पोखराको पर्यटन प्रवर्द्धनका लागि पर्यटन व्यवसायीहरूको एउटा टोली जाऊँ है पोखरा अभियान लिएर लुम्बिनी आएको छ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा पर्यटन व्यवसायीहरूको टोलीले शुक्रबार बुटवलमा रूपन्देहीका पर्यटन व्यवसायी तथा पत्रकारहरूसँग छलफल गरेको हो।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि आन्तरिक पर्यटन प्रवर्द्धन अभियान लिएर हिँडेको उक्त टोलीले असार २ गतेसम्म नेपालगन्ज, सुर्खेत र दाङका पर्यटन व्यवसायी र पत्रकारहरूसँग छलफल तथा अन्तर्क्रिया गर्नेछ।
होटल संघ पोखराका अध्यक्ष सुवेदीले दुई दशक अघिदेखि सुरू गरेको जाऊँ है पोखरा अभियानले पोखराको आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको भन्दै यस वर्ष पनि निरन्तरता दिइएको बताए।
सुवेदीले २० वर्ष पहिले पोखरा जाने पर्यटकहरूमध्ये आन्तरिक पर्यटकहरूको सङ्ख्या २ प्रतिशत मात्र रहेको अवस्थामा अहिले त्यो सङ्ख्या ४० प्रतिशत पुगेको बताए।
‘पहिले पर्यटक भन्ने बित्तिकै विदेशबाट आएको भन्ने बुझिन्थ्यो। नेपालीहरूमा घुम्ने संस्कृति थिएन काम विशेषले एक ठाउँबाट अर्को ठाउँमा जानेहरू पनि आफन्त तथा साथीभाइकोमा बस्ने प्रचलन थियो, अहिले घुम्ने संस्कृति बढेको छ,’ उनले भने।
सुवेदीका अनुसार पोखरामा स्टार र पर्यटक स्तरका १ हजार २ सय बढी होटलहरू रहेकोमा र एक पटकमा ४० हजार पर्यटकलाई बास बसाल्न सक्ने क्षमता रहेको बताए।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेको पोखरा सांस्कृतिक र साहसिक पर्यटनका लागि पनि गन्तव्य बनिरहेको उनले बताए।
‘बन्जी, प्याराग्लाइडिङ, हाइकिङ, साइक्लिङ, केबलकार लगायत साहसिक खेलहरूको कारण पनि पोखरामा पर्यटकहरूको आकर्षण बढिरहेको छ,’ सुवेदीले भने।
उनले कोभिड पछिका दुई तीन वर्ष ठप्प बनेको पर्यटन क्षेत्र पछिल्लो समय सुधार उन्मुख रहेको उल्लेख गर्दै पोखरामा पुग्ने पर्यटकहरूको बसाइँ कसरी लम्बाउन सकिन्छ भन्नेमा आफूहरूले केन्द्रित रहेको बताए।
‘हाम्रो अहिलेको ध्यान पर्यटकको संख्या कसरी बढाउने भन्दा पनि उनीहरूको बसाइँ कसरी लम्बाउन सकिन्छ भन्नेमा केन्द्रित छ, अब पर्यटकको संख्यासँगै कस्ता पर्यटक ल्याउने भन्नेमा पनि ध्यान दिनुपर्छ,’ सुवेदीले भने।
उनले पछिल्लो समय रूपन्देहीको बेलहिया नाका भएर नेपाल आउने भारतीय पर्यटकहरू लुम्बिनी, पाल्पा, पोखरा हुँदै मुक्तिनाथ जाने क्रम बढेकोले रूपन्देहीदेखि मुक्तिनाथसम्म नै उनीहरूको बसाइँ बढाउने गरी रूपन्देही र पोखराका पर्यटन व्यवसायीले योजना बनाउनुपर्ने बताए।
अध्यक्ष सुवेदीका अनुसार निजी क्षेत्रको ५ खर्ब बढी लगानी रहेको पोखराका होटल व्यवसायमा २० हजार बढीले रोजगारी पाएका छन्।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आन्तरिकसँग नेपाल आउने बाह्य पर्यटकहरूको समेत भ्रमणको गन्तव्य सूचीमा पोखरा सबभन्दा अगाडि रहने गरेको बताए।
उनले पोखरा जीवन्त सहर भएको उल्लेख गर्दै पर्यटन विकासका लागि महत्त्वपूर्ण मानिने नेचर, कल्चर र एडभेन्चर तिन वटै क्षेत्रमा पनि धनी रहेको बताए।
प्रमुख जिल्ला अधिकारी घिमिरेले पोखरा र लुम्बिनी एक अर्काका परिपूरक बन्दै लुम्बिनी आउने पर्यटकलाई पोखरा पठाउने र पोखरा गएका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरण बनाउन आग्रह गरे।
सो अवसरमा होटल सङ्घका केन्द्रीय सदस्य गोपाल राना, होटल सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, होटल व्यवसायी महासङ्घका महेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले सुरक्षाको नाममा भारतीय पर्यटकहरूलाई अनावश्यक चेकजाँच गर्दा नेपालको सन्देश राम्रो नगएको बताए।
उनीहरूले पर्यटन व्यवसायको नाममा गलत क्रियाकलाप गर्नेहरूबाट सचेत रहन पनि सुझाव दिए।