'१३ दिनसम्म यतै व्यस्त भएकाले अहिले पनि आफ्नो घरमा बस्न एकैछिन मन लाग्दैन। त्यसैले खाना खानेबित्तिकै आएँ' भन्दै पान सुपारी चपाउँदै छिमेकी भाउजू एक्कासी मेरा अगाडि देखा पर्नुभयो।
दुई घरका बीचमा जान-आउन सजिलो बनाउनका खातिर घरको पछाडिपट्टि बनाइएको सानो बाटो प्रयोग गरेर आउनु भएकाले आँगनको कुर्सीमा बसेर अगाडि बाटातिर टोलाइरहेकी म उहाँको बोलीले झस्किएँ।
मेरो छेउमा भएको अर्को कुर्सीमा बस्न इसारा गर्दै मैले थपेँ, '१३ दिनमात्रै हो र भाउजू, तपाईं त आमा बितेको आज जति दिन भयो त्यति दिनदेखि नै यतै हुनुहुन्छ, होइन र?'
'हो नि ठिकै भन्नुभयो, बैनी तपाईंले वास्तवमा त्यही दिनदेखि हामी सबै यतै त छौं, १५ दिन पो भैसकेछ।'
'भाउजू, म आफै तपाईंका घरमा आउने विचारमा थिएँ तर खाना खाएपछि गलेर भुतुक्क भएँ। त्यसैले एकछिनमा जानुपर्यो भनेर यहाँ बसेकी।'
'केका लागि आउन लाग्नुभएको थियो? जाने भए जाउँ न त' भनेर भाउजूले भनेपछि 'यत्रो दिन नकोरेको कपालमा परेके लट्टा फुटाउने जाँगर पनि छैन। अलिअलि टाउको पनि दुखेको छ। कपालमा तेल मालिस गर्दा आराम हुन्छ कि, कपाल कोरिदिनु न भन्नलाई हो।'
'तेल लाउन त म यहीँ बसेर पनि लगाइदिहाल्छु नि। तपाईं तेल ल्याएर गुन्द्रीमा बस्नु, म मुडामा बस्छु। यो सुपारीको फेदमुनि शीतल पनि छ,' भन्दै भाउजूले गुन्द्री ओछ्याउनु भयो।
तेल लगाउने बहानामा लामो समयपछि फुर्सदमा बस्न पाएका हामीबीच समय सान्दर्भिक गफ सुरु भए।
भाउजूले भन्नुभयो, 'तपाईंलाई नुन लागेको हो बैनी त्यसैले शरीर गलेर जाँगर हराएको हुनुपर्छ। आज धेरै बसेजस्तो छ, हिजो त अनुहार सुनिएको प्रष्टै देखिन्थ्यो।'
'होला नि भाउजू, १३ दिनपछि नुन खाएर शरीर गल्नु त ठिकै हो तर नुनले तन गल्नुभन्दा पनि आज मनले बढी गलेको अनुभव गरिहेकी छु।'
'होनि, तनमन दुवैले गलिन्छ यस्तो बेलामा। त्यसमाथि पनि सबैथोक गर्ने तपाईं नै हो, दुइटी भाउजूहरु केटाकेटीका आमा, त्यो पनि जेठी सागरबाट फर्किँदै गर्दा पर सरिहालिन् अनि कान्छीलाई पनि त्यस्तै। विचराले १० दिनमा यहाँ आउने/जानेको भिड धेरै भएका बेलामा परेर हाम्रा घरमा गएर बस्नु पर्यो। फेरि यस्तो बेलामा किरियापुत्रीले गर्ने काम धेरै हुन्छन्, अरूले सघाउन नमिल्ने। एक्लै सबैतिर भ्याउनु परेपछि त गाह्रो भैहाल्छ नि।
त्यसैले शरीर त गल्ने भैहाल्यो, फेरि मनले पनि कसरी नगल्नु र बैनी? माइजू (मेरी आमासँग माइजू नाता थियो) त्यसरी अप्रत्यासित रुपमा क्षणभरमा नै बित्नुभयो। मामाघरमा एक्कासी चिच्याएको सुनेर के भयो? भन्दै सुन्नेबित्तिकै आउँदा माइजू ढलिसक्नु भएको थियो। हामी सबै अत्तालिएर एम्बुलेन्स बोलायौँ। हामीलाई त माइजूको सास अझै बाँकी छ होला भन्ने आशा थियो त्यसैले हतारिँदै राति ९ बजे बिर्तामोडको कनकाई अस्पताल पुग्यौं।
