गाँउघरमा अष्ट्रेलिया पढ्न गएको साथीको खुब चर्चा हुन्छ। घरमा छोरा फर्किने वित्तिकै बुहारी भित्र्याउने साथीको आमा-बुबाको चाहना छ। असाध्यै खुसी छन्। बहिनी दाइलाई आइफोन एघार पठाईदिनु भन्छे। आमा-बुवा त्यसै मख्ख छन्। छोराले अष्ट्रेलिया गएर प्रतिष्ठा जोगाएको छ।
साथीलाई सोध्यो ‘के छ?’ भन्दा जवाफमा ‘वर्वाद छ’ भन्दै धुरुधुरु रुन्छ। ‘बेकार आइएछ, नेपाल जस्तो नहुने रहेछ। विरक्तिएको छ। कहिले फर्किनू’ भनेर दिन गनिरहेको छ। लाइफमा के सोचेथेँ, के भयो, सोचे जस्तो नहुने रहेछ जिन्दगी।
सरकारी जागिरे दिदीले भन्दै थिइन्- ‘घर चलाउन गाह्रो छ, दुनियाँले के जागिर खाएको? कस्तो जागिर खाएको?’ भन्छन्। उनलाई पर्नु पिर परेको छ। समाजमा टिक्न कठिन भएको छ। नजिकैको छिमेकीको छोरीले झै जागिरबाट मालमाल कमाउन सकेकी छैनन्।
तडकभडक देखाउन सकेकी छैनन्। समाजले हेर्ने तडकभडक मात्र रहेछ। छिमेकीको छोरीले कसरी कमाई? के गरी कमाई? घुस खाई कि? सत्कर्म गरेर कमाई? त्यता तिर कसैको ध्यान छैन। सँगै जागिर खाएकीले उधुम गरीसकी सबको ध्यान यता छ। उनले भने जस्तो प्रगति गर्न सकेकी छैनन्। सोचे झैँ जिन्दगी रैनछ भन्दै चित्त बुझाउछिन्।
खाडी जाने अर्का दाजु दलालबाट फसेको खबर सुनाउँछन्, काम नभएर बेरोजगार छु भन्छन्। उद्धार गर्दिनु पर्यो भन्दै हार-गुहार लगाउँछन्। नियतिले ठग्यो भन्दै सुनाउँछन्। सपनाहरु उडायो हावाले भन्दै चित्त बुझाउँछन्।
जापान जाने भान्जीको पीडा उस्तै छ। ‘दिनरात भोक-तिर्खा नभनी खटेको छु, मामा ऋण छ, ज्यान फतक्क गलेको छ’ भन्छिन्। ‘दुनियाँले कमाई, मोज गरी भन्छन्, यहाँ आफ्नो पीडा कसले देख्ने!’ कलेज फि र कोठा भाडाको महङ्गीको कुरा निराश हुँदै सुनाउछिन्।
मुस्किलले जिन्दगी चलाएको कुरा गर्छिन्। ‘यो संसारमा जता गए पनि पीडा चै साथै जाने रच क्यार! सोचे जस्तो नहुने रहेछ मामा’ भन्छिन्। काइयो र ऐना नाम गरेको मधु श्रेत्री र खेम सेन्चुरीको स्वर रहेको मोडल अञ्जली अधिकारी लगायत विचिन्न कलाकारहरुको अभिनय रहेको गित 'सोचे झैँ जिन्दगि रैनछ।’ टिकटकमा जसले पनि अभिनय गर्न थालेका छन्।
हुँदा-हुँदा कहिल्यै नाच्न नजान्ने अंकललाई आन्टीले टिकटक भिडियो बनाउदै सोचे झै जिन्दगी रैनछ भन्न लगाई छन् र आफू छमछमी नाचेर नाच्न नजान्ने अंकललाई ठाउँको ठाउँ कार्टुन बनाएर छाडिछन्।
खैर! थोर बहुत मजा आए पनि जीवनसँग ठ्याक्कै मेल खान आयो। सम्भवतः धेरैको जीवनसँग मेल खान आएर नै गितको उत्तिकै चर्चा भएको हुनुपर्छ।
सायद माथि देख्नु भयो, अधिकांश मेरो साथीहरुले बोल्ने शब्द नै यही हो। सोचे जस्तो नहुने रहेछ जीवन भन्दै निरास पोख्थे, हुँदा-हुँदा अहिले गित नै बनेछ।
रने अंकलले जवान छोरोलाई हुर्काए, बढाए, पढाए, देशमा परिवर्तनक खातिर जनआन्दोलन भयो एउटा छोरा राष्टहित देशको खातिर सरकारको सत्ताको व्यवस्थाको सुरक्षा साथै जनधनको रक्षा गर्ने कसम खाएर राष्टसेवक सिपाही बन्यो। अर्को छोरा तानाशाही शासन पुँजीवाद विभेद श्रम शोषण अन्याय र अत्याचारको विरुद्ध लड्न उभियो।
