त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समूह, संघ, संगठन झल्काउने किसिमका टोपी, पहिरन वा ब्याज लगातयत कुनै पनि पहिचान वस्तुहरू लगाउन नपाइने भएको छ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले अध्यागमन क्षेत्र भित्रको सुरक्षा, व्यवस्थापन र सहज एवम् सञ्चालनका लागि भन्दै यस्तो निर्देशन जारी गरेको हो।
अध्यागमन क्षेत्र संवेदनशील र सुरक्षात्मक क्षेत्र भएकाले कुनै पनि प्रकारको अनावश्यक, अस्वाभाविक गतिविधि वा पहिरन, पहिचान तथा खास संकेत खुल्ने आभूषण खादा, माला, चस्मा, फरक किसिमको टोपी सुरक्षा व्यवस्थामा पुर्याउन सक्ने भन्दै यस्तो निर्देशन दिइएको उल्लेख गरिएको छ।
खादा, माला वा अन्य सजावटी वस्तुहरूको प्रयोगले अध्यागमन प्रशासनको कार्यमा हुन सक्ने सम्भावित जोखिम एवं अनावश्यक ढिलाइ गराउन सक्ने भएकाले यस्तो वस्तुहरूको प्रयोग निषेध गरिएको अध्यागमन कार्यालयको सूचनामा उल्लेख छ।
यस्ता वस्तुले कुनै पनि यात्रुलाई विशेष व्यवहार गरिएको भान पर्न सक्ने वा सुरक्षा संवेदनशीलतामा प्रश्न उठ्न सक्ने भएकाले सबैलाई समान व्यवहार सुनिश्चितता गर्ने प्रयोजनार्थ यो नियम लागु गरिएको बताइएको छ।