'उहाँलाई अस्पताल भित्र लाग्नुको साटो डाक्टरलाई यही बोलाएर देखाउनु राम्रो हुन्छ। उहाँको अवस्था हेर्दा मेरो विचारमा अब डाक्टरले पनि बचाउन सक्दैनन्। एम्बुलेन्सबाट झारिसकेपछि हामीले बोक्न पनि मिल्दैन। तपाईंहरुले शव बाहन खोज्नुपर्ने झन्झट हुन्छ' भनेर एम्बुलेन्सको ड्राइभरले सल्लाह दिए। सोही बमोजिम डाक्टर बोलाएर देखाउँदा डाक्टरले नारी छाम्ने बित्तिकै उहाँ जीवित हुनुहुन्न भनिहाले।
त्यसपछि हामी चुपचाप घर फर्कियौं। जम्मा १५ मिनेटभित्रमा सबै कुरा सकिए बैनी, पत्याउनै गाह्रो हुनेगरी। तर आफ्नै आँखा अगाडि माइजू लमतन्न सुतेको देखेपछि नपत्याउनु पनि कसरी? यसरी सबै कुराहरु आफ्नै आँखा अगाडि प्रत्यक्षरुपमा देखेका हामीलाई त घटना पत्याउन गाह्रो भइरहेको थियो। तपाईंलाई अझ अकस्मात सुनेको कुरा पत्याउन कति गाह्रो भएको थियो होला?'
'१५ मिनेट अगाडि मात्रै बिना कुनै सिकायत फोनमा सकुसल कुरा गरेकी आमा बित्नु भो भनेको सुन्दा कसरी पत्याउन सक्नु र भाउजू? त्यस दिन शनिबार छुट्टीको सदुपयोग गर्दै म, ज्वाइँ समेत दाइको घरमा गएकी थिएँ। बेलुकी ८ बजेपछि मैले फोनमा कुरा गर्दा कोसीको बाढीका कारण बाटो अवरुद्ध भएकाले यसपालिको दसैँमा भेला हुन नसकिने भयो आमा भनेपछि 'छोराछोरी घरमा आउन नसक्ने भए भनेर दसैँलाई नआइज भन्दा नहुने, तिमीहरु नआए पनि दसैँ आउन छोड्दैन, झ्याप्पै छोपिसक्यो। पर्सिदेखि सोह्रश्राद्ध सुरु हुन्छ। त्यसैले आज शनिश्चरे बजार गएर बाको श्राद्ध गर्नलाई चाहिने सामान अनि दसैँ तिहारले भ्याउँदिनँ भन्छन् होला अगाडि नै काम गर्न दिनु परो भनेर सुनारे कहाँ समेत निस्किएर आएकी, नातिको पास्नी भव्य रूपमा गर्ने मन छ' भन्नुभएको थियो।
त्यसरी आमासँग राम्रैसँग लामै कुरा गरिसकेर खाना खाएका हात पनि ओभाएका थिएनन् त्यतिबेला जतिबेला आमा बित्नु भयो भनेर फोन आयो, अनि कसरी पत्याउन सक्नु र भाउजू? त्यो अपुरणीय क्षती। खुसी हुँदै 'कसले फोन गर्यो?' भन्दै फोन उठाएको दाइ दोहोरो नबोली फोन राखेर स्तब्ध भएको देखेपछि पक्कै पनि यो फोनले विशेष खबर ल्याएको हुनुपर्छ भन्ने अनुमान गर्दै 'के भयो?' भनेर ३-३ चोटि सोधेपछि मात्र उसले सुनेका कुराहरु हामीलाई सुनायो। अकल्पनीय र अप्रत्याशित रुपमा आएको खबर सुनेर हामी एकछिन एकअर्काको अनुहारमा हेरेर बस्यौँ।
हामीहरूका बीच केहीबेर एकदमै सन्नाटा छायो। भर्खरै त कुरा गरेको सबै सकुशल थियो फेरि यति चाँडै कसरी, के भयो होला? भन्ने प्रश्नले हामीबीच कौतुहलता जगायो। पत्याउन गाह्रो भयो। तर आफ्नै आँखा अगाडि माइजू लमतन्न सुतेको देखेपछि कसरी नपत्याउनु भनेर तपाईंले भने झैँ त्यसपछि लगातार भएका फोन संवादहरूले आमा जीवित नरहेको खबर पत्याउन बाध्य बनाए। लगत्तै दाइको घरसँगै जोडिएको घरबाट काका-काकी, 'कस्तो खबर हो यो?' भन्दै आउनुभयो।