जब रने अंकलको एउटा छोरा सिपाही भयो, अर्को छोरा जनमुक्ति सेना भयो। उनलाई पर्नु पिर पर्यो। कहिले पनि नसोचेको सपना जस्तो जिन्दगी भयो। उनी दोधारमा थिए। एउटा छोरो देशको रक्षा गर्ने सत्ताको संरक्षण गर्न उभिएको थियो। अर्को छोरा त्यही विभेदकारी पक्षपाती दलाल राज्यको विरुद्ध ज्यान हत्केलामा राखेर हिँडेको थियो।
रने अंकलको लागि दुवै छोरा उत्तिकै सम्मानयोग्य थिए। भन्न केही सक्दैनथे। देशको रक्षा गर्ने छोरोलाई के भन्न सक्थे र! अर्को आमूल परिवर्तनको लागि हिँडेको थियो। अंकल बहुत पीडामा पर्थे।
न सिपाहीलाई जागिर छाड भन्न सक्थे न जनमुक्ति सेनालाई परिवर्तनको सोच त्याग भन्न सक्थे। रने अंकल स्तब्ध थिए। मौन थिए। मनमनै सोच्थे र कामना गर्थे। यी दुई सन्तानको भेट कहिल्यै नहोस्। यो उनको रहर हैन विवशता थियो।
उनी चाहदैनथे। आफ्नै दुई छोराहरु आफ्नै घरमा आँखा अगाडि युद्ध गरेर विजय र पराजय हुन्। कुनै मेला चार्डपर्वमा दुई भाइको भेट नहुने गरी भेट गर्थे। जनमुक्ति सेना उति बेला (छापामार) भन्थे आएर रने अंकललाई, त्यो दलाल सरकारको नोकरलाई जागिर छाड्न लगाउनु, नत्र… भन्दै अंकललाई दबाब दिएर जान्थ्यो। अर्को सिपाही आउथ्यो, त्यो छापामारालाई समयमा नै आत्मसमर्पण गर्नु भन्नु नत्र...भन्दै उसले पनि दबाब दिन्थ्यो।
ती दुई दाजुभाइबीच एक अर्को प्रतिको तिक्तता प्रतिशोध झन्-झन् उग्र बन्दै थियो। रने अंकल निरीह बनेका थिए। दुवै छोरा उतिकै प्रिय थिए। दुई छोराको भेट भए घर युद्धको रनभुमी बन्ने पक्का थियो। अंकल जानकार हुनुहुन्थ्यो।
आवेगमा वेद पढिदैन संकोच थियो, त्यही भएर उनले सधैँ कामना गरे- शान्ति स्थापना नहुँदासम्म यी दुई भाइको भेट नहोस्।
सिपाही घरमा आमाबुबासँग भेटघाट गर्न आउदा सुराकी गर्दै घर घेर्न आउथे। कयन दिन भर्खर सुत्ला निस्केको धानचामाल निस्केको बाक्लो मकै बारीमा छोराको सुरक्षा गरेका थिए। केही सीप नलागेपछि मकैबारी नै मकैबारी रातभरि हिँडाएर घर पस्न नदिई पल्टनसम्म पुर्याएको अनुभव छ।
उतिबेला सेनाहरुभन्दा जनशक्ति सेना अर्थात् छापामार प्यारो हुन्थे, गाउँघर तिरै छिपेर बस्थे।
जनमुक्ति सेनाबाट सिपाही जोगाउन निकै गाह्रो हुन्थ्यो। देशको सुरक्षा गर्ने छोराको सुरक्षामा बुबा स्वयम तैनाथ रहन्थे। अन्तिम पटक उनले भनेका थिए- छोरा बरु म आफै भेट्न आउछु, नियास्रो लागे खबर पठाउ म तिम्रो बारेमा नराम्रो खबर सुन्न सक्दिनँ मेरो प्राण’ भन्दै छोरालाई आग्रह गरेका थिए। उनको मनमा संकोच थियो। ‘अब स्थिति बिग्रिसकेको छ, सावधानी रहनु बाबू’ भनेका थिए।
‘उनी छोराको पल्टनबाट घर फर्केँ, अब म आफै भेट्न आउछु, संकटकाल सुरु भएको छ’ भनेर सम्झाई बुझाई घर फर्के। घरमा आउदा जनमुक्ति सेनाक कमाण्डर भईसकेको अर्को छोरा घर कुरिरहेको थियो।
