संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नुपर्ने बताएका छन्।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको विषयमा गरेको छलफलमा बोल्दै मन्त्री पाण्डेले मन्त्रालय अन्तर्गत पाँच आयोजना रहेको भए पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भैसकेकोले यी दुई आयोजना अब राष्ट्रिय गौरवका संरचनामा राख्नु पर्ने बताएका हुन्।
मन्त्री पाण्डेले देशले अब यी आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्दै यी आयोजनाबाट फाईदा लिनुपर्ने बताए।
यस्तै पशुपति र लुम्बिनीको गुरु योजना अनुसार काम अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पाण्डेको भनाइ छ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरव आयोजनाको रुपमा राखेको भए पनि यो निर्माणमा नै अन्योल रहेको उनले बताए।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशको लागि अपरिहार्य रहेकाले यसको निर्माण र सञ्चालन मोडालिटी बनाएर अगाडी बढ्नुपर्ने छ।
भैरहवा र पोखरा विमानस्थल नचल्नुमा रुटको समस्या मात्र नभएको र सरकारका कतिपय निकायले नै सरकारले तयार पारेको कार्ययोजना लागू नगर्दा समस्या आएको उनको भनाइ छ।
साथै लामो समयपछि अहिले नेपाल एयरलाइन्सका सबै जहाज सञ्चालनमा रहेको र जहाज थप गर्ने विषयमा समेत छलफल जारी रहेको उनको भनाइ छ।