केही समय पछाडि फुपू दिदी, भिनाजु, दाजुहरु पनि आइपुग्नुभयो। भाउजू सुत्केरी खान झापा जानु भएकाले एक्लै बस्दै आएको सानोदाइलाई पनि त्यही ल्याइयो। विस्तारै शोकसन्तप्त हामी सबै एकैठाउँमा बेला भयौँ। तर त्यो यस्तो समय पर्यो जसले अप्रत्यासित रुपमा क्षणभरमा घटेको दुःखद् घटनाको लागि सहानुभूति प्रकट गर्न आउनु भएका आफन्तहरूलाई शोकमा मात्र सामेल हुन दिएन। उहाँहरू यस्तो परिस्थितिमा हामीलाई कसरी झापा पठाउने भन्ने चिन्ताले ग्रत हुनुहुन्थ्यो।
हुन पनि कोसीको बाढीले बाटो नभत्काएको भए राति नै गाडी रिजर्भ लिएर हामी उज्यालो नहुँदै आइपुग्ने थियौँ। तर हेर्नु न हाम्रो भाग्य, तीनैजना छोराछोरी प्राकृतिक विनाशको चपेटामा परेर काठमाडौंमा रात बिताउन बाध्य भयौँ। भिनाजु, काका, मामा, दाजुहरूको सल्लाहअनुसार भोलिपल्ट बिहानै उहाँहरूसहित हामी एयरपोर्टमा गयौँ। दसैँजस्तो महान चाडको मुखमा अगाडिमा टिकट पाउने कुरै भएन। त्यसमाथि कोसीको बाढीले गर्दा कोसी पूर्वको सडकबाटो पुरै अवरुद्ध भएकाले हुने हवाई यात्राको चाप थाहा हुँदाहुँदै पनि कसैले हाम्रो समस्या सुनेपछि दया गरेर उसको टिकट हाम्रा लागि देला कि? अथवा कोही कारणवश नआएमा आफू त्यो टिकटमा जान पाइन्छ कि? भन्ने झिनो आशा सङ्गालेर हामी चुपचाप एकैठाउँमा बसिरह्यौँ।
उहाँहरू भने घरीघरी आएर ५ वटा टिकट खोजि गर्दै गरेको भए पनि एउटा टिकट मात्र पाइन्छ जस्तो छ, त्यो पाइयो भने जेठो छोरो पठाइहाल्नु पर्छ, बाँकी विस्तारै जाँदा पनि हुन्छ भन्नुहुन्थ्यो। फेरि केहीबेरमा ३ वटा टिकट मात्र पाइन्छ जस्तो छ, ३ वटा भयो भने छोराछोरी जाँदै गर्छन्, बुहारी, नाति र ज्वाइँ विस्तारै जाँदा पनि हुन्छ भन्दै आउनुहुन्थ्यो।
बिहानै ५ बजेदेखि आएर बसेका हामीले त्यो समय कसरी बित्यो पत्तै पाएनौँ तर अन्तिममा उहाँहरूको निरन्तर प्रयासपछि सौभाग्यवश हामी ५ जनाले विराटनगरसम्मका लागि मात्रै भए पनि एकैपटक उड्ने मौका पायौँ। दिउँसो १:४५ बजे विराटनगर एयरपोर्टमा ओर्लिएका हामीले घर पुग्ने हतारमा त्यहीँ पार्किङमा रहेको भ्यान लिएर आएका तर महेन्द्र राजमार्गको बाटो बीचमा बन्द छ। जोगमनि तिरको बाटो जानुपर्छ भनेर कता-कता छिराउँदै दमक निकाल्यो। फेरि स्पिडमा गुड्न नसक्ने थोत्रो भ्यान परेछ त्यसैले विराटनगरबाट यहाँ ल्याउन झण्डै ५ घण्टै लगायो।'
