आइलीन घुम्न मन पराउँछिन्। वर्ष-वर्षमा कम्तीमा दुई पटक लामो यात्रामा निस्किन्छिन्। जर्मनको तीन महिना लामो घुमाइपछि हिजो मात्र फर्किएकी उनले आज शर्ट भिजिटको लागि घर आउँछु भनेकी छन्। त्यसैले आज बिहानदेखि नै उनको स्वागतका निम्ति आँतुर छु।
छुट्टीका दिन भ्याउनु पर्ने सबै काम थाती राखेर उनी आउने समयको प्रतीक्षामा छु। उनी आउने कुराले मन फुरुक्क छ। नहोस् पनि कसरी? उनको आगमन परदेशी जीवनमा परिवारको न्यास्रो मेटाउने गतिलो बहाना जो बनेको छ।
आफन्तबाट टाढा विदेशी भूमिको एक्लो र निराश जीवन उनको आगमनसँगै प्यारो लागेको छ। आफन्तको अभावमा भरिएका मनका बहले उनीसँगको पलभरको बसाइमा निर्धक्क पोखिने अवसर पाएका छन्। परदेशी भूमिलाई कर्मथलो बनाउने क्रममा भेटिएकी उनीसँगको यो नाता रगतको नाताभन्दा गाढा बनेको छ।
वर्तमानमा अति नै निकट बनेको यो सम्बन्धको विषयमा कुरा गर्दा उनीसँगको पहिलो भेट सम्झन्छु। विदेश आएको ६ महिना भइसक्दा पनि आफ्नै देश, परिवेश र आफन्तको माया अनि बिछोडको पीडा मनभरि थियो।
आफन्तहरूबाट यति टाढा किन र केका लागि आएँ होला? भन्ने अन्तर्मनमा उब्जेका अनन्त प्रश्नहरूको उत्तर पाउन नसकी भूमरीभित्र रुमल्लीरहेको धूलोको कणजस्तो दिशाविहीन भएर आफैभित्र हराएकी थिएँ।
दिक्दारीका कारण कसैसँग भेट गर्न बोल्न मन थिएन। व्याकुलताले भरिएकी थिएँ। तर पनि श्रीमानको कुरामा प्रतिबद्ध भई बसाइँ आएका गर्भवती महिलाहरूलाई सहयोग गर्ने निःशुल्क सेवा लिन मन्जुर भएँ। गर्भवती हुँदा एक्लोपनका कारण डिप्रेसनको सम्भावना बढी हुनाले त्यसको निवारणका खातिर चलाएको योजनामा श्रीमानले लेखेका इमेलमार्फत अनायासमै सामेल भएँ। जसमा नानी जन्मिनुभन्दा दुई महिना अघिदेखि नानी दुई वर्षको नहुन्जेलसम्मको समयावधिमा स्वयंसेवक घरमा आउने सहमति थियो।
सहमति अनुरूप एक दिन दिउँसो २ बजे मेरो फोनमा ढोका खोल्नको लागि घण्टी बज्यो। मैले फोन उठाएँ र ढोका खोलिदिएँ।
(अपार्टमेन्टको मूल ढोका सधैँ बन्द हुन्छ। त्यहाँ बस्ने मानिसहरूसँग त्यसको चाबी हुन्छ भने चाबी नहुँदा मूल ढोकाको अगाडि राखिएको नम्बर सहितको सानो बक्समा जानुपर्ने कोठाको कोठा नम्बर डायल गरेपछि कोठा धनीले फोन उठाएर जिरो नम्बर थिचे मात्र मूल ढोका खुल्छ।)
मूल ढोका खोलेको केही बेरमा नै औसत नेपाली महिलाभन्दा अग्ली, ब्वाइजकट कपाल काटेकी, गोरो छाला र कुइरा आँखा भएकी महिला प्रवेश गरिन्। प्रत्यक्ष भेटका निम्ति आएकी ती अधबैँसे महिला नै आइलीन थिइन्। करकापमा परेकी मेरा निम्ति उनीको पहिलो आगमन उत्साहजनक हुने कुरा भएन। तर मेरो मानसिक अवस्थाको बारेमा बिल्कुल अन्जान उनी पहिलो भेटमा नै अत्यन्त सहजरूपमा प्रस्तुत भइन्।
स्वयंसेवकका रूपमा आउन सुरू गरेकी उनी हप्तामा दुई पटक दुई घण्टाका निम्ति आउने, छोरोसँग खेलिदिने, आवश्यक भएमा सपिङ लाने, ल्याउने गर्न थालिन्। तर मेरो चाहना विपरीत बनेको योजनामार्फत आएकी उनीसँग दोहोरो बोल्न मन लागेन।
उनी आउँदा हामीलाई नै फाइदा छ भन्ने श्रीमानको ढिपीका अघि म लाचार थिएँ। साथै घरमा आउने व्यक्तिलाई अनादर गर्न नैतिकताले पनि दिएन। त्यसैले बोल्न करै लाग्यो। उनले नेपाली संस्कार र संस्कृतिका बारेमा राख्ने जिज्ञासाहरू, जान्ने उत्सुकताहरू स्वाङ मात्र हो जस्तो लाग्यो।
