एयर इन्डिया एक्सप्रेसले आज (आइतबार) देखि काठमाडौं र बैंगलोरबीच दैनिक प्रत्यक्ष उडान सुरू गरेको छ।
जसले नेपालमा आफ्नो प्रवेशलाई चिन्हित गर्दै दुई छिमेकी देशहरू बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताइएको छ।
एयर इन्डियाको बढ्दो सञ्जालमा काठमाडौं १७औं अन्तर्राष्ट्रिय गन्तव्य र एयर इन्डिया एक्सप्रेसको लागि नेपालमा पहिलो स्टेशन बनेको छ।
बैंगलोरबाट दैनिक उडान बिहान ८:०५ बजे सिधै काठमाडौं आइपुग्ने र बिहान ९:०५ बजे प्रस्थान गर्ने गरी सञ्चालन गरिने छ।
काठमाडौंमा सेवा सुरू भएको बारे एयर इन्डिया एक्सप्रेसका प्रबन्ध निर्देशक आलोक सिंहले भने, 'हामी हाम्रो छिमेकी देश नेपालमा हाम्रो उपस्थिति विस्तार गर्न, गहिरो सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ बलियो बनाउँन पाउँदा खुसी छौं। यो नयाँ मार्गले मानिसहरू, कथाहरू र परम्पराहरूलाई नजिक ल्याउँनेछ, यात्रालाई अझ सुलभ र अर्थपूर्ण बनाउने हाम्रो दृष्टिकोणलाई सुदृढ बनाउँनेछ। यसले बैंकक र फुकेट जस्ता छोटो दूरीको अन्तर्राष्ट्रिय मनोरञ्जन गन्तव्यहरूमा हाम्रो हालैको विस्तारमा पनि मद्दत गर्दछ।'
यो नयाँ उडानले काठमाडौंबाट बैंगलोर हुँदै चेन्नई, हैदराबाद, कोच्चि, तिरुवनन्तपुरम, गोवा र तिरुचिरापल्ली जस्ता अन्य भारतीय सहरहरू, साथै मध्य पूर्वका अबु धाबी र दम्ममसम्म एक–स्टप पहुँच प्रदान गर्दछ।
यो सेवा एयरलाइन्सको 'बोइङ ७३७' विमान प्रयोग गरेर सञ्चालन गरिनेछ।