जब सूर्योदयसँगै पूर्वबाट हावा बहन थाल्छ, पोखराको सराङकोटमा प्याराल्याइडिङका लागि उपयुक्त मौसम बन्छ। सूर्यको प्रकाश चम्किलो बन्दै जाँदा पृथ्वीको सतह तातिन्छ र त्यही तातो हावाको ऊर्जामा भरिएर इन्जिनविहीन प्याराग्लाइडर आकाशतर्फ उड्छ।
हावाको भरमा उडान र अवतरण गर्ने प्याराग्लाइडिङलाई सराङकोटको मौसम विश्वमै उपयुक्त मानिन्छ।
नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसीका अनुसार प्याराग्लाइडिङ उडान गर्न हावाको बहाव कम्तीमा ५ किलोमिटर प्रतिघण्टा हुनुपर्छ। प्याराग्लाइडिङलाई सबभन्दा उपयुक्त हावाको बहाव १५ देखि २५ किलोमिटर प्रतिघण्टा मानिन्छ।
‘सूर्य उदाएसँगै सराङकोटमा हावाको बहाव बढ्न थाल्छ। बिहान ९ बजेपछि घाम चर्किंदै जाँदा हावाको बहाव पनि बढ्न थाल्छ,’ उनले भने, ‘फेवातालमाथि सराङकोट भएर बहने हावाको चाप प्याराग्लाइडिङका लागि एकदम उपयुक्त हुन्छ।’
हावाको चाप, तापक्रम र गति प्याराग्लाइडिङका लागि उपयुक्त भए पनि २ वर्षयता सरकारको नीतिले प्याराग्लाइडिङ सराङकोटबाट ‘टेकअफ’ गर्न रोक लगाएको छ। जसले प्याराग्लाइडिङ मात्र होइन, पोखराको समग्र पर्यटन व्यवसाय र पर्यटकको बसाइ अवधि पनि खुम्च्याएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि पोखराकी प्याराग्लाइडिङ पाइलट शर्मिला शर्माले दिनमा ५ वटासम्म प्याराग्लाइडिङ उडाउँथिन्। बिहान ९ बजेपछि दिउँसोसम्म उनको अधिकांश समय आकाशमै बित्थ्यो। पुतलीको बथान नाचे जस्तो देखिन्थ्यो सराङकोट।
जब पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो, उनको व्यस्तता घट्न थाल्यो। विमानस्थलको ‘एयर स्पेस’ मा पर्ने भन्दै सराङकोटबाट प्याराग्लाइडिङ उडान रोक लगाइयो। फेवाताल किनार खापौंदी चउरमा अवतरण गर्न रोक लगाइयो। हिमाल र फेवातालको दृश्य देखिने उडान र अवतरणमा रोक लागेपछि पर्यटक पनि प्याराग्लाइडिङ गर्न रोकिए।
अहिले शर्मिला दिनमा एउटा पनि उडान गर्न पाउँदिनन्। प्याराग्लाइडिङ गर्न उनले कम्तीमा एक दिन बिराउनुपर्छ। एक दिन बिराएर पनि उनले दिनमा बल्लतल्ल एउटा मात्र उडान गर्न पाउँछिन्।
‘एयरपोर्ट चल्नुअघि दिनमा ५ वटासम्म उडान गरेँ। प्याराग्लाइडिङ गर्न आउने पर्यटकको भिड लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले त एक दिन बिराएर पनि एउटा मात्र उडान गर्न पाइन्छ।’
नेपाल हवाई खेलकुद संस्था ‘ना’ का अनुसार अहिले मुस्किलले दिनमा २०० जना पर्यटक प्याराग्लाइडिङ गर्न आउँछन्। कहिलेकाहीँ त सय जना पनि पुग्दैनन्। प्याराग्लाइडिङ गराउन पोखरामा रहेका ६७ वटा कम्पनीमध्ये अहिले ५७ वटा कम्पनी क्रियाशील छन्। बाँकी १० वटा कम्पनी निष्क्रिय बनेको ना अध्यक्ष अनिल केसीले बताए।