भागवत गीताको अंग्रेजी अनुवाद उपहार ल्याइदिएर साबित गरिन् कि उनी वास्तवमै पूर्वीय सभ्यताबारे जानकार रहिछन्। बाध्यतामा सुरू भएको हाम्रो सम्बन्ध उनको सहयोगीपन, नम्रता, शालीनताका कारण मित्रतामा परिणत हुन भने कति पनि समय लागेन।
हामी दुई चिया पिउँदै चिरपरिचित झैँ समय सापेक्ष कुराकानीमा समय बिताउन थाल्यौँ। उनले पनि महिनैपिच्छे र अन्तिम महिनामा हप्तैपिच्छे जानुपर्ने डाक्टर चेकअपमा समय मिलेसम्म लाने ल्याउने गर्न थालिन्। मलाई सुत्केरी व्यथा लागेपछि हस्पिटल पुर्याएर भर्ना गराई 'तिमीलाई आपत्ति छैन भने आजको रात तिम्रो छोरोलाई मेरो घरमा राख्न सक्छु' भन्दै छोरोको जिम्मा लिई हामीलाई सजिलाो बनाइदिइन्।
अंग्रेजी बोल्न नजान्ने १८ महिनाको नानी रुवाउँदै लगेर रातभरि हेर्नु उनका लागि पक्कै सजिलो काम थिएन। छोटो समयको चिनजानमा नै देखाएको यो आफ्नोपनले हामी उनीप्रति नतमस्तक भयौँ। उनको यो सदाशयता परदेशमा बाँचिरहेका हामीमा कहिल्यै बिर्सिन नसक्ने खुसीको क्षण बनेर आयो।
थाहै नपाई दुई महिनामै उनी हाम्रो सहयोगीबाट अभिभावक बनिसकिछिन्। हामीलाई जति बेला आवश्यकता पर्छ समय मिलेसम्म हाम्रो सहायताको लागि उपस्थित भइदिएकाले साना नानीहरूसँगको परदेशको बसाइमा उनको साथ अपरिहार्य बन्दै गयो।
त्यो दुई वर्षमा उनले हाम्रो लागि जति सहयोग गर्न सहमति भएको थियो त्योभन्दा सयौँ गुणा बढी गरिन्। स्वार्थसाथ सुरू भएको सम्बन्धलाई समयले यसरी बदलिदियो कि उनी आउँदा राम्ररी नबोलेकी म उनी जान्छिन् भन्ने पीरमा छटपटिन पुगेँ। उनीसँग सधैँको निम्ति सामीप्यताको आशा राख्न पुगेँ।
आशानुरूप नै उनले 'मेरो कार्यकाल समाप्त हुँदैछ तर तिमीहरूलाई आपत्ति छैन भने म मित्रतालाई निरन्तरता दिन चाहन्छु' भनेका दिन ढुंगा खोज्दा देउता मिलेजस्तै भयो। सम्बन्ध सकिन्छ कि भन्ने तनावबाट मुक्ति पाएँ। चाहनाअनुरूप आएको मित्रतालाई हामीले अति हार्दिकताका साथ सहर्ष स्वीकार्यौं।
यसरी हाम्रो जीवनमा प्रवेश गरेकी उनी अहिलेसम्म पनि शुभचिन्तक, सहयोगी, अभिभावक बनेर समय मिलेसम्म हाम्रा आवश्यकताहरू परिपूर्तिका निम्ति उपस्थित भैरहेकी छिन्। सफा मनकी उनी घरमा आउन नभ्याए फोन गरेरै हाम्रो सुखदुःखमा साथ दिँदै आएकी छन्।
विदेशी भूमीमा पहिलो पुस्ताले भोग्नुपर्ने द्विविधा, असजिलोमा हाम्रो मार्गदर्शक, संरक्षक बनेकी छन्। यसरी निःस्वार्थ हामीसँग जोडिन आएकी उनी हामीसँगै नेपाल गएर नेपाली जीवनशैलीलाई नजिकबाट नियाल्न चाहन्छिन्।
हाम्रो र उनको सामाजिक रीतिथितिमा आकाश पातलको फरक छ। नितान्त भिन्न संस्कार र परम्परामा हुर्किएका हामी एकअर्काको भावनालाई सम्मान गर्छौं। उनलाई हाम्रो समाजका संयुक्त परिवार ढाँचा र धार्मिक संस्कारका कुरा अनौठा लाग्छन् भने मलाई उनको जीवन भोगाइ अनौठो लाग्छ।
दुई जना छोराछोरी आसपासमा हुँदाहुँदै ६० वर्षको उमेरमा एक्लै बसेकी उनको जीवन हाम्रो निम्ति सहज देखिँदैन। त्यसैले हृदयघातका कारण क्षणभरमा अकस्मात् श्रीमान् बितेपछि सहानुभूति जनाउँदै मैले सोधेँ, 'आइलीन, दुई जना हुँदा त ठिकै थियो तर अब त्यति ठूलो घरमा एक्लै कसरी बस्छौं? छोराछोरीसँग बस्न मिल्दैन?'