एकान-दोकान मैदान, सुराकीले पत्तो पाएछन्। रने अंकलको सिपाही छोरो आएको थियो, उनले पल्टनसम्म पुर्याए भन्ने हल्ला हावासरी चलेछ। पछि माइलो छोरो रुष्ट भयो, ‘दाइलाई जागिर छाड्न लगाउनु भएन अझै? एक दिन त्यसले तातो गोली खान्छ।’ रने अंकलको मन नै चसक्क भयो। मथिङ्गल हल्लियो बेचैन भो। त्यो रातभरि रने अंकलले आँखा लाएनन्, जागराम बसे। मनमा आधि आयो।
कस्तो वाक्य सुन्न पर्यो। नसोचेको कुरा भोग्नु पर्यो। आँखा बन्द गरेर दुवै छोरा बारे सोचीरहेँ। आखिर जेठो पनि कहाँ सजिलो थियो र? ‘राज्यको नुनपानी खाएको छ, देशको सेवामा पुर्ण समर्पित हुन्छु’ भन्थ्यो। देशको लागि मर्न र मार्न पछि नहट्ने अडान राख्थ्यो।
दिनहरु बित्दै गयो। सेनाहरु औँशी पूर्णिमा आएर गाउँ घेराउ गर्थे। न सुरक्षा दिन सक्थे, सुराकी गर्यो भनेर जनमुक्ति सेनाले दबाब दिन्थे। उत्ता सेनाहरु कहाँ राखिस् आतंकाकारी कहाँ लुकाई भन् नत्र गोली ठोक्छु भन्थे।
रने अंकल दुई छोराको पिरले विरक्त भएका थिए। उनलाई जस्तो पिर मर्का कसलाई परेको थियो र! तैपनि उनको भावना कसले बुझिदिने।
त्यसै-त्यसै सैनिकहरु बौलाउथे। बाल-बच्चा, बृद्धा सबलाई झपार्थे। यसले उनको मनमा झन चोट परेको थियो। सैनिक गस्ति आयो भनेपछि भागाभाग हुन्थ्यो। सर्वसाधरण, शिक्षक, विद्यार्थी, डाक्टरहरुलाई समेत आरोप लगाउदै डण्डा हान्थे। रने अंकलको दाइको छोरा डाक्टर पढ्दै थियो। त्यसै-त्यसै उग्र हुँदै पिट्दै ‘तँ माओवादी हो कि हैनस्?’ भन्दै घिसार्दै थिए सेनाले। गोली ठोकि मारिदिएछन्।
वास्तावमा उ माओवादी थिएन। उ त एक असल डाक्टर बन्ने हेतु अध्ययन गरीरहेको एक विद्यार्थी थियो। घरको एउटा छोरा सर्वश्व गुम्यो। मृतकका बाबुआमा सनतकुमारको बाबुआमा जस्तै बेसाहारा भए। रक्षकहरु क्रुर भक्षक भएको दृष्य सबैले नियाले तर मौन रहे।
आतंकारी समूहले पनि त्यतिको अत्याचार गरेको थिएनन्। अब त हदै भयो भनेर ज्यान जोगाउन भए पनि जनसेनामा धेरै गए। सबै रुष्ट भए सरकारको नोकरहरुले सर्वसाधरण माथि गोली ठोके सिङ्गो गाउँ शोकमा डुब्यो।
रने अंकल कुन राम्रो, कुन नराम्रो भन्ने अवस्थामा थिएनन्। कसको समर्थन गर्ने अनविज्ञ थिए। वास्तवमा अंकल जिउदै लास बनेका थिए। निरीह बनेका थिए। अनयास दुवै पक्षको धम्की सहनु पर्थ्यो। उनका लागि दुई जवान छोराहरु अभिशाप भएको थियो।
द्वन्द झन्-झन् चर्कदै थियो। मनमा कुनै आशा उत्साह थिएन। सिर्फ थियो त डर! हरदिन हरसमय दुई छोराको सु-स्वास्थ्य र दीर्घायूको कामना गर्थे। एक दिन बिहानै काग करायो। थुथुथु... गर्दै अंकलले थुके। आँखा नराम्ररी फर्फरायो भगवानको नाम जपेर बसिराथे। केही फरक अनुहारहरु घरतिर आएको देखे झन डर लाग्यो। उनीहरुले हातमा चिठी थमाएर गए, त्यो चिठी पाउन साथ रने अंकलको हात थर्थरायो।
मनमा अधिक शंका बढ्यो। मुस्किलले चिठी खोले। केही शब्द पढे। ब्यारेकको चिठी रहेछ। पूरा चिठी पढ्न सकेनन्। अंकल बेहोस भए। पछि हल्ला चल्यो- रने अंकलको जेठो छोरा आतंककारीको एम्बुसमा परि ज्यान गुमायो।