उनका अनुसार पोखरामा विमानस्थल चल्नुअघि ४०० जना प्याराग्लाइडिङ पाइलट कार्यरत थिए। अहिले २७० जना पाइलट मात्र प्याराग्लाइडिङमा छन्। बाँकी पाइलट अधिकांश विदेश पलायन भएका छन्। अहिले भइरहेका पाइलटमध्ये आधाले लाइसेन्स रिन्यु गर्न चासो नदिएको नाले जनाएको छ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि सबभन्दा ठूलो मार प्याराग्लाइडिङलाई पर्यो,’ नाका अध्यक्ष केसीले भने, ‘प्याराग्लाइडिङ गर्न आउने हजारौं पर्यटकको संख्या घट्यो। हजारौंले रोजगारी गुमाए।’

अन्तर्राष्ट्रिय विमानस्थलको एयर स्पेसमा पर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सराङकोटबाट टेकअफ (उडान) र फेवाताल किनारमा ल्याण्डिङ (अवतरण) गर्न रोक लगायो। माथि हेर्दा हिमाल र तल हेर्दा ताल देखिने उडान र अवतरणमा रोक लगाएपछि प्याराग्लाइडिङ व्यवसाय संकटमा पर्न थाल्यो।
प्याराग्लाइडिङ गर्न आउने पर्यटक घटेसँगै पोखराको पर्यटन व्यवसाय पनि खुम्चिन थाले। होटल र रेष्टुरेण्टका व्यवसाय पनि घट्न थाले। नेपालमा मात्र नभई विश्वकै उपयुक्त गन्तव्यका रुपमा स्थापित पोखराको प्याराग्लाइडिङ विस्थापित हुन थाले।
क्षेत्रीय होटल संघ, पोखराका अध्यक्ष लक्ष्मण सुवेदी प्याराग्लाइडिङ खुम्चिएकै कारण पोखरा आउने पर्यटकको बसाई अवधि घट्न गएको बताउँछन्।
उनका अनुसार, पोखराबाट मुक्तिनाथ र अन्नपूर्ण क्षेत्रमा पदयात्रा जाने पर्यटक पनि प्याराग्लाइडिङ गर्न पोखरामा बस्ने गर्दथे। प्याराग्लाइडिङ उपयुक्त स्थानमा नभएकै कारण उनीहरू फर्कने गरेको उनले बताए।
‘पोखरामा प्याराग्लाइडिङ गरौं भनेर आउनेहरू त भइहाले। मुक्तिनाथ र पदयात्रा जानेहरू पनि प्याराग्लाइडिङ गर्न पोखरामा थप एक दिन बस्थे,’ उनले भने, ‘प्याराग्लाइडिङ उपयुक्त स्थानमा नभएकै कारण पर्यटक पोखरामा बास नबसी फर्कने गरेका छन्। होटल र रेष्टुरेण्टलाई मात्र होइन, प्याराग्लाइडिङ खुम्चिँदा सबै व्यवसायमा असर परेको छ।’
प्राकृतिक विपत्तिका बेला पनि प्याराग्लाइडिङले पोखराको पर्यटन व्यवसाय धानेको थियो।
कोभिड–१९ महामारीका बेला पनि पोखराको पर्यटन व्यवसाय प्याराग्लाइडिङले उकासेको थियो। कोभिड महामारी रोक्न भएको लकडाउन सकिएपछि प्याराग्लाइडिङ गर्न पर्यटकको ताँती लाग्यो। प्याराग्लाइडिङ गर्न पर्यटकले ३ दिनसम्म पालो कुर्नुपर्ने अवस्था आएको थियो।
त्यसअघि २०७२ सालको भूकम्पका बेला पनि प्याराग्लाइडिङले नै पोखराको पर्यटन व्यवसाय धानेको थियो। भूकम्पपश्चात चिनियाँ पर्यटकको हुल पोखरा आइरहेका थिए। उनीहरू अधिकांश प्याराग्लाइडिङमा सराङकोटबाट उडेर फेवाताल किनारमा ओर्लिन रूचि राख्थे। प्याराग्लाइडिङ गर्न आउने पर्यटकले नै पोखराका होटल र रेष्टुरेण्ट भरिएका थिए।
पोखराको पर्यटन धानेको प्याराग्लाइडिङ संकटमा परेसँगै अरू व्यवसाय पनि धर्मराउँदै गएको छ। प्याराग्लाइडिङ व्यवसायी मात्र नभएर होटल र रेष्टुरेण्ट व्यवसायी पनि प्याराग्लाइडिङ पुरानै अवस्थामा फर्काउन सरकारसँग माग राखिरहेका छन्।