मेरो जिज्ञासालाई अत्यन्त सहज रूपमा लिँदै उनले भनिन्, 'यो घरमा उनको यादले सताइरहेछ। त्यसैले अब यो घर बिक्रीमा राखेर छोराको घर नजिकै सानो घर किनेर सर्ने विचारमा छु। तत्कालको पीडा भुलाउन १,२ दिन त छोराछोरीहरूसँगै बसौँला तर त्योभन्दा बढी बस्न सक्दिनँ।
१८ वर्षका भएर आत्मनिर्भर बन्ने क्रममा निस्किएका उनीहरूको जीवनचर्या मेरोभन्दा फरक छ। स्वतन्त्रतापूर्वक बाँचिरहेकी मलाई उनीहरूको नियममा बाँधिएर बस्न मन लाग्दैन। साथै उनीहरूले मेरो लागि दिनचर्या परिवर्तन गरेको पनि मन पर्दैन। जति नै मिलेर बसे पनि सबैजना एकैठाउँमा बस्ने बित्तिकै एकअर्काको समय तालिकामा असर पर्छ। पारिवारिक गोपनीयता भंग हुन्छ।
फेरि मेरो एक्लोपन र बुढ्यौलीको निम्ति उनीहरूको जीवनको महत्वपूर्ण, उर्जाशील समय खर्च गराउन चाहन्नँ। त्यसैले उनीहरूसँगै एउटै घरमा बस्न जान्नँ। आफ्ना नियमित काम गर्न नसक्ने भएपछि घर बेच्छु र वृद्धाश्रममा जान्छु।'
उनका कुराले प्रस्ट हुन्छ उनको जीवनक्रमको परिपाटी हाम्रोभन्दा बिल्कुलै फरक छ। यहाँ बाबुआमाको छोराछोरीप्रतिको जिम्मेवारी उनीहरू १८ वर्षका हुन्जेल मात्र हो। त्यसपछि बाबुआमा छोराछोरी दुवै स्वतन्त्र हुन्छन्। लगानी गरिदिने अभिभावक नभएपछि छोराछोरी स्वतः स्वावलम्बी बन्छन् भने आत्मनिर्भर बाबुआमालाई पनि छोराछोरीसँग कुनै आशा रहन्न।
बाबुआमाको बुढ्यौली सुविधा सम्पन्न वृद्धाश्रममा बित्छ भने छोराछोरी आफ्नै दुनियाँमा रमाउँछन्। किशोर अवस्थादेखि आत्मनिर्भर भएर स्वतन्त्र बाँच्न सिकेका छोराछोरीहरूलाई कुनै सामाजिक बन्देजले पनि छेक्दैन। तर म हुर्किएको समाजमा आत्मनिर्भर भए पनि स्वतन्त्र बाच्न कहाँ सकिन्छ र?
