गफगाफमा व्यस्त थिए। नेपालीलाई जहाँ गए पनि राजनीति नै गर्नुपर्ने। कोही-कोही त देशको अवस्थाप्रति चिन्तित देखिन्थे, मदिराको प्रतापमा।
‘डन्ट वेरी, केटा हो,’ बल्ल दाइ भकभकाउनु भयो पूरै पारामा, ‘यी बुढाखाडा नेताबाट हुँदैन। नेपाल फर्किने बित्तिकै अध्यक्ष कमरेडलाई भेट्छु। आउँदो चुनावमा टिकट पाएँ भने देन आइ विल सो द फिउचर अफ आवर कन्ट्री।’
पुनः हाँसोका फोहरा छुटे।
हाहा...हिहि...होहो...
समय आफ्नै गतिमा थियो। रातको अन्धकार गहिरिँदै थियो। सप्ताहन्त भएर होला, कसैलाई समयको कुनै पर्वाह थिएन। पृष्ठभागमा उदित नारायणको स्वर ‘आँखाभरि हिउँचुली छन्छन् बग्ने खोला, फेरियो कि मेरो गाउँ अझै उस्तै होला’ गुञ्जिरहेको थियो।