'तपाईंहरूको उता त्यस्तो बिजोग यता पनि हैन हिजोसम्म राम्रै बोल्दै, हिँड्दै गरेकी मान्छे, बजारमा दिउँसो मात्रै भेटेको, एक्कासी कसरी यस्तो भयो?' भन्दै हेर्न र सोध्न आउने मान्छेको घुइँचो उस्तै थियो। यस्तो भयो भनेर सुनाउँदा-सुनाउँदा म त बोल्नै नसक्ने भइसकेकी थिएँ। मामाको बिजोक त्यस्तै फेरि, माइजूका छेउमा बसिरहने खालको मानिस कोही थिएन। बैनी, लासको वरिपरि बसेर रोइदिने छोराछोरी साथमा नहुँदा साह्रै नै उराठलाग्दो हुने रहेछ। त्यो देखेर मलाई पनि कतिबेला तपाईंहरु आइपुग्नु होला भन्ने लागिरह्यो। तपाईंहरु आएपछि ढुक्क भएकी थिएँ तर तपाईंहरु आएपछि भएका कुरा तपाईंलाई भन्नु या नभन्नु खोइ? यस्तो पिर परेका बेलामा कसरी सुनाउँ जस्तो लाग्छ। सुनाउँ कि नसुनाउँ भएकी छु।'
'भाउजू, भन्नु वा नभन्नुको दोधारमा तपाईंलाई पुर्याएका ती कुराले पक्कै आमासँगको बियोगको पीडा जस्तो पीडा दिँदैनन् नै होला? पीडा दिइहाले भने पनि आखिर अप्रत्याशित रुपमा आमा गुमाएर यत्रो ठूलो पीडा त भोगियो अब अरु कुराले केही फरक पार्दैन। अब त जस्ता कुरा पनि सुन्ने हिम्मत छ। फेरि हाम्रो घरका सबै कुराहरु तपाईंलाई थाहै छन्। त्यसैले जे कुरा छन् भनेर मनलाई हलुका बनाउँदा हुन्छ।'
'तपाईंको घरको कुरा होइन बहिनी, गाउँका मान्छेका कुरा नि, यस्तो बेलामा पनि मान्छेले आफ्नो व्यहोरा देखाएरै छोड्ने रहेछन्। के गर्नु र? नसुन्दा पनि नहुने, सुन्दा पनि सुन्नै नसकिने गरी कुरा गर्छन्। आफ्नै आमा मर्दा पनि नरुने, आमाको माया पटक्कै नभएकी, ढुङ्गाको मन भएकी निष्ठुरी छोरी रहिछ भन्दै थिए मैले सुनिहालेँ। चुप्प लागेर उनीहरुका कुरा सुन्नै सकिनँ, चित्त दुखेर आयो। साह्रै नरमाइलो लाग्यो त्यसैले, 'अहिले भर्खरैको ताजा घटना हो र? हिजो बेलुकादेखिको घटना विचरा रातभरि रुँदारुँदा आसु जति सबै सकिए होला, यस्तो बेलामा पनि त्यस्ता कुरा गर्न लाज सरम लाग्दैन' भनिदिएँ।
मेरा कुरा सुनेपछि उनीहरु मुख बटार्दै अलिक उता सरेका थिए। तर केही दिनपछि अर्कीले कुरैकुरामा मुखै फोरेर भनिहालिन् 'ती छोरी चाहिँ तपाईंसँग एकदमै नजिक छन्, तपाईंलाई पक्कै थाहा होला। आमा छोरीको सम्बन्ध राम्रो थिएन हो? त्यसैले त खोलामा दीपाले बगर थर्किने गरी रुँदा पनि आफ्नै छोरी चाहिँ रुनको साटो उल्टै दीपालाई ढाडस दिँदै थिइन्। आफ्नो आमाको लास जलिरहँदा अर्कोतिर फर्किएर अरुलाई सान्त्वना दिन कसरी सकिन्छ हो? कल्पना पनि गर्नै नसकिने कुरा यी आँखाले प्रत्क्षय देख्नु पर्यो। जीवनमा अहिलेसम्मै नदेखिएको दृश्य पहिलो पटक देखियो…'
'भाउजू, तपाईं बोल्दाबोल्दै मैले बीचैमा कुरा काटेँ। त्यता कुरा सुनेर तपाईंलाई नराम्रो लाग्नु स्वाभाविकै हो किनकि अरु सबैका लागि तपाईं मेरी छिमेकी भाउजू भए पनि मेरा लागि आफ्नै भाउजूभन्दा नजिक हुनुहुन्छ। मैले एसएलसी दिएदेखि छिमेकी हुन आउनु भएकी तपाईंले गर्नुभएको सहयोग, घरमा म एक्लै हुँदा (हजुरबा हजुरआमा बितेर बुवाआमा नभएका समयमा होस् वा भारतवर्षमा महिनौँ तीर्थ गएका बेलामा) तपाईंहरुले दिनुभएको संरक्षण र सहयोग कहाँ बिर्सन सक्छु र?
