पन्ध्र वर्ष भयो म नेपाल खाल्डो आएको। कति सपना बोकेर आएको थिएँ। सहरमा के-के न होला भन्ने लाग्थ्यो मलाई। कहिले ती फराकिला सोच भएका मानिसहरूको माझ हुन्छु होला भन्ने लाग्थ्यो।
आमाले त भक्कानिँदै भनेकी थिइन्, 'बाबु नजाऊ, तिमीबिना घर मसानघाट जस्तो हुनेछ। तिम्रो बुवाको अभावको परिपूर्ति फेरि को गरिदेला?'
आमाको यो शब्द अझै पनि मेरो कानमा गुन्जिरहन्छ, मन च्वास्स बिझेझैँ हुन्छ।
(औँलाहरू नभएका हातले आँसु पुछ्दै)
सायद, सायद त्यो दिन मैले आफ्ना कदम अगाडि नचलाको भए। सायद, सायद आमा तिमी ममाझ हुने थिइन्। मलाई बाल्यकालमा दिने म्वाइँ मैले अहिले पनि आभास गर्न पाउने थिएँ। हुन त उमेरमा, लक्का जवानीमा कहाँ मन स्थिर हुँदो रहेछ र?
त्यो समयमा त मनको समुन्द्रमा बाँध लगाउन त बिल्कुलै सकिँदैन रहेछ। फेरि पश्चिमदेखि नेपाल खाल्डोसम्मको यात्रा पनि त लामै थियो नि। कहाँ हुन्थ्यो र अहिलेको जस्तो नाइट बस!
आमा त्यहीँ भएर पनि भक्कानिँदै थिइन्। त्यही पनि मैले उनलाई सान्त्वना दिएँ र उज्ज्वल भविष्यको भाका दिएँ। तर मलाई कहाँ थाहा थियो र ती वचनमा धमिरा लाग्नेछन् भनेर!
'तिम्रो छोरा सहरमा ठूलो मान्छे भै आउनेछ आमा!' यो नै थियो उनी सँगको मेरो अन्तिम कुराकानी। मलाई आँखाले भ्याइन्जेलसम्म हेरेकी थिइन् उनले, रातो पछ्यौरामा बेरिएकी उनको त्यो छवि मेरो मस्तिष्कमा गढेर बसेको छ।
जोख्नै नसक्ने सपनाको भारी बोक्दै बिसाउँदै, बाहिर रात बसीबसी म काठमाडौँ आइपुगेँ। मेरो सपनाको सहर! उता पश्चिममा त हामी नचिनेको नजानेको मान्छेसँग पनि हाँसीहाँसी बोल्थ्यौँ तर जब मैले एक अन्जान व्यक्तिलाई नारायणहिटी दरबार कहाँ छ भनेर सोधेँ तब उसले रुखो स्वरमा मलाई कस्तो पाखे रहेछ भन्यो, अपहेलित व्यवहार देखायो।
काठमाडौँको दरबार र पशुपति जाने मलाई ठूलो धोको थियो तर त्यहाँ जान सायद मलाई जुरेको रहेनछ। सायद गाउँघरतिरको मान्छे भनेर मलाई मेरै पोसाकले साफ दर्साउँथ्यो, तब मानिसले मलाई मान्छे नै गन्दैन थिए।
आँट गरेर काठमाडौँ त आएको थिएँ तर सोचेको जस्तो वर्तमान नपाउँदा म मानसिक रुपले विक्षिप्त भैसकेको थिएँ। झोलामा त्यहीँ एउटा सारङ्गी, एक सरो लुगा र सय रुपियाँ मात्र थियो। त्यहीँ सय रुपियाँ निकालेर होटलमा खान जाउँ भन्दा मेरो गोजीमा थिएन।
एकचोटि खोजेँ, दुई चोटि खोजेँ, तीन चोटि खोजेँ तर अहँ! त्यो त्यहाँ थिएन, मेरो मन खुम्चियो। मैले सोचेँ, यति फराकिलो सहरमा पनि साँघुरो मन भएका त थुप्रै रहेछन् नि! चैतको गर्मीको रापमा म भौतारिरहेको थिएँ, जिउने आधार खोज्ने क्रममा थिएँ। अरु केही होइन रात कसरी, कहाँ कटाउने होला भन्ने चिन्ताले मलाई घेरेको थियो।