सराङकोटबाट उडान र फेवाताल किनारमा अवतरण गर्न दिन व्यवसायीले राखेको माग नेपाल नागरिक उड्डयन प्राधिकरणले आंशिक रूपमा पूरा गरेको छ।
विमानस्थलको एयर स्पेसमा पर्ने भन्दै क्यानले प्याराग्लाइीडङको टेकअफ सराङकोटबाट मान्द्रेढुङ्गा सारेको थियो। ल्याण्डिङ खपौदीको फेवाताल किनारबाट पामे पुर्याएको थियो। प्याराग्लाइडिङ व्यवसायीको निरन्तरको दबावपछि क्यानले मान्द्रेढुङ्गाबाट सारेर तोरीपानीबाट टेकअफ गर्न अनुमति दिएको छ।
नाका अध्यक्ष केसीका अनुसार, बिहीबारदेखि ल्याण्डिङ पनि पामेमा नभई फेवाताल किनारको खपौदी चउरमा हुनेछ।
‘प्याराग्लाइडिङको ल्याण्डिङ पुरानै ठाउँमा फिर्ता ल्याउन सकियो। अब फेवातालमाथि उड्न पाइनेछ,’ उनले भने, ‘प्याराग्लाइडिङलाई पुरानै लयमा फर्काउन टेकअफ पनि सराङकोटबाट दियोस् भनेर माग राखिरहेका छौं।’
क्यानले तोरीपानीबाट बिहान ११ बजेदेखि ३ बजेसम्म मात्र प्याराग्लाइडिङ उडान गर्न दिएको समय पनि डेढ घण्टा बढाएर साढे ४ बजेसम्म उडान गर्न अनुमति दिएको छ।
बिहान ९ बजेदेखि नै प्याराग्लाइडिङ गर्न उपयुक्त समय भए पनि पोखराबाट जोमसोम उड्ने विमानका कारण बिहानको समय नपाएको केसीले बताए।
‘विमान उड्ने क्षेत्रमा नपरे पनि हामीलाई उडान गर्न दिइएको छैन,’ उनले भने, ’बरू बिहान ९ बजेदेखि ३ बजेसम्म उडान गर्न दिए हुन्थ्यो।’
प्याराग्लाइडिङ व्यवसाय फस्टाउनका लागि सरकारले रोक लगाएको सोलो (एकल) उडान खुला गर्न पनि व्यवसायीको माग छ।
सराङकोटबाट मात्र नभई मान्द्रेढुङ्गा र तोरीपानीबाट पनि एकल उडान गर्न सरकारले रोक लगाएको छ। जसले गर्दा नेपाली र विदेशी प्याराग्लाइडिङ खेलाडीले उडान भर्न र अभ्यास गर्न पाएका छैनन्।
सरकारले प्याराग्लाइडिङमा एकल उडान रोक लगाउनुका पछाडि २०७९ असोजमा भएको एउटा दुर्घटना कारक बनेको छ।
नवौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाका तर्फबाट प्याराग्लाइडिङमा भाग लिएका गोरखा, पालुङटारका खेलाडी निसिम थापा उडानका क्रममा दुर्घटना भएर मृत्यु हुन पुग्यो। सोही दुर्घटना देखाएर सरकारले एकल उडान रोक लगाएपछि अहिलेसम्म खुला गरिएको छैन।
एकल उडान रोक लगाएकै कारण अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिने खेलाडीले अभ्यास गर्न पाएका छैनन्। प्याराग्लाइडिङ गर्न आउने विदेशी अरू देश गइरहेका छन्।
प्याराग्लाइडिङ खेलाडी योगेश भट्टराईका अनुसार पोखरामा एकल उडान रोक लाग्नुअघि एसियाड खेलको अभ्यास पोखरामा हुन्थ्यो। सयौं विदेशीहरू प्याराग्लाइडिङ गर्नकै लागि पोखरा आउँथे। एसियाड खेलमा प्याराग्लाइडिङतर्फ योगेशको टिमले रजत पदकसमेत जितेका थिए।