मेरो विवाह योग्य उमेरको विचार गरेर मेरो भलाइका खातिर तपाईंले खोजिदिनु भएको व्यक्तिलाई मैले अस्वीकार गर्दा पनि हाम्रो मन मिलिरह्यो। मेरो विवाह समयमा हामी सँगसँगै नहुँदा कति गाह्रो भएको थियो? त्यो बेला फोनमा कुरा गर्दै हामी दुवै कसरी रोएका थियौँ? अनि इन्डियाबाट आएपछि विवाहका फोटा हेर्दै 'पहिले नै तय भएको योजनाअनुसार तीर्थ यात्रामा जानु नपरेको भए, म यस्तो नश्रृंगारिएको विवाह मण्डपमा तपाईंको विवाह हुन दिन्न थिएँ बैनी' भनेर तपाईंले भन्नुभएको मैले बिर्सेकी छैन नि, भाउजू।
यसरी १०, १२ वर्षदेखि छिमेकी मात्र भए पनि आफ्नैले जस्तो व्यवहार गरेर बसेका हामी एकअर्कालाई राम्ररी जान्दछौ, चिन्दछौं। त्यसैले अरूले हाम्रा बारेमा कुरा गरेको सुन्दा चित्त दुख्छ, नरमाइलो लाग्छ। तर भाउजू, जहाँ जस्तो संस्कार छ, मानिसमा त्यही अनुसारको प्रभाव परेको हुन्छ। मैले सुनेको कुनै ठाउँमा मान्छे जन्मिदा यो संसारमा दुःख भोग्न आइपुगिस् भनेर रुवाबासी गर्छन् रे, अनि मरेपछि नाचगान गर्दै यो दुःखको संसारबाट पार भइस् भनेर खुसी हुन्छन् रे।
हाम्रो संस्कारमा आफन्त मरेपछि वरिपरि बसेर रुने चलन छ। जब हामी मान्छे मरेका ठाउँमा पुग्छौँ, हाम्रा आँखाहरु लासको वरिपरि ज्यान छोडेर विलाप गर्दै चित्कार गरिरहेका मानिसहरूको भिड हेर्न लालायित भइरहेका हुन्छन्। लासमाथि झारेको आँसुसँग मायालाई तुलना गरेर आफन्त, इष्टमित्रहरूको ऊ प्रतिको माया कति छ? भनेर हेर्न चाहन्छौँ। हामीले के सिकेका, जानेका छौं भने जसले जति धेरै विलाप गर्दै चिच्याएर लासको छेउमा बसेर रुन्छ उसले नै मृतकलाई सबैभन्दा बढी माया गर्छ।
हाम्रो सोचाइमा मृतकलाई देखेर जो धेरै रुन सक्छ उसले बढी माया गरेको ठहर्छ। तपाईंले भनेजस्तै लासको वरिपरि बसेर रुने मान्छे भएनन् भने हामीलाई राम्रो लाग्दैन। यस्तो परिवेशमा जन्मिएर हुर्केका हामी माझ यदि कोही आफ्नै आमा मर्दा रुन सकेन भने सो दृश्य देखेर अचम्मित हुनु र कम रुनुको कारण खोज्नु स्वभाविकै हो। उनीहरुले त जे देखे त्यही भनेका हुन् भाउजू, वास्तवमा म नै त्यस्ती अभागी एक्ली छोरी हुँ जो आफ्नै आमा मर्दा पनि डाँको छोडेर विलाप गर्दै रुन सकिनँ।
तपाईंलाई त सबै थाहा छँदैछ नि भाउजू, हलमा काल्पनिक कथाको फिल्म हेर्दै भावुक भएर रुने म यथार्तमा आमा मर्दा भने रुन सकिनँ। ब्लडसुगर र ब्लड प्रेसरकी बिरामी भए पनि भर्खरैमात्र सामान्य कुरा गरेकी आमा अब यो संसारमा हुनुहुन्न भन्ने सुन्नेबित्तिकै भौतिक रुपमा दाइको घरमा भएकी म मानसिकरूपमा एकपल ढिला नगरीकन घर आइपुगेँ। रुन नभ्याउँदै आमा बिनाको घर कस्तो होला? भनेर सम्झन पुगेँ। आमालाई सम्झिँदा सम्झिँदै आमासँगै जोडिएर बुवाको अनुहार आँखामा झलझली आयो।