विस्तारै विस्तारै घाम ढल्कियो र जून पलायो तर मैले मेरो बास भेट्टाएको थिइनँ। बिहानदेखि भौतारिएर हिँडिरहँदा मैले पानी प्यास लागेको पनि थाहा पाइनछु। जब थाहा पाएँ, म झिसमिसे अँध्यारोमा पानीको खोजी गर्न थालेँ।
कतै कुलो वा खोलो छ कि भनेर भौतारिएँ। एकैछिनपछि खोला त भेट्टाएँ तर खोला हो कि ढल हो भनेर पहिलाउन सकिनँ। झन् त्यसको दुर्गन्धले त मलाई धन्नै मारेको नि बाबा! बरु काकाकुल भैइन्छ तर गुहे झिँगा भइन्न भनेर म निन्द्रा मेटाउने स्थानको खोजीमा लागेँ।
मेरा पैताला घोट्टिसकेका थिए। शारीरिक उर्जाले ओरालो लागिसकेको थियो। त्यसैले मैले सडकको पेटीमा नै काठमाडौँको पहिलो रात बिताएँ। आकाश हेरेर सुत्ने बानी थियो मेरो, तर खै बिजुलीका मोटा र जेलिएका तारहरूले मलाई सुन्दर आकाश हेर्न पनि दिएन। कस्तो अव्यवस्थित भनेर म खुइय्य गर्दै सुतेँ।
'राति जाँड घिचेर होला, हेर त सडकमा लडिरहेको छ!' भन्ने छुच्चो, ठूलो आवाज सुनेपछि म झसंग भै उठेँ।
बिहान पनि भैसकेछ भनेर म मेरो झोलासोला लिई उठेँ। छाक टार्न त केही गर्नुपर्यो भनेर मैले मसित भएको सारङ्गी निकालेँ र घर-घरमा गएर गीत सुनाएँ। कोही घरबेटी गीत सुन्न तलै आउथेँ, कोही गीत गाउन नपाउँदै बरन्डाबाट पैसा फाल्दिन्थे त कोही भने सुने नसुनेझैँ गरी बाहिरै निस्किदैन थिए।
हरेक राति म मानिस पिच्छेको व्यवहारको मूल्याङ्कन गर्थेँ, चाउचाउ खान्थेँ र सुत्थेँ। म विस्तारै सहरिया वातावरणमा रुझ्दै थिएँ, कुराहरू बुझ्दै थिएँ। राति भने आमाको यादले मलाई अत्यन्त सताउँथ्यो। मागेर खानुभन्दा केही गरेर खानुपर्छ भन्ने सिद्धान्त आमाले नै मलाई सिकाएकी थिइन् र जहाँसम्म लाग्छ मैले यो सिद्धान्तलाई व्यावहारीकरण पनि उत्तिकै गरेको छु।
'अनि त्यसपछि के भयो बाबा?' छोरीले प्रश्न गरी।
वातावरणमा रूझ्दै गएपछि मैले को कस्तो छ, के गरे कस्तो हुन्छ? भन्ने कडी पहिल्याएँ। त्यसपछि मरो आम्दानी राम्रै हुन थाल्यो। पैसा ठिकठिकै कमाउन थालेपछि म डेरामा बस्न थालेँ। डेरामा मेरा लत्ता-कपडा र एउटा झोला बाहेक केही पनि त्यस्तो वस्तु थिएन।
घरबेटीले त सुरूमा पत्याएकी थिइनन् तर सारङ्गी बजाउने भनेपछि उनले डेरा दिन स्वीकार गरिन्। सायद मेरो पैसा कमाउने आधार भेट्टाइन् वा त उनी पक्कै कलाको पारखी थिइन्।
घर भएको बेला मलाई सारङ्गी बजाउन लगाउँथिइन्। त्यो बेला माथि काम गर्ने केटी पनि सँगै गीत सुन्न भनेर आउँथिन्। त्यो केटी को थिइन् थाहा छ छोरी तिमीलाई?
'को थिइन् बाबा?'