निकै दिनपछि अंकलको होस् खुल्यो। धेरैले महान छोरा जन्माउनु भयो भनि तारिफ गरे। देशको लागि मर्न पाउनु गर्वको कुरा भने सम्झाए। रने अंकल खुईया गर्दै निधारमा हात राख्दै सोचे जस्तो नहुने रहेछ जिन्दगी, मेरो मुटुको टुक्रो दुश्मनले मार्दिए भन्दै थिए।
जनमुक्ति सेनाको कमाण्डर छोराले खबर पाएपछि परिवार भेट्न आयो। बाबालाई सम्झायो। ‘देशमा युद्ध चर्कदै छ, म अब अर्कै जिल्लामा जाँदै छु। अब यो शासनसत्ता ढल्दै छ, यी अन्याय अत्याचार गर्ने विभेदकारीहरु माथि निसाना लगाउनु छ। छिट्टै जितेर फर्कन्छु बुबा।’
रने अंकलसँग कुनै जवाफ थिएन। पल्टन पुर्याई अब भेट्न म आफैँ आउछु भनेको छोरोलाई भेट्न त परको कुरा, मुखसम्म देख्न पाएनन्। उनले छोराको मुखतिर हेर्दै वर्रर आँसु झारे।
देशको लागि लडिरहेको एक योद्धा यो व्यवस्था पल्टाउनको लागि असमानता अन्याय अत्याचार र विभेदका विरुद्ध लड्दै गरेको एक शाहसी योद्धाको बुबा यति कमजोर भएको सुहाउँदैन भन्दै सम्झाए।
अंकललाई हो जस्तो लाग्यो। दुवै छोराहरु देशको लागि लडेका थिए एउटा व्यवस्था जोगाउनको लागि अर्को व्यवस्था पल्टाउनको लागि। जेठो छोरा गुमाएपछि माईलो छोरालाई बिदाई गर्न मुस्किल भयो। छोराले हिड्ने बेला भन्यो ‘बुबा चिन्ता नगर्नु। केही समयपछि अब यो ब्यवस्थाले घुडा टेक्दैछ। घुडा टेकाएरै छाड्छौँ। त्यसपछि म फर्किन्छु।’
पहिले अंकलले छोरालाई ‘घर नआउ म आफै भेट्न पल्टनमा आउछु’ भनेका थिए। अहिले छोरो ‘म आफै आउछु’ भन्दै थियो। अनौठो अनुभूति भएको थियो। ल भन्न सकेनन्। छोरो काम्रेडहरुलाई मुठ्ठी कसेर सलाम गर्दै अघि बढेको थियो।
लामो समयपछि पनि उसको खबर आएन। एक दिन उसका साथीहरु फेरि आए, केही नयाँ अनुहार केही पुरानो। काम्रेडहरुलाई छोराको खबर सोधे, कसैले जवाफ दिएनन्। मौन थिए।
प्रश्न सुने/नसुने झै गरी उनीहरु केही नभनी हिँडे। अलि पर जंगल निर केही मानिस उनीहरुको साथीहरु काम गरीरहेको थिए। साझ तिर छोराको नाममा खुब नारा घन्कियो। आहाँ छोरो कमाण्डर तारिफ सुन्न पाए।
रने अंकलले कान थापेर सुने तर छोराको नामभन्दा बढि प्रष्ट बुझेनन्। मनले मानेन उनी बिहान काम गरीरहेका मानिस भएतिर गए। अहिले ती मानिसहरु नारा लगाउदै अगाडि बढिसकेका थिए। बिहानको ठाउँमा सुनसान थियो।
एउटा गेट बनाएछन्। के रहेछ भनेर अंकलको मनमा कौतुहलता जाग्यो। स्वाँ स्वाँ गर्दै पुगे, खासै केही देखेनन्। किन बनाएछन् यो गेट? मनमा कुरा खेल्यो। अलि अगाडि बढे फर्केर हेरे, छोराको फोटो देखे। राम्ररी नियाले ठूलो अक्षरमा लेखेको थियो। विर शहिद लाल सलाम। अंकल मुर्छित भएर भुइँमा ढले।
रने अंकल अहिले एक्लै छन्। जीवनको सहारा दुई वटा जवान छोराहरु गुमाए। आन्टी छोराको शोकले नै वितिन्। रने अंकल जसोतसो बाचेका छन्। छोराहरुको बलिदानीले आएको लोकतन्त्र, शान्ति, समृद्ध नेपाल सुखि नेपाली भएको हेर्ने चाहना छ। दुखको साथ भन्नुहुन्छ विधाताले लेखेको कुरा भोग्नै पर्ने रहेछ। आफूले सोचे झैँ जिन्दगी नहुँदो रहेछ।