हामी त हुर्केर, आफ्नो व्यहार गर्न क्रममा घर छोडिसकेका छौं र बेलाबेलामा मात्र आमासँग भेट्थ्यौँ तर जो एकअर्कको परिपूरक भएर दिनरात साथमा छ, उसका लागि यो बिछोडको पल कति कष्टकर, पीडादायक छ भन्ने सम्झन पुगेपछि अचानक छटपटी भयो, चिसा पसिना आए। वास्तवमा आमाले त आफ्ना तीनैजना छोराछोरीको विवाहपछि २ छोरा तर्फका दुई नातिको समेत दर्शन गरेर सांसारिक सुख/दुःखबाट एक पलमा मुक्ति पाउनुभयो तर आमा बितेपछि घरमा एक्लो हुन पुगेका बुवाको सहारा अब को होला? भन्ने पिरले बढी सतायो।
आमासँग जोडिएर आउनु भएको बुवालाई बारम्बार सम्झाएर निष्ठुर समयले मलाई आमाको शोकमा मात्र डाको छोडेर रुन दिएन भाउजू। आमासँग भर्खरै भएका कुरा र उहाँसँगै बिताएका विगतहरूको स्मरण र वर्तमान बीचको द्वन्दमा नै पूरा रात कसरी बित्यो पत्तै भएन। भोलिपल्ट घर आइपुग्दा हामीलाई नै पर्खेर बसिरहेका झुण्ड, झुण्ड मानिसहरू देखेपछि सम्पूर्ण शरीर लल्याकलुलुक भयो।
आफूसँगै आएका दाजु-भाउजूको अवस्था कस्तो थियो, ओर्लिएर कता गए थाहा भएन तर आफू भ्यानबाट ओर्लिन लाग्दा भ्यानको ढोका नै समाएर देखा पर्नु भएका गोपीकृष्ण खनालले, 'छोरी आफूलाई सम्हाल, हिम्मत राख, अप्रत्यासित रुपमा आएको अपूरणीय क्षतीका कारण बुवाको अबस्था अत्यन्त नाजुक भैसकेको छ, नहुनु पर्ने कुरा भैगयो अब तिमी आफू सम्हालिए मात्र बुवालाई सम्हाल्न सकिन्छ। आफू सम्हालिएर बुवालाई बचाऊ नानी' भनेर कानमा खुसुक्क भन्नुभयो।
मलाई हिजोदेखि नै जुन पीडाले सताइरहेको थियो अहिले म त्यसको प्रत्यक्ष सामना गर्न गइरहेकी थिएँ। यदि म कमजोर भएँ भने यो पीडाको सामना गर्न सक्दिनँ भन्ने बुझेर, मनलाई नियन्त्रण गर्दै उहाँको अनुरोधलाई स्वीकार्दै म उहाँको पछि-पछि लागेर आमाको अनुहार हेर्नुभन्दा पहिला हिम्मतका साथ बुवा भएको कोठामा पुगेकी थिएँ। बुबाले अँगालोमा बाँधेर, 'छोरी मैले तिमीहरुकी आमालाई बचाउन सकिनँ, तेरी आमाले यति चाँडो छोडेर गई कि अन्तिम घडीमा मैले उसको कानमा रामनाम पनि भन्न भ्याइनँ। अब तिमीहरू टुहुरा भयौँ र म पनि एक्लो भएँ' भन्दै रुनुभयो।
'बचाउने कोसिस गर्दागर्दै जानुभएकी आमाको आत्मालाई शान्ति मिलोस् भन्ने कामना गरौं, आमा गए पनि हामी छौं नि बुवा' भन्दै गर्दा कसैले मलाई समाएर कोठाबाट बाहिर निकाले। हिजोदेखि नै बाहिर आँगनमा लमतन्न परेर, फूलअबिर चढाएर लडाइएकी आमालाई हेरेँ। हातखुट्टा सुनिएका, पेट फुलेर डम्म भएको, नाकमा रूवा खादिएको आमाको निलो शरीरलाई देखेर आमाको लासमाथि अंगालो हालेर, डाँको छोडेर, ज्यान छोडेर रुन कराउन सकिनँ। आखिर त्यसको कुनै औचित्य पनि त थिएन।