तिम्री आमा। अलि लजालु स्वभावको थिइन्। मनको एकदम दयालु, निर्मल र पौरखी थिइन्। यही गुण, यही तत्वले त म उनीसित निकटतामा बेरिसकेको थिएँ, प्रेममा परिसकेको थिएँ।
उनले पनि मलाई भित्रैदेखि चाहन्छिन् भन्ने भाव त मसँग थियो नै तर पनि मलाई भन्न भने डर लाग्थ्यो। विस्तारै विस्तारै हामी गाँसिदै गयौं र त्यस्तो मनको कुरा अगाडि नै भन्नुपर्ने अवस्था आएन।
यो कुरा थाहा पाएपछि घरबेटी दिदीले हामी दुईको बिहे गराइदिने भन्नुभयो। शुभ साइत ठहराएर बिहे गर्यौं, हामीले। ती पछिका समय रमाइला थिए- तिमी जन्मियौँ, हामी दुईको आम्दानी पनि उकालो लाग्यो।
तर भावीको अनौठो खेल! राम्रा समयले छोपेको मात्र के थियो, हाम्रो परिवारमा अकल्पनीय बज्रपात आयो। मेरी आमा बितेको खबर मैले पाएँ। त्यसलगत्तै गाडीले मलाई सडकमा ठक्कर हानेपछि मैले मेरो हात सधैँको लागि गुमाएँ।
धन्न घरबेटी दिदीको सुझावमा जीवन बिमा गरेको थिएँ, नत्र त मेरो बेहाल नै हुने रहेछ नि! एउटा हात नभएपछि मैले राम्ररी सारङ्गी चलाउन सकिनँ र आर्थिक बोझ सबै तिम्री आमाको काँधमा थुप्रियो।
घरबेटीकहाँ काम गरेर नपुग्ने भएपछि उनले जागिर खोज्न थालिन्, पाइन् पनि। फ्याक्ट्रीमा उत्पादित वस्तुमा खोल लगाउने काम पाइन्। म चाहिँ केही कामको नभएको भन्ने भाव आएपछि मैले र तिम्री आमाले जोगाएको पैसाले पसल थाप्ने निर्णय बनाएँ।
पसल थाप्नको निम्ति म घर-घर चहारेँ तर बहालको रकम सुनेपछि आत्तिँए। बरु सडकको पेटीमा नै केही थाप्नुपर्यो भन्ने सोच आयो ममा। हो त्यही सडक, जहाँबाट मैले आफ्नो सहरीया यात्रा सुरु गरेको थिएँ, त्यही पेटी जहाँ मैले पहिलो रात कटाएको थिएँ।
दुई जनाको सुझावपछि मैले 'नेपाल-भारत लाइब्रेरी'को अगाडि कपडा बेच्न थालेँ। धेरै चहलपहल हुने भएकाले व्यापार राम्रै हुन्छ जस्तो लागेको थियो तर सोचेजस्तो व्यापार भइरहेको थिएन। तर एउटा कुरा भने राम्रो लाग्यो।
मैले आफूलाई शारीरिक अशक्त मानिसकेको थिएँ तर म छेउछाउका दिदीबहिनी दाजुभाइले आफ्नो अशक्तता बाबजुद गीत गाएर राम्रो उदाहरण दिइरहँदा म चाहिँ किन आफूलाई कमजोर ठान्ने भन्ने भाव मनमा पलायो। त्यसपछि मैले आफ्नो गुमिसकेको आत्मविश्वास पाएँ र अगाडि बढ्न थालेँ।
'हो बाबा, हजुर मेरो लागि ठूलो प्रेरणाको स्रोत हुनुहुन्छ,' छोरीले भनी।
खुसी लाग्यो छोरी, म त्यही भएर आफूलाई अशक्तभन्दा पनि भिन्न शक्तिको दर्जा दिन चाहन्छु। म अरूको विचराको पात्र बन्न चाहदिनँ। म अरूको 'कठै!' को पात्र बन्न चाहदिनँ।
मलाई टुँडिखेलमा पर्व मनाउन आउने करोडौँको गाडी चाहिएको छैन। मलाई कसैको महाधिवेशनमा मासुभात, बदम खानु छैन। कसैको झण्डा बोकेर बिक्नु छैन। म जे छु, जुन अवस्थामा छु, एकदम राम्रो नै छु, बाँचेकै छु, तिमीलाई पढाएकै छु। पौरखशील जीवनसंगिनी पाएकै छु।
बस् तिमी छोरी, मलाई छोडेर कतै नजाऊ ल। मैले पन्ध्र वर्षअगाडि घर छोडेको गल्ती तिमी चाहिँ नदोहोर्याऊ ल!
'हस् बाबा! म असल मान्छे बन्नेछु। म हजुरको सङ्घर्ष गाथालाई फूलले अवश्य सजाउनेछु।'