‘सोलो उडान गर्न नपाउँदा पोखरामा खेलाडी उत्पादन हुन पाएनन्। खेलाडीले अभ्यास गर्न पनि पाएनन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जित्न सक्ने प्याराग्लाइडिङ थियो। त्यही पनि सरकारले रोक लगाएको छ।’
पोखरामा प्याराग्लाइडिङको पहिलो अभ्यास पनि विदेशी पर्यटकले गरेका थिए। इटालीबाट आएका पर्वतारोही एवं पदयात्री नाभियो इलियरले सन् १९९२ मा पहिलो पटक पोखरामा प्याराग्लाइडिङ उडाएका थिए। पोखराको प्याराग्लाइडिङलाई व्यावसायिक रूप दिन बेलायती पाइलट एडम हिलले सहयोग गरेका थिए।
पोखराका बिरु बमजनले सन् १९९९ मा एडमको सल्लाह अनुसार पोखरामा पहिलो पटक प्याराग्लाइडिङ गराउने कम्पनी ‘सनराइज प्याराग्लाइडिङ प्रालि’ खोलेका थिए त्यसपछि पोखरामा साहसिक खेल प्याराग्लाइडिङले व्यावसायिक रूप लिन थालेको थियो।
त्यसयता, पोखराको प्याराग्लाइडिङ कहिल्यै पनि धर्मराएन। विमानस्थललाई असर नपर्ने गरी सुरक्षाका उपायहरू अपनाएर पुरानै अवस्थामा फर्काउन चाहेको ना अध्यक्ष केसीले बताए।
‘हामीले पोखराका प्याराग्लाइडिङमा जिपिएस र रेडियो राखेका छौं। तोकिएको क्षेत्रभन्दा बाहिर प्याराग्लाइडिङ जाँदैन,’ उनले भने, ‘आवश्यक पर्दा पाइलटलाई सूचना दिएर आकस्मिक अवतरण गराउन पनि सक्छौं।’
नाले बनाएको नियन्त्रण क्षेत्रभन्दा बाहिर गए जिपिएसले सूचना दिने प्रणाली स्थापित छ। विमानस्थल चल्नुअघि यस्तो प्रविधि प्याराग्लाइडिङमा प्रयोग गरिएको थिएन।
प्याराग्लाइडिङलाई पुनर्स्थापित गरेर पुरानै लयमा फर्काउन नाले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव पेस गरेको छ। प्रस्तावमा प्राधिकरणले अनुमति दिने र एयर स्पेस तोक्ने, नाले प्रत्येक उडानको नियमन गरी क्षेत्राधिकार बाहिर जान नदिने भनेको छ।
प्राधिकरणले भने नाले गरेको प्रस्ताव स्वीकार गरेको छैन। हवाई सुरक्षालाई ध्यान दिएर प्याराग्लाइडिङ सराङकोटबाट उड्न नदिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका एटिसी प्रमुख योगेन्द्र कुँवर बताउँछन्।
‘विमानस्थलको हवाई सुरक्षाका लागि सराङकोटबाट प्याराग्लाइडिङ रोकिएको हो, प्रविधिको प्रयोगबाट सुरक्षा खतरा नहुने अवस्था रह्यो भने थप अध्यन गरेर क्यानले निर्णय गर्ला,’ उनले भने ।
सूर्यास्त हुने समय पोखरामा पश्चिमबाट पूर्वतर्फ हावा बहन थाल्छ। यही बेला चट्याङसहित हावाहुरी र वर्षा पनि हुन्छ। यस्तो बेला प्याराग्लाइडिङ उडान हुन सक्दैन। सराङकोटबाट प्याराग्लाइडिङ उडान गर्न सबभन्दा अनुकूल समय बिहान ९ बजेदेखि ३ बजेसम्म रहेको पाइलटसमेत रहेका ना अध्यक्ष केसी बताउँछन्।
‘सूर्यास्तका समय हावा पश्चिमबाट पूर्वतर्फ बहन थाल्छ। दिउँसो ३ बजेपछि हावाहुरी, चट्याङ र वर्षा पनि भइरहेका हुन्छन्,’ उनले भने, ‘प्याराग्लाइडिङका लागि सबभन्दा उपयुक्त समय र स्थानबाट सरकारले उडान गर्न दिए पोखराको पर्यटन व्यवसायले पनि उडान भर्न सक्थ्यो।’