जन्मेपछि मर्नु शाश्वत सत्य हो। त्यस्तो समयमा म जति नै चिच्याएर विलाप गरेर रोए, कराए पनि अब मेरी मरेकी आमा बाँच्नु हुन्न। मेरो रूवाइ, चिच्याइले यो शाश्वत सत्यलाई कुनै पनि हालतमा जित्न सक्दैन भन्ने ज्ञान नगुमाएकी म उल्टै टोलाउन पुगेँ। जन्मेपछि मर्नु पर्छ भन्ने सबैलाई थाहा छ तर जीवन मोहमा फसेका र बाच्न पाइने समयावधि बारेमा अन्जान हामी सबै लामो आयु बाच्न चाहन्छौँ। मेरी आमालाई पनि अझै कति धेरै बर्ष बाँच्न मन थियो त्यसैले त, 'आमा तपाईंको रिपोर्ट हेरूँ, कस्तो आयो?' भन्दा 'त्यो त मैले हिजो नै आगो सल्काउनेमा हालिसकेँ' भन्नुहुन्थ्यो।
सुगर नर्मल भएका बेलाको रिपोर्ट मात्र देखाएर 'मलाई केही भएकै छैन, सबै राम्रो छ, हेर त' भन्ने गर्नुहुन्थ्यो। हिजो बेलुका मात्र दसैं-तिहारपछि नातिको पास्नी गर्ने रहर छ भन्नु भएकी आमालाई भविष्यमा अरु कतिधेरै काम गरौंला भन्ने थियो होला? जहिले पनि हतारमा हुने आमाले अब हतार गर्नु नपर्ने भो भन्ने कुरा दिमागमा आइरहँदा सागर लान हतार भयो, दिन ढल्किसके छिटो गर्नुपर्छ, चाँडो गर भन्ने ध्वनिहरू वरिपरि रुमल्लिएकी मैले २४ घण्टा नबित्दै भएको आमाको यो अवस्था देख्दा रून नसकेर एकोहोरो हेरिरहेँ।
भाउजू, मान्छेले म मर्दैछु भन्ने जानेर मर्नु राम्रो हो जस्तो लाग्छ। बिरामी भएँ अब धेरै बाँच्दिनँ होला, बुढी भए अब मेरो मर्ने दिन नजिकै आउँदैछ, दीर्घरोग लागेको छ अब जाति हुन्न् आदित्यादि तर मेरी आमालाई आफ्नो आयु सकिन लागेको अलिकति शंका समेत भएन। त्यसैले मेरी आमाको भौतिक शरीर हामी माझ नभए पनि उहाँको आत्मा यहीँ वरिपरि घुमिरहनेछ।
मैले उहाँलाई देख्न नसके पनि उहाँ वरिपरि रहेर निरन्तर मलाई निहालिरहनु हुन्छ भन्ने लाग्यो। शरीर र आत्मा बीचको सम्बन्ध बारे सोच्न पुगेँ। अन्तिम पटक श्रद्धाञ्जली अर्पण गर्न भन्दै पुष्प लिएर आमाको वरिपरि घुम्दै गर्दा मेरै अगाडि घुम्दै गर्नु भएकी मेरी जेठी माइजूलाई भने, 'माइजू मेरी आमाको स्वर्गमा बाँस होस्, आत्माको चिरशान्तीको कामना गरिदिनुहोला।'