व्यक्तिगत स्वतन्त्रतालाई पर्वाह नगरी अरूका लागि बाच्नुपर्छ। घरपरिवार, आफन्तका निम्ति समर्पित बन्दै समाज अनुकूल हुनुपर्छ। कतिपय अवस्थामा आफ्नो इच्छा विपरीत, आर्थिक हैसियत बिनाको समाजिक व्यवहार पनि गर्नुपर्छ। संयुक्त परिवार प्रथाका कारण परिवारसँगै बसेर एकअर्काको ख्याल गर्नुपर्छ।
तर यहाँका मानिसहरूमा परिवारसँगै हुनुपर्छ भन्ने सोचाइ नै छैन। सक्ने हुन्जेल काम गर्ने, नसक्ने भएपछि पेन्सनको कमाइमा स्वतन्त्रतापूर्वक बाँच्ने बानी परेकाहरूलाई आफन्तको सहारा पनि चाहिन्छ वा सहारामा बाँच्नुपर्छ भन्ने नै थाहा छैन। व्यक्तिगत गोपनीयता, स्वतन्त्रतालाई पहिलो प्रथमिकतामा राख्ने परिपाटिमा हुर्किएकी उनी पनि त्यसैको पालना गरिरहेकी छन्।
उनका दैनिक व्यवहारका कुरा सुन्दा आश्चर्य लाग्छ जुन हाम्रोमा भन्दा धेरै फरक छन्। गफ गर्न क्रममा एक दिन उनले भनिन्, 'मेरो घर भाँडा बजार भाउअनुसार महिनाको दुई हजार डलर हो तर आफ्नै छोरीलाई दिएकाले १७ सय डलर मात्र लिन्छु।'
त्यस्तै 'नयाँ कार किन्न मन लाग्यो, त्यसैले पुरानो बेचेँ। अरूलाई भए ९ हजार डलरमा बेच्ने सोचमा थिएँ। तर आफ्नै छोराले किन्ने भयो, त्यसैले ७ हजारमा दिएँ।'
हाम्रामा बाबुआमाले आफ्नो घरमा छोराछोरीलाई बस्न दिएबापत भाडा उठाउने भन्ने विषय सोच्न पनि सकिन्न। अनि बुवाले नयाँ साइकल ल्याउँदा पुरानो त स्वतः छोराछोरीको हुन्छ। अधिकार नै लाग्छ, किन्ने त कुरै आउँदैन। तर यहाँ १८ वर्षपछि बाबुआमाले छोराछोरीहरूलाई मन लागे दिन्छन्, नलागे दिँदैनन्।
छोराछोरीहरू पनि बाबुआमाको भएकोले केही सहुलियतमा पाइएला तर सित्तैमा पाइँदैन भन्ने विषयमा स्पष्ट छन्। बाबुआमाको सम्पत्ति स्वतः छोराछोरीमा जाने कुनै नियम छैन।
पैतृक सम्पत्तिका विषयमा उनी भन्छिन्, 'मेरो सम्पत्तिमा कसैको हक लाग्दैन। मैले छोराछोरीलाई दिनुपर्छ भन्ने पनि छैन। तर मेरो श्रीमानको कमाइ राम्रो भएकोले हामीले दुइटा घर किन्यौँ। त्यसैले एउटा घर उनीहरूलाई दिन्छु। तर यो कुरा गोप्य राखेकी छु किनकि म उनीहरूले मेहनत गरेको हेर्न चाहन्छु। मेरो आशय बिना मेहनत ठूलो रकम पाउने थाहा पाएर उनीहरू अल्छी नहुन् भन्ने हो।'
यसरी स्वतन्त्र जीवनयापन गरिरहेकी उनमा जसरी कुनै पारिवारिक उत्तरदायित्व छैन त्यसरी नै उनको निर्णयलाई अवरोध गर्ने कुनै सामाजिक बन्धन पनि छैनन्। नातिनातिनाको विषयमा जिज्ञासा राख्दा उनले भनेकी थिइन्, 'कुनै पनि जिम्मेवारी लिनुभन्दा पहिला त्यसले आफ्नो नियमित दिनचर्यामा के कति फरक पार्छ? कति परिवर्तन गर्छ? भन्ने नसोचीकन लिन हुँदैन।
नातिनातिनासँग बस्न र उनीहरूलाई हेर्न थालेपछि मेरा व्यक्तिगत कामहरू र तिनको समयमा परिवर्तन हुन्छ। इच्छाका कामहरू गर्न पाउँदिनँ। केटाकेटीको रुटिनमा चलेपछि मेरो रुटिनमा कसरी चल्न सक्छु र? त्यसैले कहिलेकाहीँ १/२ घण्टालाई सहयोग चाहिएमा सघाउँछु तर सधैँलाई नातिनातिना हेरेर बस्न सक्दिनँ। ४/५ वर्षका भएपछि १/२ रातका लागि मेरा घरमा बस्ने गरी आउन सक्छन् तर उनीहरूलाई सधैँ आफ्ना घरमा राख्न सक्दिनँ।