आमालाई सागरमा पुर्याइसकेपछि आएकी दीपा विचरी, आमाको माया कस्तो हुन्छ थाहा नपाउँदै, सानै हुँदा आमा गुमाएकी बच्चीलाई मामाले अर्को विवाह नगरुन्जेलसम्म आफूसँगै राखेर आमाले नै हुर्काउनु भएको हो। पछि अजातसँग विवाह गरी, हाम्रो इज्जत फाली भनेर आफ्नै बाबुले खोजी नगरेका बेलामा पनि आमाले नै, 'नानी आफ्नै खुसीले विवाह गरेकी छस् बाबु, आमाले खोजि गरेनन् भनेर चित्त नदुखा, म तेरो साथमा छु' भनेर गाउँको मन्दिरमा ल्याएर टीका लगाइदिनु भएको हो।
उसको खुसीमा खुसी भइदिने एक मात्र फुपू गुमाउनु पर्दा विह्वल भएर, बगर नै थर्किने गरी चिच्याई चिच्याई 'किन यति छिट्टै छोडेर जानु भएको? अब कसलाई ठूल्दिदी भन्नु' भन्दै विलाप गरेको मैले हेर्न सकिनँ। त्यो शोकले दिएको पीडाको एउटा मात्र औषधि समय हो। त्यसैले समयसँगै ऊ आफै सम्हालिन सक्छे तर आज मुटु नै फुट्ला गरी रोइरहेकी उसलाई मेरा केही शब्दले सान्त्वना दिन्छ, शान्ति मिल्छ भने दुई शब्द बोल्न किन कन्जुस्याइँ गर्नु? भन्ने सम्झेर, 'अब तैले जति रोए कराए पनि नफर्किने बाटो जानु भएकी ठूल्दिदी आउनुहुन्न, ठूल्दी नभए नि तेरी सानी दिदी जिउँदैछु, त्यसैले ज्यान छोडेर नरो नानी' भनेर मैले उसलाई ढाडस दिएकै हो।
उसलाई सान्त्वना दिनुको साटो बगरमा बसेर उल्टै रून सघाँउदै 'हो नि, नानी तेरी ठूलीदिदी, मेरी आमा कहिल्यै नआउने गरेर हामीलाई टुहुरा बनाएर जानुभयो' भन्दै कोलाहल मच्चाउँदै रोएको हेर्ने महत्वकांक्षा बोकेर उपस्थित भएका आँखाका लागि, आमाछोरी बीचको आत्मीय बन्धनलाई, माया ममतालाई लासमाथि झारेको आँसुसँग तुलना गर्ने बानी परेका व्यक्तिहरुका लागि त त्यो दृश्य अनौठो र आश्चर्य लाग्ने नै थियो।
त्यसैले त भनेका हुन् नि भाउजू, आमा मर्दा पनि रुन नसकेकी छोरी भनेर। तर मलाई ती कुरामा कुनै गुनासो छैन किनभने मलाई राम्ररी थाहा छ मनभित्र भएको श्रद्धा, माया, ममता, स्नेह आदि कुराको मूल्यांकन गर्ने कसैले सक्दैनन्। मैले चिच्याएर रोएको मात्र देख्ने आँखाहरुले मेरो मनभित्र भएको आमाप्रतिको माया, आमा गुमाउनु पर्दाको पीडा र त्यो पीडाले दिने चोट साथै अब बुवाले बिताउनु पर्ने एक्लोपन देख्न सक्दैनन्।
अरुले थाहा नपाए पनि तपाईंलाई थाहा भएकै हो नि भाउजू, म कतिसम्म लाटिएकी थिएँ भनेर। आमा बितेको ४ दिनमा बेलुका तपाईंसँगै आएर दाजुले 'बहिनी, मामासँग कसरी कुरा गरौं? मलाई आँट भएन, त्यसैले तपाईंलाई नै भन्छु, मैले जोसँग मागेर अहिलेसम्म खर्च चलाइरहेको थिए त्यो पैसा भोलि बिहान नै फिर्ता गराइदिनु भन्नुभएको छ, अब के गर्ने?' भनेर सोधेपछि मात्रै सबै खर्च कहाँबाट आइरहेको छ? भन्दै म होसमा आएकी। त्यसैले भाउजू, जसले जे देखे त्यही बोले। आखिर मानिस जे देख्दै आएको छ त्यही नै हेर्न चाहन्छ र यो मानवीय स्वभाव पनि हो।