नानीहरूको दिगो व्यवस्थापन भएन भने बाबुआमा काममा जाने वातावरण बन्दैन। त्यसैले नातिनातिना हेर्ने जिम्मेवारी लिएर केही दिनमा सकिनँ भन्नुभन्दा नहेरेको नै ठिक। नानीहरू राख्न राज्यका अनुमतिमा खोलिएका सुविधा सम्पन्न डे-केयरहरू (शिशु स्याहार केन्द्र) प्रशस्तै छँदै छन्। त्यहाँ नानी राखेबापत राज्यकातर्फबाट आर्थिक सहयोग पनि पाउँछन्। फेरि केटाकेटीको जिम्मेवारी लिनेले हेलचेक्र्याइँ गरे सजायको भागीदार समेत हुनुपर्छ। त्यसैले म जोखिम लिन चाहान्नँ।'
हाम्रो समाजमा त हजुरबा, हजुरआमाले नातिनातिना हेर्न सक्दिनँ भन्न नपाउने भएर होला सबैले नातिनातिना हेर्ने गरेको छन्। फेरि आज मैले हेरेँ भने मेरो बुढेसकालको सहारा हुन्छन् भन्ने लोभले, आशाले पनि होला। तर यहाँ आत्मनिर्भर भएर स्वतन्त्र बाँच्न बानी परेकाहरुलाई न बुढेसकालको सहाराको लागि चिन्ता न अरूले के भन्लान् भन्ने डर। त्यसैले आफ्नै नातिनातिना हेर्नलाई समेत समय मिलेमा भ्याउने र समय नमिलेमा नभ्याउने भन्ने हैसियत राख्छन्।
एक्लै बसेर पनि रमाउन, बाँच्न सकिन्छ भन्ने सोचाइ नै नभएको परिपाटीमा हुर्किएकी मेरा लागि उनको जीवन भोगाइ अनौठो तर प्रेरणादायक छ। उनीसँगको संगतले जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ।
उनका आफ्नै छोराछोरीको नै किन नहोस्, आफ्नो स्वार्थका निम्ति उनीहरूको उर्जाशील समय किन बर्बाद गर्नु? पारिवारिक गोपनीयता किन भंग गर्नु? बिना मेहनत पैसा पाउँदा मान्छेमा आलश्यता बढ्न पनि सक्छ। जिम्मेवारी लिनुअघि नै सोच्नुपर्छ। नातिनातिना नै किन नहुन् आफ्नो जीवनलाई जोखिममा नपारौँ भन्ने भनाइको हार्दिक सम्मान गर्छु।
उनलाई भेटेपछि लाग्छ स्वावलम्बी भई आफ्नै छोराछोरीसँग आश्रित हुनु नपर्दा, कसैसँग केही कुराको आशा नराख्दा, बिना कुनै गुनासो खुसीसँग बाँच्न सकिन्छ। तर नागरिकको निम्ति सामाजिक सुरक्षा, रोजगारी दिन नसक्ने हाम्रोजस्तो विकासोन्मुख देशमा यो सम्भव छैन।
उनको एक्लै बस्ने निर्णय त नागरिक प्रतिको जिम्मेवारी पूरा गर्दै फोनका भरमा ५ मिनेटमा पुलिस, एम्बुलेन्स, दमकल आउने व्यवस्था रहेको विकसित मुलुकमा मात्र सहज छ। जेष्ठ नागरिकका निम्ति प्रधान गरिने सेवा-सुविधा नै उनको भरपर्दो सहारा हो जसले परिवारसँगै नभए पनि जीवनयापन सहज बनाइदिएको छ।
सरकारी सेवा सुविधाको उपज नै हो जसले उनलाई एक्लै स्वतन्त्र भएर बाच्न सक्ने वातावरण दिएको छ। सरकारले नागरिकको सुरक्षा, सेवा सुविधाको जिम्मेवारी लिएको छ। त्यसैले बिना कुनै आपत्ति एक्लै बस्न सकेकी छन्।
यसरी कसैको करकापमा नपरी खुसीसाथ एक्लै बस्ने वातावरण पाउने हो भने वास्तवमा मान्छे एक्लै हुँदा जति स्वतन्त्र हुन्छ अरूसँग मिलेर बस्दा त्यति स्वतन्त्र पक्कै हुँदैन।